काठमाडौं - कोरोनाको पहिलो लहरमा वृद्धवृद्धा, दोस्रो लहरमा युवा युवती बढी प्रभावित भए। त्यसरी नै कोरोनाको तेस्रो लहरमा बालबालिका बढी प्रभावित हुने आकलन गर्न थालिएको छ।
तेस्रो लहरमा बालबालिकाहरु बढी जोखिममा पर्ने विज्ञहरुले विश्लेषण गर्न समेत थालेका छन्। कोभिड–१९ विरुद्धको खोप पाउने लक्षित समूहमा बालबालिकाहरु नपरेकाले तेस्रो लहरको जोखिममा पर्न सक्ने उनीहरुको तर्क छ।
तेस्रो लहरमा बालबालिकाहरु बढी प्रभावित हुन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका अस्पतालहरुलाई तयारी अवस्थामा रहन निर्देशन समेत दिएको छ।
नेपालमा हाल दैनिक तीन हजारको आसपासमा कोरोना संक्रमित भेटिने गरेका छन्। जसमध्ये करिब दुई सय जना २० वर्ष मुनिका संक्रमित हुने गरेका छन्।
बुधबार मन्त्रालयले सार्वजनिक गरेको तथ्यांक अनुसार २४ घण्टाभित्र देशभर ३ हजार ४०३ कोरोना संक्रमित थपिए। जसमध्ये २१८ जना मात्र २० वर्ष मुनिका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार पछिल्लो दुई सातामा देशभर ५१ हजार ७१५ संक्रमित भेटिए। जसमध्ये ५ दशमलव ८५ प्रतिशत अर्थात् ३ हजार २८ जना २० वर्ष मुनिका छन्।
यो हिसाबले हेर्दा दैनिक तीन हजार संक्रमित भेटिँदा त्यसको करिब साढे पाँच प्रतिशत संक्रमित २० वर्ष मुनिका हुने गर्छन्।
१५ दिनमा कति संक्रमित र कति २० वर्ष मुनिका ?
बालबालिका र किशोर किशोरीलाई खोप लगाउने सरकारी पूर्वतयारी
सरकारले बालबालिका र किशोर किशोरीलाई खोप लगाउने पूर्व तयारी गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयल हाल विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले सिफारिस गर्ने खोपको पर्खाइमा छ।
स्वास्थ्य सेवा विभागको खोप शाखा प्रमुख डा झलक गौतम बालबालिका र किशोर किशोरीका लागि डब्लुएचओले सिफारिस गर्ने खोपको पर्खाइमा रहेको बताउँछन्। डब्लुएचओले सिफारिस गरेपछि मात्र ती खोपहरु ल्याउने प्रक्रिया थाल्ने उनले बताए।
उनले भने ‘किशोर किशोरी र बालबालिकालाई खोप लगाउने पूर्व तयारी छ। भोलि आमरुपमा किशोर किशोरी र बालबालिकालाई लगाउन मिल्ने भनेर डब्लुएचओले सिफारिस गरेका खोपहरु ल्याउनका लागि प्रक्रिया थाल्छौं।’
उनका अनुसार डब्लुएचओले हालसम्म १२ देखि १७ वर्ष उमेर समूहका लागि फाइजर खोप लगाउन मिल्ने भन्दै सिफारिस गरेको छ। केही मुलुकहरुले विभिन्न खोपहरु बालबालिकाहरुलाई लगाउन थालेको भएपनि आम रुपमा बालबालिका र किशोर किशोरीका लागि लगाइने खोप ट्रायलमै रहेको उनले बताए।
कहिलेबाट, कुन र कति बालबालिका र किशोर किशोरीलाई खोप लगाइने भन्ने बारे हाल निर्णय भइसकेको उनले बताए।
‘बालबालिका र किशोर किशोरीलाई खोपको आवश्यकता छ। उनीहरुलाई पनि खोपको दायरमा ल्याउन हामीले पूर्व तयारी गरेका छौँ।’ उनले भने, ‘कुन खोप लगाउन हुन्छ भन्ने भएपनि हामी त्यो खोपका लागि चाहिने भण्डारण लगायत योजनामै छौँ।’
सरकारले फाइजर सहित किशोर किशोरीका लागि अमेरिकाको मोडेर्ना खोप खरिदका लागि पनि आवश्यक प्रक्रिया अगाडि बढाइरहेको छ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले केही समयअघि सार्वजनिक गरेको योजना अनुसार फाइजरको ६० लाख र मोडेर्नाको ४० लाख डोज खोप खरिद गर्ने विषयमा प्रारम्भिक प्रक्रिया अगाडि बढेको छ। यसका साथै बालबालिका र किशोर किशोरीका लागि अन्य खोप सिफारिस भएमा ती खोप ल्याउने विषयमा पनि मन्त्रालयले छलफल अगाडि बढाएको छ।
तर तत्कालै यी खोप आउने सम्भावना भने छैन। मन्त्रालयका एक कर्मचारीका अनुसार यी खोप आउन अझै ६ महिनाभन्दा बढी समय लाग्न सक्छ।
तेस्रो लहरमा बालबालिका किन जोखिममा?
