काठमाडौं - ‘कोरोना भाइरस भनेको एउटा रुघाखोकी जस्तो हो। लागिहाल्यो भने हाँच्छियु साँच्छियु गर्नुपर्छ। तातो पानी, बेसार पानी खानुपर्छ, उडाइदिनुपर्छ।’
प्रधानमन्त्री केपी शर्माले ओलीले कोरोना महामारीको बेला संसदमा दिएको अभिव्यक्ति हो यो।
कोरोना भाइरस सुरु भएयता प्रधानमन्त्री ओलीले विभिन्न अभिव्यक्ति सार्वजनिक गरे। जसको चिकित्सकदेखि आम नागरिकले खुलेरै आलोचना गरे। उनले दिने यस किसिमको हल्का टिप्पणीले प्रधानमन्त्री ओली आलोचनाको कारण बन्न पुगेका छन्।
हालै मात्र प्रधानमन्त्री ओलीले फेरि अर्को स्वास्थ्य टिप्स दिएका छन्। तर उनको उक्त टिप्स पनि आलोचित बन्न पुगेको छ। प्रधानमन्त्री ओलीले पानीसरा (ठेउला)को समस्या भएका व्यक्तिले कालो तिल चपाएर लगाएर निको हुन्छ भन्ने टिप्स दिएका हुन्।
प्रधानमन्त्री ओलीले दिएको उक्त टिप्सका विषयमा स्वास्थ्यखबरले आयुर्वेद र आधुनिक चिकित्सकसँग यसको वास्तविकता बुझ्ने प्रयास गरेको छ।
पहिला प्रधानमन्त्रीले के भनेका थिए त्यो हेरौँ
‘मैले हिजो बेलुका मात्रै एक जना साथीलाई भने, मैले हेर्न त हेरिन, उहाँले जनै खटिरा भन्नुभयो। पानीसराको लक्षण पनि देखिन्थ्यो त्यसमा। अनि मैले उहाँलाई एउटा औषधि चाहि बताइदिएँ। म आफैँलाई पानीसरा भएको थियो। पानीसरा अत्यन्तै पोल्छ। दुख्छ र घाउ हुन्छ फुटेपछि र त्यो बहुत छिटो फैलिन्छ पनि र हाई फिबरमा लान्छ त्यसले। साधारण औषधि कालो तिल आफैले चपाएर थपक थपक लगाइदियो भने बिरामीले चपाउन पनि आनन्द मान्छ। पोलिरहेको त्यो जीलजील गर्ने फोकाहरु समाप्त हुन्छ र विस्तारै त्यो केही घण्टाभित्र सुक्छ। त्यो मैले अरु ठाउँमा पनि प्रयोग गरेर हेरेँ र त्यो अत्यन्तै सफल पनि भयो।’
प्रधानमन्त्रीको यो भनाईमा सत्यता छ त?
आयुर्वेद चिकित्सालय नरदेवीका निर्देशक डा प्रदीप केसी कालो तिल मात्र पानीसराको पूर्ण उपचार नभएको बताउँछन्। छालाका लागि कालो तिल फाइदाजनक मानिएपनि चपाएर पानीसरामा लगाउन भने नमिल्ने उनले बताए।
उनी भन्छन्, ‘कालो तिलले दुखाई कम गराउँछ। यो पूर्ण रुपमा उपचार होइन। पूर्ण रुपमा उपचार नै यही हो भन्न मिल्दैन। सहयोगी भूमिका मात्र हुन्छ।’
छालाका विभिन्न रोगहरुमा कालो तिल सहित अन्य जटिबुडीको लेप निकै प्रभावकारी हुने उनले बताए। पानीसराको उपचारका लागि पनि अन्य तिल र जडिबुटी मिसाएर बनाइएको विशेष लेप बनाएर लगाउन मिल्छ तर कालो तिलले मात्र उपचार भने नहुने उनले स्पष्ट पारे। उनका अनुसार कालो तिलमा हुने आमेगा थ्रि र फ्याट्टी एसिडले छालालाई राम्रो भने गर्छ।
‘पानीसराको उपचारमा कालो तिल सहित अन्य जडिबुडी र पातहरु मिसाएर बनाइएको लेप लगाउन मिल्छ। चपाएर लगाउन चाँही राम्रो हुँदैन’ उनले भने, ‘तर विभिन्न जडिबुटीसँग मिलाएर लेप बनाएर लगाउन मिल्छ। यो प्रभावकारी उपचार पनि हो।’
आयुर्वेदमा पानीसराको उपचार विभिन्न थेरापीबाट गरिन्छ। जसमध्ये लिच थेरापी एक हो। सामान्य भाषामा भन्नुपर्दा यो एक जुकाले शरीरमा टोकाउने थेरापी हो। यो थेरापी पानीसराको उपचारका लागि पनि निकै प्रभावकारी मानिएको डा केसी बताउँछन्। यो थेरापी नरदेवी अस्पतालमा पनि सुरु गर्ने तयारी भएको उनले बताए।
उनका अनुसार कपिङ थेरापीबाट पनि यसको उपचार गर्न सकिन्छ। कपिङ थेरापीमा दुखेको ठाउँमा सानो कप राखेर गरिने थेरापी हो। नेपालका विभिन्न भौगोलिक क्षेत्रमा व्यक्तिहरुले आफ्नो परम्परा अनुसार पनि यसको फरक तरिकाले उपचार गर्ने उनको उनी बताउँछन्।
आधुनिक चिकित्साका क्षेत्रमा कार्यरत चिकित्सकहरुले पनि प्रधानमन्त्रीको भनाईंमा कुनै तथ्य नरहेको बताए।
छाला रोग विशेषज्ञ प्राडा सबिना भट्टराई कालो तिल चपाएर लगाउँदा पानीसरा ठिक हुने कुरामा कुनै तथ्य नभएको बताउँछिन्।
उनले भनिन्, ‘हामी विज्ञान र तथ्यमा विश्वास गर्छौं। त्यसैले विज्ञान र वैज्ञानिकहरुले प्रमाणित नगरेको कुरामा हामीले कसरी विश्वास गर्ने। यसमा कुनै तथ्य छैन।’
के हो पानीसरा ?
