नेपालमा स्वास्थ्य सेवा र अस्पतालको इतिहास लिच्छवीकालदेखि सुरू भएको मानिन्छ। अंशुबर्माको शासनकाल (सन् ६०५–६२० तिर) उपचारका लागि ‘आरोग्यशाला’ स्थापना गरिएको प्रमाण भेटिन्छ। यो तत्कालिन समयमा आयुर्वेदिक उपचार गर्ने ‘अस्पताल’ को रुपमा रहेको विश्वास गरिन्छ। तर, यससंबन्धमा विस्तृत तथ्य पाइदैंन। तर, लिच्छवी राजा नरेन्द्र देव (६४३–६७९ सन्) र मानदेव (४६४–५०५ सन्) को पालाका आरोग्यशालाका बारेका विस्तृत विवरण पाइन्छन्। लिच्छवी राजाहरुले आमजनताका लागि सुरक्षित मातृत्वका बारेमा नियमकानुन र निर्देशिका नै जारी गरेका थिए।
नरेन्द्रदेवले जारी गरेको निर्देशिकामा गर्भवती आमाको मृत्यु भएमा अन्तिम संस्कार गर्नुअघि बच्चा र आमालाई अलग गर्नुपर्ने र गर्भवतीको हेरचाहका लागि उनीहरुका श्रीमान जिम्मेवार हुनुपर्ने उल्लेख गरिएको थियो। त्यसक्रममा लापरवाही गरेको पाइएमा दोषीलाई कारवाही गर्ने उल्लेख थियो।
मध्यकाल
लिच्छवीकालमा स्थापना गरिएका आरोग्यशालाले मध्यकालमा भने निरन्तरता पाएन। तर, औषधिको व्यवसाय भने व्यक्तिगत रुपमा भएको पाइन्छ। कान्तिपुरका राजा प्रताप मल्ल (सन् १६४१–१६७४) ले हनुमानढोका दरबार परिसरमै जनताका लागि आयुर्वेदिक औषधालय सञ्चालन गरेका थिए। प्रताप मल्लसहित भक्तपुर र पाटनका राजाहरुले पनि आयुर्वेदिक उपचार पद्दतिलाई बढावा दिएका थिए। उनीहरुले त्यतिखेरका विज्ञहरुलाई आयुर्वेदबारे पुस्तक लेख्न आग्रह गर्नुका साथै विभिन्न अवसर र तालिम प्रदान गरेको पाइन्छ। के पनि विश्वास गरिन्छ भने अहिलेको सिंहदरबार वैद्यखाना राजा प्रताप मल्लले स्थापना गरेको औषधिखाना (आरोग्यशाला) कै निरन्तरता हो। यसलाई थापाथली दरबारबाट अहिलेको स्थानमा सारिएको थियो।
नेपालमा एलोपेथी औषधिको प्रवेश
पेकिङ, चीन, तिब्बत र ल्हासाको बाटो हुँदैं काठमाडौं प्रवेश गरेका क्रिश्चियन मिसनरीहरुले एलोपेथी औषधि प्रवेश गराएका थिए। तत्कालिन समयमा काठमाडौं हुँदै हिमालयपार व्यापार हुने गथ्र्यो। सन् १६६४ मा फादर डी एन्ड्राडा हिमालयको बाटो हुँदैं तिब्बत गएका थिए। तर, उनी काठमाडौंको बाटो हुँदैं गएका थिए कि अन्य बाटो प्रयोग गरेका थिए भन्ने स्पष्ट जानकारी पाइन्न। तर, उनले त्यतिबेला नेपाली जनतालाई क्रिश्चियन धर्मबारे परिचय गराएका थिए। उनले स्वास्थ्य सेवा गरेको पाइन्न। तर, सन् १६६१ मा फादर ग्रुबर र डोरभिल्ले तथा अन्य सहयोगीहरू पेकिङको क्रिश्चियन