काठमाडौं - नाम एक समस्या अनेक भनेझैं कोभिड निको भएकाहरुमा विभिन्न स्वास्थ्य समस्याहरु देखिएका छन्। अर्थात् कोरोनाको पहिलो लहरमा देखिएका पोस्ट कोभिडका समस्या दोस्रो लहरमा झनै बढ्दै गएको छ।
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिेकेसन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्।
पोस्ट कोभिडको समस्या युवा, वृद्धवृद्धाहरुमा मात्र नभई बालबालिकामा पनि बढ्दै गएको छ। कोरोना निको भइसकेका वा कुनै बेला कोरोना संक्रमित भएका बालबालिकाहरुलाई पोस्ट कोभिडको समस्याले सताउन थालेको छ।
कोभिडपछि बालबालिकामा हाल देखिएको जटिल अवस्था हो, ‘एमआइएस–सी’
मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम अर्थात् कोभिडपछि बालबालिकामा देखिने एक जटिल अवस्था हो। जसलाई वैज्ञानिकहरुले ‘एमआइएस–सी’ नाम दिएका छन्।
मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोमले कोभिड विरुद्ध बन्ने एन्टीबडीले शरीरमा निम्त्याउने जटिलतालाई बुझाउँछ। यसले मुटु, मिर्गौला, रक्त प्रणाली, पेट लगायत शरीरका विभिन्न प्रणालीमा असर गर्ने कान्ति बाल अस्पतालका वरिष्ठ बाल रोग विशेषज्ञ डा सुमित अग्रवाल बताउँछन्।
उनका अनुसार यो समस्या भएका बालबालिकामा १०४ डिग्री फरेनहाइटको उच्च ज्वरो आउने, मुटुको धमनी सुन्निन सक्ने, कडा खालको निमोनिया भएर अक्सिजन आवश्यक पर्ने, मिर्गौलामा समस्या देखिन सक्ने, रगतमा प्लेटलेट घट्ने, हेमोग्लोबिन घट्न सक्छ।
कान्ति बाल अस्पतालमा हाल गम्भीर खालका पोस्ट कोभिडको समस्या लिएर आउने गरेको उनले बताए।
उनले भने, ‘पोस्ट कोभिडको समस्या लिएर आइरहेका छन्। पहिलो लहरमा त्यति धेरै गम्भीर केसहरु भर्ना गर्नु परेको थिएन। तर अहिले गम्भीर केसहरु बढेको छ।’
पोस्ट कोभिडको समस्या लिएर आउने बालबालिको हिस्ट्री नियाल्दा प्रायजसो २ देखि ६ हप्ताअघि कोभिड भएको वा कोभिडको सम्पर्कमा आएको पाइएको छ।
यही २ देखि ६ हप्ताको बीचमा ती बालबालिकाहरुलाई ज्वरो आउने, श्वासप्रश्वासमा समस्या, उक्तचाप उच्च या कम हुने, पेट दुख्ने, बान्ता हुने, शरीरमा डाबर आउने, पखाला लाग्ने लक्षणहरु लिएर आउने गरेको डा अग्रवालले बताए। एमआइएस–सी को आशंकामा दैनिक १ देखि २ जना भर्ना हुने गरेको उनले बताए।
कोरोना संक्रमित भइसकेका अभिभावक बढी चनाखो हुनुपर्नेमा डा अग्रवाल जोड दिन्छन्। परिवारमा कसैलाई कोरोना देखिएको एक डेढ महिनामा बालबालिकालाई ज्वरो आउने, बान्ता हुने समस्या देखिए तत्काल चिकित्सकको सल्लाह लिन उनको सुझाव छ।
