काठमाडौं - नेपालगञ्जकी ४० वर्षीया उषा छिनाल वैशाखको दोस्रो साता कोरोना संक्रमित भइन्। सुरुको एक साता होम आइसोलेसनमै बसेकी उनी स्वास्थ्य अवस्था बिग्रदै गएपछि आइसोलेसन सेन्टरमा भर्ना हुनुपर्यो। त्यहाँ उनलाई अक्सिजनमा राखेर उपचार सुरु भयो।
लगातारको उपचारपछि उनी पाँचौ दिनमा डिस्चार्ज भइन्। तर उनको स्वास्थ्य अवस्था पहिले जस्तो छैन। उनलाई सिँढी चढ्दा पनि थकाई लाग्छ। स्वाँ–स्वाँ हुन्छ।
उनी भन्छिन्, ‘म पूर्ण रुपमा कोरोना निको त भएँ। तर मलाई भर्याङ चढ्न पनि गाह्रो लाग्छ। स्वाँ–स्वाँ हुन्छ। अनि थकाई बढी लाग्छ।’
उनी मात्र नभई काठमाडौंका एक ३० वर्षीय युवक कोरोना संक्रमित भई निको भएको करिब डेढ महिना भयो। तर उनलाई अहिले पनि श्वासप्रश्वासमा समस्या छ। उनी आफैँ अस्वस्थ महसुस गर्छन्।
उनलाई श्वास फेर्न गाह्रो हुन्छ। छाती दुख्छ। सानो काम गर्दा पनि शरीर गल्ने, थकाई लाग्ने, रिस उठ्ने भइरहन्छ।
‘मलाई अहिले पनि छाति दुखेजस्तो हुन्छ। एकदमै कमजोर महसुस गर्छु’ उनले भने, ‘अहिले पनि लगातार बाइक पनि चलाउन सक्दिन। थाकी हाल्छु।’
उनी पहिले जसरी कुनै पनि काम लगातार गर्न सक्दैनन्। शरीरमा शक्ति नभएजस्तो, कमजोर महसुस उनलाई अहिले पनि हुन्छ।
कोरोना संक्रमित भएको पहिलो साता उनी होम आइसोलेसनमै बसेका थिए। तर आठौं दिनदेखि श्वासप्रश्वासमा समस्या भएपनि उनी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएका थिए।
पहिलो लहरभन्दा दोस्रो लहरमा कोरोना संक्रमितको संख्या दोब्बरले वृद्धि भयो। मृत्युदर पनि झण्डै पाँच गुणाले बढ्यो। हाल कोरोना संक्रमितको संख्या घट्दो क्रममा छ। तर कोरोना निको भइसकेका व्यक्तिहरुमा पोष्ट कोभिड कम्प्लिकेसनको समस्या बढ्दो छ।
के हो पोस्ट कोभिड कम्प्लिकेसन?
कोरोना संक्रमित भई निको भइसकेपछि देखिने विभिन्न स्वास्थ्य समस्याको अवस्थालाई पोस्ट कोभिड कम्प्लिेकेसन भनिन्छ। नेपालमा पनि कोरोना निको भइसकेका धेरैजसो व्यक्तिमा सामान्यदेखि जटिल खालका स्वास्थ्य समस्याहरु देखिने गरेका छन्।
पोस्ट कोभिडको समस्या दोस्रो लहरमा मात्र नभई पहिलो लहरमा पनि देखिएको थियो। तर हाल यो समस्या बढ्दै गएको चिकित्सकहरु बताउँछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन हाल निको भइसकेका व्यक्तिहरुमा पोस्ट कोभिडको समस्या बढ्दै गएको बताउँछन्। डा पुन विभिन्न अध्ययनहरुलाई नियाल्दा यो समस्यालाई ‘पोस्ट कोभिड १९ सिन्ड्रोम’ भन्छन्।
उनले भने, ‘कोरोना निको भइसकेको व्यक्तिमा ३÷४ हप्ता बढी समस्या देखिए पोस्ट कोभिड १९ सिन्ड्रोम हो भन्ने गरेको छु। समय अवधिका विषयमा अहिले वैज्ञानिकहरु बीच एकरुपता छैन।’
