काठमाडौं– निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौं उपत्यकामा चहलपहल ह्वात्तै बढेको छ। सडकमा सवारी साधनको चाप र बजारमा मानिसको भिडभाड छ।
कोरोना महामारी नियन्त्रणका लागि भन्दै वैशाख १६ गतेदेखि लागू भएको निषेधाज्ञा असार १५ गतेदेखि खुकुलो भएको छ। खुकुलो निषेधाज्ञामा जनस्वास्थ्यको मापदण्ड पालना गर्न सरकारले आग्रह गर्दै आइरहेको छ। तर, बढ्दो भिडभाड र चहलपहल हेर्दा मानिसहरु आफैं बेपर्वाह देखिन्छन्। न त दुई मिटरको भौतिक दूरी कायम भएको देखिन्छ न त मास्कको उचित प्रयोग नै।
उद्योग तथा कलकारखाना र सार्वजनिक तथा निजी निर्माण कार्य स्वास्थ्य मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने व्यवस्था छ।
यस्तै, विवाह तथा व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्डको पालना गरी गर्न पाइने तथा २ वटा सवारी साधन प्रयोग गर्न सकिने व्यवस्था गरिएको छ।
यसैगरी, अत्यावश्यक सेवाहरु बाहेक निजी सवारी साधन कार, जीप, भ्यानमा बढीमा चारजना, ट्याक्सीको हकमा बढीमा तीनजना र मोटरसाइकल स्कुटर समेत जोर बिजोर प्रणाली लागू गरी सञ्चालन गर्न दिइएको छ।
२५ सिट क्षमता भन्दा बढीका सार्वजनिक यात्रु बाहक सवारी साधनलाई पनि बिहान ६ देखि साँझ ७ बजेसम्म जोर बिजोर प्रणालीमा सञ्चालन गर्न दिइएको छ। खाद्यन्न सम्बन्धि पसल तथा व्यवसाय सञ्चालन गर्न दिइएको छ भने सरकारी कार्यलय बैंक तथा वित्तीय संस्थाहरु पनि जनस्वास्थ्यको मापदण्ड पालना गरी सञ्चालन गर्न पाइने व्यवस्था गरिएको छ।
हाल सभा सम्मेलन, व्यवसाय तथा नित्य पूजाको कार्य, खुला स्थानमा मानिसहरु भेला हुने, भिडभाड गर्न, सभा, जुलुस, जात्रा महोत्सव, भोज भतेर गर्न र विवाह, ब्रतबन्ध तथा समूहिक रुपमा गरिने सांस्कृतिक कार्यहरु होटल तथा पार्टी प्यालेसमा गर्न नपाइने नियम लागू गरिएको छ। यी कार्य बाहेक सबै क्षेत्रहरु खुला भइसकेका छन्। जसले गर्दा पनि बजार तथा पसलहरुमा मानिसहरुको भिडभाड बढेको देखिन्छ।
जिल्ला प्रशासन कार्यलयले जनजीवन सहज बनाउन निषेधाज्ञा खुकुलो बनाइएको र हरेक कार्य गर्दा वा घरबाहिर निस्किदा जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने भनेको छ।
तर असार १५ गतेपछि बजारमा दशैंमा हुने किनमेल जस्तै भिडभाड देखिएको छ। असन, न्यूरोड लगाएतका व्यापारिक केन्द्रहरुमा मानिसहरु ठेलमठेल गरेर हिड्न थालेका छन्। कोरोना संक्रमणबाट बच्न दुई मिटरको दुरी कायम त भएको छैन न नै कतिपयले मास्क समेत लगाएका छैनन्। मास्क लगाउनेहरु मध्ये कतिपयले सहि तरिकाले मास्क लगाएका छैनन्।
दुई महिनाको कडा निषेधाज्ञा पछि खुला भएको बजारमा जनस्वास्थ्यको मापदण्ड पालना गर्र्ने गराउने सरोकारवाला निकायले पनि ध्यान दिएको देखिँदैन। सर्वसाधारणले पनि जनस्वास्थ्यको मापदण्डलाई फेरि वेवस्ता गरेको देखिन्छ।
निषेधाज्ञा खुकुलो भएसँगै बजार तथा सडकमा देखिएको भिडले फेरि कोरोना संक्रमण बढ्न सक्ने खतरा रहेको चिकित्सकहरुले बताएका छन्।
निषेधाज्ञाका कारण केही नियन्त्रणमा आएको कोरोना संक्रमण आगामी दिनमा बढ्न सक्ने शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा अनुप बास्तोलाले बताए।