मिसनबाट ल्हासा हुँदैं काठमाडौं आए। त्यतिखेर कान्तिपुरमा प्रताप मल्ल राजा थिए। फादर ग्रुबरले राजा प्रताप मल्ललाई एक बायोनाकुलर र अन्य गणितीय सामग्री उपहार दिए। जसबाट प्रताप मल्ल खुशी भए र मिसनरीहरुलाई नेपालमा काम गर्न स्वीकृति दिए। त्यतिखेर काठमाडौंमा प्लेग र हैजाको महामारी फैलिएको र मिसनरीहरुले उपचार गर्छन् भन्ने सुनेर स्वीकृति दिएको हुन सक्ने अनुमान गरिन्छ। उनीहरुले बालबालिकामा फैलिएको प्लेग नियन्त्रण गरेर खुबै प्रशंसा कमाए। तर, फादर डोरभिल्लेले जनतालाई खाना बाँडेको कार्यबाट क्रुद्ध भएका सिद्धिनरसिंह मल्लले क्रिश्चियन मिसनरीहरुलाई देश निकाला गरे।
सन् १७५० मा काठमाडौं उपत्यकाका तीनै राज्यमा क्रिश्चियन मिसनरीहरुले आफ्ना कार्यालय र मेडिकल क्लिनिक स्थापना गरेको पाइन्छ। गोरखाका राजा पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्ने क्रममा कीर्तिपुरमा भएको युद्धमा पृथ्वीनारायणका भाई सूरप्रताप शाहको आँखा फुटेको इतिहासमा उल्लेख छ। उनकै उपचार गर्न माइकल एन्जेलो नाम गरेका मिसनरीलाई बोलाइयो।
उपत्यकामा शाहवंशको स्थापनापछि मिसनरीको कार्यालय र मेडिकल क्लिनिक बन्द गरियो। भारतमा ब्रिटिश इण्डियाको जगजगी रहेको सो समयमा यहाँपनि उनीहरुले आक्रमण गर्लान् भन्ने डरले त्यसो गरिएको थियो। तर, पछि राजा सिंहप्रताप शाहको उपचारका लागि दरबारको विशेष आग्रहमा मिसनरीहरु पुनः नेपाल आए। तर, त्यसको १२० वर्षसम्म पनि नेपालमा कुनै पनि अस्पताल स्थापना भएनन्। यद्यपि आयुर्वेद नै नेपालको प्रमुख स्वास्थ्य प्रणालीका रुपमा रह्यो।
स्वास्थ्य सेवा र अस्पतालको आधुनिक युग
स्वास्थ्य सेवाको आधुनिक युगलाई तीन भागमा विभाजन गर्न सकिन्छ– पहिलो ब्रिटिश रेजिडेन्ट डाक्टरको सेवा, दोस्रो राणा काल र तेस्रो प्रजातन्त्र प्राप्तिपछिको काल। यसकालमा नेपालमा आधुनिक स्वास्थ्यको पुनः प्रवेश र स्वास्थ्य सेवाको विस्तार तथा आयुर्वेदिक उपचार प्रणाली संस्थागत भयो।
ब्रिटिश रेजिडेन्ट डाक्टर र स्वास्थ्य सेवा
सन् १८०१ मा नेपाल र ब्रिटिश इण्डियाबीच भएको सन्धीपछि सन् १८०२ मा काठमाडौंमा बेलायती मिसन स्थापना भयो। क्याप्टेन नक्स ब्रिटिश रेजिडेन्टका रुपमा काठमाडौं आए भने डा. एफ बी ह्यामिल्टन रेजिडेन्ट कार्यालयमा सर्जनको रुपमा नियुक्त भएर आए। काठमाडौं आएपछि ह्यामिल्टन जडिबुटी, वनस्पति र बिउ संकलनमा व्यस्त भए। तर, सन् १८०४ मा सन्धी भंग भएपछि ब्रिटिश रेजिडेन्सी नै बन्द भयो र कर्मचारी पनि भारत फर्किए। सन् १८१५ को सुगौली सन्धीपछि सन् १८१६ देखि ब्रिटिश रेजिडेन्सी पुनः स्थापना भयो। तर, त्यतिबेला डाक्टर आए नआएको बारे इतिहासमा स्पष्ट छैन, तर, त्यतिखेर केही औषधिको प्रयोग भएको पाइन्छ। त्यतिबेला नेपालमा हैजा र मलेरिया फैलिएको कुरालाई तत्कालिन रेजिडेन्ट ब्रायन हड्सनको पत्रले पनि पुष्टि गर्छ। सन् १८५० र १८६३ मा ब्रिटिश रेजिडेन्सीमा डा. एच ए ओल्डफिल्ड नियुक्त भए। त्यतिबेला नेपालमा दादुरा, मलेरिया, हैजाको मुख्य समस्या रहेको उल्लेख उनले पछि उल्लेख गरेका थिए। नेपालमा आधुनिक चिकित्सा प्रणाली स्थापना भैनसकेको त्यस अवस्थामा उनले तत्कालिन राणा शासकले सिफारिस गरेका व्यक्तिलाई मात्र उपचार गर्थे।
डा.ओल्डफिल्डले नै नेपालमा सन् १८५० मा खोप सुरु गरे। त्यतिखेर खोप पनि प्रधानमन्त्री जंगबहादुर राणाको परिवारका बालबालिकालाई लगाइन्थ्यो। त्यसपछि डा. ओल्डफिल्डका ठाउँमा डा.राइट नेपाल आए। सन् १८८३ मा नेपालमा डा. आदरनाथ नामका अर्का डाक्टर आए। जसले प्रधानसेनापति धिरशमसेर, जनरल भीमशमसेर आदिलाई उपचार गरे। पछि प्रधानमन्त्रीसमेत भएका भीमशमसेरलाई पेटसम्बन्धी समस्या थियो। तर, डा. आदरनाथ रेजिडेन्सी डाक्टर थिए या थिएनन् भन्ने कुरा स्पष्ट छैन।
स्वास्थ्य सेवामा सरकारी सुरुवात
राणाकालमा केही अस्पताल र औषधालय स्थापना भए। तिनताका स्वास्थ्यमा कुनै दक्ष जनशक्ति नभएका कारण डाक्टर र नर्स भारतबाट ल्याइन्थे। सन् १८५७ मा राणा सरकारले खोकनामा कुष्ठरोगीलाई राख्ने केन्द्र निर्माण ग¥यो, जुन नेपालकै पहिलो स्वास्थ्य संस्था मानिन्छ। कुष्ठरोगीलाई समाजबाट अलग राख्न शहरदेखि टाढा सो केन्द्र बनाइएको थियो। त्यहाँ राखिएका रोगीलाई कुनै उपचार भने गरिदैंनथ्यो।
राणाप्रधानमन्त्री वीर शमसेरको कार्यकाललाई नेपालको स्वास्थ्य इतिहासमा महत्वपूर्ण मान्ने गरिन्छ। सन् १९४७ मा नेपालमै पहिलोपटक अस्पताल स्थापना भयो। पृथ्वी–वीर अस्पतालका नाममा नेपालमा पहिलो अस्पताल खोलियो। जुन अहिले वीर अस्पतालका नामले प्रख्यात छ। सोही वर्ष हैजा तथा झाडापखाला नियन्त्रण गर्न टेकुमा पनि अस्पताल खोलियो। पृथ्वी–वीर अस्पतालका नाममा उपत्यकाबाहिर वीरगन्ज, जलेश्वर, हनुमाननगर, तौलिहवा र नेपालगन्जमा पनि अस्पताल खोलिए। यस्तै, त्रिपुरेश्वरमा कुष्ठरोग अस्पताल खोलियो।
