काठमाडौं - फार्मेसी सञ्चालन गर्दा फर्मासिस्ट, फार्मेसी सहायक वा व्यवसायी आफैँले औषधिको बिक्रि वितरण गर्नुपर्छ। औषधि ऐन २०३५ को दफा १७ को उपदफा २ ले पनि स्पष्ट रुपमा यसलाई व्याख्या गरेको छ।
तर उक्त ऐनमा रहेको व्यवस्था विपरित अझै पनि नाम दर्ता प्रमाणपत्र (लाइसेन्स) भाडामा दिने र लिने क्रम रोकिएको छैन।
फार्मेसी पसलको धनी र औषधिको बिक्रि वितरण गर्ने फर्मासिस्ट, फार्मेसी सहायक र व्यवसायी एकै हुने वा फरक हुनुपर्ने भन्ने विषयको विवाद अहिले पनि टुंगिएको छैन। यो विवाद फार्मेसी पेशामा लामो समयदेखि चल्दै आएको छ।
फार्मेसी पसलको धनी र व्यवसायी फरक हुँदा फार्मेसी पेशामा विकृति मौलाउँदै गएको गुनासो आउने गरेको छ। नेपाल फार्मेसी परिषद, औषधि व्यवस्था विभाग र सरोकारवाला स्वयंले पनि यो कुरा स्वीकार्दै आइरहेका छन्। तर पनि लाइसेन्स भाडामा दिने र लिने क्रमले निरन्तरता पाइरहेकै छ।
औषधिको बिक्रि वितरणलाई नियम अनुसार गराउन र विकृति रोक्न फार्मेसीका धनी र बिक्रि गर्ने व्यक्ति एकै हुनुपर्नेमा धेरैको जोड छ।
धनी र व्यवसायी फरक हुँदा लाइसेन्सको दुरुपयोग हुने काम कसरी हुन्छ फर्मासिस्ट समीर ओझा र धनी रामराजा केसीको यो घटनाबाट स्पष्ट हुन सकिन्छ।
करिब तीन वर्ष पहिले फार्मेसी सञ्चालनका लागि भन्दै फर्मासिस्ट ओझा र धनी केसीले सम्झौता गरे। २०७५ असार १८ गते उनीहरुले औषधि व्यवस्था विभागमा किशन फार्मेसी दर्ता पनि गरे। तर फर्मासिस्ट ओझाले फार्मेसीमा चार महिनाभन्दा बढी काम गरेनन्।
औषधिको बिक्रि गर्ने काम फर्मासिस्टको भएको पनि उनलाई ती कामबाट बञ्चित गराइएको थियो। पानी तथा विभिन्न सामान ल्याउनमा मात्र केन्द्रित गरिएको फर्मासिस्ट ओझा बताउँछन्।
उनी भन्छन्, ‘मैले चार महिना काम गरेँ। तर मलाई फार्मेसीको भन्दा पनि अरु काम गर्न लगाए। पानी ल्याउने, उसको सामानहरु ल्याउन लगाउने काम गर्न लगाउँथे। त्यही बेलादेखि मैले लाइसेन्स निकाल्न खोजेको थिएँ।’
धनी र व्यवसायीले सम्झौता गरी फार्मेसी सञ्चालन गर्दा फर्मासिस्टले आफ्नो लाइसेन्स विभागमा बुझाउनुपर्ने हुन्छ। हाल त्यही लाइसेन्स फिर्ता लिनका लागि उनी विभागमा धाइरहेका छन्।
उनले फार्मेसीबाट आफ्नो लाइसेन्स निकाल्न धनी रामराज केसीलाई दुई वर्षदेखि आग्रह गरिरहे। तर लाइसेन्स फिर्ता नपाएपछि फर्मासिस्ट ओझाले विभागलाई गुहारेका हुन्। ती व्यक्तिले लाइसेन्स फिर्ता गर्नुको साटो उल्टै फार्मेसी पसल बन्द गरेर फरार रहेको उनले बताए।
उनले भने, ‘मैले मेरो लाइसेन्स फिर्ता मागेपछि हुन्छ भन्दाभन्दै दुई वर्ष टरिसक्यो। त्यसैले मैले लाइसेन्स फिर्ताका लागि विभागलाई निवेदन लेखेको हुँ।’
