काठमाडौं- कोरोना महामारीको पहिलो लहरमा अस्पतालहरु प्राय सुनसान जस्तै हुन्थे। पहिलो लहरमा विभिन्न अस्पतालहरुमा अत्यावश्यक बाहेक अन्य सेवा उपलब्ध थिएन। दोस्रो लहर सुरु भएपछि सरकारले निषेधाज्ञा गर्दा अस्पतालमा नन कोभिड बिरामीको संख्या निकै कम थियो।
ओपिडी सेवा अधिकांश अस्पतालले खुला राखेपनि बिरामीहरु डरले अस्पताल जान खोज्दैनथे। सरकारले पनि अत्यावश्यक बाहेक अस्पताल नजान सबैलाई आग्रह गरेको थियो।
कोरोनाको संक्रमण दर घट्न थालेपछि हाल अस्पतालहरुमा नन कोभिडका बिरामीहरुको संख्या बढ्न थालेको छ। काठमाडौं उपत्यकाको विभिन्न अस्पतालहरुमा हाल ओपिडीमा उपचार गर्न पुग्ने बिरामीहरुको संख्या बढ्न थालेको हो।
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालको ओपिडीमा उपचार गर्न पुग्ने बिरामीको संख्या बढ्दो छ। अस्पतालका सूचना अधिकारी राम बिक्रम अधिकारीका अनुसार कोरोना संक्रमितको उपचारसँगै ओपिडी सेवा कोरोना महामारीको समयमा खुला नै थियो। तर केही समयका लागि भने साँझको ओपिडी सेवा भने बन्द भएको थियो। हाल त्यो पनि एक साताअघि नै सुरु भइसकेको उनले बताए।
उनले भने, ‘हाम्रो वार्ड तथा ओपिडीहरु कहिले बन्द भएन। बेलुकीको ओपिडी बन्द थियो। तर एक साताअघि सञ्चालनमा आइसक्यो।’
आइतबार मात्रै ओपिडीमा ३३० जना नयाँ र ४०४ जना पुरानो बिरामी गरी ७३४ जना बिरामीले सेवा लिएका छन्। कोरोना महामारी अघि त्रिवि शिक्षण अस्पतालमा करिब २५ सय बिरामी उपचारका लागि पुग्ने गरेको उनले बताए।
यो सँगै त्रिवि शिक्षण अस्पतालले ‘पोष्ट केयर कोभिड ओपिडी’ सञ्चालन गर्ने तयारी समेत गरेको छ। आगामी आइतबारदेखि पोष्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने अस्पतालले तयारी गरेको हो।
कोरोनापछि विभिन्न स्वास्थ्य समस्याहरु देखिएको भन्दै उनीहरुको लागि पोस्ट केयर कोभिड ओपिडी सञ्चालन गर्ने तयारी भएको उनले बताए।
उनले भने, ‘कोभिडका बिरामीको लागि छुट्टै ओपिडी सञ्चालन गर्छौ। कसैलाई मानसिक समस्या, कसैलाई विभिन्न समस्याहरु देखिरहेका छन्। उनीहरुको सहजताका लागि पोष्ट कोभिड केयर ओपिडी सञ्चालन गर्दैछौ।’
रेस्पिरेटरी डिपार्टमेन्ट अन्तर्गत उक्त ओपिडी सञ्चालन गरिने अस्पतालले जनाएको छ। पोष्ट केयर कोभिड ओपिडीमा बिरामीको अवस्था र समस्या अनुसार उपचार गरिने उनले बताए।
‘बिरामीको आवश्यकता अनुसार विभिन्न परीक्षण गरिने, केही समस्या देखिए उपचार गर्ने हुन्छ। उनीहरुको समस्यालाई कसरी सहज बनाउने भन्ने उद्देश्य हो। काउन्सिलिङदेखि सबै उपचार गर्छौ’ उनले भने।
मुलुकै पुरानो अस्पताल वीरमा पनि कोरोना संक्रमितको उपचारसँगै नन कोभिड सेवा सञ्चालन भइरहेको छ। लकडाउनको समयमा बिरामीको संख्या कम भएपनि ओपिडी सेवा बन्द भने नभएको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युतराज कार्कीले बताए।
उनले भने, ‘वीर अस्पतालमा ओपिडी कहिले पनि बन्द भएन। लकडाउनमा पनि ननकोभिड उपचार सञ्चालन नै थियो। बिरामीहरु थोरै आउँथे। तर सेवा सञ्चालन नै थियो।’
वीर अस्पतालमा हाल ओपिडीमा सेवा लिन जाने बिरामीको संख्या विस्तारै बढ्दो छ। आइतबार मात्र ६५० जना बिरामीले ओपिडीबाट सेवा लिएका छन्।
यसअघि सामान्य अवस्थामा २ हजारदेखि २५ सयसम्म बिरामीहरु उपचारका लागि वीर अस्पताल पुग्ने गर्थे। ओपिडीसँगै नन कोभिडको भर्ना पनि खुला नै रहेको उनले जानकारी दिए। हाल दैनिक एक सयका हाराहारीमा बिरामीको संख्या बढ्न थालेको उनले बताए।
सिभिल अस्पतालमा पनि कोरोना महामारीको समयमा ननकोभिडको उपचार जारी नै थियो। अस्पतालका निर्देशक डा विधाननिधी पौडेलका अनुसार नन कोभिडको उपचार कहिले पनि बन्द भएन।
उनी भन्छन्, ‘सुरुदेखि नै नन कोभिडको उपचार खुला नै थियो। बन्द कहिले भएन। कोभिड र नन कोभिडको उपचार हामीले छुट्टा छुट्टै गर्दै आएका छौँ।’
सोमबार ४५२ जना बिरामीले सिभिल अस्पतालको ओपिडीबाट सेवा लिएका छन्। कोरोना महामारी अघि सिभिल अस्पतालमा दैनिक आठ सय बढी बिरामीहरु ओपिडीमा सेवा लिन पुग्थे।
यता टेकुस्थि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा भने हाल कोभिडको मात्र उपचार हुने गरेको छ। अझै पनि बिरामीहरु आउने क्रम रहेकाले तत्काल ननकोभिडको उपचार सुरु नगर्ने अस्पतालका नवनियुक्त निर्देशक डा अनुप बास्तोलाले बताए।
उनले भने, ‘अहिले हामीले कोरोना संक्रमितको उपचारमै केन्द्रित छौँ। अझै पनि बिरामीहरु आइरहेका छन्। नन कोभिडको उपचार पनि अब विस्तारै सुरु गर्नुपर्छ। तर अहिले तत्काललाई कोभिडमै केन्द्रित छौँ।’