डा बास्तोलाले निषेधाज्ञा खुकुलो हुने बित्तिकै सर्वसाधारणहरुले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती फेरि दोहोर्याएको तर्क समेत गरे।
‘गत मंसिरमा पहिलो लहरको संक्रमण कम भएपछि मानिसहरुले कोरोनालाई बिर्सिए, जनस्वास्थ्यका मापदण्ड तोडे, जसले गर्दा फागुन पछि नयाँ भेरिएन्ट सहितको भाइरस फैलियो। वैशाखमा फेरि निषेधाज्ञा नै गर्नुपर्ने अवस्था आयो,’ डा बास्तोलाले भने, ‘अहिले निषेधाज्ञा खुकुलो भएपछि फेरि मानिसहरुले कोरोनाका त्यो भयावह अवस्थालाई बिर्सिएको जस्तो देखिन्छ। त्यसले गर्दा अहिलेको अवस्थालाई हेर्दा कोरोना संक्रमण फेरि बढ्न सक्छ।’
अहिलको कोरोना संक्रमण अझै संक्रामक रहेको र मानिसहरुले फेरि जनस्वास्थ्यको मापदण्ड बेवास्ता गर्न थालेकाले आगामी दिनमा संक्रमण बढ्ने खतरा देखिएको डा बास्तोलाको भनाइ छ।
‘एक त भाइरस नै संक्रामक छ, त्यसमाथि मानिसहरुको व्यवहार परिवर्तन हुनै सकेको छैन,’ डा बास्तोलाले भने, ‘त्यसैले हामी संक्रमणको जोखिममा नै छौं, अहिले नै स्वास्थ्यको मापदण्डलाई नबिर्सौ।’
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा समिर कुमार अधिकारीका अनुसार निषेधाज्ञा खुकुलो बनाउनुको कारण– कोरोना संक्रमण कम वा संक्रमणको जोखिम कम भएर होइन। लामो समय निषेधाज्ञा गर्दा मानिसको जनजीवन र आर्थिक गतिविधि प्रभावित हुने भएकाले स्वास्थ्यका मापदण्ड पालना गर्नुपर्ने निर्देशन सहित निषेधाज्ञा खुकुलो बनाइएको हो।
कोरोना संक्रमणको जोखिम कायमै रहदा रहदै पनि निषेधाज्ञा खुकुलो बनाइएकाले सर्वसाधारणले आफूले आफैंलाई निषेधाज्ञामै राखेर आफ्नो नियमित कार्यमा लाग्नुपर्ने डा अधिकारी बताउछन्।
डा अधिकारीले भने, ‘अहिले संक्रमण कम भएर वा जोखिम कम भएर निषेधाज्ञा खुकुलो बनाइएको होइन, जोखिम कायमै रहदा रहदैपनि लामो समय बन्दाबन्दीमा बस्दा सर्वसाधारलाई गाह्रो भयो भनेर निषेधाज्ञा खुकुलो बनाइएको हो।’
संक्रमणको जोखिम कायमै रहेकाले सर्वसाधारले सावधानी अपनाउन आवश्यक रहेको उनले बताए।
‘पहिलो लहरको कोरोना संक्रमण पछि जानेर/नजानेर कोरोनालाई केही होइन रहेछ, केही असर पर्ने होइन रहेछ भन्ने सोच राखेर हाम्रो हेलचेक्र्याइ बढी भएकाले पनि दोस्रो लहरको संक्रमण व्यापक भयो,’ डा अधिकारीले भने, ‘तर अब अहिलेपनि मानिसहरुले पहिलो लहरको संक्रमणपछि गरेको गल्ती दोहोर्याउदै छौं। यस्तो नगरौं।’
अहिले पनि आफू र अरुलाई संक्रमित हुनसक्ने आशंका गरी सोही अनुसारको व्यवहार गर्नुपर्ने डा अधिकारीले बताए।
उनले अहिले पनि अत्यावश्यक काम गर्ने अवस्थामा मात्रै घर बाहिर निस्कने, घरबाहिर निस्किदा मास्क लगाउने, भौतिक दुरी कायम गर्ने, साबुनपानीले हात हुने लगायतका जनस्वास्थ्यको मापदण्ड पालना गर्नुपर्ने विषयमा जोड दिए।
जनस्वास्थ्यको मापदण्ड पालना गरेमात्रै संक्रमण नियन्त्रणमा आउन सक्ने डा अधिकारीको भनाइ छ।
संक्रमणको जोखिम सबैभन्दा काठमाडौं उपत्यकामा नै बढी देखिएको छ। उपत्यकामा बढ्दै गएको भिडभाडले पनि त्यो खतरा बढेको जनस्वास्थ्य विज्ञको भनाइ छ।
हेरौं तथ्यांक