ज्वरो आउदा हुने मिर्गी (फेब्राइल सीजर) भनेको ज्वरो आउँदा बच्चा बेहोस् हुने, आँखा उल्टाउने, जिउ कडा हुने, जिउ काम्ने, दाँत बाँध्ने समस्या हो। यो ६ महिना देखि ६ वर्षसम्म उमेरको बच्चाहरुमा देखापर्ने सामान्य समस्या हो। ६ महिना देखि ६ वर्षसम्म उमेरको करिब ३ देखि ५ प्रतिशत बच्चा हरुमा यो समस्या देखा पर्छ। सामान्यतया कुनै पनि कारणले ज्वरो आएको बेला ज्वरो छिटो बढेर १०० डिग्री भन्दा माथि पुगेको अवस्थामा यो समस्या देखा पर्न सक्छ।
फेब्राइल सीजरको लक्षण छारेरोगको जस्तो हुने भए पनि यो छारेरोग भने होइन। फेब्राइल सीजरले सामान्यतया स्थायी प्रकृतिको क्षति वा मस्तिष्कमा क्षति हुँदैन। यो समस्याले बच्चाको शारीरिक तथा मानसिक विकासमा पनि असर पुर्याउँदैन। बाबु आमा सानो हुदा यो समस्या थियो भने उनीहरुको सन्तान मा पानी यो समस्या देखा पर्न सक्छ।
सामान्यतया एकपटक ज्वरो आएको बेला यो समस्या एक पटक हुन्छ। फेब्राइल सीजर करिब ३ देखि ५ मिनेट सम्म लामो हुन्छ। जिउ काम्न बन्द भएपछि केही समय बच्चा सुस्त रहन सक्छ। ज्वरो ओर्लिने बित्तिकै केही मिनेटपछि बच्चा सामान्य अवस्थामा फर्किन्छ। तर, एकपटक ज्वरो आउँदा, पटक-पटक बेहोस् भइ जिउ काम्ने, वा धेरै लामो समयसम्म जिउ काम्ने, वा शरीरको कुनै एउटा भाग मात्र काम्ने लक्षण छ भने त्यस्तलाई कप्लेक्स फेब्राइल सीजर भनिन्छ।
पहिलो पटक कप्लेक्स फेब्राइल सीजर भएको वा ज्वरो ओर्लिएपछि पानी बच्चा लामो समयसम्म सामान्य अवस्थामा नफर्किने लक्षण छ भने, यो अवस्थामा फेब्राइल सीजर नभएर मष्तिस्क ज्वरो (meningitis) को शंका रहन्छ। त्यस्तो अवस्थामा बच्चालाई डाक्टरकोमा लैजानु पर्छ।
बच्चालाई मुर्छा परेको बेला वा सीजर आएको बेला के गर्ने?
-धेरै आत्तिनु हुँदैन
-आफ्नो बच्चालाई सुरक्षित ठाउँमा कोल्टे पारेर सुताउनु पर्छ। गर्धन र टाउको सिधा राख्नुपर्छ। मुखमा केही छ भने झिकिदिनु पर्छ।
-यस्तो बेला बच्चाले दाँत बाँधेको वा जिब्रो टोकेको हुन सक्छ, तर मुखभित्र औला वा चम्चा हाल्ने कोशिस गर्नु हुँदैन। यसो गर्दा फाइदा हुनुको साटो झन् दाँत भाचिने वा अरु हानी हुन सक्छ।
-सीजर नरोकिँदासम्म पानी वा औषधि खुवाउने कोशिस गर्नु हुँदैन। यसो गर्दा पानी वा औषधि श्वास नलीतिर सर्किने सम्भावना रहन्छ।
-प्रायजसो सीजर ५ मिनेटभित्र ठीक हुन्छ। ५ मिनेटपछि पनि बन्द भएन भने तुरुन्त अस्पताल लैजानु पर्छ।
-सीजर बन्द भएको २० देखि ३० मिनेटमा बच्चा सामान्य अवस्थामा आउनुपर्छ। यदि लामो समयसम्म सामान्य अवस्थामा फर्किएन वा शरीरको कुनै भाग नचल्ने भयो भने तुरुन्तै अस्पताल लैजानु पर्छ।
एकपटक फेब्राइल सीजर भएको बच्चालाई अर्कोपटक ज्वरो आउँदा के गर्ने?
-बच्चाहरु ज्वरो आउँदा सामान्यतया अलि सुस्त रहने गर्छन्। ज्वरो ओर्लिएपछि फेरि सामान्य अवस्थामा आउँछन्।
-ज्वरो धेरै नबढोस् भनेर सिटामोल दिन सकिन्छ। सिटामोल दिँदा पनि ज्वरो ओर्लिएन भने पानीपट्टि गर्न सकिन्छ।
- एक पटक फेब्राइल सीजर भएको बच्चालाई अर्कोपटक ज्वरो आउँदा फेरि सीजर आउन सक्छ। त्यसैले ज्वरो आएको बेला सचेत रहनु पर्छ।
धेरै पटक छिटो छिटो फेब्राइल सीजर हुने वा हरेक पटक सीजर आउँदा लामो समयसम्म सीजर बन्द नहुने समस्या भएको बच्चाहरुलाई सामान्य फेब्राइल सीजर नभएर अरु नै समस्या वा रोग पनि भएको हुन सक्ने हुदा त्यस्तो अवस्थामा डाक्टरको सल्लाह लिनु पर्छ।
फेब्राइल सीजर भएका बच्चाका अभिभावकहरुलाई सुझाव
• यो सामान्य अवस्था हो।
• बच्चालाई ज्वरो आउँदा यो समस्या हुन सक्छ।
• यदि बच्चालाई ज्वरो छैन भने यो हुँदैन।
• यो सामान्यतया ५ देखि ६ वर्षको उमेरसम्ममा ठीक हुन्छ।
• यसले सामान्यतया शारीरिक विकास र मानसिक विकासलाई असर गर्दैन।
• यस समस्याले भविष्यमा मिर्गीको जोखिमलाई उल्लेखनीय रूपमा बढाउँदैन।
• यस समस्यामा प्रयोगशाला परीक्षणहरू र विशेष उपचारको आवश्यक पर्दैन।
• बच्चाको सीजर आउँदा उद्धार योजना
o सीजर हुँदा कोल्टे पारेर सुताएको स्थितिमा राख्नुहोस्।
o यदि सीजर ५ मिनेट भन्दा लामो समय आयो भने अस्पताल लैजानुहोस्।
o ज्वरोबिना सीजर आएमा अनुसन्धान र उपचार आवश्यक पर्दछ।
(बाल मष्तिस्क तथा स्नायु रोग विशेषज्ञ प्राडा प्रकाश पौडेल बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा बालरोग विभागको विभागीय प्रमुख छन्।)