कोरोना भाइरसले हाम्रो गाउँ सहरमा त्रास फैलाइरहेको बेला आउनुहोस् यसले कसरी मृत्युसम्म पुर्याउछ विश्लेषण गरौँ। कोभिड-१९ उपल्लो श्वासनली र तल्लो श्वासनली दुबैमा संक्रमण गराउन सक्छ। उपल्लो श्वासनलीको संक्रमणले कम हानी गराउनसक्ने भएपनि तल्लोमा संक्रमण भएमा फोक्सो र श्वासनलीको तीब्र क्षती (एक्युट लङ इन्जुरी) गराउन सक्छ। एक्युट लङ इन्जुरी फोक्सोको प्याथोलोजी क्षेत्रमा एक महत्वपुर्ण विषय हो। अहिले आएर कोभिड-१९ का कारणले पनि यसको महत्व शिखरमा पुगेको छ। अमेरिकामा यस्तो अवस्थामा बर्षेनी दुई लाख बिरामीहरु पुग्ने गर्थे।
कोरोनाको संक्रमण बढेपछि यो भाइरसले उक्त सङ्ख्यामा बृद्धि ल्याइदिएको छ। यि मध्यका चालिस प्रतिशत बिरामीहरुको मृत्यू हुने गरेको थियो। कोभिड-१९ भाइरसले गराएको एआरडिएस (एक्युट रेस्पिरेटरी डिस्ट्रेस सिन्ड्रोम)का कारण मृत्यु हुनेको सङख्या ३९ प्रतिशत छ। विकासोन्मुख देशहरुमा यसको राम्रोसँग अध्ययन भएको छैन। यस सम्बन्धि थोरै लेखहरु भेटाइन्छन्। हाल नेपालमा व्याप्त म्यूट्यान्ट या डबल म्यूट्यान्ट कोरोना भाइरसले गराएको मृत्यु संख्याको यकिन पुर्ण विवरण आइसकेको छैन (आउदै छ) तर धेरै संक्रमण गराउनसक्ने भएकाले पहिलाको भन्दा बढी सतर्कता अपनाउन पर्ने भने अवश्य छ। यि सबका बाबजुद यस्तो संक्रमण आफैं पूर्णतया निको हुन पनि सक्छ।
एक्युट लङ इन्जुरी फेक्सोका कोशीकाहरुको चोटका कारणले सुरुहुने गर्छ। सेप्सिस (संक्रमणका कारण कोशीकाहरुको मृत्यु), गहन चोटपटक, पेटको खाना फोक्सोमा पुग्ने (प्राय होश गुमेका मान्छेहरु, मुखको पाइपबाट खाना खुवाउनुपर्ने मानिसहरुलाई हुन्छ), फोक्सोमा फैलिएको संक्रमण, केही महत्वपुर्ण कारणहरु हुन्। फोक्सोमा फैलिएको संक्रमण प्रायजसो भाइरसहरुले गराउने गर्छ। कोरोना पनि भाइरस भएका कारणले फोक्सोलाई तीब्र रुपमा क्षती गराउन सक्छ। ज्यान जोखिममा पार्न सक्ने श्वासप्रश्वासको असफलता जसलाई एआरडिएस भन्ने गरिन्छ, कोरोनाको महत्वपुर्ण जटिलता हो। यो जटिलता गम्भीर एक्युट लङ इन्जुरीको अभिव्यक्ति हो।
भारतका केही अध्ययनहरुले निमोनिया, मलेरिया, लेप्टोस्पाइरोसिस्, टाइफस, इन्फ्लूएन्जा, जस्ता रोगका कारणले एक्युट लङ इन्जुरी बढी हुने देखाएको छ। नेपालमा पनि सेप्सिस, ट्राउमा, निमोनिया, केही महत्वपुर्ण कारणहरु हुन्।
एआरडिएस हल्का, मध्यम र गम्भीर भनेर तीन तहमा विभाजन गरिएको छ। यो शरीरमा अक्सिजनको कमीका आधारमा विभाजन गरिएको छ। मध्यम र गम्भीर प्रकृतिका कोरोना बिरामीहरुलाई भेन्टिलेटरमा राख्न पर्ने हुनसक्छ। यस्ता बिरामीहरुको बाँच्ने सम्भावना निकै कम हुन्छ। अध्ययन अनुसार अस्पतालमा भर्ना भएका बिरामीहरु मध्य एक तिहाइ एआरडिएसमा जान्छन्, एक चौथाइ आइसियूमा जान्छन्। यस्तै ६ मा एक जनाको मृत्यू हुने गरेको छ।