सन् १९०३ मा चन्द्रशमसेरको पालामा पनि भक्तपुरमा चन्द्रलोक अस्पताल खोलियो। पृथ्वी–चन्द्र अस्पतालका नाममा पाल्पा, पाल्ही, डोटी र इलाममा अस्पताल खोलियो। त्यसपछि त्रिभुवन राजा भएपछि त्रिभुवन–चन्द्र अस्पतालका नाममा धनकुटा, भद्रपुर, सर्लाही र रंगेलीमा अस्पताल खोलियो। सन् १९२५ मा प्रथम विश्वयुद्धका घाइतेको उपचार गर्न काठमाडौंमा ६४ बेडको त्रि–चन्द्र सैनिक अस्पताल खोलियो।
त्यसपछि महिलाका लागि अलग्गै अस्पताल, रेडियोलोजी तथा ल्याब सेवा पनि सुरु भयो। सन् १९१८ मा नरदेवी आयुर्वेद अस्पताल स्थापना भयो भने विभिन्न जिल्लामा आयुर्वेदिक औषधालय स्थापना भए। चन्द्रशमसेरकै पालामा सन् १९२४ मा पाटन अस्पतालको स्थापना भयो भने खोकनाको कुष्ठरोग केन्द्र भक्तपुरको सानोठिमीमा पनि विस्तार भयो। त्यस्तै टोखामा क्षयरोग उपचार केन्द्र स्थापना भयो। चन्द्रशमसेरको पालामा १८ अस्पताल र १४ औषधालय स्थापना गरिएका थिए।
चन्द्रशमसेरकै पालमा बझाङी राजा जयपृथ्वीबहादुर सिंहको पहलमा बझाङमा खर्ग अस्पताल स्थापना भयो। यस्तै, राणा प्रधानमन्त्री भीमशमसेरको पालामा भैरहवा, बुटबल र बहादुरगन्जमा त्रि–भीम अस्पताल खुले। सिन्धुलीमाडी, रामेछाप, ओखलढुंगा र पशुपतिनगरमा औषधालय स्थापना भए।
जुद्ध शमसेरको पालामा सन् १९३१ मा धरानमा र सन् १९४० मा भीमफेदी, बर्दिया र कैलालीमा त्रि–जुद्ध अस्पताल खोलिए। १९३५ मा टोखामा ४० बेडको क्षयरोग आरोग्य केन्द्र सञ्चालनमा आयो। खोकना र काठमाडौंको क्षयरोग केन्द्रको स्तरोन्नति गरियो भने मलंगवा र स्याङजामा नयाँ कुष्ठरोग केन्द्र स्थापना भए। पदमशमसरेको पालामा सन् १९४९ मा साँखुमा एउटा स्वास्थ्य केन्द्र, होमियोप्याथिक औषधालय र १९५१ मा वीर अस्पतालमा छाती रोग क्लिनिक स्थापना भए।
प्रजातन्त्र स्थापनापछि
प्रजातन्त्र स्थापनापछि नेपालमा थुप्रै स्वास्थ्य कार्यक्रम सुरु भए भने हेल्थ पोष्ट तथा स्वास्थ्य केन्द्रहरु स्थापना भए। यही अवधिमा नेपालको स्वास्थ्य क्षेत्रमा गैरसरकारी र निजी क्षेत्रको पनि प्रवेश भयो।
नयाँ स्वास्थ्य नीति र कार्यक्रमहरू र स्वास्थ्य सेवामा गैरसरकारी क्षेत्रको प्रवेश :
