काठमाडौं - ‘कर्मचारी सरुवा वा बढुवा हुँदा वा अवकाश प्राप्त गर्दा वा लामो अवधिमा काजमा वा बिदामा रहँदा आफ्नो जिम्मामा रहेको नगदी जिन्सी वा सरकारी कागजात म्याद तोकिएकोमा तोकिएको म्यादभित्र र म्याद नतोकिएकोमा एक्काइस दिनभित्र तोकिए बमोजिम बरबुझारथ गरी तोकिएको ढाँचामा बरबुझारथको प्रमाणपत्र लिनु पर्नेछ।’
‘आर्थिक कार्यविधि ऐन २०५५’ को परिच्छेद ६ दफा २५ ले बरबुझारथ सम्बन्धी गरेको व्यवस्था हो यो।
बरबुझारथ भनेको कुनै पनि कर्मचारी सरुवा/बढुवा/अवकाश, लामो अवधिमा काजमा वा बिदामा रहँदा आफ्नो जिम्ममा रहेको जिन्सी वा सरकारी कागजात जिम्मेवारी तोकिएको व्यक्तिलाई बुझाउनुपर्ने हुन्छ। त्यो बरबुझारथको प्रमाणपत्र लिनु र दिनुपर्ने समय आर्थिक कार्यविधि ऐनले २१ दिन ताकेको छ।
तर चितवनस्थित भरतपुर अस्पतालको फार्मेसी स्टोरको जिम्मेवारी पाएको करिब एक महिना पुग्नै लाग्दा पनि भोला अधिकारीले बरबुझारथ पाएका छैनन्।
करिब एक महिनाको आन्दोलनपछि जेठ ३१ गते सातौँ तहका फार्मेसी अधिकृत भोला अधिकारीलाई फार्मेसी स्टोरको जिम्मेवारी दिने अस्पतालले निर्णय गरेको थियो। तर उनले फार्मेसी स्टोरको जिम्मेवारी दिइएको २८ दिन बितिसक्दा पनि अहिलेसम्म बरबुझारथ पाएका छैनन्।
फार्मेसी स्टोरको बरबुझारथ प्रक्रिया अगाडी बढाउन उनले अस्पताल प्रशासनलाई हालसम्म दुई पटक निवेदन समेत दिइसकेका छन्। तर पनि हालसम्म सुनुवाई नभएको उनको गुनासो छ।
उनी भन्छन्, ‘२१ दिनमा बुझाइसक्नुपर्ने बरबुझारथ उहाँहरुले अहिलेसम्म बुझाउनु भएको छैन। अस्पतलाको मेडिकल सुपरिटण्डेन्ड सरलाई मैले दुई पटक निवेदन पनि राखिसकेको छु।’
अस्पतालका मेसु डा रोशन न्यौपानले आफुहरु यो विषयमा गम्भीर रहेको जवाफ दिने गरेका छन्। यो विषयमा मेसु न्यौपानेसँग जानकारी लिन खोज्दा उनीसँग सम्पर्क हुन सकेन।
‘जसले बुझाउनुपर्ने हो उहाँहरुले काम भइरहेको छ। काम सकेपछि दिन्छौ भन्नु भएको छ। तर नियमले २१ दिन तोकेको छ। तर एक महिना हुन लाग्दा पनि अहिलेसम्म बरबुझारथ पाएको छैन।’ उनले भने।
अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले बरबुझारथ हन्तान्तरणको प्रक्रिया सुरु भइसकेको बताउँछन्। ऐनले २१ दिनभित्र बरबुझारथ बुझाइसक्नुपर्ने व्यवस्था गरेपनि आर्थिक वर्षको अन्त्य र आर्थिक कारोकारको व्यवस्थापन गर्नुपर्ने भएकाले ढिलाई भएको उनले बताए।
‘अहिले आर्थिक वर्षको अन्त्य र क्लोजिङ सबैले गर्दा होला बरबुझारथको प्रक्रिया सुरु भइसकेको मेरो जानकारीमा छ’ उनले भने, ‘बुझ्नेलाई बुझाउनेले बरबुझारथ हस्तान्तरण गर्नुपर्छ। सरकारको निश्चित नियम पनि छ। त्यो सबैले पालना गर्नुपर्छ ’
बरबुझारथ दिनुपर्ने समय ऐनले २१ दिन ताकेपनि आपसी समझदारीमा लम्ब्याउन सकिने उनी बताउँछन्। बरबुझार जिम्मेवारी पाएका व्यक्ति पाउनुपर्ने उनको पनि मत छ।
उनले भने, बरबुझारथको समय सामान्यतया २१ दिनको हो। आर्थिक जिम्मेवारी लिएका व्यक्तिहरुका हकमा आपसी समझदारीमा केही समय लम्बिन सक्ने पनि हुन्छ।
बरबुझारथ हस्तान्तरण गर्नमा भएको ढिलासुस्तीले सेवाग्राही मर्कामा परेको अस्पतालका एक कर्मचारी बताउँछन्। अत्यावश्यक औषधि अभाव हुन थालेको भन्दै ती कर्मचारीले बिरामीले औषधि नपाउने समस्या झनै बढ्न सक्ने उल्लेख गरे।
अहेवको भरमा फार्मेसी स्टोर सञ्चालन हुँदै आएपछि अस्पतालका फर्मासिस्टहरु जेठ २ गतेदेखि आन्दोलनमा उत्रिएका थिए। औषधि ऐन २०३५ ले गरेको व्यवस्था विपरित भरतपुर अस्पतालको फार्मेसी स्टोर वर्षौदेखि अहेवको भरमै चल्दै आएको थियो।
भरतपुर अस्पतालमा हाल स्थायी, करार र विकास समितको करारमा गरी २१ जना फर्मासिस्ट कार्यरत छन्।