के हो जीन सिक्वेन्सिङ? स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जीन सिक्वेन्सिङको नतिजा प्रकाशित गरेको थियो। साधारण भाषामा भन्नुपर्दा जीन सिक्वेन्सिङ भनेको भाइरसको जेनेटिक बनावटलाई डिकोट गर्ने परीक्षण हो। पीसीआर परीक्षणमा कोरोना भाइरसको जीन शरीरमा छ कि छैन जाँच गरिन्छ भने सिक्वेन्सिङमा जीनको बनावटको अध्ययन गरिन्छ।
जीन सिक्वेन्सिङ किन गरिन्छ ?
कोराना भाइरसले आफ्नो जीनमा साना–साना परिवर्तन गरिरहन्छ। जसलाई म्युटेसन भनिन्छ। धेरै जस्तो म्युटेसनले कुनै पनि प्रभाव पार्दैन । तर कहिलेकाँही यसरी भएको म्युटेसनले भाइरसको चरित्रमा ठूलो बदलाव ल्याइदिन्छ। जस्तै भाइरस बढी संक्रामक हुनसक्ने, छिट्टै फैलिन सक्ने, उपलब्ध औषधिले काम नगर्ने आदि हुन्।
भाइरसको परिवर्तित स्वरुपलाई नयाँ भेरियन्ट भनिन्छ। त्यसलाई विश्व स्वास्थ्य संगठनले एउटा नाम दिन्छ। नयाँ भेरियन्टले विश्व जनस्वास्थ्यमा नकारात्मक प्रभाव पर्ने सम्भावना भएमा त्यसलाई भेरियन्ट अफ कन्सर्नको संज्ञा दिइन्छ।
अहिले कोरोना भाइरसको अल्फा, बिटा, गामा र डेल्टा गरी ४ वटा भेरियन्ट अफ कन्सर्न छन् भने अरुलाई भेरिएन्ट अर्फ इन्ट्रेस्ट भनिन्छ। भाइरसमा भएका यस्ता म्युटेसनहरुलाई पत्ता लगाउन जीन सिक्वेन्सिङ गरीन्छ र यसबाट भाइरसको नयाँ भेरियन्ट आएको वा नआएको तथा सो भेरियन्ट भेरियन्ट अफ कन्सर्न भएको वा नभएको पत्ता लाग्न मद्दत हुन्छ।
जीन सिक्वेन्सिङका लागि नमुना छनोट कसरी गरिन्छ?
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट हालसम्म १४९ वटा नमुनाको जीन सिक्वेन्सिङ गराइसकिएको छ। विगत ३ महिनादेखि नियमित रुपमा सिक्वेन्सिङ गराउने कार्य भइरहेको छ।
यसमा नमुना छनोट गर्दा सिटी भ्यालु २५ वा सो भन्दा कम भएको नमुना मात्र लिन्छौं। कतै आउटव्रेक भएको देखियो, विदेशबाट आएको देखियो, भ्याक्सिन लगाएपछि संक्रमण देखियो, बिरामी बढी अप्रत्यासित रुपमा सिकिस्त भए वा अन्य कुनै विशेष वा फरक लक्षण देखिएका नमुनालाई जीन सिक्वेन्सिङका लागि प्राथमिकता दिएर छानिन्छ।
साथै विभिन्न उमेर र सातै प्रदेशका प्रतिनिधित्व हुने गरी नमुना छनोट गरिन्छ। सिक्वेन्सिङको नतिजा प्राप्त भएपश्चात त्यसलाई ‘ग्लोबल इनिसिएटिभ अन सेयरिङ अल इन्फ्लुएन्जा डेटा’ (जिसेड) भन्ने अन्तराष्ट्रिय वेवसाइडमा बिरामीको पहिचान नखुल्ने गरी उपलब्ध गराइन्छ, त्यसपछि यो डेटा सबैले हेर्न मिल्ने र त्यसमा थप अध्ययन, अनुसन्धान गर्न मिल्ने हुन्छ।
हाल जिसेडमा १८९ देशका झण्डै २५ लाख कोरोना भाइरस सिक्वेन्सिङकमा डेटा उपलब्ध छ।
यसरी उपलब्ध सिक्वेन्सका अध्ययनले परीक्षणका लागि रिएजेन्ट किट बनाउन, औषधि तथा भ्याक्सिन बनाउन जानकारी प्राप्त हुन्छ। सिक्वेन्सिङले समुदायमा कस्तो खालको कोरोना फैलिएको हो सो को निगरानी गर्न मद्दत गर्ने हुनाले हरेक व्यक्तिको सिक्वेन्सिङ गर्नु आवश्यक छैन। यो खर्चिलो परीक्षण पनि छ। एउटा नमुनाको सिक्वेन्सिङ गर्न ६० हजार रुपैयाँसम्म पर्न सक्छ। छिट्टै सरकारी प्रयोगशालाबाटै यो सेवा सुरु गर्न द्रुत गतिमा काम अघि बढाइएको छ।
सुरु–सुरुमा नेपालमा कोरोना भाइरसको वाइल्ड टाइप भाइरस हो। त्यो बाहेक नेपालमा विभिन्न समयमा अल्फा, डेल्टा र कापा भेरियन्ट देखिएको छ। कोरोनाको दोस्रो लहरको सुरुवाती दिनमा अल्फा भेरियन्ट देखिएपनि त्यसलाई छिट्टै डेल्टा भेरियन्टले विस्थापित ग¥यो। स्वास्थ्य मन्त्रालयले मंगलबार सार्वजनिक गरेको विवरणका अनुसार परीक्षणका लागि छानिएका सतप्रशित नमुनामा डेल्टा भेरियन्ट नै देखिएका छ। त्यो मध्ये ६ प्रतिशत नमुनामा डेल्टा भेरियन्टको उत्परिवर्तन के४१७एन (k417n) नामक म्युटेसन छ। यो म्युटेसनलाई बोलिचालिको भाषामा डेल्टा प्लस भन्ने गरिन्छ। डेल्टा भेरियन्ट विश्वको १३२ देशहरुबाट र डेल्टा प्लस ९ वटा देशहरुबाट रिपोर्ट भइसकेको अवस्था छ।
अहिलेसम्मको भरियन्ट मध्ये डेल्टा भेरियन्ट सबैभन्दा छिटो फैलिने भेरिएन्ट भएको प्रमाणहरुले देखाउँछ। त्यसैले पनि दोस्रो लहरमा हामी पहिलो लहरमा भन्दा बढी प्रभावित भएका छौं। परिवारमा एक सदस्यलाई संक्रमण भएपछि पहिला संक्रमण भएका बाहेक सबै सदस्य संक्रमण भएको दोस्रो लहरमा देखिएको थियो।
यो भेरियन्टविरुद्ध अहिलेको भ्याक्सिनले काम गर्छ?
अहिलेसम्म उपलब्ध भएका सबै भ्याक्सिनहरुले डेल्टा भेरियन्टबाट पनि सुरक्षा दिन्छ। तर, भ्याक्सिनहरुको पनि प्रभाव सिमित भएकाले सबैले जनस्वास्थ्यका मापदण्डहरु अनिवार्य रुपमा कडाइका साथ पालना गर्नुहुन, मास्कको प्रयोग र बारम्बार साबुनपानीले हात धुन आग्रह गर्दछौं।
- (राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा झाले स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा व्यक्त गरेको जानकारी।)