काठमाडौं- कोरोना भाइरसको संक्रमणपछि मोरङका रामजी मेहतालाई गत बैशाख २९ गते विराटनगरस्थित विराट मेडिकल कलेजमा भर्ना गरियो। उनलाई १२ दिनसम्म आइसीयूमा राखेर उपचार गरियो। तर जेठ ९ गते उनको उपचारका क्रममा निधन भयो।
१२ दिनको सो अवधिमा अस्पतालले बेड चार्ज सहिको ४ लाख ७ हजार र फार्मेसीको ७८ हजार ५०० रुपैयाँ असुल्यो।
विराटले यसरी संक्रमितसँग रकम लिन पाउँदैन। स्वास्थ्य मन्त्रालयसँग विराट मेडिकल कलेजले गत वैशाख १२ गते कोभिड–१९ केयर युनिट सञ्चालन सम्बन्धी सम्झौता गरेको छ। उक्त सम्झौता गरेको अस्पतालले कोरोना संक्रमितको नि:शुल्क उपचार गर्नुपर्ने र बिरामीको उपचार गर्दा लागेको शुल्क स्वास्थ्य मन्त्रालयले सोधभर्ना दिने व्यवस्था छ।
तर विराटले मेहताको परिवारसँग विभिन्न शिर्षकमा शुल्क असुल्यो। यति मात्र होइन विराट मेहताको परिवारलाई निशुल्क उपचार गरेको भन्दै स्वास्थ्य मन्त्रालयसँग रकम माग गर्यो।
मेहताको छोराले उक्त विषयमा उजुरी गरेपछि यो कुरा बाहिर आएको हो। त्यसपछि स्वास्थ्य मन्त्रालयले विराट मेडिकल कलेजका अन्य बिरामीको उपचारक विषयमा छानबिन गरिरहेको छ। छानबिनका क्रममा विराटले धेरैसँग अवैध रुपमा शुल्क असुलेको र स्वास्थ्य मन्त्रालयसँग पनि ती बिरामीका नाममा रकम माग गरेको पाइयो। मन्त्रालयले विराट जस्तै अन्य अस्पतालको पनि छानबिन गरेर प्रतिवेदन बनाइरहेको छ।
मन्त्रालयमा आएका उजुरी र मन्त्रालयले गरेको छानबिनका क्रममा दोहोरो शुल्क असुल्ने अस्पतालमा विराट मेडिकल कलेजसहित काठमाडौंको नेपाल मेडिकल कलेज, मेडिकेयर अस्पताल, मनमोहन मेमोरियल अस्पताल, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, सर्वाङ्ग स्वास्थ्य सदन कुपन्डोल, किष्ट मेडिकल कलेज र चितवनको चितिवन मेडिकल कलेज रहेका छन्।
यी अस्पतालहरुले उपचार बापतको रकम स्वास्थ्य मन्त्रालयले तोकेको दररेट भन्दा बढी लिएको र उनीहरुकै उपचार नि:शुल्क गरेको भन्दै स्वास्थ्य मन्त्रालयसँग पनि रकम माग गरेको पाइएको हो।
मन्त्रालयले कोरोना संक्रमितको उपचारमा तोकेको भन्दा बढी र दोहोरो शुल्क लिने अस्पताललाई शोध भर्ना नदिने भएको छ।
यी अस्पतालका विषयमा मन्त्रालयमा उजुरी समेत परेको छ। मन्त्रालयले यसरी दोहोरो र बढी शुल्क लिएको भएमा बिरामी तथा आफन्तलाई उजुरी गर्न समेत आग्रह गरेको छ।
कोरोना संक्रमितसँग सरकारले तोकेको भन्दा अत्यधिक बढी रकम असुल्ने अस्पतालको सूचीको पहिलो नम्बरमा पर्छ ह्याम्स अस्पताल। ह्याम्सले एकै बिरामीसँग १५ लाखभन्दा बढी रकम तोकेकोभन्दा बढी असुले पाइएको छ।
ह्याम्स जस्तै धेरै रकम असुल्ने अस्पतालमा पर्छ मेडिसिटी, काठमाडौं मेडिकल कलेज, ग्रान्डी अस्पताल र कान्तिपुर जनरल एन्ड डेन्टल अस्पताल पनि। यी अस्पतालले कोरोना संक्रमितसँग लाखौं रकम बढी असुलेका छन्। एक जना संक्रमितसँग लाखभन्दा बढी असुलेका यी अस्पतालले कोरोना संक्रमितको उपचारका क्रममा करोड भन्दा बढी रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानका क्रममा देखिएको मन्त्रालयका एक कर्मचारीले जानकारी दिए।
