भक्तपुरका श्रेष्ठ दम्पत्ति दोस्रो सन्तान छोरा होस् भन्ने चाहन्छन्। धेरै सन्तान पाउन पनि मन छैन, तर पहिलो सन्तान छोरी भएकाले एउटासम्म छोरा होस् भन्ने तीब्र इच्छा छ उनीहरूको। एकदिन उनीहरूले सुने, ‘थापाथलीको निम्स डाइग्नोस्टिक सेन्टरमा ग्यारेन्टीका साथ छोरा बनाइन्छ’। अनि उनीहरू त्यहाँ पुगे।
सेन्टरकी स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा.देवी गुरूङलाई भेटेपछि त उनीहरू छोरा हुनेमा झन् विश्वस्त भए। श्रेष्ठ दम्पत्तिले डा.गुरूङले भनेअनुसार जाँच पड्ताल र परीक्षण पनि गराउँदै गए र छोरा बनाउने भन्दै डा.गुरुङले दिएका औषधि नछोडी सेवन गरे। गर्भ पनि रह्यो। तर १३ हप्तापछि जुन डाक्टरले छोरा बनाइदिन्छु भनेकी थिइन् तिनै डाक्टरको मुखबाट श्रेष्ठ दम्पत्तिले गर्भमा छोरी रहेको सुन्नुपर्यो। ‘तपाईहरुको ब्याड लक,’ डा. गुरुङको प्रतिक्रिया सम्झदैं श्रेष्ठले बैशाख ३० गते सेन्टरमै सुनाए ‘कसरी छोरी भयो, यस्तो त हुनै नपर्ने’।
छोराका आशामा भौतारिने दम्पत्तिलाई धामीझाँक्री बसाएर वा झारफुक र तन्त्रमन्त्रबाट छोरा बनाइदिन्छु भन्दै ठगेका घटना नेपाली समाजमा नौला होइनन्। तर चिकित्सा विज्ञानमा विशेषज्ञता हासिल गरेकी चिकित्सक नै सोझा दम्पतीलाई छोरा बनाउने भ्रम छर्दै लुटिरहेकी छिन्। सरकारको प्रसूति तथा स्त्रीरोगसम्बन्धी एक मात्रै विशेषज्ञ अस्पताल प्रसूति गृहमै कार्यरत डा.गुरुङले सोही अस्पतालको छेवैमा क्लिनिक खडा गरेर दैनिक श्रेष्ठजस्ता दर्जनौं दम्पत्तिको भावनासँग खेल्दै लाखौं कमाइरहेकी छिन्। चिकित्साजस्तो सम्मानित पेशा अपनाएकी डा. गुरुङ पैसाका लागि मानिस कतिसम्म गिर्नसक्छ भन्ने प्रतिनिधि बनेकी छन्।
श्रेष्ठसहितका दम्पत्ति ठगिएको जानकारी पाएपछि स्वास्थ्य खबरपत्रिकाले विशेष टीम बनाएर दर्जनौं दम्पत्ति, सेन्टरमा कार्यरत कर्मचारी र डा.गुरुङलाई समेत भेटेर अनुसन्धान गरेको थियो। सो क्रममा टोलीले सेन्टरका कर्मचारी, पीडित र चिकित्सक गुरुङसँगको वार्तालापको श्रव्य सामग्रीसमेत रेकर्ड गरेको छ। रेकर्डसहित छोराको आशामा गराईने परीक्षण र दिइने औषधिसहितको पे्रस्क्रिप्सन रिपोर्टसमेत खबरपत्रिकासँग सुरक्षित छ।
‘छोरा बनाउने क्लिनिक छ’ भन्ने सुनेर पश्चिम नेपालबाट राजधानीसम्म धाएकी अर्की महिला हुन् विना भुषाल (नाम परिवर्तन)। २०७० चैत १२ गते निम्समै भेटिएकी भुषाल छोराका लागि जहाँसुकै पनि जान तयार थिइन्। एक छोरीकी आमा उनले गत वर्ष छोरी भएकै कारण १३ हप्ताको गर्भपतन गराएकी थिइन्।
उनी पहिलोपटक फागुन ११ गते सेन्टर पुग्दा डा.गुरुङले पाठेघरमा समस्या छ भन्दै एन्टिबायोटिक्स दिएर पठाइन्। त्यसपछि दोस्रोपटक उनी सेन्टर पुग्दा गुरुङले पुनः भिडियो एक्स–रे गराइन्। त्यो हेरेपछि डा.गुरुङले अब छोरा पाउन योग्य भएको भन्दै भुषाललाई औषधि र सुझाव दिएर पठाइन्। ‘पक्का छोरा हुन्छ, समयमा औषधि खानुहोला र बिहानमा सेक्स गर्नुहोला’ डा. गुरुङको भनाई उद्दृत गर्दै भुषालले भनिन् ‘धेरैलाई छोरा दिएको छु, बेष्ट अफ लक।’ विनालाई ६ महिनापछि फलोअपमा आउन डा. गुरुङले भनेकी छन्।
