काठमाडौं– सरकारी सेवामा ३७ वर्ष बिताएर अवकाश पाएपछि कसैको योजना के होला? आराम गर्ने। घुम्ने। तीर्थ जाने। अथवा अरु केही।
तर, डा सागर राजभण्डारीको चाहना फरक छ। उनी भन्छन्, ‘अझै पनि १०/१५ वर्ष जति स्वास्थ्य सेवामा काम गर्छु।’
उनले २०४१ सालबाट जागिरे जीवन सुरु गरेका हुन्। गएको १५ असारमा उमेर हदका कारण अवकाश पाए। यद्यपि, जनताको सेवा गर्ने चाहना पूरा भइसकेको छैन।
सरकारले पुनः अवसर दिए काम गर्न तयार भएको उनको भनाइ छ। सरकारी नभए पनि निजी तथा विभिन्न क्षेत्रबाट स्वास्थ्य क्षेत्रमा सक्रिय रहने अठोट गरेका छन्। ‘मैले एमडीजीपी गरेको हुँ। पेट चिर्नेदेखि सबै किसिमको उपचार गर्न सक्छु। मैले हासिल गरेको विशेषज्ञता अझै पनि देशको लागि काम लाग्न सक्छ। यो अनुभव र सीपलाई खेर जान दिनु हुँदैन,’ उनी भन्छन्।
डा राजभण्डारी बागलुङको व्यापारी परिवारका सदस्य हुन्। कसैले पनि चिकित्सा क्षेत्र रोजेका थिएनन्। त्यसैले उनले यो क्षेत्रमा आउनै पनि संघर्ष गर्नु परेको थियो। उनको परिवारबाट स्नाकोत्तर गर्ने पनि उनी नै पहिलो व्यक्ति हुन्।
विद्यार्थी जीवनमा उनी कहिल्यै दोस्रो भएनन्। सामुदायिक विद्यालयमा पढ्थे। विद्यालय पुग्न घण्टौँ हिँड्नपथ्र्यो। कापी कलम समेत थिएन। ‘कलम भन्ने थाहा थिएन। बोर्डमा माटोले लिपेर सिन्काले लेख्नु पथ्र्यो। त्यसपछि बोर्ड आयो अनि चकले लेख्न थालियो,’ उनी भन्छन्।
विद्यालयमा बस्ने बेन्च थिएन। घरबाटै चकटी लिएर जानुपथ्र्यो। जाडो मौसममा खुला चौरमा जता घाम लाग्छ उतै सरेर बस्थे।
परिवारको पुस्तक पसल थियो। उनी फुर्सदमा पसल जान्थेँ र पुस्तक पढ्थे। त्यहाँ भेटेजति सबै पुस्तक पढेर सकाउँथे। उनी अंग्रेजी र संस्कृत भाषामा पनि अब्बल थिए।
कक्षा ८ पुग्दा नयाँ शिक्षा लागू भयो। एउटा ऐच्छिक विषय छान्नु पथ्र्यो। उनले कुखुरा पालन (पोल्ट्री) विषय छानेका थिए। उनको परिवारले इन्कुभेटरमा चल्ला कोरल्ने काम पनि गथ्र्यो। अहिलेको जस्तो आधुनिक मेसिन, बिजुलीको सुविधा थिएन। समय÷समयमा बत्ती बाल्ने, ६/६ घण्टामा फूललाई घुमाउने, पानी परिवर्तन गर्ने, रातभर बसेर रेखदेख गर्ने सबै उनी आफैँले पनि गर्थे।
औषधि उपचारको विषयमा पनि उनलाई चासो थियो। मानिसलाई प्रयोग गर्ने औषधि उनी कुखुरालाई खुवाउँथे। कुनै बेला गरिएको यस्तो प्रयोगले उनलाई सकारात्मक उर्जा दिएको थियो। त्यसैले पछि उनको झुकाव ‘मेडिकल साइन्स’तर्फ गयो।
एचए पढेपछि पनि दुई वर्ष व्यापारमै
२०३४ सालमा उनले एसएलसी दिए। एसएलसीको नतिजा थाहा पाउनु अहिलेजस्तो सहज थिएन। नतिजा प्रकाशन भएको खबर त रेडियो नेपालले दिन्थ्यो, तर पास/फेल थाहा पाउन एक साता कुर्नुपथ्र्यो। फोनको सुविधा पनि थिएन।