फोक्सोको शरीर रचनालाई बुझ्नुपर्दा रुखलाई उल्टाएको जस्तो हुन्छ। मानौ रुखको फेद स्वासनली हो। हाँगाहरु स्वासनलीमा विभाजनहरु हुन् अनि पातहरु जहाँ अक्सिजन र कार्बनडाइअक्साइड आदानप्रदान हुन्छन्। फोक्सोमा उक्त स्थानलाई एलभियोलाई भनिन्छ। एलभियोलाईको भित्ताको भित्री भाग न्यूमोसाइट्स भन्ने उपकला (इपिथेलियल) कोशीकाले बनेको हुन्छ। उक्त कोशीका एक र दुई प्रकार भनेर विभाजन गरिएको छ। ९५ प्रतिशत पहिलो प्रकारका हुन्छन्। न्यूमोसाइट्सको दोस्रो प्रकारले सरफेक्ट्यान्ट (एउटा मसिनो चिप्लो पदार्थ) बनाउनुका साथै कोशीकाहरुको मर्मत पनि गर्ने गर्छ। सरफेक्टेन्टले फोक्सोको एलभियोलाइको सतही तनाब (सरफेस टेन्सन) घटाइदिने गर्छ जसकारण सामान्यतया सास फेर्दा फोक्सो पुर्ण रुपमा सुकेर जाने हुँदैन। यो नभएको भए फोक्सोलाई फुकाउन साह्रै ठुलो शक्ति चाहिने गथ्र्यो। कोशीकाहरुको भित्रि झिल्ली (बेसमेन्ट मेम्ब्रेन) ले एलभियोलाई र एलभियोलाइको बाहिर बग्ने रक्तनलीलाई छुट्याउने गर्छ। यहि स्थान हो जहाँ अक्सिजन र कार्बनडाइअक्साइड साटिने गर्छ। एलभियोलाईभित्र किटाणुलाई मार्ने कोशीका (म्याक्रोफेज) पनि हुन्छ। यो रोगको प्रतिरोधात्मक क्षमताको पहिलो रक्षक कोशीका हो। यि कोशीकाहरु हावी भए रोग लाग्दैन। यि कोशीकाहरुभन्दा भाइरस बढी भए रोग लाग्ने सम्भावना बढी हुन्छ।
तीब्र संक्रमणका कारण तरल पदार्थ रक्तनलीबाट निक्लिएर फोक्सोको खाली ठाउँमा जम्मा हुने, सुन्निने, कोशीकाहरुको मृत्यू गराउने गर्छ। दोस्रो किसिमको कोशिका (न्युमोसाइट्स)को पनि मृत्यू हुने भएकाले सरफेक्ट्यान्ट बन्न पाउदैन जसकारण श्वास फेर्न कठिन हुन्छ।
भाइरस र शरीरको प्रतिरोधात्मक कोशीकाहरुको झडपले फोक्सो युद्ध सकिसकेपछिको रणभूमि जस्तो हुन्छ। दुबै तर्फका कोशीकाहरु साथसाथै रणभूमिका कोशीकाहरु घाइते या मृत्यु भएका हुन्छन्। भाइरस हाबी भएर संक्रमण विभिन्न चरण पार गर्दै जाँदा एलभियोलाइको पोकामा हायलिनको (गुलाबी बाक्लो पदार्थ) झिल्ली निर्माण हुन पुग्छ। यस झिल्लीले श्वास फेर्ने प्रणालीलाई थप कठिनाइ बनाइदिन्छ। जसका कारण आफंै श्वास फेर्न नसकेर बिरामीहरुको मृत्यु हुने गर्छ।
जर्मनीमा गरिएको अध्ययनले कोरोनाको सङ्क्रमणका कारणले हुने सेप्सिस र महत्वपुर्ण अङ्गहरुको असफलताका कारणले मानिसहरुको मृत्यु हुने गरेको देखाएको छ। तर चीनको अध्ययनले श्वास फेर्ने असमर्थता मुख्य कारण भनेको छ। एसिइटु (रिसेप्टर) जसले भाइरसलाइ बाँध्ने गर्छ (रक्तनली र फोक्साका कोशीकाहरुमा हुन्छ) सिधै कोरोनाबाट आक्रमणमा पर्ने गर्छ। उक्त रिसेप्टरहरु अन्य महत्वगुर्ण अङ्ग जस्तै मुटु, मिर्गौला आन्द्रामा पनि हुने गरेकाले ति अङ्ग पनि सिधै मारिन सक्छन्।