डा. गुरुङले विनालाई छोरा बनाउने औषधि भन्दै क्लोमिफिनसाइट्रेट, फोलिक एसिड, भिटामिन ‘इ’, भिटामिन ‘क्यू टेन’ र श्रीमानलाई भिटामिन ‘वी’, भिटामिन ‘इ’ र भिटामिन ‘क्यू टेन’ दिएकी छिन्। वरिष्ठ स्त्रीरोग विशेषज्ञ डा.भोला रिजालका अनुसार यी औषधिको छोरा वा छोरी बनाउनसँग कुनै पनि भुमिका छैन। भिटामिनबाहेकको क्लोमिफिनसाइट्रेट डिम्ब बनाउने हर्मोनलाई सक्रिय गर्ने औषधि हो।
थापाथली चोकमा रहेको गोरखनाथ मन्दिर (पिठ)सँगै जोडिएको घरमा सञ्चालन गरिएको सो सेन्टरमा दैनिक २० देखि ३० दम्पत्ति छोरा जन्माउने आशमा आइपुग्छन्। छोरा जन्माउने आसमा आउने दम्पत्तिलाई डा. गुरुङले भनेअनुसारको औषधि खाएर बिहानीको समयमा यौनसम्पर्क राखेमा छोरा हुने ग्यारेन्टी गर्ने गरेकी छिन्। स्वास्थ्य खबरपत्रिकासँगको कुराकानीमा पनि डा.गुरुङले उपचारबाट छोरा बनाउन सकिने दाबी गरिन्। ‘छोरा बनाउन सकिन्छ, द्याट्स फ्याक्ट,’ उनले भनिन् (हेर्नुस् कुराकानीको अंश)
छोरा बनाउन सकिन्छ : डा. देवी गुरुङ
औषधि खुवाएर छोरा बनाउन सकिन्छ, तर प्यासेन्ट आउनुपर्छ। औषधि दुवै जनाले खानुपर्छ। आउदा महिला मात्र आए हुन्छ। छोरा हुन्छ, द्याट्स फ्याक्ट। त्यही हो। छोरा बनाउन सकिन्छ। केटा मान्छे आउनु पर्दैन। केटी मान्छेको घाउ छ कि छैन जाँचपड्ताल गरेर पत्ता लगाउछु।
……………………………………
जानकारहरूका गुरुङले करीब एक दशकदेखि यसरी नै छोरा बनाउने भन्दै भ्रममा पार्दै आएकी छिन्। फाट्टफुट्ट मात्रै बिरामी आउने उनको क्लिनिकमा यही सपना बाँड्न थालेपछि बिरामीको भीड लाग्न थालेको मात्रै छैन यिनको आर्थिक हैसियत पनि निकै फेरिएको छ। क्लिनिकको रिसेप्सनमा बस्नेदेखि, सहयोगी र अन्य सहकर्मीसमेत उपचारबाट छोरा बनाउन सकिन्छ भन्ने ठोकुवा गर्छन्। क्लिनिकसम्म आइपुग्ने अधिकांश दम्पत्तिले आफूले क्लिनिकको कुरा नर्स वा स्वास्थ्यकर्मीबाटै सुनेको बताएका छन्। पीडितका अनुसार डा.गुरुङले प्रत्येकलाई अधिकांश अवस्थामा छोरा हुने आश्वासन बाँड्ने तर नभएमा ‘हर्मन’को कारण देखाउँदै आफू चोखो बन्छिन्। त्यस्ता निराश दम्पत्तिलाई बारम्बार भिडियो एक्स–रे गराएर लिङ्ग परीक्षण गर्ने र छोरी देखिएमा सेन्टरमै गर्भपतनसमेत गर्छिन्। स्वास्थ्य परीक्षण शुल्क ४ सय २० लिने उनले लिङ्ग परीक्षणको ३ हजार र त्यसपछि गर्भपतनमा व्यक्तिअनुसार शुल्क लिने गरेकी छिन्। यस्तो गर्भपतनमा उनले अधिकतम १५ हजारसम्म असुल्ने गरेकी छिन्।
