कतिपय व्यक्तिहरूको खुट्टामा पसिना धेरै आउँछ। खुट्टामा पसिना धेरै आएपछि गन्हाउँछ र चिलाउँछ पनि। यो समस्यालाई चिकित्सकीय भाषामा ब्रोमोडोसिस भनिन्छ।
खुट्टामा पसिना धेरै आएकै कारणले खुट्टा गन्हाउँछ।सामान्यतया पसिना गन्हाउँदैन। तर, खुट्टामा धेरै नै पसिना आउन थालेपछि ब्याक्टेरिया र फंगसको विकास हुन थाल्छ। त्यसले गर्दा खुट्टामा सल्फर ग्यासको उत्पन्न हुन्छ र हाम्रो खुट्टा गन्हाउन थाल्छ।
खुट्टा पसिना सबै व्यक्तिहरूलाई आउँदैन। कुनै रोग लागेको छ भने वंशाणुगत जन्मजात पनि खुट्टामा पसिना आउन सक्छ। थाइराइड, मधुमेहका बिरामी छन् भने या कुनै हर्मोनल कारण र ब्याक्टेरियल संक्रमणका कारणले पनि हुन सक्छ।
कुनै रोग र वंशाणुगत कारणका साथै हामीले छनोट गर्ने जुत्ता र मोजाको भूमिका हुन्छ। हामीले लगाएको जुत्ता कसिलो खालको भएमा खुट्टामा राम्रोसँग हावाको भेन्टिलेशन हुन पाउँदैन। खुट्टा गुम्सिने र पसिना पनि आउने हुँदा झन् गन्हाउने समस्या बढेर जान्छ।
खुट्टा गन्हाउने समस्याले धेरैलाई नै सताउने गरेको छ। तर, यही समस्या लिएर अस्पतालसम्म आउने व्यक्तिहरूको संख्या भने निकै कम छ। किनकी प्रत्यक्ष रूपमा हेर्दा यसले स्वास्थ्यमा त्यस्तो कुनै असर गर्ने त होइन। तर, सामाजिक रूपमा यसले समस्या पार्छ।
कुनै सभा सम्मेलन र भेटघाटमा पुग्दा खुट्टा गन्हाउने समस्या छ भने त्यो लज्जाको विषय पनि बनिदिन्छ। खुट्टाबाट नराम्रो गन्ध आएपछि व्यक्ति स्वयंको पनि आत्मविश्वास घटेर जान्छ। यसले व्यक्तित्वमा पनि असर गर्दछ।
खुट्टा गन्हाउने समस्याले स्वास्थ्यमा प्रत्यक्ष असर नगरेपनि यो कुनै रोगको लक्षण पनि हुन सक्छ। कुनै रोग वा संक्रमणको चिन्हको रूपमा लिएर पनि अलि सतर्क हुन आवश्यक छ। यो कुनै मेडिकल अवस्थासँग जोडिएको हुन सक्ने भएकाले चिकित्सकलाई देखाउन जरुरी पनि छ।
यो समस्या पनि मौसम अनुसार धेरै र थोरै हुने गर्छ। चिसो मौसममा भन्दा पनि गर्मीमा यो समस्याले बढी सताउँछ। गर्मीमा धेरै पसिना आउने भएकाले पनि स्वाभाविक रूपमा यो समस्या बढ्ने गर्छ।
यो समस्या लिएर आउँदै नआउने भन्ने होइन, आउँछन्। तर, निकै कम आउने गर्छन्। कुनै व्यक्तिहरू यो समस्याबाट निकै आजित भएर पनि आउने गरेका छन्। यतिसम्म की कुनै साथीहरूको अगाडि जान पनि उहाँहरूलाई समस्या हुने गरेको पाएकी छु। कति त यो समस्याबाट डिप्रेस पनि हुने गरेका छन्। के गर्ने? कसरी गर्ने? भन्दै आत्तिएर पनि आउने गर्छन्।
खुट्टा गन्हाउने समस्याबाट बच्न हामीले विशेषगरी खुट्टाको सफाइमै ध्यान दिनुपर्छ। दैनिक रूपमा राम्रोसँग खुट्टाको सफाइ गर्नुपर्छ। खुट्टाको औंलाहरूको कापा कापामा एन्टीब्याक्टेयिरल साबुनको प्रयोग गरेर सफा गर्नुपर्छ। खुट्टालाई सुख्खा राख्ने, नङहरू काट्ने, बाक्लो छालाहरू छ भने सफा गर्नुपर्छ।
एउटै जुत्ता लगातार रूपमा लगाउनु हुँदैन। एउटै जुत्ता २/३ दिनभन्दा धेरै लगाउनु हुँदैन। जुत्ताहरू घाममा सुकाउनुपर्छ। सुतिको मोजाहरू लगाउनुपर्छ। खुट्टामा कुनै ब्याक्टेरियल संक्रमण छ भने छाला रोग विशेषज्ञ चिकित्सकको परामर्शमा जानुपर्छ। पसिना धेरै नै आउने समस्या भएकाहरूलाई हामीले अवस्था हेरेर औषधि पनि दिने गर्छौं।
खुट्टामा पसिना आउने र गन्हाउने कुनै रोग होइन। तर, कुनै रोगसँग सम्बन्धित हुन सक्छ। त्यसैले यो समस्यालाई बेवास्ता गर्नुभन्दा पनि सचेत हुनु आवश्यक छ।
(डा मेरिना मानन्धर छालारोग विशेषज्ञ, कस्मेटोलोजिस्ट एवं स्कीन लेजर सर्जन हुन्। )