काठमाडौं– चितवनको भरतपुर अस्पतालको फार्मेसी स्टोरमा सम्बन्धित क्षेत्रका व्यक्तिलाई नै जिम्मेवारी दिन औषधि व्यवस्था विभागले निर्देशन दिएको छ।
‘कानुन विपरीत’ अहेबको भरमा चल्दै आएको भरतपुर अस्पतालको फार्मेसी स्टोरमा फार्मासिस्टलाई नै जिम्मेवारी दिन विभागले निर्देशन दिएको हो। औषधि ऐन तथा निर्देशिकाअनुसार हुने गरी यथाशीघ्र फार्मासिस्टलाई नै जिम्मेवारी दिन विभागले अस्पताललाई पत्राचार समेत गरेको छ।
विभागले अस्पताललाई पठाएको पत्रमा भनिएको छ, ‘अस्पतालमा सो अनुसार (कानुन अनुसार) कार्यान्वयन तथा व्यवस्थापन नभएको भनी सरोकारवाला तथा पेसागत संघ संस्थाबाट समेत गुनासो प्राप्त भएकाले औषधि ऐन तथा निर्देशिका अनुसार हुने गरी यथाशीघ्र गराउने व्यवस्था गरी सोको जानकारी मन्त्रालय तथा विभागमा समेत गर्नुहन अनुरोध छ।’
यसअघि नेपाल फार्मेसी काउन्सिलले पनि भरतपुर अस्पताललाई फार्मेसी स्टोरको जिम्मेवारी फार्मासिस्टलाई नै दिन पत्राचार गरेको थियो।
हाल अस्पताल प्रशासन पनि आफ्ना माग पूरा गर्ने विषयमा सकारात्मक देखिएको आन्दोलित एक फार्मासिस्टले बताए।
उनले भने, ‘अस्पताल प्रशासन अहिले हाम्रो माग पूरा गर्ने सम्बन्धमा सकारात्मक छ। अहिले विभागले पनि निर्देशन दिएको छ। अब हामी माग पूरा हुनेमा केही आशावादी छौँ।’
अस्पताल प्रशासनले माग पूरा गर्ने लिखित प्रतिबद्धता जनाएपछि संघर्ष समितिले जेठ मसान्तसम्मका लागि आन्दोलनका कार्यक्रम स्थगित गरेको थियो। अस्पतालका नवनियुक्त मेडिकल सुपरिटेन्डेन्ट डा रोशन न्यौपानले थप अध्ययन गरी जेठ मसान्तभित्र माग पूरा गर्ने प्रतिबद्धता जनाएका छन्।
भरतपुर अस्पतालको फार्मेसी स्टोर कानुन विपरीत अहेबको भरमा चल्दै आएपछि त्यहाँका फार्मासिस्टहरु शान्तिपूर्ण आन्दोलनमा थिए।
‘जहाँ औषधि, त्यहाँ फार्मासिस्ट’ नाराको कार्यान्वयन गर्नुपर्ने, फार्मेसी स्टोरमा फार्मासिस्ट नै हुनुपर्ने, स्वास्थ्य मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरण अनुसारको जिम्मेवारी दिइनुपर्ने, ‘राइट म्यान इन राइट प्लेस’ लगायत ६ बुँदे माग सहित उनीहरु जेठ २ गतेदेखि विरोध स्वरुप हातमा कालो पट्टी बाँधेर सेवामा खटिँदै आएका थिए।