दम्पत्तिसंग भिटामिन, फोलिक एसिडसहितका औषधि र विभिन्न नाममा दोहोर्याइने परीक्षणमा मात्रै १० देखि १५ हजार लिन्छिन्। छोरा जन्माउनका लागि आफूहरूले डाक्टरको शुल्क, औषधि, भिडियो एक्स–रेमा करीब १५ हजार रुपैयाँ खर्च गरेको श्रेष्ठ दम्पत्तिले बताए। ‘डाक्टरसापले ९० प्रतिशत छोरा हुन्छ भन्नुभएको थियो’ श्रेष्ठले भने ‘छोरा हुने आशमा गर्भ राखेको, दुःख लागेको छ।’ सेन्टरमा कार्यरत एक कर्मचारीका अनुसार यस्ता दम्पत्तिलाई उनले यसपटक नभएपनि अर्कोपटक अझै राम्रोसँग प्रयास गर्छु भन्दै पूरानै ‘भिटामिन’ दोहोर्याउँछिन।
गैरकानुनी लिङ्ग पहिचान र भ्रुण हत्या सेन्टरमै
छोराको आशमा गर्भधारण गरेकी महिलालाई तीन महिनापछि सेन्टरमै लिङ्ग परीक्षण गराइन्छ। यस्तो परीक्षणमा छोरी देखिएमा दम्पत्तिले गर्भलाई निरन्तरता नदिन नचाहे भ्रुण हत्यासमेत सेन्टरमै गरिन्छ। कानुनी रूपमा ९ हप्तापछिको गर्भपतन गैरकानूनी हो। सेन्टरमा लिङ्ग परीक्षण वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत एमडिजिपी डा. सुशील शाक्यले गर्छन्।
…………………………………………………….
कसरी हुन्छ छोराछोरी ?
चिकित्सा विज्ञानले हालसम्म उपचारबाट छोरा वा छोरी बनाउने निर्धारण गर्ने कुनै पनि औषधि विकास गरेको छैन। छोरा वा छोरी हुने सम्भावना आधाआधा हुने भएपनि मानिसको नियन्त्रणमा हुन्न। मानिसको हरेक कोषमा ४६ (२३ जोडी) क्रोमोजोम हुन्छ। जसमा एक जोडी (२ वटा) सेक्स क्रोमोजोम हुन्छ। जसले बच्चाको लिङ्ग निर्धारण गर्छ। सेक्स क्रोमोजोमलाई एक्स र वाई भनिन्छ। पुरुषमा एक्स र वाइ हुन्छ भने महिलामा दुइवटा एक्स क्रोमोजोम हुन्छ। एक्सएक्स क्रोमोजोमले छोरी बनाउछ भने एक्सवाईले छोरा। महिलामा छोरी बनाउने क्रोमोजोम मात्र हुन्छ। महिलाको एक्स क्रोमोजोममा पुरुषको वाई क्रोमोजोमले सेचन (फर्टिलाइज) गरेमा छोरा हुन्छ भने पुरुषको एक्स क्रोमोजोम महिलाको एक्स क्रोमोजोमसंग सेचन भएमा छोरी हुन्छ। त्यसैले छोराछोरी निर्धारण गर्ने पुरुषको वीर्यको क्रोमोजोमले हो। हरेक सेचनमा छोरा वा छोरी हुने सम्भावना ५०÷५० प्रतिशत हुन्छ। २३ मध्ये बाँकी २२ जोडी क्रोमोजोमले मानिसको रूपरेखा तय गर्छ। सामान्यतया कुनै पनि शिशुले २३ क्रोमोजम आमाबाट र २३ क्रोमोजम बाबुबाट प्राप्त गर्दछ। छोरा वा छोरी हुने प्राकृतिक संयोगको कुराको हो। छोरा वा छोरी चाहेको बच्चा बनाउने औषधि हालसम्म चिकित्सक विज्ञानले बनाएको छैन।
यसरी रहन्छ गर्भ
बच्चा बन्नका लागि पुरुषको शुक्रकिट र महिलाको डिम्बको मिलन अनिवार्य हुनुपर्छ। यौनसम्पर्कका क्रममा पुरूषको वीर्यमा १ मिलिलिटरमा लाखौँ शुक्रकिट योनिमा प्रवेश गर्छ। तर महिलाको प्रत्येक महिना सामान्यतया एउटा मात्र डिम्ब परिपक्व हुन्छ। मान्छे बन्न एउटा शुक्राणु र एउटा डिम्ब भए पुग्छ। यौनसम्पर्कका क्रममा योनिमा प्रवेश गरेका लाखौँ शुक्रकिट महिलाको डिम्ब भेट्न प्रतिस्पर्धा गर्छन्। तीमध्ये एउटा शुक्रकिट मात्र डिम्ब भेट्न सफल हुन्छ। त्यसैबाट गर्भ रहन्छ।
……………………………………………………..