नेपालमा योजनाबद्ध विकास सुरु भएपछि थुप्रै स्वास्थ्य संस्था स्थापना भए। यसअघि राणाकालमा स्थापना भएका औषधालय (डिस्पेन्सरी) हरू स्वास्थ्य केन्द्रमा परिणत भए भने केहीलाई अस्पतालकै रुपमा विकास गरियो। स्वास्थ्यकर्मी, प्राविधिक र नर्सलाई तालिम दिन स्वास्थ्य तालिम केन्द्र स्थापना गरिए। १९५४ मा बनेपामा, १९५५ मा दैलेखमा, १९५६ मा रामनगर भुटाहामा, १९५७ मा संखुवासभा चैनपुरमा स्वास्थ्य केन्द्र स्थापना भए। विराटनगर अस्पताल, दाङ अस्पताल र बाग्लुङ अस्पताल क्रमशः १९५६, १९५७ र १९५८ मा स्थापित भए। १९६२ का कान्ति अस्पताल स्थापना भयो। १९५८ मा मलेरिया नियन्त्रण अभियान, १९६२ मा दादुरा नियन्त्रण अभियान र १९६३ मा कुष्ठरोग नियन्त्रण अभियान सन्चालनमा आए। १९६२ मै परिवार नियोजन तथा मातृ शिशु कार्यक्रम सुरु भयो।
१९५८ मा स्वास्थ्य मन्त्रालयले नया स्वास्थ्य नीति ल्यायो, जसअनुसार सबै १०५ निर्वाचन क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्ने नीति ल्याइयो। यसअनुसार १९५८ मा एउटा, १९५९ मा दुइवटा, १९६० मा ४० वटा, १९६१ मा १४ वटा, १९६१ मा १० वटा र १९६२ मा १० वटा स्वास्थ्य केन्द्र स्थापना भए।
यसै अवधिमा मिसन अस्पताल पनि सुरु भए। जसअनुसार १९५४ मा ललितपुरमा शान्तभवन, सोही वर्ष भक्तपुरमा सूर्यविनायक अस्पताल, १९५७ मा बनेपामा शिर मेमोरियल अस्पताल, १९६३ मा ओखलढुंगा अस्पताल, १९६२ मा नवलपरासीमा बुलिङटार अस्पताल र पाल्पामा १९५४ मा युनाइटेड मिसन अस्पताल स्थापना भए। ललितपुरमा १९६३ मा आनन्दवन लिप्रोसी अस्पताल, कास्कीमा १९५७ मा ग्रिन पास्चर अस्पताल, डडेलधुरामा डडेलधुरा लिप्रोसी अस्पताल स्थापना भए। १९५८ मा गैरसरकारी संस्था परोपकार संस्थाको पहलमा इन्द्रराज्य लक्ष्मी प्रसूति गृह अस्पताल स्थापना भयो।
स्वास्थ्य सेवाको क्षेत्रीयकरण (१९६४–१९७४)
सन् १९६४ मा नेपाललाई प्रशासनिक रुपमा १४ अन्चल, ७५ जिल्लामा विभाजन गरिएपछि स्वास्थ्य सेवामा पनि क्षेत्रीयकरण सुरु भयो। यसैपछि विराटनगर, राजविराज, जनकपुर, वीरगन्ज, बुटबल, पोखरा र नेपालगन्जमा क्षेत्रीय अस्पताल स्थापना भए भने वीर अस्पतालको बाल रोग विभाग गाभेर कान्ति अस्पताललाई बाल अस्पतालका रुपमा परिवर्तन गरियो। वीर अस्पतालमा पहिलोपटक आइसियु र सिसियु खुल्यो। १९७० मा नेपाल क्षयरोग संघले कालिमाटीमा राष्ट्रिय क्षयरोग अस्पताल सुरु ग¥यो। यही समयमा केही स्वास्थ्य केन्द्रहरु हेल्थपोष्टमा परिवर्तन भए भने केहीलाई जिल्ला अस्पतालका रुपमा स्तरोन्नति गरियो।
स्पेसियालिटी हस्पिटलको सुरुवात (१९७५–१९९२)
