काठमाडौं - औषधि व्यवस्था विभागले चैत पहिलो साता निजी क्षेत्रलाई कोभिड–१९ विरुद्धको खोप आयातका लागि बाटो खुला गर्यो। कोभिड–१९ विरुद्धको खोप अभियानलाई सफल पार्न तथा खोपको आपूर्तिमा सहजता कायम गर्न भन्दै विभागले निजी क्षेत्रलाई खोप आयातका लागि बाटो खुला गरेको थियो।
विभागले त्यही समयमा एक सूचना जारी गर्दै खोप आयातका लागि निवेदन दिन समेत आह्वान गर्यो। एक साताका लागि जारी गरिएको सूचनामा कुनै निवेदन नपरेपछि विभागले पुनः एक साताको म्याद थप गरेको थियो।
कोभिड-१९ विरुद्ध प्रयोग हुने खोपको प्राप्ति र प्रयोग सम्बन्धी अवधारणापत्र अनुसार खोपको एक्स फ्याक्ट्री मूल्य, ढुवानी, भण्डारण, सम्बन्धित मुलुकको कर, सेवा शुल्कसमेत विश्लेषण गरी मुनाफा बढीमा १० प्रतिशत कायम हुने निदेवन दिनुपर्ने सूचनामा उल्लेख थियो।
सबै प्रक्रिया पुर्याएर आएको भन्दै विभागले वैशाखमा तीन वटा कम्पनीलाई खोप आयातका लागि अनुमति दिए।
विभागले भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड खोप हुकम डिस्ट्रिब्युटर्स र भारतकै बायोएनटेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन इमराल्ड फर्मालाई अनुमति दिएको थियो। रसियन खोप स्पुतनिक भी खोपको आयातका लागि लोमस फर्माले अनुमति पाएका थिए।
विभागले औषधि तथा खोपको आपतकालीन प्रयोग सम्बन्धी संहिता २०७७ को अधिनमा रहेर खोप आयातका लागि अनुमति दिने गरेको छ।
अनुमति पाएको करिब तीन महिना पुग्नै लाग्दा पनि ती तीन वटा कम्पनीले खोप आयात गर्न सकेका छैनन्। विभागका सूचना अधिकारी सन्तोष केसीले हालसम्म तीन वटा कम्पनीले मात्र खोप आयातका लागि अनुमति पाएको बताए।हालसम्म यी तीन वटा कम्पनीको खोप आयातका लागि प्रक्रिया सुरु नभएको उनी बताउँछन्।
उनले भने, ‘खोप आयातका लागि हालसम्म हुकम, इमराल्ड र लोमसले अनुमति पाएका हुन्। तर अहिलेसम्म कुनै पनि खोप आउने प्रक्रियामा भएको देखिदैन।’
भारतमा बढ्दो कोरोना संक्रमणका कारण त्यहाँ उत्पादन हुने खोपहरु निर्यातमा रोक लगाइएको छ। भारतले निर्यातमा लगाएको प्रतिबन्धका कारण खोप ल्याउन नसकिएको अनुमति पाएका कम्पनीहरु बताउँछन्।
भारतको सेरम इन्स्टिच्युटले उत्पादन गरेको कोभिसिल्ड आयातका लागि अनुमति पाएका हुकम डिस्ट्रिब्युटर्सका म्यानेजर रमेश दवाडीले खोप ल्याउने प्रक्रियामा कुनै प्रगति नभएको बताए। भारतमा कोरोना संक्रमणको दर बढ्दै गएपछि आयातमा लगाएको प्रतिबन्धका कारण खोप ल्याउन नसकिएको उनले बताए।
उनले भने, ‘भारतमा त्यहाँको सर्वोच्च अदालतले अवस्था सामान्य नभएसम्म खोप आयातमा प्रतिबन्ध लगाएको छ। हामीलाई मात्र त होइन। सिरम इन्स्टिच्युटले सम्झौता गरेको ३० वटा राष्ट्र कसैलाई पनि आयात गरेको छैन।’
आफ्नो कम्पनी र सिरम इन्स्टिच्युट बीचको विषयले नभई भारतमा बढ्दो कोरोना संक्रमणका कारणले खोप आयात प्रक्रियामा असर पुगेको उनले बताए। भारतको सर्वोच्च अदालतले आयातमा अनुमति नदिएसम्म खोप ल्याउन नसकिने उनले स्पष्ट पारे।
‘हामीले सम्झौता गर्ने यो भारतमा कोरोना महामारीको अवस्था थिएन। यो कम्पनीबीचको विषय होइन। यो सरकारी स्तरको विषय हो। जबसम्म भारत सरकारले आयातका लागि अनुमति दिदैन, त्यो बेलासम्म खोप आउने स्थिति छैन’ उनले भने।
आफूहरुले प्रयास गरेपनि भारतको सरकारले आयातमा लगाएको प्रतिबन्धका कारण चाहेर पनि खोप ल्याउन नसकिएको उनले बताए।
यता, भारतकै बायोएनटेकले उत्पादन गरेको कोभ्याक्सिन ल्याउन अनुमति पाएका इमराल्ड फर्माको भनाई पनि यही छ।
इमराल्ड फर्माका निर्देशक सुरेन्द्र नायरले भारतले आयात रोकेका कारण खोप ल्याउन नसकिएको बताए।
उनले भने, ‘हामीले खोप ल्याउने भनेर नै सम्झौता गर्यौ। तर भारतमै प्रतिबन्धमा रोक लगाएको छ। त्यसैले खोप ल्याउन सकिरहेका छैनौं।’
नेपाल औषधि व्यवसायी संघका अध्यक्ष मृगेन्द्र मेहर श्रेष्ठले तत्काल खोप आउने संभावना नदेखिएको बताउँछन्। नेपाल सरकार र खोप ल्याउने सरकारबीच समन्वयको अभाव हुँदा पनि खोप ल्याउन समस्या भइरहेको उनको बुझाई छ।
उनले भने, ‘सरकारी स्तरको प्रयासबाट त खोप ल्याउन समस्या भइरहेको छ भने निजी क्षेत्रलाई खोप ल्याउन झनै कठीन छ जस्तो लाग्छ। त्यसैले निजी क्षेत्रले खोप ल्याइहाल्न सक्ने अवस्था गाह्रो जस्तो देखिन्छ।’
विश्वव्यापी रुपमै खोपको अभाव भएकाले पनि निजी क्षेत्रले खोप ल्याउन नसकेको स्वास्थ्य तथा जनसंख्याले स्पष्ट पारेको छ। मन्त्रालयका प्रवक्ता डा कृष्णप्रसाद पौडेलले खोप आयातका लागि अनुमति पाएपनि विश्वव्यापी रुपमै खोप अभाव भएकाले खोप ल्याउन समस्या भएको हुन सक्ने बताए।
‘अहिले विश्वमै कोरोनाको खोपको अभाव छ। हामीलाई पनि खरिद गर्न केही समस्या भइरहेको छ।’ उनले भने, ‘विश्वव्यापी अभाव, केही देशले आयातमा लगाएको प्रतिबन्धका कारण खोप ल्याउन समस्या भएको हुन सक्छ।’
निजी क्षेत्रसँग समन्वय गर्नु कोरोना महामारीको समयमा आवश्यक भएको उनको भनाई छ।