फट्याईँ हो
डा. दामोदर गजुरेल
अध्यक्ष, नेपाल मेडिकल काउन्सिल
चिकित्सकले आफ्नो आचारसंहिताविपरित यस्तो कार्य गर्नु फट्याईँ हो। मुलुकी ऐनअनुसार पनि यस्तो कार्य गैरकानुनी हुन्छ। छोरा नै बनाउने भन्दै औषधि उपचार गर्नु झनै अपराध हो। उजुरी परेमा काउन्सिलले छानवीन गरि कारबाही गर्न पछि हट्दैन।
……………………………………..
शतप्रतिशत ठगी हो
डा. भोला रिजाल – वरिष्ठ प्रसूति तथा स्त्रीरोग विशेषज्ञ
औषधि खाएर छोरा बन्छ भन्ने अहिलेसम्म मेरो ज्ञानले थाहा पाएको छैन। औषधिको माध्यमबाट छोरा बनाउछु भनेर कसैले भन्छ भने त्यो शतप्रतिशत ठगी हो। छोरा बनाउछु भनेर मान्छेको भावनामा खेल्नुहुँदैन। छोरा बनाउछु भनेर पैसा खाने युगौंदेखि चलेको छ। कसैले त पानी फुकेर खान दिएर पनि छोरा बनाउछु भन्दै ठगी गर्दै आएका छन। छोराको चाहनामा तड्पिएका नारीको भावनामा खेल्नु अपराध हो। छोरा बनाउछु भनेर कसैले भन्छ भने त्यसको पछि नलाग्न म आग्रह गर्छु।
…………………………………………………….
फोन वार्ता
निम्स : हेलो
स्वास्थ्य : हेलो यो निम्स डाइग्नोसिस सेन्टर होइन ?
निम्स : हो। एकदम हो।
स्वास्थ्य : हजुर। (बुझिएन)
निम्स : हजुर, हो सर हो।
स्वास्थ्य : एकजना दिदीले बताएअनुसार मैले यहाँ फोन गरेको हुँ। मेरो एउटा छोरी छ। अब फेरि अर्को बच्चा जन्माउने सोचमा छु।
निम्स : हजुर हजुर।
स्वास्थ्य : दिदीका अनुसार त्यहाँ आएर औषधि गर्यो भने छोरा जन्मिन्छ रे भन्ने सुनेर फोन गरेको।
निम्स :हो सर हो। एकदम हो। एकदम हुन्छ। हजुर भ्याउनुहुन्छ भने आजै आउनुहोला। आज पनि २२÷२३ जना त भैसकेका छन्।
स्वास्थ्य : श्रीमती काठमाडौं बाहिरबाट आउनुपर्छ। छोरा हुने ग्यारेन्टी भए बोलाउनु पर्यो भनेर ……
निम्स :हुन्छ सर हुन्छ। सयमा धेरैको भैरहेको छ। तर केहीमा हर्मनका कारणले नहुन सक्छ। तपाई आउनुहोला डा. देवीलाई यसबारेमा धेरै जानकारी छ।
स्वास्थ्य : छोरा त हुन्छ नि ?
निम्स : हुन्छ सर हुन्छ। एकदम ठीक ठाउँमा फोन गर्नुभएको छ।