एसएलसी उत्तीर्ण गरेपछि उनले मेडिकल साइन्स पढ्ने निधो गरे। उनी हेल्थ असिस्टेन्ट (एचए) अध्ययनका लागि महाराजगञ्जस्थित त्रिवि चिकित्सा शास्त्र अध्ययन संस्थानमा भर्ना भए। २०३९ सालमा उनले एचएको अध्ययन सकाए।
एचएको अध्ययन पूरा गरे पनि उनले दुई वर्ष जति घरपरिवारलाई व्यापारमा सघाए। तर, मन व्यापारमा रमाउन सकेको थिएन। त्यसैले स्वास्थ्य क्षेत्रमै काम गर्ने निधो गरे। अनि सुरु भयो उनको नयाँ यात्रा।
बागलुङकको राङखानी हेल्थपोस्टबाट २०४१ सालमा उनले आफ्नो जागिरे जीवन सुरु गरे। आफ्नो सबै सामानको भारी आफैंले बोकेर १२ घण्टाको पैदलयात्रापछि उनी हेल्थपोस्ट पुगेका थिए।
हेल्थपोस्ट खरको छानोले छाएको थियो। जम्मा दुई वटा कोठा थिए, एउटामा बिरामी हेर्ने र अर्कोमा सामान राख्ने गरिन्थ्यो। शौचालय थिएन। न त पानीको सुविधा नै थियो। खाना बनाएर खाने, भाँडा माझ्ने, खोलामा पानी लिन जाने सबै आफैँ गर्नुपथ्र्यो।
औषधिहरु एक वर्षको लागि एकै पटक आउँथ्यो। सरिन्ज र निडिलहरुलाई उमालेर प्रयोग गर्नुपथ्र्यो। निडलहरु धेरै पटक प्रयोग गर्दा धार जान्थ्यो, अनि घोटेर चुच्चो बनाउनुपथ्र्यो।
उनी बिहान ८ देखि बेलुकी ७ बजेसम्म हेल्थपोस्टमा बस्थे। उनीसहित, अहेब र कार्यालय सहयोगी गरी तीन जना मात्र थिए। उनले एकदिनमा ८५ जनासम्म बिरामीको उपचार गरे। झण्डै एक वर्ष हेस्थपोस्टमा काम गरिसकेपछि उनलाई बागलुङ अस्पतालमा काजमा तानियो।
यसरी सुरु भयो डाक्टर बन्ने यात्रा
राजभण्डारी आफ्नो कामप्रति निकै जिम्मेवार थिए। आफूले जानेका उपचारका सबै मापदण्ड पछ्याउँथे। त्यो बेला विदेशबाट पढेर आएका नेपाली डाक्टरहरु बागलुङ अस्पतालमा पनि आउँथे। उनीहरुसँग राजभण्डारीको झगडा नै हुन्थ्यो। ‘एपेन्डिसाइटिस भएको बिरामीलाई खान दिनु हुँदैन। तर एक जना डाक्टरले खान दिएछन्। ती डाक्टरसँग मेरो झगडा भयो। म प्रोटोकल अनुसार जान खोज्थेँ। उनीहरुको अभ्यास अलि कम हुन्थ्यो। त्यही कारण कुरा मिल्दैन थियो,’ उनी भन्छन्।
ती डाक्टरले एकदिन राजभण्डारीविरुद्ध कम्प्लेन गरे। ती डाक्टरले उनलाई लेखेका थिए, ‘प्लिज डोन्ट गो ओभर मी।’ अर्थात्, मभन्दा धेरै जान्ने नहोउ।
त्यो कुराले उनको मनमा ठूलो चोट पुग्यो। त्यसपछि उनले ती डाक्टरलाई ‘डेफिनेट्ली वान डे आइ वील बी डाक्टर’ भनेर पुनः राङखानी हेल्थपोस्टमै फर्किए।
हेल्थपोस्टमा उनले दुई वर्ष काम गरे। अनि, २०४५ सालमा छात्रवृत्तिमा अध्ययनका लागि तत्कालीन सोभियत संघ गए।
उनले युक्रेनको ओडिसा शहरमा रहेको ओडिसा मेडिकल इन्स्टीच्युटमा एमबीबीएस अध्ययन गरे। सात वर्षको अध्ययनपछि पुनः नेपाल फर्किए।
