काठमाडौं - कोरोना संक्रमणको संख्यामा वृद्धि भएपछि विभिन्न अस्पतालहरुलाई कोभिड विशेष अस्पतालको रुपमा परिणत गरियो। जहाँ कोभिडको मात्र उपचार गरिन्छ। कतिपय अस्पतालले त कोरोना संक्रमित देखिएका र अन्य रोगको वा समस्याको उपचार गर्नुपर्ने बिरामीलाई भर्ना समेत नलिएको अवस्था छ। त्यही माथि जटिल अवस्था अनि हड्डी भाँचिएका कोरोना संक्रमित बिरामीले सहज रुपमा उपचार पाउन मुश्कील नै पर्छ। तर त्यस्ता बिरामीहरुलाई भने निदान अस्पतालले फर्काउने गरेको छैन।
कोरोना संक्रमित भई जटिल खालका फ्याक्चर भएका बिरामीहरुको पनि निदान अस्पतालले उपचार गर्दै आएको छ। अर्थोपेडिक ट्रमा सम्बन्धी सेवाहरु निदान अस्पतालमा उपलब्ध छन्।
कुनै संक्रमित हड्डी भाँचिएर आएको छ भने पहिले ती बिरामीको मूल्यांकन गरिन्छ। त्यसपछि तत्काल शल्यक्रिया गर्नुपर्ने भए शल्यक्रिया मार्फत उपचार सुरु गरिने हाडजोर्नी विशेषज्ञ डा अनिमेष जोशीले बताए।
अर्थोपेडिक ट्रमा भनेको के हो? नेपालमा यो सेवाको अवस्था के छ? लगायत विषयमा हामील डा जोशीसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
– अर्थोपेडिक ट्रमा सेवा भनेको के हो?
सामान्य भाषामा बुझाउनु पर्दा हात, खुट्टा, जोर्नीहरु भाँचिएको व्यक्तिलाई ट्रमाको केश भन्छौ। छातिको इन्जुरी, मस्तिष्क, मुटु, फोक्सोको इन्जुरीलाई पनि ट्रमा भनिन्छ। तर अर्थोपेडिक ट्रमा सेवा भनेको हड्डी भाँचिएरको अवस्था र यसको लागि दिइएने सेवालाई बुझिन्छ।
पहिले हड्डी भाँचिएको अवस्थालाई मात्र फ्याक्चर भन्ने गथ्र्ये तर अहिले अर्थोपेडिक ट्रमामा हड्डी बाहेक मासु, लिगामेन्ट च्यातिएका लागयतका सेवा पनि यसमै संलग्न गर्छौं।
– नेपालमा अर्थोपेडिक ट्रमा सम्बन्धी सेवा र सुविधाको अवस्थालाई नियाल्दा कस्तो पाउनु भएको छ?
पहिलेको तुलनामा अहिले नेपालमा अर्थोपेडिक ट्रमाको क्षेत्रमा धेरै राम्रो भएको छ। पहिले यसको उपचार लिन भारत जानु पर्ने बाध्यता थियो। तर अहिले यो सुविधा लिन भारत जानु पर्दैन। यहीँ नै यसको सबै उपचार हुन्छ। नेपालकै विभिन्न अस्पतालहरुमा यसको सुविधा छ। तर अहिले पनि हाम्रा सामु धेरै चुनौतीहरु छन्।
नयाँ प्रविधि ल्याउनेदेखि सिक्ने, दक्ष जनशक्तिका कुराहरुको चुनौती अझै पनि छन्। मैले अर्थोपेडिक ट्रमामा फेलोसिप गरेर आएपछि कम्मरको हड्डी भाँचिएको विषयमा बढी ध्यान दिएर आएको थिएँ। काठमाडौंका केही अस्पतालहरुमा कम्मरको हड्डी भाँचिएको सेवा सुरु भएपनि नेपालमा निकै कम छ। अर्थोपेडिक ट्रमाको क्षेत्रमा राम्रो भएपनि हामीलाई धेरै अघि जानुपर्छ जस्तो लाग्छ।
– निदान अस्पतालमा अर्थोपेडिक ट्रमा सम्बन्धी के के सेवाहरु उपलब्ध छन्?