यसअवधिमा स्पेसियालिटी अस्पताल स्थापना गरिए। ललितपुरमा मानसिक अस्पताल र त्रिपुरेश्वरमा आँखा अस्पताल खोलिए। दीर्घकालिन स्वास्थ्य योजना तयार पारियो भने प्राथमिक स्वास्थ्य सेवा प्रणाली कार्यान्वयन गरियो। ओखलढुंगा, काभ्रे, रामेछाप, रोल्पा, डोल्पा, हुम्ला, स्याङजा, मुगु र कालिकोटबाहेक देशका अन्य जिल्लामा समुदायस्तरमा ७७५ वटा हेल्थपोष्ट स्थापना गरिनुका साथै जिल्ला अस्पताल र त्योभन्दा पनि ठुला स्तरका अस्पताल खोलिए।
विर्तामोड अस्पताल, कैलाली अस्पताल र कन्चनपुर अस्पताललाई स्तरोन्नति गरी अन्चल अस्पताल बनाइयो भने गण्डकी अन्चल अस्पताललाई पश्चिमान्चल क्षेत्रीय अस्पताल बनाइयो। सानोठिमीमा राष्ट्रिय क्षयरोग केन्द्र स्थापना भयो। यसअवधिमा वीर अस्पतालमा थुप्रै परिवर्तन भए। वीर अस्पतालको आँखा विभाग आँखा अस्पतालमा गाभियो भने महिला तथा प्रसूति विभागलाई थापाथालीस्थित प्रसूति अस्पतालमा गाभियो। मानसिक रोग विभाग मानसिक अस्पतालमा गाभियो। वीर अस्पतालबाट टेकु अस्पतालालाई छुट्याई अलग्गै सरुवा रोग अस्पतालका रुपमा राष्ट्रिय अस्पताल बनाइयो। होमियोप्याथिक अस्पताल पुल्चोकस्थित नयाँ भवनमा सारियो। १९८६ मा शिक्षण अस्पतालमा खोप कार्यक्रम विस्तार गरियो। १९८४ मा वीरेन्द्र प्रहरी अस्पताल स्थापना गरियो भने सैनिक अस्पताल ताहाचलस्थिति नयाँ भवनमा सारियो। गैरसरकारी संस्थाले पनि स्वास्थ्य क्षेत्रमा योगदान दिन थाले। सोही क्रममा सन् १९८० मा नेपाल आँखा अस्पताल स्थापना भयो भने विराटानगर, लहान, जनकपुर, वीरगन्ज, भरतपुर, भैरहवा, पोखरा, दाङ, नेपालगन्ज र धनगढीमा पनि आँखा अस्पताल स्थापना भए। जोरपाटीमा अर्थोपेडिक अस्पताल स्थापना भयो भने खुम्बु क्षेत्रको खुन्दे र फाप्लुमा पनि अस्पताल खोलिए। गैरसरकारी संस्थाको सहभागितामा काठमाडौंमा तिलगंगा आँखा अस्पताल खुल्यो भने लायन्स आइ केयर सेन्टर खुल्यो।
निजी स्वास्थ्य संस्थाको विकास (१९९३–२००२)
निर्वाचन क्षेत्रमा १८० हेल्थ सेन्टर स्थापना भए भने गाविस तहमा ३१०७ उपस्वास्थ्य चौकी स्थापना भए। यस्तै, थुप्रै आयुर्वेद केन्द्र पनि स्थापना भए। पोलियो उन्मुलन गर्न अभियान सन्चालन गरियो भने क्षयरोग नियन्त्रण गर्न डट्स रणनीति अपनाइयो। यस्तै, कुष्ठरोग उन्मुलन कार्यक्रम सुरु भयो। रामेछाप, हुम्ला, स्याङजामा जिल्ला अस्पताल स्थापना भए। १९९५ मा चितवनमा वीपी कोइराला मेमोरियल क्यानसर अस्पताल र १९९७ मा काठमाडौंको बाँसबारीमा शहिद गंगालाल राष्ट्रि«य हृदय केन्द्र स्थापना भए। सरकारी