काठमाडौं - अघिल्लो वर्ष बाजुराका भूपेन्द्र दमाईले कोरोना संक्रमण पुष्टि भएपछि क्वारेन्टाइनमै आत्महत्या गरे। लकडाउनका कारण परिवार सहित उनी भारतबाट जेठ २८ गते नेपाल फर्किएका थिए। क्वारेन्टाइनमा बसेको दुई दिनपछि उनले क्वारेन्टाइनसँगैको खाली कोठाको धूरीमा पासो लगाएर आत्महत्या गरे। आर्थिक रुपमा कमजोर र परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले उनले आत्महत्या गरेको हुन सक्ने प्रहरीको भनाई छ।
000
अघिल्लो वर्षकै असारमा सिम्ता गाउँपालिका सुर्खेतकी आशा मल्लले आत्महत्या गरिन्। भारतबाट फर्किएपछि गाउँकै क्यारेन्टाइनमा बसिन्। १४ दिनको क्वारेन्टाइन बसाईपछि घर फर्किइन्। घर गएको हप्ता दिनमै उनले आत्महत्या गरिन्। स्वाब परीक्षणका क्रममा उनको कोरोना संक्रमण पुष्टि भएको थियो। लकडाउनले काम ठप्प भएपछि उनीहरु जेठ महिनामा नेपाल फर्किएका थिए।
आत्महत्या गर्नेको संख्या वर्षेनी बढ्दै
कोरोना मानिसको डरसँग जोडिएको रोग बन्न पुगेको छ। डर, चिन्ता र पीरले मानिसलाई कमजोर र रोगी बनाउँछ।
कोरोना महामारी र लकडाउनको समयमा अधिकांश बेरोजगार भए। आफन्त गुमाए। धेरैलाई दुई छाक टार्न पनि धौँ-धौँ भयो। वर्तमान र भविष्यको चिन्ताले धेरैलाई एन्जाइटी, डिप्रेसन जस्ता मानसिक समस्याहरु देखिए।
परिणामस्वरुप महामारीको यो समयमा आत्महत्याका घटनामा वृद्धि भएको छ। त्यसो त आत्महत्याको घटना वर्षेनी बढ्दो छ। तर महामारीले यो समस्यालाई झनै बढावा दिएको देखिन्छ। प्रहरी प्रधान कार्यालयको तथ्यांकले नै यो कुरालाई पुष्टि गर्छ।
आत्महत्याको घटना १४ दशमलव ४ प्रतिशतले वृद्धि भएको प्रहरीको तथ्यांक छ। गत चार वर्षमा मात्र २४ हजार ४२९ जनाले आत्महत्या गरेका छन्।
आर्थिक वर्ष २०७७/७८ मात्र ७ हजार ११७ जनाले आत्महत्या गरे। जबकी त्यसको अघिल्लो आर्थिक वर्ष २०७६/७७ मा आत्महत्या गर्नेको संख्या ६ हजार २४१ थियो। २०७५/७६ मा ५ हजार ७५४ र २०७४/७५ मा ५ हजार ३१७ जनाले आत्महत्या गरेको प्रहरीको तथ्यांक छ।
यो हिसाबले हेर्दा आ.व ७५/७६ मा र ७६/७७ मा वर्षेनी साढे चार सयको दरले आत्महत्या बढेको देखिन्छ। तर आ.व ७७/७८ मा भने दुई गुणाले वृद्धि हुँदै ७६/७७ को तुलनामा ८७६ ले वृद्धि भएको छ।
दैनिक रुपमा औसत १९ जनाले आत्महत्या गर्ने गरेको प्रहरीले जनाएको छ। अधिकांशले आत्महत्याका लागि पासो र विषको बाटो रोज्ने गरेका छन्।
आत्महत्याका ७ हजार ११७ वटा घटनामध्ये झुण्डिएर ५ हजार ७२०, विष खाएर १ हजार २७६, हाम फालेर ४६, पानीमा हाम फालेर डुबेर ३६, आगो लगाएर १९, हात हतियार औजारबाट १८ र करेण्ट लगाएर २ जनाले आत्महत्या गरेका छन्।