‘परिवारमा कसैलाई कोरोना देखिएको छ र स–साना बालबालिका छन् भने अभिभावक चनाखो हुनै पर्छ।’ उनले भने, ‘बच्चाहरुमा पनि लक्षण नदेखिएको हुन सक्छ। माथि भनिएका यी लक्षणहरु देखिएको छ भने तत्काल अस्पताल जानुपर्छ।’
के कारणले यो समस्या बढीरहेको छ भन्ने यकिन कारण भन्न नसकिने उनले बताए। सबै बालबालिकामा समस्या एउटै किसिमले देखिएको छैन। कुन बालबालिकामा यो समस्याले जटिल रुप लिन सक्छ भन्ने कुरा यसै भन्न नसकिने उनले बताए।
उनले भने, ‘कुनै बच्चालाई हुने कसैलाई नहुने, कसैलाई कडा देखिने, कसैलाई नदेखिने पनि हुन्छ। यो सब के कारणले हुन्छ भन्ने नै यकिन छैन। किनकी नयाँ रोग छ। केही वर्षपछि थाहा हुँदै जान सक्छ।’
हालसम्म बालबालिकामा देखिएको एमआइएस–सी समस्या नै जटिल रुपमा देखिएको उनले बताए। उनका अनुसार सामाजिक दूरी कायम गर्ने, मास्क लगाउने, हात सफा राख्ने उपाय नै यस रोगबाट बच्ने तरिकाहरु हुन्। यो महिनाभरी बालबालिकामा एमआइएस–सीको समस्या बढ्न सक्ने उनको अनुमान छ।
केहीले हाल बालबालिकामा देखिएका स्वास्थ्य समस्यालाई कावासाकी रोगको रुपमा पनि भन्ने गरेका छन्। कावासाकी रोग पाँच वर्ष मुनिका बालबालिकामा देखिने रोग हो। यो रोग लागेका प्रायजसो बालबालिकामा मुटुको धमनी सुन्निने, ज्वरो आउने, आँखा रातो हुने, शरीरमा खटिरा आउने, हातखुट्टा सुन्निने, घाँटीमा गाठा गुठी भेटिने हुन्छ।
हाल बालबालिकामा देखिएको पोस्ट कोभिड समस्यामा कावासाकी पनि देखिएको हो त ? डा अग्रवाल यो विषयलाई यसरी स्पष्ट पार्छन्:
‘एप्रिल २०२० इङल्याण्डमा आठ वटा केसमा कावासाकी रोगसँग मिल्दोजुल्दो लक्षण देखिए। जुन केसमा पछि मल्टी सिस्टम इन्भल्मेन्ट भयो। विभिन्न अंगहरुमा असर देखियो। यो रोगको लक्षण कावासाकीसँग धेरै मिल्दोजुल्दो थियो। कावासाकीको थुप्रै कारणहरु हुन सक्छ। त्यसमध्ये कोभिड पनि एउटा कारण देखियो। कावासाकीसँग मिल्दोजुल्दो लक्षण भएको मल्टी सिस्टम इन्फ्लेमेटोरी सिन्ड्रोम भनेर सिडीसीले मे २०२० नामाकरण गरेको हो।
एमआइएस–सी भनेको पनि यही नै हो। कावासाकीसँग मिल्दोजुल्दो लक्षण हुन्छ। तर कावासाकी नभई हामी यसलाई एमआइएस–सी भन्छौ। किनकी यो अझ कडा रुप हो। किनभने यसमा मल्टी सिस्टमको संलग्न हुन्छ।’
कान्ति बाल अस्पतालका निर्देशक डा आरपी बिच्छाका अनुसार हालसम्म १५१ जना बालबालिका कोरोना उपचारका लागि भर्ना भएका छन्। जसमध्ये ४४ जनामा एमआइएस–सीको समस्या देखिएको छ।
कोरोना संक्रमित भएर मृत्यु भएका सात जना बालबालिकामध्ये चार जनाको मृत्यु एमआइएस–सी को कारणले भएको निर्देशक बिच्छाले बताए। हाल कोरोना संक्रमित १८ जना बालबालिका उपचाररत रहेको अस्पतालले जनाएको छ।