नवलपरासी जिल्लाको परासी अस्पतालमा उनको नियुक्ति भयो। २०५२ असोज १९ बाट उनले मेडिकल अधिकृतको रुपमा काम सुरु गरे। त्यहाँ चार वर्ष काम गरे। परासी अस्पतालमै काम गर्ने सिलसिलामा क्षयरोग (टीबी) सम्बन्धी ६ महिने तालिम लिन जापान जाने अवसर पनि पाए।
खण्डहर जस्तो भवनमा जिल्ला अस्पताल
उनी ३ चैत २०५६ मा लुम्बिनी अञ्चल अस्पतालमासरुवा भए। त्यसको पाँच महिना बित्न नपाउँदै सल्यान अस्पताल पठाइए। त्यस बेला माओवादी द्धन्द्ध उत्कर्षमा थियो।
कतिले त उनलाई सल्यान नजान भने। सरुवा बदर गरिदिने आश्वासन पनि थियो। तर, उनी मानेनन्। उनलाई लाग्यो, ‘यही बेला त्यो ठाउँमा मेरो आवश्यकता छ।’
उनी दोहोरो जिम्मेवारी लिएर सल्यान पुगे। सल्यान अस्पताल मात्र नभई जिल्ला जनस्वास्थ्य कार्यायल प्रमुखको जिम्मेवारी पनि थियो।
त्यति बेला सल्यान अस्पताल खण्डहर जस्तो भवनमा थियो। छानो भत्किएको थियो। गाह्रो पनि जीर्ण भइसकेको। अस्पतालमा न एक्सरे थियो, न ल्याब नै। एचएको भरमा अस्पताल सञ्चालन भइरहेको थियो। सुविधा नभएपछि बिरामी पनि कम आउँथे।
अस्पतालको दयनीय अवस्था देखेपछि डा.राजभण्डारी त्यहाँको अवस्था परिवर्तन गर्न विशेष योजना लिएर काठमाडौं आए। काठमाडौंबाटै उनले अस्पताललाई चाहिने धेरैजसो सामान बोकेर गए। उनी भन्छन्, ‘ल्याब क्लिनिकल, एक्सरे प्लेटहरु लिएर म सल्यान गएँ। अपरेशन थिएटर बनाएँ, अनि अपरेशन सुरु गरेँ। त्यसपछि जिल्लाका मात्र होइन रोल्पाबाट पनि बिरामी सेवा लिन आउन थाले।’
अस्पताल जाने बाटो कच्ची र अप्ठ्यारो थियो। बिरामीलाई आउ–जाउ गर्न गाह्रो थियो। दिउँसो ३ बजेपछि बिरामी नहुने हुँदा उनी आफैँ बाटो बनाउन जान्थे। ‘डाक्टरले बाटो बनाउन खनेको देखेपछि अरु कर्मचारी र स्थानीयलाई पनि अप्ठ्यारो लागेछ, आएर सहयोग गर्थे,’ उनी भन्छन्।
सल्यान जाँदा उनको कान्छो छोरा दुई महिनाको मात्र थियो। त्यहाँ गएको २२ महिनापछि उनी २०५९ सालमा म्याग्दी पुगे। त्यसको एक वर्षपछि उनले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगञ्जबाटै एमडीजीपी अर्थात् जेनरल प्राटिक्स एण्ड इमरजेन्सी मेडिसिनमा एमडी पढ्ने मौका पाए।
तीन वर्षको अध्ययनपछि उनी म्याग्दी नै फर्किए। करिब सात महिनापछि फेरि बागलुङ अस्पतालमा पुगे। तर, यो पटक उनी फरक जिम्मेवारीमा थिए। बागलुङ अस्पतालको सिनियर मेडिकल अफिसर भएका थिए। बागलुङमा तीन वर्ष काम गरेपछि उनले नवौँ तहको परीक्षा पास गरे। अनि मेडिकल सुपरिटेन्डेन्ट भएर जिल्ला अस्पताल, पर्वत पुगे।
घर परिवारबाट टाढा रहेर उनले काम गर्न थालेको वर्षौ भइसकेको थियो। सोही कारण उनले चौतारा अस्पताल सिन्धुपाल्चोकमा सरुवा मागे। काठमाडौंमा घर बनाइसकेका उनलाई सिन्धुपाल्चोकमा सरुवा भएपछि आउजाउ गर्न सहज भयो। उनी शुक्रबार साँझ घर आएर आइतबार बिहानै फर्किन्थे।