विश्वभर वर्षेनी ७ लाख मानिसको मृत्यु आत्महत्याका कारण हुने गरेको विश्व स्वास्थ्य संगठनले उल्लेख गरेको छ। १५ देखि २९ वर्ष उमेर समूहका व्यक्तिको मृत्युको चौथो कारण आत्महत्या रहेको डब्लुएचओले जनाएको छ।
नेपालमा आत्महत्या गर्ने व्यक्तिको संख्या वर्षेनी बढ्दै गइरहेको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गतको नसर्ने तथा मानसिक रोग शाखा प्रमुख डा फणिन्द्र बराल बताउँछन्। कोरोना महामारी र लकडाउनकै कारण आत्महत्याको घटना बढेको यकिन नभएपनि यो पनि एउटा महत्वपूर्ण कारण भएको उनले बताए।
उनी भन्छन्, ‘कोरोना महामारी र लकडाउनले आत्महत्याको घटना बढाएको यी तथ्यांकले पनि देखाउँछ। तर हामीले यसैमा केन्द्रित भएर कुनै अध्ययन अनुसन्धान भने गरेका छैनौ।’
मानसिक समस्या बारे खुलेर कुरा गर्न नसक्दा पनि यो समस्या वर्षेनी बढ्दै गएको उनले बताए। अझै पनि मानसिक समस्यालाई सामाजिक अवहेलना र लाञ्छनाको रुपमा लिने गरिएको उनले सुनाए।
कोरोनाकै कारणले आत्महत्या बढेको भन्न नमिल्ने मानसिक रोग विशेषज्ञ डा रितेश थापा बताउँछन्। यद्यपि कोरोना महामारी यसको एक प्रमुख कारण भने हुन सक्नेमा उनी सहमत छन्।
‘मानसिक समस्या बढेको छ। तर कोभिडले कारणले आत्महत्या बढेको भनेर निष्कर्ष निकाल्न मिल्दैन। तर यो एउटा कारण भने हो’ उनले भने।
मानिसले किन गर्छन् आत्महत्या?
आत्महत्याको प्रमुख कारण हो, मानसिक रोग। आत्महत्याको कारणमध्ये ९० प्रतिशत कुनै न कुनै किसिमको मानसिक रोग हुने गरेको छ। त्यसमा पनि डिप्रेसन प्रमुख जिम्मेवार रहेको मानसिक रोग विशेषज्ञ डा थापा बताउँछन्। यो बाहेक लागू पदार्थको दुर्व्यसनको लत, पीडा तथा आवेगमा आएर पनि आत्महत्या गर्नेहरु पनि छन्।
मानसिक रुपमा निकै कमजोर भएपछि मात्र मासिनले आत्महत्याको बाटो रोज्ने गरेको बताउँदै उनले भने, ‘यो समस्याको समाधान निस्कदैन सक्दैन। अब यो जीवन बाँचेर काम छैन। कसैले मेरो मद्दत गर्न सक्दैन। पीडादायक जीवन बाँच्नुभन्दा मृत्यु नै ठिक हुन्छ भन्ने अवस्थामा पुगेपछि मानिसले आत्महत्या गर्छन्।’
आत्महत्याको समस्या डर लाग्दो रुपमा बढ्दै गएको उनको अनुभव छ। एउटा व्यक्तिले आत्महत्या गर्नुअघि १० देखि ४० पटकसम्म आत्महत्याको प्रयास गर्छन्। उनका अनुसार कुनै पनि व्यक्तिले आत्महत्याको विचार आउने बित्तिकै आत्महत्या गरिहाल्ने हुँदैन। पीडाले विक्षिप्त भएर कुनै पनि समाधानको बाटो नदेखेपनि मानिसहरुले आत्महत्याको बाटो रोज्ने गरेको उनले बताए।