'यी अस्पतालले बिरामीमाथि लुट नै मच्चाइरहेका रहेछन्' ती कर्मचारीले भने, 'यो विषयमा अब मन्त्रालय कसरी अगाडि बढ्छ भनेर अहिले नै भन्न सक्ने अवस्था भने छैन।'
मन्त्रालयमा १० वटा उजुरी
स्वास्थ्य मन्त्रालयसँग कोभिड अस्पतालको रुपमा सूचीकृत भएका अस्पतालले बिरामीसँग दोहोरो शुल्क लिएपछि बिरामीले स्वास्थ्य मन्त्रालयमा उजुरी दिएका छन्। मन्त्रालयले उजुरी परेका अस्पतालका विषयमा मात्र छानबिन गरेको छ भने चर्को शुल्क असुलेका अस्पतालका विषयमा मौखिक उजुरी र गुनासो मात्र आएको भन्दै छानबिनको दायरामा ल्याएको छैन।
मन्त्रालयमा लिखित उजुरी परेपछि मन्त्रालयले छानबिनका लागि सहप्रवक्ता डा समिर अधिकारीको नेतृत्वमा जेठ ३० मा ५ सदस्यीय छानबिन समिति गठन गरेको थियो। उक्त समितिमा मेडिकल अधिकृत डा नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य रहेका थिए।
समितिले गत वैशाख महिनामा उजुरी परेका अस्पतालहरुको छानबिन गरेको सहप्रवक्ता डा अधिकारीले जानकारी दिए। उनले प्रतिवेदन तयार पार्ने काम अझै बाँकी रहेको पनि बताए।
उनले भने,‘हामीले सबैको एक एक गरी हेर्न पाएका छैनौँ। पैसा शोधभर्ना गर्ने सन्दर्भमा के गर्ने, कसरी गर्ने भनेर वैशाखको नमुना लिएर हेरेका हौं। त्यसैको आधारमा जेठ र असारको हेर्छौं। यी महिनामा ठूलो संख्यामा उजुरी परेको छ।’
उनले अस्पतालले स्पष्ट बसमासी गरेको पाइएमा शोधभर्ना नदिने, कैफियत देखिएको तर अस्पतालले आधार प्रमाण पेस गर्यो भने शोधभर्ना दिने र अस्पतालले नि:शुल्क उपचार गर्ने भनेर दर्ता गरेको छ भने मात्र शोधभर्ना दिने गरी तीन शिर्षक अनुसार गर्न प्रतिवेदन बुझाएको बताए।
कोरोना संक्रमितको उपचार नि:शुल्क गर्ने सम्झौता गरेका अस्पतालहरुले बिरामीसँग मोटो रकम असुल्ने र सरकारसँग पनि तिनै बिरामीको नाममा शोधभर्नाका लागि निवेदन पेस गर्ने गरेको गुनासो पछिल्लो समय निकै बढेको छ।
१० जनाको उजुरीमध्यये किष्ट मेडिकल कलेजको विषयमा बिरामी र अस्पतालबीच द्धिविधा भएको र कुरा मिलिसकेको भन्दै बाँकी नौ उजुरीलाई आधार मानेर छानबिन भएको सहप्रवक्ता अधिकारीले बताए।
सरकाले कोरोना संक्रमितको उपचार गर्दा आइसोलेसनमा बसेको दैनिक २ हजार, एचडीयूमा बसेको ३५ सय र आइसीयू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार मात्रै लिन पाउने व्यवस्था गरेको छ। सरकारसँग सम्झौता गरेका अस्पतालले बिरामीको नि:शुल्क उपचार गर्ने र त्यसको शोधभर्ना मन्त्रालयले दिने व्यवस्था छ।
मन्त्रालयसँग सम्झौता नगरेका निजी अस्पतालले पनि यो शुल्क भन्दा बढी रकम लिन पाउँदैनन्। तर ह्याम्स, मेडिकेयर, ग्रान्डी, मेडिसिटी, केएमसी लगायतका अस्पतालले भने बिरामीसँग उक्त शुल्क भन्दा निकै धेरै रकम असुल्दै आइरहेका छन्। यी अस्पतालका विषयमा पनि पछिल्लो समय उजुरी आउने थालेको मन्त्रालयका कर्मचारी बताउँछन्।