कोरोना महामारीको तेस्रो लहरमा बालबालिकाहरु जोखिममा पर्ने धेरैको विश्लेषण छ। कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल तेस्रो लहरमा बालबालिकाहरु जोखिममा पर्नुको मुख्य कारण नै खोपको दायरामा नआउनु बताउँछन्।
उनी भन्छन्, ‘तेस्रो लहरमा बच्चाहरुलाई बढी असर गर्छ भन्ने जुन कुरा छ। यसको एउटै आधार के देख्छु भने उनीहरुका लागि खोप बनेको छैन। त्यो कारणले उनीहरु बढी जोखिममा पर्छ की भन्ने छ।’
कान्ति बाल अस्पतालको ओपिडीमा मात्र हाल दैनिक करिब डेढ सयदेखि २ सय बालबालिका उपचारका लागि आउने गर्छन्। जसमध्ये ५० देखि ६० प्रतिशत बालबालिकाहरु श्वासप्रश्वास सम्बन्धी समस्या भएका हुन्छन्। तर उनीहरु सबैको कोभिड परीक्षण भने गर्न नसकिएको डा अग्रवाल बताउँछन्।
अस्पतालमा भर्ना हुने बालबालिकाको मात्र कोभिड परीक्षण हुने गरेको छ। डा अग्रवालका अनुसार अस्पताल भर्ना हुने ९० प्रतिशत बालबालिकाको मात्र पिसिआर परीक्षण हुने गरेको छ। जसमध्ये १० प्रतिशत बालबालिकामा कोभिड पोजेटिभ आउने गरेको छ।
कोरोनाको पहिलो र दोस्रो लहरमा पोजेटिभ हुने बालबालिकाको दर र हालका दिनमा हुने पोजेटिभ दरमा कुनै परिवर्तन नआएको उनी बताउँछन्।
किनकी कोरोना महामारीको पहिलो र दोस्रो लहरमा पनि परीक्षण गरिएकामध्ये १० देखि १५ प्रतिशत बालबालिकामा मात्र कोरोना पुष्टि हुन्थ्यो। कोरोनाको दोस्रो लहर सकिए नसकिएको कुरा नै यकिन नभएको उनको भनाई छ।
बालबालिकाहरु कोरोनाको जोखिममा भएपनि कोरोनाले मात्र धेरै असर नगरेको बताउँदै उनले भने, ‘खोपको आधारमा हेर्ने हो भने बालबालिका कोरोनाको जोखिममा छन्। तर कसैलाई कुनै दीर्घ रोग नभएको खण्डमा कोरोनाले मात्र बच्चालाई त्यति हानी गरेको छैन।’
कोरोनाले मात्र बालबालिकालाई असर नगरेको भएपनि पोस्ट कोभिड सिन्ड्रोमको समस्या भने बढ्दै गएको उनी सुनाउँछन्। पहिलोमा भन्दा दोस्रो लहरमा पोस्ट कोभिड सिन्ड्रोमको समस्या बढेको उनले बताए।
कान्ति बाल अस्पतालले हालसम्म पोस्ट कोभिड सिन्ड्रोमको समस्या भएका ७० जना बालबालिकाको उपचार गरिसकेको छ।