आत्महत्यालाई लिएर मानिसहरुको धेरै भ्रमहरु छन्। जसमा एक पटक आत्महत्याको प्रयास गरेको व्यक्तिले पुनः प्रयास गर्छन् भन्ने एक हो। जसलाई डा थापा गलत बताउँछन्। सही समयमा ती व्यक्ति चिकित्सकको सम्पर्कमा गए यो समस्या नहुने उनले बताए।
उनले भने, ‘एक पटक आत्महत्याको प्रयास गर्नेले फेरी पनि गरिरहन्छ भन्ने गलत धारणा हो। यदी समयमै समस्यालाई पहिचान गरेर चिकित्सकको परामर्शमा पुगे। समस्या दोहोरिदैन।’
कतिपय व्यक्तिले रिस, आवेग र पीडालाई नियन्त्रण गर्न नसक्दा आफैँलाई चोट पुर्याउने समेत गर्छन्। मानसिक रोगमा डिप्रेसन प्रमुख कारण भनिएपनि डिप्रेसन हुँदैमा आत्महत्याको सोच आइहाल्दैन। डिप्रेसनले गाँज्दै गएर गम्भीर अवस्थामा पुगेपछि मात्र आत्महत्याको सोच आउने उनले बताए।
कुनै पनि मानिसले विचार आउने बित्तिकै एकै पटक आत्महत्या गदैनन्। पहिले विचार आउँछ। आत्महत्या गरु/नगरु भन्ने द्धिवीधा हुन्छ। कसैको साथ खोज्छन्। भन्न खोज्दा कसैले नबुझेको हुन सक्छ।
यसपछि मात्र उनीहरुको आत्महत्याको योजना बनाउन थाल्ने बताउँदै उनी भन्छन्, ‘मैले भन्न खोजेको कुरा कसैले बुझ्दा पनि बुझ्दैन। मलाई कसैले सहयोग गरेन। अब म मर्छु भन्ने सोच आउँछ। त्यसपछि उनीहरु आत्महत्याका लागि योजना बनाउन थाल्छन्।’
आत्महत्याको समस्यालाई रोकथाम गर्न सकिन्छ। उनका अनुसार कसैलाई थाहै नदिइ आत्महत्या गर्छन् भन्ने बुझाई पनि गलत हो। आत्महत्याको विचार आइसकेपछि ती व्यक्तिले विभिन्न माध्यमबाट आफ्ना कुरा बाहिर राख्ने प्रयास गरेको हुन्छ। उसले गर्ने क्रियाकलाप र व्यवहारमा परिवर्तन आउन थाल्छ।
कसैसँग घुलमिल नहुने, एक्लै बस्ने, निराशा हुने, मर्ने कुरा गर्ने, मादपक पदार्थ तथा धूम्रपानको लतमा फस्दै जाने, आत्महत्या सम्बन्धी फिल्न हेर्ने, आत्महत्या गर्ने उपाय बारे सोधखोज गर्ने, रमाइलो गर्न मन नपराउने जस्ता व्यवहार देखाउँछ। जसलाई हामीले संकेतको रुपमा बुझेर परिवार र साथीले सहयोग गर्नुपर्ने डा थापा बताउँछन्।
‘कसैले मलाई मर्न मन लागि सक्यो। के बाँच्नु बरु मर्न पाए हुन्थ्यो। म मरेपनि कसैलाई केही फरक पर्दैन। भन्ने कुरा यत्तिकै गर्दैन। यो भनेको एउटा संकेत हो’ उनले भने।
उनीहरुको कुरा राम्रोसँग सुने मात्र पनि पीडा कम गर्न सकिने उनले बताए। उनीहरुको कुरा सुनिरहँदा त्यसलाई खण्डन वा आलोचन गर्नु हुँदैन। कतिपय व्यक्तिलाई मानसिक रोग र यसको उपचार बारे जानकारी समेत नभएको उनी सुनाउँछन्। यो सम्बन्धी जनचेतना नहुँदा आफुलाई भएको समस्या बारे समेत उनीहरु अन्जान हुने गरेका छन्।