तहबाट १९९३ मा धरानमा वीपी कोइराला इन्सिच्युट अफ हेल्थ साइन्स टिचिङ हस्पिटल स्थापना भयो भने निजी क्षेत्रबाट थुप्रै शिक्षण अस्पताल खुले, जसमा १९९९ मा पोखरामा मणिपाल कलेज, १९९८ मा भरतपुर मेडिकल कलेज, १९९९ मा भैरहवा मेडिकल कलेज, १९९७ मा काठमाडौंमा नेपाल मेडिकल कलेज, २००० मा काठमाडौंं मेडिकल कलेज र २००२ मा नेपालगन्ज मेडिकल कलेज स्थापना भए।
नर्स र स्वास्थ्य कार्यकर्तालाई तालिम दिने कार्यक्रम पनि निजी क्षेत्रबाट सुरु भए। निजी क्षेत्रमै २०० बेडको बिएण्डबी अस्पताल र नेशनल मेडिकेयर अस्पताल खुले भने पहिलो डेन्टल अस्पतालका रुपमा नेशनल डेन्टल अस्पताल खुल्यो भने पिपल्स डेन्टल कलेज पनि खुल्यो।
यस्तै, गैरसरकारी संस्थाको सहभागितामा दमक, चौरजहारी, डोटी र धुलिखेलमा अस्पताल सन्चालनमा आए। बुटबलमा महिला तथा बाल अस्पताल स्थापना भए। दोलखामा कुष्ठरोग असपताल सुरु भयो। बालबालिकाको पुनस्र्थापनाका लागि बनेपामा अर्थोपेडिक अस्पताल स्थापना भयो भने १९९९ मा साँखुमा सुष्मा कोइराला मेमोरियल प्लाष्टिक एण्ड रिकन्स्ट्रक्टिभ सर्जरी अस्पताल स्थापना भयो। यस्तै, कुष्ठरोग अस्पताल लालगढ र सर्लाहीमा स्थापना भए भने भक्तपुरमा क्यान्सर अस्पताल पनि स्थापना भयो। यस्तै, देशका थुपै्र स्थानमा प्रसूति केन्द्र स्थापना भए। डडेलधुराको कुष्ठरोग अस्पताल जनरल अस्पतालमा परिणत भयो भने लमजुङ अस्पताल सरकारले गैरसरकारी संस्थालाई हस्तान्तरण ग¥यो।
केही अस्पताल बन्द भए पनि
स्वास्थ्य सेवाको पुनर्संरचना र अन्य प्रशासनिक कारण थुप्रै स्वास्थ्य संस्था बन्द भए। टोखाको क्षयरोग आरोग्य केन्द्र र मालुंगा कुष्ठरोग आरोग्य केन्द्र बन्द भए। केही निजी अस्पताल र नर्सिङ होम पनि बन्द भए। नवलपरासी, सूर्यविनायक र पोखराका मिसन अस्पताल स्थायी रुपमा बन्द भए भने गोरखाको आँपपिपल मिसन अस्पताल समुदायलाई हस्तान्तरण भएको छ। सुरुमा पूर्वान्चल क्षेत्रीय अस्पताल बनाउन धरान अस्पताल र ब्रिटिश गोर्खा आर्मी अस्पताल गाभिएका थिए भने अहिले उक्त अस्पताल बीपी कोइाराल स्वास्थ्य विज्ञान प्रतिष्ठानका रुपमा रुपान्तरण गरिएको छ। यस्तै, मिसन अस्पतालको रुपमा रहेको ललितपुरको शान्तभवन सरकारी र गैरसरकारी साझेदारीमा पाटन अस्पतालको रुपमा सञ्चालित छ।
(यो सामग्री हामीले डा. बाबुराम मरासिनीको कार्यपत्र ‘नेपालमा स्वास्थ्य र अस्प्ताल विकास : विगत र वर्तमान’ बाट लिएका हौं)