काठमाडौं- कुलेश्वर बस्ने नौ वर्षीय सम्रन मानन्धर सपनामा पनि बोलिरहन्छन्। उनी कहिले 'विनर चिकेन डिनर' भन्दै खितखित गरेर हाँस्छन् त कहिले आफू मरेको भन्दै सपनीमै चिन्ता व्यक्त गर्छन्।
सम्रनकी आमा मनिका छोरोको यस्तो हर्कतले चिन्तित बनेकी छन्। छोरो अनलाइन पढाइ भइरहेका बेला पनि ‘म्युट’ गरेर गेम खेलिरहेको आफूले धेरैचोटी फेला पारेको उनको अनुभव छ। ‘जति गाली गरे पनि मान्दैन, त्यसैले वाक्क भइसकेँ,’ उनले गुनासो पोखिन्।
सम्रनजस्तै उनका साथी प्रसन्न तुलाधर पनि अचेल लामो समय इन्टरनेटमै बिताउँछन्। प्रसन्न भने अनलाइन खेलमा भन्दा गीत गाउन र नाच्न मन पराउँछन्। अहिले कोभिडकै कारण घरबाटै पढाइ भएपछि भने उनको अधिकांश समय युट्युबमा नाचगानको भिडियो हेरेर बित्छ। आमा इनाको साथमा टिकटक भिडियो पनि बनाउँछन्। भिडियो चर्चित भएदेखि छोराको भिडियो क्रेज देखेर इना डराएकी छन्। ‘जतिखेरै भिडियो बनाऊँ भनेर दिक्क लगाउँछ, युट्युबबाट सिकेको भन्दै नयाँ-नयाँ स्टेप पनि निकाल्छ,’ उनले भनिन्, ‘छोराको प्रतिभा देखेर कहिले खुसी लाग्छ, कहिले पढाइ बिग्रेला भनेर चिन्ता।’
कुलेश्वर नै बस्ने कविना प्रसाईं अहिले चार कक्षामा पढ्छिन्। उनी बिहान उठेदेखि नै इन्टरनेटको पहुँमा हुन्छिन्। बिहानको चियादेखि बेलुकी निन्द्रा नलागुन्जेलसम्म उनको आँखा मोबाइलमै अडिरहन्छ। उनी मोबाइल हेरेर एक्लै मुस्कुराउँछिन्, एक्लै गफ गर्छिन्। कविनाकी आमा सुविनाले एकै छिन मोबाइल हातबाट खोसिदिए उनी रिसले आगो हुन्छिन्। छटपटाउँछिन्, आफूलाई संयममा राख्नै सक्दिनन्। यही निहुँमा उनको परिवारका सदस्यसँग ठाकठुक परिरहन्छ।
‘लकडाउनअघिसम्म पढाइ र किताबमा निकै ध्यान दिने छोरी अहिले के भई-भई,’ सुविनाले लामो सास फेर्दै भनिन्, ‘पहिले एकचोटी हात नहाली पुल्पुल्याएर हुर्काइयो, अहिले अति गरे थप्पड नै लगाउने गरेकी छु।’
०००
कोभिड-१९ को दोस्रो लहर चलेसँगै करिब दुई महिनायता मानिसहरू कोठामा थुनिएका छन्। पहिलो लहरदेखि नै विद्यालय खुल्न नसक्दा बालबालिका घरमा थुनिएको त करिब १४ महिना नै भयो। यो अवधिमा माथि भएजस्ता घटना धेरै अभिभावकले भोगिरहेका छन्।
बालबालिका इन्टरनेटविना बस्नै नसक्ने समस्या गाउँघरमाभन्दा सहरमा जन्मे हुर्केका बालबालिकामा बढी देखिएको छ। गाउँघरका बालबालिकामा भने साथीभाइ भेट्न नपाउँदा नियास्रिने, एक्लो महसुस गर्नेजस्ता समस्या देखिएको मनोविद् सन्दीप मानसिंह बस्नेतले जानकारी दिए।
युनिसेफले पहिलो लहरदेखि नै कोभिड-१९ को समयमा बालबालिकाको मानसिक स्वास्थ्यका लागि काम गरिरहेको छ। टोल फ्री नम्बरमार्फत् बालबालिकामा आएको मानसिक स्वास्थ्यबारे बुझ्ने र अभिभावकलाई मनोविद्ले परामर्श दिने गरिरहेको छ। बस्नेत पनि युनिसेफको यही हेल्पलाइन नम्बरमार्फत् बालबालिका र अभिभावकलाई परामर्श दिने काममा व्यस्त छन्।
उनै मनोविद् बस्नेतले बालबालिका लकडाउनमा मात्रै हैन, पहिलेदेखि नै ‘एकलकाटे’ बनिसकेको बताए। ‘बालबालिका सँगै भए पनि सँगै छैनन्, उनीहरू इन्टरनेटको दुनियाँमा विश्व नियालिरहेका छन् र आफूलाई एक्लो ठान्दैनन्,’ उनले भने, ‘उनीहरू एक्ला छन् तर एक्लो ठान्दैनन्, यो भविष्यका लागि खतरा हो।’