निदान अस्पतालमा सामान्य फ्याक्चरदेखि कम्प्लेक्स ट्रमाको उपचार गरिन्छ। कम्प्लेक्स ट्रमा भनेको एउटै व्यक्तिको खुट्टा, हात, औलाका हड्डीहरु भाँचिएको अवस्था हो। हिपको जोइन्टहरु भाँचिएका व्यक्तिहरुको उपचार पनि निदान अस्पतालमा हुन्छ। कम्मरको हड्डी भाँचिएका व्यक्तिहरुको उपचार पनि यहाँ सुरु गरिएको छ।
कुनै सिकिस्त, डायलाइसिस गर्नुपर्ने, कोभिड पनि भएको र हड्डी भाँचिएको बिरामीलाई एउटा राम्रो केयर सेन्टर चाहिन्छ। त्यो सेन्टर निदान अस्पतालमा उपलब्ध छ। कुनै पनि बिरामी यो अस्पतालमा आउँछ भने उसले बिना उपचार फर्कनु पर्दैन।
कोरोना संक्रमण भएका कुनै बिरामीको हड्ड भाँचिएको छ भने पहिले हामी ती बिरामीको मूल्यांकन गर्छौ। ती बिरामीको अपरेशन अहिले नै गर्नुपर्छ की केही समयपछि पनि गर्न सकिन्छ भनेर हामीले हेर्छौ। तत्काल गर्नुपर्ने अवस्था छ भने पनि हामी गर्न सक्छौं।
– कोरोना महामारीको यो समयमा निदान अस्पतालमा यहाँहरुले कस्तो खालको बिरामीहरुको उपचार गर्नुभयो?
यो कोभिडको समयमा हामीले उपचार गरेका मध्ये २÷३ वटा निकै जटिल खालको र फरक अवस्थाका थिए। डायलासिस गरिरहेका, खुट्टा भाँचिएको एक कोरोना संक्रमित उपचारका लागि एक अस्पतालमा पुगेका रहेछन्। त्यहाँ मुटुको अवस्था ठिक छैन, मिर्गौलामा पनि समस्या रहेछ भनेर ती बिरामीलाई फर्काइएको रहेछ। यसरी नै ती बिरामी अर्को अस्पताल पुगे। त्यहाँ पनि उनको कोरोना पोजिटिभ देखिएको भन्दै उपचार गर्न मानेनन्।
ती बिरामी निदान अस्पताल आउनुभयो। यहाँ आएपछि हामीले ती बिरामीको सबै परीक्षण गर्यौं। उहाँको कलेजोले पनि राम्रोसँग काम गरिरहेको थिएन। मुटु र मिर्गौलामा पनि समस्या देखिएको थियो। निकै चुनौतीपूर्ण थियो। ती बिरामीको उपचार गर्न सकिने नसकिने विषयमा हामीले यहाँ सबै टिमसँग छलफल गर्यौँ। त्यसपछि ती बिरामीको उपचार सुरु भयो। ती बिरामीको अपरेशनपछि आइसीयूमा भर्ना भई हामीले पाँचौ दिनमा घर पठाउन सफल पनि भयौं।
बिरामीको सेवा हाम्रो पहिलो प्राथमिकता हो। कोभिड भए÷नभएको फरक कुरा हो। अरु अस्पतालको के छ भनेर म भन्न सक्दिन। तर कुनै बिरामी हड्डी भाँचिएर निदान अस्पताल आएको छ भने उसलाई रिफर हुनु पर्दैन। जस्तो सुकै परिस्थितिमा पनि हामी उहाँको सफल उपचार गर्ने प्रयासरत छौँ। कोभिड भएकै कारण कुनै पनि बिरामी उपचारबाट बञ्चित हुनु पर्दैन।
– कोरोना महामारीको यो समयमा निरन्तर ड्युटीमा खटिनु कत्तिको चुनौतीपूर्ण छ?
