धनगढी- सुदूरपश्चिम सरकारले आगामी वर्ष अस्पताल स्तरोन्नति तथा सेवा सुधार वर्षका रुपमा मनाउने भएका छ। यसका लागि सरकारले २ अर्ब ४२ करोड ९८ लाख ९० हजार छुट्याएको छ।
मंगलबार सार्वजनिक गरिएको बजेटमा खोपको पहुँच पुर्याइने र प्रयोगशालाको पनि स्तरोन्नति गर्ने उल्लेख गरिएको छ।
प्रदेश सरकारले महामारी व्यवस्थापन तथा प्रयोगशालाको सुदृढीकरणमा ९७ लाख ५० हजार रुपैयाँ विनियोजन गरेको मन्त्री शाहले बताए। यस्तै, महामारी नियन्त्रण, व्यवस्थापन, साधनको अभाव हुन निदन ९० करोड रकम विनियोजन गरेको पनि आर्थिक मामिला तथा याेजना मन्त्री प्रकाश शाहले जानकारी दिए।
स्थानीय प्रदेश सरकारको साझेदारीमा दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा पुर्याउन आधारभुत स्वास्थ्य भवन निर्माण गर्न एक करोड रुपैयाँ विनियोजन गरिएको छ।
प्रदेश सरकारले ‘हाम्रो प्रदेश, स्वास्थ्य प्रदेश’ कार्यक्रम, मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य सेवा कार्यक्रम, स्वास्थ्यकर्मीलाई प्रोत्साहन लगायतका कार्यक्रमलाई निरन्तरता दिएको छ।
मन्त्री शाहले भने –‘हाम्रो प्रदेश, स्वास्थ्य प्रदेश’ अन्तरगत क्षयरोग, कुष्ठरोग, मलेरिया तथा प्रदेश कुपोषित कार्यक्रमलाई प्राथमिकता दिएको छु।’
प्रदेश सरकारले सेती प्रादेशिक अस्पतालमा ट्रमा सेन्टर र टीकापुर अस्पतालमा सरुवा रोग अस्पताल तथा अनुसन्धान केन्द्र स्थापना तथा सञ्चालनका लागि पाँच लाख रकम विनियोजन गरेको छ।
यस्तै, अछामस्थित न्याय अस्पतालको सुदृढीकरण तथा सुधारका लागि आठ करोड रकम र स्थानीय तहमा रहेका स्वास्थ्य संस्थाको सुधार तथा सुदृढीकरणका लागि पुँजिगत तर्फ अनुदानको व्यवस्था गरेको मन्त्री शाहले जानकारी दिए।
मन्त्री शाहले भने ‘छ हजार ३७ लाख महिला स्वास्थ्यस्वयमसेविकाले पुर्याएको योग्दानको उच्च कदर गर्दै स्वास्थ्य बिमा कार्यक्रमलाई निरन्तरता दिएको छौं। यसका लागि एक करोड पाँच लाख ६५ हजार रकम विनियोजन गरेको छु।’
प्रदेश सरकारले कडा रोगका विरामीलाई आर्थिक सहायताका लागि एक करोड २१ लाख, स्वास्थ्य संस्थामा स्वास्थ्य सेवा विस्तार तथा औजार उपकरण खरिदका लागि १० करोड ४९ लाख, र औषधि खरिदका लागि तीन करोड ७८ लाख रकम विनियोजन गरेको छ।
मन्त्री शाहले भने ‘स्वास्थ्य क्षेत्रमा योग्दान पुर्याएका स्वास्थ्यकर्मीको योग्दानको कदर गर्दै स्वास्थ्यकर्मीको प्रोत्साहनका लागि चार करोड २० लाख र विमाका लागि ३० लाख रकम विनियोजन गरेको छु।’
आगामी आर्थिक वर्षमै सञ्चालनमा ल्याउने गरी प्रदेश सरकारले निर्माणाधिन अवस्थामा रहेको प्रादेशिक आयुर्वेद चिकित्सालयका लागि चार करोड ५२ लाख रकम विनियोजन गरेको छ।
प्रदेश सरकारले यस वर्ष पनि आयुर्वेद कार्यक्रमलाई बढी जोड दिई बजेट विनियोजन गरेको छ।
मन्त्री शाहले भने ‘आयुर्वेद संस्थामा आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवा विस्तारका लागि स्वास्थ्य जिवन नागरिक आरोग्य कार्यक्रम पूर्वकर्म, पञ्चकर्म सेवा विस्तारका लागि दुई करोड, महाकाली आयुर्वेद अस्पताल कञ्चनपुरलाई प्रादेशिक स्वास्थ्य केन्द्र स्थापना तथा सञ्चालनका लागि ९० लाख रकम विनियोजन गरेको छु।’
प्रदेशका आयुर्वेदिका प्रयोगशालाहरुको सुदृढीकरणका लागि ५० लाख, ज्येष्ठ नागरिकलाई घरमै उपचार सेवा दिनका लागि मुख्यमन्त्री ज्येष्ठ नागरिक स्वास्थ्य कार्यक्रमका लािग १ करोड ६० लाख रकम विनियोजन गरेको छ।
यस्तै सुत्करी तथा जटिल रोगका विरामीका लागि हवाई उद्दार कार्यक्रमलाई प्रदेश सरकारले निरन्तरता दिएको छ। हवाई उद्दार कार्यक्रमका लागि प्रदेश सरकारले ५३ लाख ३५ हजार रकम विनियोजन गरेकोछ ।
प्रदेश सरकारले सुत्करी महिलाका लागि सुरु गरेको ग्रामीण अल्ट्रासाउण्ड कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। यसका लागि एक करोड ११ लाख रकम विनियोजन गरेको छ।
प्रदेश सरकारले अस्पतालको भवन निर्माण कार्यक्रमलाई पनि निरन्तरता दिएको छ। प्रदेश सरकारले डोटी अस्पताल भवन निर्माणका लागि ५ करोड ३५ लाख, बेदकोट अस्पतालका लागि ५ करोड ३५ लाख, लम्की चुहा सामुदायिक अस्पतालका लागि आठ करोड, महाकाली अस्पतालको स्टाफ क्वाटर निर्माणका लागि ५ करोड ७५ लाख, जिल्ला अस्पताल मार्तडीको स्तरोन्नतिका लागि पाँच करोड र अछाम अस्पतालको भवन निर्माणका लागि १ करोड ५० लाख रकम विनियोजन गरेको मन्त्री शाहले बताए