भूकम्पले तहसनहस सिन्धुपाल्चोक
डा.राजभण्डारी १२ वैशाख २०७२ दिउँसो घरैमा थिए। एक्कासी भूकम्प गयो। भूकम्प गएको दुई मिनेटमै उनको फोन बज्न थाल्यो। परिवारलाई सुरक्षित भएर बस्नू भनेर उनी मोटरसाइकलमै सिन्धुपाल्चोकतिर लागे।
बेला–बेला परकम्पन गइरहेको थियो। कति ठाउँमा त लडे पनि। लड्दै–उठ्दै उनी सिन्धुपाल्चोक पुगे। चौरभरी मानिसहरु थिए। घरहरु भत्किएका थिए। रुवाबासी थियो। भूकम्पले करिब ८० प्रतिशत स्वास्थ्य संस्था ध्वस्त भएका थिए।
स्वास्थ्य संस्था नै ध्वस्त भएपछि घाइतेको उपचार गर्नु निकै चुनौतीपूर्ण र कठिन थियो। सुरुको चार दिन त घाइतेहरुको प्लास्टर गर्ने काममै बित्यो। उनी भन्छन्, ‘एक्सरे थिएन। बिजुली पनि थिएन। सुरुको चार दिन लगातार प्लास्टर नै गरिरहेँ। त्यो बेला मैले केही खान पनि सकिनँ। अवस्था दर्दनाक थियो। भोकप्यासको मतलब नै भएन।’
भूकम्प गएको तेस्रो दिनपछि मात्र उनीहरु खुला आकाशबाट टेन्टमा सर्न पाए। बिरामीको उपचार पनि टेन्टमै हुन थाल्यो। खाना भने दिनको दुई पटक मात्र हुन्थ्यो।
जुरेको पहिरोको दुःखदायी घटना पनि उनले देखे। घाइतेहरुको दुखाइमा थोरै भए पनि मल्हम लगाए। दुई वर्षको बसाइपछि उनको सरुवा पुनः बागलुङ अस्पतालमै भयो। त्यहाँ पुगेपछि उनले भौतिक पूर्वाधारमा सुधार गरे। त्यसपछि २०७६ सालमा राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको निर्देशकको रुपमा काठमाडौं आए।
करिब ११ महिनापछि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको निर्देशकका नियुक्त भए। त्यो बेला नेपालमा एक जनामा कोरोना पुष्टि भइसकेको थियो। ९ माघ २०७६ पहिलो पटक कोरोना पुष्टि भएको एक महिनापछि नै उनी निर्देशकका रुपमा शुक्रराज अस्पताल पुगेका थिए।
उनी भन्छन्, ‘मानिसहरु त्रसित थिए। विदेशबाट उद्धार गरेकालाई यही अस्पतालमा राखिन्थ्यो। अस्पतालमा पीसीआर परीक्षण हुँदैन थियो। पीडादायक अवस्था थियो। त्यो अवस्थामा मैले काम सुरु गरे।’
अस्पतालको पुरानो भौतिक संरचनाका कारण कोरोनाको उपचार व्यवस्थापन सहज थिएन। उनको निम्ति यो अवसर र चुनौती दुवै थियो। उनले अस्पतालको पुरै संरचना परिवर्तन गरी व्यवस्थापन गरे।
स्वास्थ्यकर्मीको सुरक्षालाई सधैँ पहिलो प्राथमिकतामा राखे। पीपीईको कहिले अभाव हुन नदिएको उनी बताउँछन्। २ वैशाख २०७७ देखि अस्पताल आफैँले पीसीआर परीक्षण पनि सुरु गर्यो। शुक्रराज अस्पतालमा १७ महिना काम गरेपछि उनी उमेरहदका कारण अवकाशमा गए।
स्वास्थ्य क्षेत्र संघीय प्रणालीको मारमा परेको उनी बताउँछन्। तीन तहका सरकारबीच समन्वय नहुँदा स्वास्थ्य क्षेत्र भद्रगोल जस्तो भएको उनको अनुभव छ।