बिहीबार बिहान करिब एक घण्टाको समयमा मात्र उनले ओपिडीमा आएका ६ जना व्यक्तिमा पोस्ट कोभिडको समस्या भेटाए।
डा पुनका अनुसार धेरैजसोमा अत्यधिक थकाई लाग्ने, कमजोर महसुस हुने, सिढी चढ्न नसक्ने, छाति दुख्ने, स्वाँ–स्वाँ हुने, श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, जोर्नी दुख्ने, मुटुको धड्कन बढ्ने, राति सुत्न नसक्ने, कानमा विभिन्न आवाज सुनिने, छिनछिनमा बिर्सने बानी हुने, टाउको दुख्ने समस्या देखिएको छ। केही व्यक्तिमा मुटु कमजोर हुने समस्या समेत देखिएको उनले सुनाए।
उनीहरु निकै आत्तिएर अस्पताल धाउने समेत गरेको डा पुन सुनाउँछन्। उनले भने, ‘बिरामीहरु निकै आत्तिएर आइरहेका हुन्छन्। उनीहरुलाई परामर्शको निकै खाँचो देखिन्छ। सोही अनुसार परामर्श र आवश्यक उपचार प्रक्रिया अगाडि बढाइन्छ।’
पोस्ट कोभिडमा देखिने समस्याका बारेमा अनुसन्धानको खाँचो रहेको उनी बताउँछन्। पोस्ट कोभिड किन र कहिलेसम्म हुन्छ भन्ने बारेमा अध्ययन हुन बाँकी रहेको उनले बताए।
त्रिवि शिक्षण अस्पतालका कोभिड १९ संयोजक एवं छातिरोग विशेषज्ञ डा सन्त कुमार दास कोरोना भाइरसले फोक्सोको कोषिकाहरुमा क्षति गर्ने भएकाले पोष्ट कोभिडको समस्या देखिने गरेको बताउँछन्।
अक्सिजन धेरै चाहिएको, ढिला अस्पताल पुगेका, भेन्टिलेटरको आवश्यकता परेका व्यक्तिहरुमा फोक्सोको कोषिकाहरु बढी खराब हुने गरेको उनले बताए। त्यही खराब भएका कोषिकाहरु निको हुन समय लाग्ने भएकाले पोष्ट कोभिडको समस्या देखिएको उनी बताउँछन्।
पोष्ट कोभिडपछि लामो समयसम्म अक्सिजन लिनुपर्ने, श्वासप्रश्वासमा समस्या, हिडडुल गर्न गाह्रो हुने, लामो समयसम्म पनि खोकी रहने जस्ता समस्या देखिएको उनले बताए।
पोस्ट कोभिडको समस्या कहिलेसम्म रहन्छ भन्न नसकिने चिकित्सकहरु बताउँछन्। यस विषयमा हाल पनि अध्ययन भइरहेको डा पुनले बताए। यद्यपि चिकित्सकहरुले आफ्नो अनुभवका आधारमा भन्ने गरेका छन्।
छाती दुख्ने तथा भारी हुने, खोकी लाग्ने, मुटु ढुकढुक गर्ने जस्ता समस्याहरु धेरैमा तीन महिनासम्म हुने डा दासको अनुभव छ। तर श्वासप्रश्वास फेर्न गाह्रो हुने समस्या भने ५÷६ महिनासम्म लम्बिएको उनले पाएका छन्। डा पुन पनि कुनै व्यक्तिमा ६ महिनासम्म पनि समस्या देखिएको बताउँछन्।
कोरोनाले फोक्सो बिगारिसकेको हुने भएकाले पोष्ट कोभिडपछि अरु निमोनिया, अन्य भाइरसले संक्रमण गर्ने जोखिम धेरै हुने उनले बताए।
कोरोना संक्रमित भइसकेपछि मासंपेशीहरु कमजोर हुने भएकाले पोषणयुक्त खानपानमा ध्यान दिन पनि उनीहरुको आग्रह छ।
पोष्ट कोभिडपछि हुने हृदयघातको लक्षण देखिए, छाती धेरै नै दुखाई भए, खुट्टाहरु सुन्निए, अचाक्ली रुपमा टाउको दुखे तत्काल चिकित्सकको परामर्शमा जानुपर्ने उनीहरुको सुझाव छ।