एआरडिएस भएका बिरामीहरु सास फेर्न गाह्रो भएर, अक्सिजन नपुगेका कारणले शरीरका अङ्गहरू निलो भएर, छिटो छिटो श्वास फेर्न पर्ने समस्या लिएर अस्पताल भर्ना भएका हुन्छन्। साथै भाइरसको कारणले ज्वरो आउने, खोकी लाग्नेत छँदैछ। फोक्सोको कुनै भागमा मात्र संक्रमण देखिन सक्ने भएकाले उक्त भागमात्र सेतो अथवा खुम्चिएको र अर्को भाग सामान्य देखिन पनि सक्छ। यस्ता किसिमका फोक्सोहरु रातो, गहु्रङ्गो, डसना छामेको जस्तो हुन्छ। मृत्यु भएका यस्ता प्रकारका बिरामीका फोक्सोमा निमोनियाको लक्षण देखिने गरेको छ।
श्वास फेर्न सहज होस् भनेर एआरडिएस भएका बिरामीहरुलाई अक्सिजन दिने, सिकिस्त बिरामीहरुलाई भेन्टिलेटरमा राख्ने गरिन्छ। तर यि प्रविधिहरु रोगलाई निको पार्न भन्दापनि रोगको लक्षणलाई सहज गर्नकालागि गरिएको उपचार मात्र हो। स्टेरोइड सङक्रमणको विरुद्ध र रेमडिसिभिर भाइरसको विरुद्ध दिने गरिएको पनि छ।
एक्युट लङ इन्जुरी लामो समयसम्म धूम्रपान र मध्यपान गर्ने मानिसहरुलाई बढी हुने गर्छ। कोशीकाहरुको जीनको अध्ययन गर्दा थुप्रै कोशीकाहरुको जीन एक्युट लङ इन्जुरी गराउने गरेको पाइएको छ। उक्त जीनहरुमा संक्रमण र रगतको जमाओट (कोयागुलेसन) गराउने कोशीकाहरुको जीनहरुको परिमार्जन बढी मात्रामा पाइन्छ। यस्ता जिनहरु वंशाणुगत रुपमा एक पुस्ताबाट अर्को पुस्तामा आउन सक्छन्। इ जि एल एन वान, एम यू सि फाइब बि केही जीनका उदाहरणहरु हुन्। जसले एआरडिएस गराउन सक्छ। यो कारण हुन सक्छ कुनै परिवारका धेरैलाई कोरोनाले सिकिस्त बनाएको या मृत्यु गराएको छ। दाजु नेपालमा र भाइ विदेशमा कोरोनाका कारण मृत्यु भएकोपनि सुनेका छौ। अर्को तर्फ कुनै परिवारमा सामान्य लक्षण मात्र देखिने गर्छ। संक्रमण समुदायमा पुगिसक्दा पनि कुनै परिवारहरुमा त रोग नलागेको पनि देखिएको छ। उत्तिकै सावधानी पुर्याउदा पनि सङ्गै कोठामा बस्ने बुढालाई लाग्दा बुढीलाई नलागेको पनि देखिएको छ। बुढीलाई लाग्दा बुढालाई नलागेको पनि देखिएको छ। तर महिलाहरुको शरीरमा रोग विरुद्ध लड्ने प्रतिरोधात्मक क्षमता (इम्युनिटी) बढी हुन्छ। यो संक्रमणको गराउने भाइरसको लोडका कारणले मात्र भएको होइन। गर्भवती महिलाहरुमा भने यो रोगको जोखिम उच्च छ।
पाँच मध्यमा एक मानिसमा मात्र भाइरस तल्लो श्वासनलीसम्म पुग्न सक्छ। शरीरभित्र जसरी भएपनि अन्तमा कोशीकाहरुले राम्रोसँग अक्सिजन नपाएर मानिसहरुको मृत्यु हुनेगर्छ। राम्रोसँग हेर्दा भाइरसले मानिसहरुलाई काखा र पाखा लगाएको पनि देखिएको छ। कोरोनाको लागि भनेर गरिएको जीनको अध्ययनमा ए सि इ २ जीनको अध्ययन बाहेक अरु राम्रोसँग भएको पाइएको छैन। नेपालमा त अझ धेरै अध्ययन गर्न बाँकीनै छ। यस्ता जीनहरुको अध्ययनले कोभिड-१९ को उपचारमा सहयोग पुर्याउथ्यो की?
-(प्याथोलोजीका लेक्चरर डा ढकाल धुलिखेल अस्पतालमा कार्यरत छन्।)