उनले ‘लाइसेन्स निकाली पाउँ’ भन्दै विभागमा हालसम्म तीन पटक निवेदन दिइसकेका छन्। उनले पहिलो पटक २०७७ साल चैत ३० गते विभागमा निवेदन दिए।
उक्त निवेदनमा भनिएको थियो,
‘म समीर ओझा नेपाल फार्मेसी परिषदमा दर्ता भएको मेरो लाइसेन्स नं जी१७२७ ले किसन फार्मेसीमा व्यवसायी रही बिगत दुई वर्षदेखि चलाउँदै आएको उक्त पसलको धनी राजाराम केसीले मैले बारम्बार अवगत गराउँदा पनि मेरो लाइसेन्स ननिकालेको र उल्टो मलाई गाली गलौजपूर्ण व्यवहार गरेकाले श्रीमान समक्ष उक्त फार्मेसी पसलबाट मेरो लाइसेन्स झिकिदिन अनुरोध गर्दछु।’
उनले विभागमा निवेदन दिएपनि सुनुवाई नभएपछि २०७८ साल वैशाख ६, असार ३० र साउन १० गते प्रक्रिया अघि बढाउन आग्रह गर्दै तीन पटक निवेदन दिइसकेका छन्। सुरुको दिनमा ती व्यक्तिले लाइसेन्स फिर्ता दिन्छु भनेपनि हाल मोबाइल अफ गरी सम्पर्क बाहिर रहेको उनले बताए।
ओझा अहिले रोजगारीका लागि विदेशिने तयारीमा छन्। तर लाइसेन्स निकाल्न समस्या भएका कारण विदेश जान अप्ठ्यारो भएको उनले सुनाए। लाइसेन्स दुरुपयोग हुन सक्ने भन्दै निकाल्न विभागलाई आग्रह गरेको उनको भनाई छ।
‘मेरो लाइसेन्स भोलिका दिनमा दुरुपयोग हुन सक्छ। ती व्यक्तिले दुरुपयोग गर्न सक्छन्। मेरो लाइसेन्स दुरुपयोग भयो भने म फस्छु। त्यसैले जसरी पनि लाइसेन्स निकाल्नु पर्ने छ,’ उनले भने।
उनले लाइसेन्स झिकाउनका लागि महानगरीय प्रहरी वृत्त गौशाला काठमाडौंमा पनि निवेदन दिएका छन्।
यता औषधि व्यवस्था विभागका सूचना अधिकारी सन्तोष केसीले लाइसेन्स निकाल्न स्थानीय तहबाट फार्मेसी पसल सञ्चालनमा नरहेको पत्र ल्याउनुपर्ने वा धनीलाई उपस्थित गराउनुपर्ने बताए।
उनले भने, ‘धनीलाई उपस्थित गराउनुपर्यो। धनीलाई उपस्थित गराउन सक्ने अवस्था छैन भने फार्मेसी पसल सञ्चालनमा छैन भनेर स्थानीय तहबाट लेखेर ल्याउनुपर्यो। तब मात्र प्रक्रिया सुरु हुन्छ।’
लाइसेन्स भाडामा दिनु नै फर्मासिस्ट ओझाको गल्ती भएको उनी बताउँछन्। उनका अनुसार धनी र व्यवसायीबीच सम्झौता भएको पनि देखिएको छैन। यता फर्मासिस्ट ओझाले आफूले सम्झौता गरेको पत्र हालसम्म प्राप्त नगरेको बताउँछन्।
नेपाल फार्मेसी परिषदका रजिष्ट्रार सञ्जिव कुमार पाण्डेयले लाइसेन्स भाडामा दिनु गैरकानुनी भएको बताए। आर्थिक मुनाफाका लागि लाइसेन्स भाडामा दिन नमिल्ने उनले बताए। नाम दर्ता प्रमाणपत्र दुरुपयोग भएको उजुरी परे यो विषयमा आफूहरुले छानबीन समेत गर्न मिल्ने उनले बताए।
उनले भने, ‘यो गैरकानुनी हो। गलत हो। लाइसेन्स भाडामा दिनु पनि निजको अपराध हो।’ यो घटनाले पनि लाइसेन्स भाडामा दिने निरन्तरा टुटेको छैन भन्ने कुरा स्पष्ट पारेको रजिष्ट्रार पाण्डेयले बताए।