एकदमै चुनौतीपूर्ण छ। सबैभन्दा मुख्य चुनौती भनेको मानसिक र शारीरिक विषय नै हुन्। हामीले यहाँ कुनै कोभिड भएका बिरामीको उपचार गर्छौ। सावधानीका साथ सबै मापदण्ड हामीले अपनाउँछौ। तरपनि कता कता डर लाग्ने रहेछ। मेरो कारण मेरो छोरी, श्रीमती या परिवारका अन्य कुनै सदस्यलाई कोरोना पो हुन्छ कि भन्ने डर हुँदो रहेछ। त्यसैले घरमै बस्दा पनि म छुट्टै बस्ने गरेको छु।
कुनै बिरामीलाई कोभिड भएको छ र हड्डी भाँचिएको छ भने उनीहरु निकै आत्तिने गर्छन्। उनीहरुलाई परामर्श गरेर सान्त्वना प्रदान गर्नु अर्को चुनौती छ। हामी स्वास्थ्यकर्मीहरु कोरोना महामारी खटिएपनि आफैँलाई बुझाउन पनि आवश्यक छ। किनभने बिरामीसँगै हामीले आफ्नो सुरक्षा तर्फ पनि ध्यान दिनुपर्ने हुन्छ।
– अर्थोपेडिक ट्रमा सम्बन्धी सेवा विस्तार गर्नु कत्तिको आवश्यक छ? यसमा सरकारको भूमिका के हुन सक्छ?
२०७२ सालको भूकम्प जाँदा सरकारले ट्रमालाई सबै तिर र राम्रोसँग लैजाने भनेको थियो। तर अहिले हामीले भूकम्प बिर्सी सक्यौं। अहिले विपद भन्ने कुरा नै बिर्सियौं। अहिले राजमार्गहरु बनिरहेका छन्। यी राजमार्गहरुमा सडक दुर्घटनाको जोखिम सधै उच्च हुन्छ। त्यसको लागि पनि सरकारले सुविधा सम्पन्न अस्पतालहरु तयार गर्नैपर्छ।
राजमार्गहरुमा मात्र नभई पर्यटन क्षेत्रमा पनि दुर्घटनाको जोखिम हुने गर्छ। प्याराग्लाइडिङ देखि विभिन्न खेलकुदमा पनि दुर्घटनाको जोखिम सधै रहन्छ। तर मलाई लाग्छ, हामी यो विषयमा तयार छैनौं। कुनै दिन यदी नेपालमा ठूलो दुर्घटना घटे त्यो बेला निकै क्षति हुन सक्छ। किनभने ती विपदका लागि हामी तयारी अवस्थामा नै छैनौं। ट्रमाका लागि सरकारले हरेक क्षेत्रमा अस्पतालको स्थापना गर्नुपर्छ।
– अन्त्यमा के भन्न चाहनु हुन्छ?
सरकारले अर्थोपेडिक ट्रमालाई गम्भीर रुपमा लिनुपर्छ। हामीसँग अहिले राष्ट्रिय ट्रमा सेन्टर मात्र छ। त्यहाँ देशभरका बिरामीहरु उपचारका लागि आउँछ। सामान्य उपचारका लागि पनि टाढा टाढाबाट काठमाडौं आउनुपर्ने बाध्यता अहिले पनि छ। कर्णाली, मुगुका हिँड्नै नसक्ने बिरामी उपचारका लागि यहाँ कसरी आउने? सरकारले यी विषयमा पनि ध्यान दिनुपर्छ। नेपालमा एउटा ट्रमा नेटवर्क बनाउनु आवश्यक छ। किनभने दुर्घटना भनेको सबैभन्दा धेरै र अकस्मात हुने कुरा हुन्।