आमा बन्ने यात्रा गर्भाधानबाट सुरू भएर गर्भावस्था, सुत्केरी हुंदै नवजात शिशुको स्याहार गर्दै हुर्काउंदासम्म निरन्तर चलिरहन्छ। आमा बन्नुलाई कुनै पनि नारीको जीवनको सबैभन्दा सार्थक अनुभव भनिन्छ। सन्तान पाउनु दाम्पत्य जीवनको एक अभिन्न उद्देश्य भए पनि मातृत्वको सम्पूर्ण अभिभारा नारीमा निहित छ। यस उद्देश्य प्राप्तिमा नारीलाई आफ्नो श्रीमान् लगायत सम्पूर्ण परिवारको साथ-सहयोग र प्रेरणा नितान्त आवश्यक छ। हरेक दम्पतिले आफू-अनुकूल समय र तयारी मिलाएर मात्र प्रजनन् बारे सोच्न उपयुक्त हुन्छ।
गर्भावस्थाका विभिन्न चरणहरू हुन्छन्।
पहिलो, गर्भाघान गर्नु अगाडिको परामर्श र तयारी।
दोस्रो, गर्भाधानपछि गर्भावस्था हुँदै सुत्केरी सम्मको अवस्था।
तेस्रो, सुत्केरी प्रक्रिया र
चौथो, सुत्केरीपछिका केही हप्ताहरू।
यो लेखमा मुख्यत: पहिलो चरण अर्थात् गर्भावस्थापूर्वको परामर्शको आवश्यकता र औचित्यका बारे चर्चा गर्नेछु।
“अक्रमेणानुपायेन कर्मारम्भो न सिध्यति” अर्थात् योजना, क्रम र स्रोत-साधनको तयारीबिना आरम्भ गरिएको कार्य सफल हुदैन भनिएझैं गर्भधारण हरेक दम्पतिको वैवाहिक जीवनको महत्वपूर्ण मोड भएकोले समुचित तयारी गरेर मात्र पाइला चाल्नु जरूरी छ। आजको परिप्रेक्षमा मानसिक तनाव र वित्तीय व्ययभारबाट बच्न शारीरिक, मानसिक र आर्थिक रूपले सुरक्षित महसुस नभई गर्भधारण गर्न हुँदैन।
आज २१औं शताब्दीमा विज्ञान र प्रविधि हामी सबैको पहुँचमा आईपुगेको अवस्थामा इन्टरनेट हाम्रो दैनिकीको अभिन्न अंग बन्न पुगेको छ। आज गुगलले सबै प्रश्नको उत्तर दिन्छ भन्नेमा हामी विश्वस्त भइसकेका छौं। तर गुगलमा राखिएका सबै लेख-आलेखहरू तथ्यपरक हुन्छन् भन्न सकिन्न। कतिपय अवैज्ञानिक, भ्रामक र अर्थहीन कुराहरू पढेर दिग्भ्रमित हुँदै मानसिक तनाव र शारीरिक समस्यामा परेर कैयौं दम्पति म कहाँ आएका छन् परामर्श लिन। अत: इन्टरनेटमा सबै कुराको समाधान रहेनछ र कतिपय जिज्ञासा तपाईं हामी बसेर कुराकानी गरेर सुल्झाउन सक्छौं।
गर्भाधानको उचित समय के हो?
गर्भाधान गर्न इच्छुक दम्पतिले के गर्न हुने के नहुने?
कस्तो दम्पतिलाई गर्भावस्थामा जोखिम आउन सक्छ?
कसले अरूभन्दा बढि सावधानी अपनाउन जरूरी छ?
कुन गर्भिणीको सुत्केरी जटिल हुन सक्छ?
यी र यस्ता यावत् प्रश्नहरूको उत्तर थाहा पाउनु हरेक दम्पतिको अधिकार हो।
गर्भाधानपूर्व परामर्श लिन किन जरूरी छ?
एउटा अचम्मको तथ्यांक छ, विश्वव्यापी रुपमा वार्षिक २० करोड गर्भधारणमध्ये ५० प्रतिशत बिना तयारी या भनौं इच्छा विपरित हुने गर्छन्। जसले गर्दा प्रसूतिसम्बन्धि समस्या धेरै देखा पर्दछन्। सहि उमेरमा गर्भाधान, समुचित स्वास्थ्य परीक्षण र आइपर्न सक्ने जोखिमको पूर्वानुमान र न्यूनीकरण गर्दै सुरक्षित मातृत्वसम्मको यात्राको लागि दम्पतिलाई तयार बनाउन परामर्श अपरिहार्य छ।
थाइराइड, मधुमेह, Rh-negative blood group, पाठेघर वा प्रजनन् प्रणालीको संक्रमण, रक्त अल्पता, thalessemia, वंशानुगत समस्या, पटक-पटक गर्भ तुहिने कारणहरू सजिलै पत्ता लगाउन सकिन्छ। यिनको समयमै निरूपण र निदानले बाँझोपन, गर्भपात तथा सुत्केरीमा हुनसक्ने खतरासमेत घटाउन सकिन्छ।
फोलिक एसिड जुन गर्भमा रहेको भ्रूणको स्नायू विकासका लागि अत्यावश्यक छ, त्यसको समयमै प्रयोग गरेर भविष्यमा हुन सक्ने neural tube defect र anencephaly जस्ता डरलाग्दा समस्या टार्न सकिन्छ।
परामर्शमा बढ्दो उमेरमा गर्भधारण गर्दा हुने जोखिमका बारेमा सम्पूर्ण सुझाव दिइन्छ। Rh negativity एउटा यस्तो भ्रूणघातक अवस्था हो जसको निदान नगरिएमा दोस्रो, तेस्रो गर्भकालमा भ्रूणक्षय गर्न सक्छ।
थुप्रै कुराहरू छन् जुन सायद एउटा लेखमा अटाउन सकिंदैन तर गर्भपूर्वको उचित परामर्शले आउने गर्भावस्थालाई सुमधुर र सजिलो बनाउन सक्छ भन्ने कुरामा दुईमत छैन। त्यसैले नजिकको स्त्री र प्रसुति रोग विशेषज्ञलाई भेटेर परामर्श लिनु फाइदाजनक छ।
अर्को संस्करणमा गर्भावस्थाको दोस्रो चरणको बारेमा चर्चा गर्नेछु।