उनीहरुले गर्ने कुरा र देखाउने व्यवहारलाई बेवास्ता नगरिदिन डा थापाको सुझाव छ। आत्महत्याको विचार पटक–पटक आइरहेको छ भने अस्पताल भर्ना गरेर नै उपचार गर्नुपर्ने उनले बताए। तर समाजिक अवहेलना र आञ्छनाको खुलेर उपचारमा जान हिचकिचाउने गरेको उनको अनुभव छ।
बिरामीको अवस्था दुई/तीन हप्ता नै अस्पताल भर्ना गरेर उपचार गर्नुपर्ने उनले बताए। अस्पताल भर्ना गर्ने, औषधि सुरु गर्ने, मनोपरामर्श दिने र नभए इसीटी लगाउनुपर्ने पनि हुन सक्छ। आत्महत्याको प्रयास बढी गर्नेमा महिला र आत्महत्या गर्नेमा पुरुष बढी रहेको उनले बताए।
मानसिक समस्याको न्यूनीकरणका लागि सरकारको कार्यक्रम
वर्षेनी बढ्दै गइरहेको मानसिक समस्या न्यूनीकरणका लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा अन्तर्गत नसर्ने तथा मानसिक रोग शाखा अन्तर्गत देशभर कार्यक्रम सञ्चालित छन्।
समाजमा लुकाउने गरेको मानसिक स्वास्थ्यकाका विषयलाई बाहिर ल्याउनु आफुहरुको पहिलो प्राथमिकतामा रहेको शाखा प्रमुख डा फणिन्द्र बराल बताउँछन्। चालु आर्थिक वर्षमा सरकारले १३ वटा अस्पतालहरुमा मानसिक स्वास्थ्य अन्तरंग सेवा सञ्चालन गर्दैछ। मानसिक रोग सम्बन्धी सेवा विस्तारका १३ वटा अस्पतालहरुमा १० शय्या सहितको सेवा सञ्चालन गर्न लागिएको उनले बताए।
विशेषज्ञ चिकित्सक सहितको उक्त सेवा चालु आर्थिक वर्षभित्र सुरु गर्ने गरी लक्ष्य छ।
उनले भने, ‘अहिले राजविराज तथा जनकपुर अस्पतालमा मनोचिकित्सक हुनु हुन्छ। तर त्यहाँ भर्ना गरेर उपचार गरिदैन। अहिले पनि धेरै अस्पतालहरुमा मानसिक रोगको उपचारका लागि शय्या छुट्याइएको छैन। यही विषयलाई सम्बोधन गर्न नै यो सेवा सुरु गर्न लागेका हौँ।’
मनोचिकित्सक, कम्तीमा एक जना क्लिनीक साइकोलोजिस्ट, साइकाइट्रिक्स नर्स र काउन्सिलर जनशक्ति रहनेछन् भने डिप्रेशन लगायत उपचारमा प्रयोग हुने इलेक्ट्रोकन्भल्सिभ थेरापी (इसीटी) उपकरण सहितको सेवा सुरु हुनेछन्।
साथै मानसिक रोगमा प्रयोग हुने औषधि ‘साइको ट्रपिक ड्रग’ खरिदका लागि प्रत्येक प्रदेशमा ५० लाख रुपैयाँ बजेट बिनियोजन समेत गरेको छ। सरकारले ११ प्रकारको साइको ट्रपिक ड्रग उपलब्ध गराउँदै आएको छ।
मानसिक स्वास्थ्य सम्बन्धी जनचेतना वृद्धि गर्न र रोगको रोकथामका लागि सरकारले सामुदायिक मानसिक स्वास्थ्य कार्यक्रम समेत सञ्चालन गरिएको उनले बताए।
कम्तीमा एउटा पालिका एक जना काउन्सिलर, एउटा जिल्लामा एक जना साइकाट्रिक्स हुनुपर्ने उनले बताए। कम्तीमा प्रदेश स्तरी मुख्य अस्पतालहरुमा क्लिनीकल साइकालोजिष्टको दरबन्दी बनाउनुपर्नेमा उनको जोड छ।