काठमाडौं- भारत केन्द्र सरकारले अब गर्भवतीलाई पनि कोरोना विरुद्धको खोप लगाउने अनुमति दिएको छ। कोरोना खोपबारे गठित भारतको राष्ट्रिय सल्लाहकार कमिटीले गर्भवतीलाई खोप लगाउन सकिने सिफारिस गरेपछि यहाँको स्वास्थ्य मन्त्रालयले पनि अनुमति दिएको हो।
स्वास्थ्य मन्त्रालयले गर्भवतीले खोपका लागि दर्ता गरेपछि वा सिधै खोप केन्द्रमा गएर खोप लगाउन सक्ने जानकारी शुक्रबार दिएको हो।
स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लब अग्रवालले खोप सल्लाहकार समितिको सिफारिस बमोजिम गर्भवतीलाई कोभिड खोप सुरक्षित भएको बताएका छन्।
केन्द्रिय स्वास्थ्य मन्त्रालयका अनुसार शुक्रबारसम्म भारतमा ३४ करोड भन्दा बढी डोज खोप लगाइसकिएको छ। पछिल्लो २४ घण्टामा करिब ४२ लाखभन्दा बढी डोज खोप दिइएको छ।
भारतमा अहिलेसम्म ३२ करोड ८० लाख ९९८ लाख व्यक्तिले पहिलो र ९ लाख ८३ हजार १२५ व्यक्तिले दोस्रो डोज अर्थात पूर्ण खोप लगाइसकेको मन्त्रालयले जनाएको छ।