जब एक वयस्क व्यक्ति बिरामी हुन्छ, उसका लागि नेपालमा विशिष्टकृत सेवाहरूको सहजै पहुँच हुन्छ। वयस्क व्यक्तिका लागि कार्डियोलोजी, ग्यास्ट्रोलोजी, न्यूरोलोजी, नेफ्रोलोजी, एन्डोक्रिनोलोजी आदिको पहुँच छ। सबैजसो विकसित देशमा र अविकसित देशहरूमा पनि बाल अस्पतालको समेत उपलब्धता छ। यी अस्पतालमा बच्चाहरूले रोगअनुसार विशिष्टसेवा पाउँछन्।
तर, नेपालमा जब बच्चा बिरामी पर्छ, उसले प्रायः बालरोग विशिष्टकृत विशेषज्ञ सेवा पाउँदैन। बाल–कार्डियोलोजी, बाल–ग्यास्ट्रोलोजी, बाल–न्यूरोलोजी, बाल–नेफ्रोलोजी, बाल–एन्डोक्रिनोलजी र नवजात शिशु सम्बन्धी उपचार सेवाहरू यहाँ उपलब्ध छैन। यसका खास कारणहरू छन्।
बालबालिकाको विशिष्टकृत उपचार सेवाका लागि सरकारी तवरबाट खासै ध्यान पुगेको छैन। विशेषज्ञ चिकित्सकको उपलब्धताको पनि अभाव छ।सर्वसाधारणमा बच्चाहरूको जटिल रोगको उपचार बालरोग विशिष्टकृत विशेषज्ञसँग गराउनु पर्छ भन्ने ज्ञानको अभाव छ। कुन समस्याको लागि कुन डाक्टरसँग परामर्श गर्ने भन्ने जानकारी कमैलाई मात्र छ।
हाल नेपालमा पनि बिस्तारै बालरोग विशिष्ट सेवाको विकास भएको हुँदा विभिन्न सहरमा यस्ता सेवासहितका अस्पताल खुलेका छन्। बालबालिकाको मुटुरोग, पेटसम्बन्धी रोग, स्नायुरोग, मृगौलारोग, एन्डोक्रिनोलोजी, नवजातशिशु, रिउम्याटोलोजी, क्यान्सर, रक्तरोग, मनोचिकित्सक आदि विशेषज्ञहरु उपलब्ध छन्। बाल विशिष्टकृत चिकित्सा र बाल अस्पतालको लागि बढ्दो चिन्तासँगै योजना पनि बनिरहेका छन्।
साधारण समस्याहरुको लागि विशिष्टकृत बालरोग विशेषज्ञसँग देखाउनुपर्दैन। कम जटिल समस्यामा जोसुकै बालरोग विशेषज्ञलाई देखाउँदा हुन्छ। तर, जटिल प्रकृतिका समस्याहरुको लागि उपलब्धभएसम्म विशिष्टकृत बालरोग विशेषज्ञसँग नै उपचार गराउनु पर्छ। कुन समस्याको लागि विशिष्टकृत बालरोग विशेषज्ञको परामर्श जरुरी पर्छ र कुन विशिष्टकृत विशेषज्ञमा जाने भनेर थाहा नभएवा विशिष्टकृत बालरोग विशेषज्ञ उपलब्ध नभए सामान्य बालरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ। उनीहरुले नै आवश्यकता अनुसार सम्बन्धित विशिष्टकृत बालरोगविशेषज्ञको परामर्शको लागि पठाउँछन्।
बालबालिकाहरू मानसिक, शारीरिक, रोग प्रतिरोधात्मक र विकासको दृष्टिबाट वयस्क मानिसभन्दा नितान्त भिन्न छन्। प्रयोगशालाको जाँचबाट आउने नतिजाको निस्कर्ष र औषधिहरूको मात्रासहित बालबालिकाको रोग र उपचारहरू फरक छन्। वयस्क र बच्चामा एउटै रोग हुँदा पनि फरक ढंगको उपचार हुन्छ्र।
बच्चालाई कहिले र किन चाहिन्छ बाल स्नायुरोग विशेषज्ञ?
