काठमाडौं- भारतमा मोर्डेनाकाे कोरोना विरुद्धको खोप आपतकालिन प्रयोगका लागि एक कम्पनीलाई आयात अनुमति दिइएको छ। भारतको औषधि नियन्त्रक संस्था (डीसीजीआई)ले मुम्बइस्थित औषधि कम्पनी सिपलालाई आपतकालिन प्रयोगका लागि मोर्डेना खोप आयात गर्न अनुमति दिएको हो। मोर्डेनाको खोप भारतमा कोरोना विरुद्ध प्रयोगका लागि अनुमति दिइएको चौथो खोप हो।
भारतमा यसअघि, अक्सफोर्ड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ।
डीसीजीआइले ड्रग एण्ड कस्मेटिक्स एक्स,१९४० को नयाँ औषधि तथा क्लिनिकल परीक्षण नियम,२०१९ अनुसार सिप्लालाई खोप आयातको अनुमति दिएको हो।
मोर्डेनाले अमेरिकी सरकारले त्यहाँ उपलब्ध मोर्डेना खोप कोभ्याक्स फ्यासिलिटीमाफर्त भारतलाई अनुदानमा दिन सहमत भएको भन्द २७ जुनमा डीसीजीआइसँग आपतकालिन प्रयोगका लागि अनुमति मागेको थियो। सिप्लाले गत सोमबार अमेरिकी फार्मा कम्पनीतर्फबाट खोप आयात र बिक्री अनुमति मागेको थियो।