गर्मी महिनामा छाला सम्बन्धी विभिन्न समस्याहरु देखिन्छन्। ती समस्याहरुलाई एकै ठाउँमा राखेर हेर्नुभन्दा पनि विभाजित गरे बुझ्न सहज हुन्छ। ती समस्याहरुमध्ये, एक संक्रमित रोगहरु हुन्। दोस्रो, संक्रमणबाट नभई गर्मीमा बढ्ने रोग हुन्। पाक्ने तथा पिपहरु जम्ने रोग ब्याक्टेरियाका कारण हुन्छन्।
ठेउला, दादुरा जस्ता समस्या भाइरस संक्रमणका कारण हुन्छन्। अर्को सबैभन्दा धेरै देखिने रोग भनेको फंगस हो, जसलाई हामी ढुसी पनि भन्ने गर्छौ। यो समस्या गर्मी र बर्खामा हुन्छ। किनभने जाडोमा भन्दा गर्मीमा छालामा आद्रता बढी हुन्छ।
शरीरमा गर्मी बढेपछि तापक्रमलाई निकाल्न पसिना आउँछ। पसिना धेरै आउँदा, छाला गुम्सिदा, पानीको सम्पर्कमा धेरै आउँदा छालामा ढुसी आउँछ। यी ढुसी भित्रि सतहको हुन्छ। बाहिरी सतहमा भने सेता सेता देखिने दुबी हुन्छ।
यी सबै संक्रमणबाट हुने रोगहरु हुन्। तर गर्मीमा घामको किरणबाट हुने विभिन्न छाला सम्बन्धी रोगहरु पनि छन्। घामको किरणबाट छालामा चाया पोतो आउँछ। अहिले कोरोना भाइरसको संक्रमणबाट बच्न हामी नियमित रुपमा मास्कको प्रयोग गर्छौ। मास्कको आद्रताले गर्दा गर्मीमा डण्डीफोर पनि बढ्न सक्ने तथा पाक्ने समस्या पनि हुन्छ।
यो बाहेक लुतो पनि गर्मी महिनामा बढी देखिन्छ। त्यसैले अन्य समयमा भन्दा गर्मीमा शरीरको सरसफाईमा बढी ध्यान दिनुपर्छ। किनभने गर्मीमा पसिना धेरै आउँछ। गुम्सिन्छ। पसिना धेरै आउँदा शरीर गन्हाउने, केही विद्यार्थीहरुको हातमा धेरै पसिना आउँदा पढ्न लेख्न समेत समस्या हुने गरेको छ।
गर्मीमा हामीले प्रयोग गर्ने क्रिमहरु जाडोमा भन्दा फरक हुन्छ। जाडोमा छाला सुख्खा हुन्छ भने गर्मीमा चिल्लो हुन्छ। त्यसैले गर्मीमा छालाको स्याहार गर्दा पानी प्रशस्त मात्रा खानुपर्छ। हामी घर तथा कार्यालयमा बस्दा गर्मीमा एयर कन्डिसन (एसि)को प्रयोग गर्छौं। हामीलाई महसुस नभएपनि एसिमा बस्दा छाला सुख्खा हुन्छ।
खानामा भिटामिन सी, भिटामिन ई, भिटामिन ए भएका खानेकुराहरु खानुपर्छ। अम्लीय फलफूल तथा खानेकुरा खानुपर्छ। अहिले आँपको सिजन छ। आँप पनि छालाको लागि फाइदाजनक मानिन्छ।
राति सुत्नु अघि फेसवास गर्नुपर्छ। किनभने दिनभरको धूलो धूँवा हाम्रो अनुहारको छालामा जम्मा भएर बसेको हुन्छ। त्यसलाई निकाल्न र सफा गर्न फेसवासको प्रयोग गर्नुपर्छ। फेसवास गरिसकेपछि मोस्चरराइजरको प्रयोग गर्नुपर्छ।
यो सँगै घामको किरणबाट बच्न सनस्क्रिम लगाउनुपर्छ। गर्मी महिनामा सनस्क्रिमको छनोट गर्दा पनि विशेष ध्यान दिनुुपर्छ। किनभने गर्मीमा च्यापच्याप हुने खालका क्रिमको छनोट गर्नु हुँदैन। त्यसैल जेल र लोसनको रुपमा भएका सनस्क्रिम गर्मीमा राम्रो मानिन्छ। चिल्लो छाला छ भने जेल र सुख्खा छ भने लोसन बेसको सनस्क्रिम लगाउनुपर्छ।
धेरै तातो पानीले नुहाउनु हुँदैन। नुहाइसकेपछि शरीरमा लोसन लगाउनुपर्छ। वर्षाको सिजनमा कस्मेटिक सामग्री प्रयोग गर्दा वाटर प्रुफ छनोट गर्नुपर्छ। छालामा कुनै संक्रमण या समस्या भए छाला रोग विशेषज्ञको सम्पर्कमा जानुपर्छ।
(छालारोग विशेषज्ञ प्रा डा सबिना भट्टराईसँग स्वास्थ्यखबरकी कमला गुरुङले गरेको कुराकानीमा आधारित)