पछिल्लो एक सातादेखि दैनिक एमआइएस–सी का शंकास्पद १/२ जना बालबालिका आउन थालेको उनले बताए। आगामी १५/२० दिनमा यी बालबालिकाको संख्या बढ्न सक्ने डा बिच्छाको पनि अनुमान छ।
विश्व स्वास्थ्य संगठन र सिडीसीको प्रोटोकल अनुसार हाल बालबालिकाको उपचार भइरहेको उनले बताए।
यो रोगको व्यवस्थापनका लागि आफुहरु तयारी अवस्थामा रहेको बताउँदै उनले भने, ‘हामीलाई यो रोगको निदान गर्न कुनै अप्ठ्यारो छैन। उपचार प्रोटोकल डब्लुएचओ र सिडीसी अनुसार हुन्छ। यसमा चाहिने औषधिहरु छन्। जनशक्ति छन्। हामीले पूर्वतयारी गरेका छौँ।’
कोरोना संक्रमित बालबालिकाको उपचारका लागि हाल अस्पतालले चार वटा भेन्टिलेटर सहित २९ शय्या छुट्याएको छ। भेन्टिलेटर सहितको १० वटा आइसीयू र २५ वटा एचडीयू थप्ने तयारी भएको निर्देशक बिच्छाले बताए। बिरामीको संख्या र आवश्यकता अनुसार शय्या बढाउँदै लैजाने उनले बताए।
कोरोनाको दोस्रो लहर सुरु भएपछि त्रिवि शिक्षण अस्पतालमा पनि बालबालिकामा एमआइएस–सी को समस्या भेटिएको छ।
अस्पतालका बाल रोग विशेषज्ञ डा र्सिजना बस्नेतका अनुसार हालसम्म सात जना बालबालिकामा एमआइसी–सी को समस्या देखिएको छ। यसअघि पनि त्रिवि शिक्षण अस्पतालमा करिब सात जनामा यो समस्या देखिएको थियो।
पहिलो लहरमा भन्दा दोस्रो लहरमा बालबालिकामा यो समस्या बढ्दै गएको हो की भन्ने उनको पनि अनुभव छ।
उनी भन्छिन्, ‘पहिलो लहरमा करिब सात जनामा पोस्ट कोभिडको समस्या देखिएको थियो। तर भर्खरै दोस्रो लहर सकिदैछ, अहिले नै सात जनामा देखियो भनेपछि बढ्छ की भन्ने जस्तो लाग्छ। तर यसै भन्न सकिदैन।’
एमआइएस–सी रोग लागिसकेपछि भन्दा पनि कोरोना लाग्न नदिने तर्फ नै ध्यान दिनुपर्ने उनको भनाई छ। सुरुवाती चरणमै निदान गर्न सके यो समस्याले निम्त्याउने जटिलताबाट बालबालिकालाई बचाउन सकिने उनले बताइन्।
सेन्टर्स फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सन (सिडीसी) का अनुसार बालबालिकामा मल्टी सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम एक यस्तो जटिल अवस्था हो, जसमा शरीरका विभिन्न अंगहरु मुटु, फोक्सो, मिर्गौला, मस्टिष्क, छाला, आँखा र ग्यास्ट्रोस्टाइनल अगंहरु सुन्निन सक्छ। यसको यकिन कारण नभएपनि यो समस्या भएका बालबालिकामा कोभिड भाइरस पाइएको सिडीसीले उल्लेख गरेको छ।
लक्षणहरु
– उच्च ज्वरो आउनु
– पेट दुख्नु
– बान्ता हुनु
– पखाला लाग्नु
– घाँटी दुख्नु
– थकान महसुस हुनु
– ओठ र जिब्रो रातो हुनु
– खान मन नलाग्नु
– आँखा रातो हुनु
– पिसाबमा रगत देखिनु
यसमा देखिने आपतकालीन चेतावनीका लक्षणहरु पनि विभिन्न छन्। जस्तैः
– श्वासप्रश्वासमा कठिनाई हुनु
– छातीमा दुखाई बढ्नु
– ओठ तथा अनुहार निलो हुनु
– गम्भीर खालको पेटको दुखाई हुनु।