खाना खाएपछि मुखमा अमिलो पानी आउने, छाती तथा घाँटी पोल्ने समस्या हुन सक्छ।यसलाई चिकित्सकीय भाषामा हार्ट बर्न भनिन्छ। हार्ट बर्नको समस्याले धेरैलाई सताउन सक्छ। जसमध्ये गर्भवती अवस्थामा पनि हार्ट बर्नको समस्या देखिन्छ।
गर्भ बसेको पहिलो तीन महिनाभित्र नै मुटु दुख्ने (हार्ट बर्न) समस्या अत्यधिक महिलाहरूमा देखिन्छ। खासमा आमाशयमा रहेको अम्लीय पदार्थ माथि आउने हुँदा यो समस्या देखिन्छ। पेटको माथिल्लो र बीच भागमा दुख्ने र पोल्ने, अमिलो पानी मुख या घाँटीसम्म आउने, करङको अगाडि र पछाडि बीच भागमा दुख्ने यसका लक्षणहरू हुन्।
गर्भावस्थामा निक्लने हर्मोन जस्तै प्रोजेस्टेरोनले आन्द्राको माशंपेशीलाई रिल्याक्स गराउने हुँदा यो समस्या हुने गर्दछ। पछिल्लो समयमा भने पाठेघर र बच्चाले धेरै ठाउँ लिने हुँदा आन्द्रा र आमाशयमा बढी प्रेसर पर्ने हुँदा यस्तो समस्या झनै बढ्छ।
सामान्यतया गर्भवती अवस्थामा बच्चा बसेपछि शुरूको १२ हप्तासम्म एकदम धेरै वान्ता हुने गर्छ। यो खासमा गर्भवती भएकै वान्ता हुने हो। धेरै पटक वान्ता हुँदा महिलामा पेट फुल्ने, एसिडिटी बढ्ने हुन्छ।वान्ता नहुनेहरूमा पनि वान्ता होला की जस्तो हुने हुन्छ। त्यसैले शुरुको १२ हप्तासम्म गर्भवती महिलामा हुने हार्ट बर्न यही कारणले हुन्छ।
हार्ट बर्नका कारण उनीहरूले अलि अस्वस्थ महसुस गर्छन्। गर्भावस्था एक शारीरिक परिर्वतनको अवस्था पनि हो। सामान्य मानिसमा जुन गतिमा आन्द्रा चल्छ, त्यो गतिमा गर्भवती अवस्थामा चल्दैन। त्यसैले पनि गर्भवती अवस्थामा दिसा पास राम्रोसँग हुँदैन। यो अवस्थामा गर्भवती महिलामा हार्ट बर्नसँगै कब्जियतको समस्या पनि धेरै हुन्छ।
यो हार्ट बर्नको समस्या जो कोहीलाई हुन सक्छ। कसैलाई कम त कसैलाई बढी हुन सक्छ। केहीलाई नहुन पनि सक्छ। हार्ट बर्नको समस्याबाट बच्ने सहज उपाय भनेको जीवनशैली सुधार्नु नै हो।एकैपटक धेरैभन्दा पनि थोरै थोरै गरी पटक पटक खानुपर्छ।अरु बेला दिनको तीन पटक खाँदा हुन्छ भने गर्भवती अवस्थामा ५/६ पटक खानुपर्छ।क्याफिनयुक्त खानेकुराहरू खानु हुँदैन। पिरो, तारेका, एसिडिक, मसालेदार, धेरै चिल्लोयुक्त खानेकुराहरू खानु भएन। एकै पटक धेरै खाने कुरा खानु हुँदैन।माछा मासु पनि अत्यधिक खान हुँदैन।
धेरै महिलाहरू खाना खाने बित्तिकै सुत्नुहुन्छ। जुन स्वास्थ्यका निम्ति फाइदाजनक होइन। खाना खाने बित्तिकै सुत्नु हुँदैन।धूम्रपान तथा मद्यपान गर्ने बानी छ भने हटाउनुपर्छ। हार्ट बर्न हुँदैमा औषधि खाइहाल्नुपर्छ भन्ने हुँदैन।
पहिलो तीन महिनासम्म धेरैजसो गर्भवती महिलाको गुनासो भनेकै हार्ट बर्नको समस्या हुने गर्छ। कब्जियत हुने, वान्ता हुने, पेट पोल्ने गरेको धेरैको गुनासो हुन्छ। हार्ट बर्नको समस्या खानपानसँग जोडिएकाले खानपानमै सुधार गर्नुपर्छ। खानपानमा सुधार गर्न सके हार्ट बर्नको समस्या पनि कम भएर जान्छ।
कसरी कम गर्ने?
– प्रशस्त मात्रामा हरियो सागसब्जी खाने
– माछा, मासु खाँदा प्रशस्त्र सलाद खाने
– खानासँगै पानी नखाने
– अम्लीय, मसालेदार, तारेको, बोसो मिसिएको खाना, कफी, कार्बोहाइड्रेड पेय पदार्थ, रक्सी चुरोट नखाने
– सुतेर खानेकुरा नखाने
– पटक पटक थोरै खाना खाने
– खाना खाइसकेपछि कम्तीमा दुई घण्टा नसुत्ने
– सुत्दा सिरानी राखेर सुत्ने, कम्तीमा ६/९ इन्चसम्म टाउको उठ्ने गरी
कुन अवस्थामा औषधि खाने र चिकित्सकलाई भेट्ने भन्ने विषय महत्वपूर्ण हुन्। सहनै नसक्ने गरी पेट पोलेको अवस्थामा चिकित्सकलाई भेट्नुपर्छ। तर, सामान्य खालको दुखाईको लागि औषधिको सेवन नगर्दा पनि हुन्छ। कहिलेकाहीँ भएको हार्ट बर्नबाट डराउनु पर्दैन। तर, निरन्तर रूपमा पेट पोल्ने समस्या हुन थाल्यो भने सचेत हुनैपर्छ।
कुन अवस्थामा चिकित्सकलाई भेट्ने?
– यदि हार्ट बर्नकै कारणले निद्रा गडबड या कम लाग्ने भए
– मानसिक र शारीरिक थकावट भए
– सामान्य घरेलु उपचार या खानपानको सुधारले कम नभएमा
– चिकित्सकले दिएको औषधिले कम नभएमा या हार्ट बर्न बढेमा
– पछिल्लो तेस्रो महिनामा रक्तचाप बढ्ने र खुट्टा सुन्निनुका साथै हार्ट बर्न भएमा तुरुन्त चिकित्सकलाई भेट्नु पर्छ।
(डा सापकोटा चितवनस्थित भरतपुर अस्पतालमा सिनियर कन्सलटेन्ट गाइनोकोलोजिष्टको रूपमा कार्यरत छन्। )