उनका अनुसार यदि यस्तै महामारीको अवस्था इन्टरनेट आविस्कार हुनुअघि आउँथ्यो भने बालबालिका एक्लोपनाको शिकार हुने थिए।
मनोविद् बस्नेतले भने, ‘हाम्रो उद्देश्य बालबालिकाको एक्लोपनाले निम्त्याउने समस्या निराकरण गर्ने भन्ने थियो। बालबालिका साथीभाइसँग भेटघाट गर्न नपाएर रिसाउने, चिड्चिड् गर्ने, डराउने या रातमा ननिदाउने समस्याको शिकार नबनोस् भन्ने थियो तर यहाँ एक्लोपनाले खासै समस्या आएन।’ यो समस्या सहरीकरण हुँदै गरेका गाउँघरमा भने देखिएको उनले बताए।
बस्नेतका अनुमानमा एक्लोपना डरलाग्दो समस्या थियो तर त्यो भन्दा डरलाग्दो समस्या बालबालिका इन्टरनेटमा भुल्नु रहेछ। बालबालिका ‘भर्चुअल’ दुनियाँमा रमाउनु र वास्तविक दुनियाँबाट टाढा भाग्नु राम्रो संकेत हैन।
यसरी इन्टरनेट या ‘भर्चुअल’ दुनियाँमा मात्रै बानी पर्ने समस्यालाई ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर’ भनिन्छ। बस्नेतले भने, ‘इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डर बालबालिकाले लगातार एक हप्ता इन्टरनेट चलाउँदैमा हुन्छ। यसलाई इन्टरनेट एडिक्सन डिस्अर्डर पनि भनिन्छ।’
यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समयतालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्यो, मोबाइल नचलाइ निन्द्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्यो।
मनोविद् बस्नेतका अनुसार यो बिह्याबियरल (व्यावहारिक) डिस्अर्डर हो। लागुऔषध लिने बानी परेका, रक्सी खाने बानी परेकालाई जसरी त्यो विना बाँच्न गाह्रो हुन्छ, इन्टरनेटको लत लागेका बालबालिकालाई पनि इन्टरनेटविना गाह्रो हुन्छ।
यो समस्या भएका बालबालिकाको दिमागमा जतिखेरै इन्टरनेटको कुरा खेलिरहेको हुन्छ। इन्टरनेट चलाउन नपाए उनीहरू चिडचिडिने, झगडा गर्ने, झर्कने स्वभावका हुन्छन्।
धेरै लत लागिसकेपछि भने बालबालिकामा आत्मसन्तुष्टिको कमी आउन थाल्छ। उनीहरू कुनै कुराले पनि खुसी नहुने र त्यो भन्दा झनै ठूलो माग गर्ने स्वभावका हुन्छन्।
त्यस्तै बालबालिकामा भएका प्रतिभाहरू विस्तारै हट्दै जान्छ। जस्तै- कसैलाई पेन्टिङ गर्न मन पर्थ्यो, गीत गाउन या नाच्न मन पर्थ्यो भने पनि त्यो विस्तारै हट्दै जान्छ र ती कुराहरू स्क्रिनमा हेरेर रमाउने बानी पर्छ।
इन्टरनेट डिपेन्डेन्सी डिस्अर्डरको सबैभन्दा डरलाग्दो लक्षण भनेको बालबालिका कुरा लुकाउने, झुट बोल्ने र समस्यालाई ‘स्किप’ गर्ने स्वभावका हुन थाल्छन्।
बस्नेतले भने, ‘यो समस्याबाट बाहिर निस्कन बालबालिकालाई समयतालिका सिकाउन जरुरी हुन्छ। १० बजे सुत्ने हो भने त्यति नै बजे सुत्नुपर्यो, मोबाइल नचलाइ निन्द्रा लाग्दैन भने त्यसलाई लिएर बेडरूममा जान भएन या आँखाबाट टाढा राख्नुपर्यो।’
त्यस्तै बालबालिकाले अत्यधिक चलाउने एपमा टाइमर लगाउन सकिन्छ। एक घण्टा चलाउने भनेपछि त्यति समय सेट गर्ने र समय सकिएपछि त्यो एप आफैं बन्द हुने बनाउन पनि सकिन्छ।
सबैभन्दा उत्तम उपाय भनेको बालबालिका गेमको लतमा छन् या कुनै एपको लतमा छन् भने त्यो एप डिलिट गर्ने नै हो। त्यसको सट्टा एप चलाउने समय शारीरिक खेलमा लगाउन सकिन्छ। जस्तै- कुनै बालबालिका मोबाइलमा क्रिकेट खेल्छ भने उसलाई शारीरिक रूपमा क्रिकेट खेल्ने वातावरण मिलाउँदा उनीहरू यस्ता समस्याबाट बाहिर आउन सक्छन्।