काठमाडौं - टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले ओपिडी सेवा विस्तार गरेको छ। कोभिडसँगै ननकोभिडको बिरामीलाई प्राथमिकतामा राख्दै शुक्रराज अस्पतालले ओपिडी सेवा विस्तार गरेको हो।
प्रयोग विहीन अवस्थामा रहेको आइसोलेसन कक्षलाई व्यवस्थित गरी आइतबारदेखि ओपिडी सेवा सुरु गरिएको अस्पतालले जनाएको छ। मेडिसिन, बालरोग, छाला, कुष्ठ तथा यौन रोग र हाडजोर्नी सेवा सुरु गरिएको ओपिडी इन्जार्च डा शंकर पाण्डेले बताए।
शुक्रराज अस्पतालमा यी सेवाहरु सुरु गरिएको पहिलो पटक भने होइन। कोरोना अघि यी सेवाहरु सुरु भएपनि संक्रमणको अवस्था बढ्दै गएपछि शुक्रराज अस्पतालले कोभिडका बिरामीलाई पनि उपचार गर्दै आएको थियो।
ओपिडी इन्चार्ज पाण्डेले भने, ‘यी सेवाहरु अहिले मात्र सुरु गरिएको होइन। पहिले पनि उपलब्ध थियो। महामारीमा हामीले कोभिडका बिरामीलाई मात्र हेर्दै आएका थियौँ। ओपिडी पहिले नै थियो। अहिले माथि तल्लामा थप विस्तार गरेका हौँ।’
मेडिसिन विभागमा डा बिमल शर्मा चालिसे, डा किजन महर्जन, डा संजय श्रेष्ठ, बाल रोग विभागमा डा दिपेन्द्र अमात्य, डा राजेश शाह र छाला तथा यौन रोग विभागमा डा शिवेन्द्र झा र डा दिवाकर पराजुली छन्।
ओपिडीमा मात्र हाल डेढ सयदेखि २ सय बिरामी उपचारका लागि पुग्ने गरेका छन्। रेबिजका बिरामी मात्र करिब साढे तीन सय र नयाँ मात्र ८० देखि १२० जना आउने गरेको डा पाण्डेले बताए।