पानीसरालाई चिकेन पक्स, ठेउलाको नामबाट चिनिन्छ। यो रोग खासगरी गर्मीमा बढी देखिन्छ।
पानीसरा भेरीसोला जोस्टर नामको भाइरसको संक्रमणका कारण हुन्छ। जसमा पानीका फोका शरीरभरी आउने गर्छ। यो एक सरुवा रोग हो। यो रोग सिजनल पनि हो।
यो रोगले विशेषगरी बच्चाहरुलाई बढी सताउँछ। तर युवा तथा वृद्धवृद्धालाई पानीसरा भए यसले जटिलता निम्त्याउने जोखिम बढी हुन्छ। यसले कलेजो, छाती, नशा, मस्तिष्कलाई असर गर्न सक्ने छाला रोग विशेषज्ञ डा भट्टराईले बताइन्।
‘पानीसरा आएपछि घर बाहिर निस्कनु हुँदैन, गुम्साएर भित्रै राख्नुपर्छ भन्ने आम बुझाई छ।’ तर यो बिलकुलै गलत भएको डा भट्टराई बताउँछिन्।
‘धेरैले यो रोग लागेपछि गुम्साउनुपर्छ। धेरै लुगा लगाएर राख्नुपर्छ भन्छन्। तर त्यो भ्रम हो’ उनले भनिन्, ‘यो साधारण रुघाखोकी जस्तै भाइरसका कारण हुन्छ। गुम्साउने ग¥यो भने पानीका फोका पाक्ने संभावना हुन्छ।’
यो रोग ७ देखि १० दिनभित्र निको हुन्छ। तर गुम्साएर राखे पानीको फोका आएको ठाउँमा पाक्ने र खत बस्न सक्ने उनले बताइन्। परिवारको एउटा सदस्यमा पानीसरा देखिए अर्कोमा सर्ने सम्भावना अत्यधिक रहन्छ।
पानीको फोका आउने तीन दिन अगाडी र पानीको फोका आएको चार दिनपछि यो रोग सर्ने सम्भावना अधिक हुन्छ। जति ढिलो उमेरमा यो रोग लागे समस्या त्यति जटिल हुने उनले बताइन्।
कसरी पहिचान गर्ने?
यो रोग लाग्दा पहिलो दिन मात्र ज्वरो आउँछ। केहीलाई ज्वरो नआउन पनि सक्छ। यसलाई पहिचान गर्न सकिने विभिन्न लक्षणहरु छन्।
टाउको तथा शरीर दुख्ने, खानामा अरुची हुने, ज्वरो आउने, घाँटी सुख्खा हुने, कमजोर महसुस हुने, खोकी लाग्ने यसका लक्षणहरु हुन्।
बच्चाहरुमा धेरै लक्षण नभए एन्टी भाइरल औषधि दिएपछि निको हुने डा भट्टराईले बताइन्। गर्भवती महिलालाई पानीसरा आए पेटमा रहेको शिशुमा पनि रगतबाट जाने असर गर्छ। त्यसैले गर्भवतीलाई पानीसरा आए विशेष ध्यान दिन उनको सुझाव छ। पानीसरालाई समयमै पहिचान गरेर उपचार गरे निको हुन्छ।
पानीसरापछि जनैखटिराको जोखिम
डा भट्टराईका अनुसार पानीसरा भएपछि जनैखटिरा हुने खतरा पनि रहन्छ। किनभने यो भाइरस शरीरभित्र छिरेपछि निस्क्रिय भएर नशाको पछाडी लुकेर बसेको हुन्छ। पानीसरा आएर निको भएको वर्षोपछि यो भाइरस पुनः सक्रिय भए यसले जनैखटिरा गराउँछ। व्यक्तिको रोग प्रतिरोधात्मक क्षमता भएको बेला यो भाइरसले पुनः आक्रमण गरे जनैखटिरा हुन सक्ने डा भट्टराइले बताइन्।
उनले भनिन्, ‘मानिसहरु धेरै तनावमा भए। चिन्ता भयो। रोग प्रतिरोधात्मक क्षमता कम भयो भने त्यो लुकेर बसेको भाइरस सक्रिय भएर सतहमा आउन थाल्छ। यसले जनैखटिरा गराउँछ।’
जनैखटिरा पनि युवा उमेरमा आए आफैं निको हुने र धेरै नफैलने हुन सक्छ। जनैखटिराको पहिचान गरी ७२ घण्टाभित्र उपचार गरे प्रभावकारी हुन्छ। तर उपचार नगरी घरमै बसे यो भाइरसले नशालाई बिगार्ने तथा नष्ट गर्न सक्ने उनले बताइन्। पानीसराले बच्चाहरुलाई बढी सताउँछ भने जनैखटिराले उमेर पुगेका व्यक्तिहरुलाई दुख दिन्छ।