बच्चाको मस्तिष्क, स्नायु तथा विकाशसम्बन्धी समस्याबारे अभिभावकहरुमा केही भ्रम छन्। जानकारीको अभावमा धेरै चिकित्सकको क्लिनिक र अस्पताल चहारेपछि मात्र बाल–न्युरोलोजिस्टलाई देखाउने कारणले गर्दा समस्या जटिल बनिसकेको हुनसक्छ।
बच्चाको मस्तिष्कसम्बन्धी समस्याहरुको लागि उपलब्ध विशेषज्ञहरुमा बाल–न्युरोलोजिष्ट बाल विकाश विशेषज्ञ, बाल–मनोचिकित्सक, न्युरोसर्जन, आदि पर्छन्। यी सबै विशिष्टकृत विशेषज्ञले बच्चाको मस्तिष्क प्रणालीसँग सम्बन्धित समस्याहरूको उपचार गर्छन्। तर, तिनीहरूले आफ्नो विशेषज्ञताको आधारमा मस्तिष्कसम्बन्धी फरक रोग र फरक समस्याहरूको लागि विभिन्न सेवा प्रदान गर्छन्।
न्यूरोलोजी भनेको मस्तिष्क र स्नायुप्रणाली, साथै मेरुदण्ड, मांसपेशी र स्नायुहरूलाई असर पार्ने अवस्थाहरूको निदान र उपचारमा केन्द्रित चिकित्सा विशेषज्ञता हो। जब बिरामीलाई मस्तिष्क वा स्नायु सम्बन्धी समस्या हुन्छ वा लक्षणहरू देखिन्छन्, प्रायःउनीहरूको प्रारम्भिक मूल्यांकन न्यूरोलोजिस्टसँग हुन्छ, जसले समस्याको स्रोतमा पुग्न सीटीस्क्यान, एमआरआई आदि परीक्षण आवश्यकता अनुसार गर्न सक्छन्। यदिसंरचनात्मक समस्या, जस्तै ट्यूमर पत्ता लगाए, न्यूरोसर्जनमा जान सिफारिश गर्छन्। यदि शल्यक्रिया गर्नुपर्ने समस्या नभए रोगअनुसारको उपचार गर्छन्। मानसिक समस्या भए बालमनोचिकित्सकसँग जान सिफारिश गर्छन्। विकाससम्बन्धी समस्या रहेछ भने बाल विकाश विशेषज्ञसँग जान सिफारिश गर्छन्।
बाल–न्युरोलोजिष्टहरूलेनिम्न अवस्थामा निदान र उपचार गर्छन्ः
टाउको दुखाइ र माइग्रेन, निद्रा विकार, थरथर काँप्ने, मृगी र छारेरोग, मस्तिष्क पक्षाघात, कमजोरी, सेरेब्रलपाल्सी, स्नायुरोग, मांसपेशी रोग (जस्तै, मस्कुलर डीसट्रोफी), स्नायुप्रणाली संक्रमण (जस्तै, मेनिन्जाइटिस वा इन्सेफलाइटिस), चक्कर आउने र सन्तुलन सम्बन्धी समस्याहरू, आनुवंशिक मस्तिष्करोग, मस्तिष्क र मेरुदण्डलाई असर गर्ने अटोइम्यून समस्याहरू (जस्तै, मल्टिपल स्क्लेरोसिस, अटोइम्यून इन्सेफलाइटिस), विकास ढिलाइ आदि।
बाल–न्यूरोसर्जनले निम्न अवस्थाको निदान, उपचार र प्रबन्ध गर्छन्
मस्तिष्क र मेरुदण्डको शल्यक्रियाद्वारा उपचार गर्नुपर्ने समस्याहरुको उपचार हुन्छ। जस्तै ः मस्तिष्क र मेरुदण्डमा हुने चोटपटक, रगत जमेको, एन्युरिज्म, अवरुद्ध धमनीहरू, स्नायु च्यापिएको, कार्पलटनेलसिन्ड्रोम, मस्तिष्क र मेरुदण्डको ट्यूमर हटाउने शल्यक्रिया, हाइड्रोसेफ्लसका लागि पाइपराख्ने, मेरुदण्डसम्बन्धी जन्मदोष आदि समस्याको शल्यउपचार।
बाल–विकाश विशेषज्ञले निम्न अवस्थाको निदान, उपचार र प्रबन्ध गर्छन्
मानसिक विकाशका अक्षमताहरू जस्तै, सुस्त मनस्थिति, सिकाइ अक्षमता, विकासढिलाइ, बोलीको समस्या, अटिजम, टोर्रेट डिसअर्डर, चकचकेपन, बानी विकार आदि।
बाल–मनोचिकित्सकले निम्न अवस्थाको निदान, उपचार र प्रबन्ध गर्छन्
एन्क्जाइटी, डिप्रेसन, आचरण समस्या, टोर्रेट डिसअर्डर, चकचकेपन, अब्सेस्सिब कम्पल्सिब डिसअर्डर, उन्माद, सिजोफ्रेनिया, पोस्ट–ट्रमाटिक स्ट्रेस डिसअर्डर, बानी विकार आदि ।
के हो बहुविशेषज्ञ उपचार?
सबै समस्याहरू मस्तिष्कसँग सम्बन्धित भएकोले, प्रदान गरिएको उपचारको बारेमा त्यहाँ केही ओभरल्याप हुनसक्छ। केही समस्याहरूको लागि दुई विशेषज्ञमध्ये कुनैले पनि उपचार प्रदान गर्न सक्छन्।
अर्कोतर्फ केही समस्या यति जटिल हुन्छन् कि धेरै विशेषज्ञहरूले सँगै मिलेर उपचार गर्नुपर्छ। उदाहरणको लागी, चकचकेपनको उपचार गर्न बाल–मनोचिकित्सक वा बाल–विकाश विशेषज्ञद्वारा उपचार गर्न सकिन्छ। यदि बच्चामा मृगी (छारेरोग) र विकासको ढिलाइ दुवै छ भने, मृगी बाल न्यूरोलोजिस्टद्वारा र विकासको ढिलाइ बालविकाश विशेषज्ञद्वारा मिलेर उपचार गरिन्छ।
यस्तै प्रकारले यदि बच्चालाई दिमागमा ट्यूमर छ भने यस रोगले मृगी र विकासमा ढिलाइ जस्ता समस्या निम्त्याउन सक्छ। त्यस्ता दीर्घरोग भएका धेरै बच्चालाई डिप्रेसन पनि हुन सक्छ। यतिबेला न्यूरोसर्जन, न्यूरोलोजिस्ट, बाल–विकाश विशेषज्ञ, बाल–मनोरोग विशेषज्ञ सबै मिलेर उपचार गरिन्छ। यसलाई बहु–विशेषज्ञ उपचार भनिन्छ।
–बाल न्यूरोलोजिस्ट डा पौडेल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानमा कार्यरत छन्।