काठमाडौं- विराटनगरस्थित कोशी अस्पतालमा ड्युटी सकेर सिनियर अहेब अशोक राजवंशी घर फर्कदै थिए। रातको साढे ९ बज्दै थियो।
अस्पतालको केही दूरी नजिक रहेको देवकोटा चोकमा चेकजाँच भइरहेको थियो। त्यहाँ पाँच जना प्रहरीहरु उभिएका थिए। चोक नजिकै पुग्नै लाग्दा केही प्रहरीले उनलाई लठ्ठी देखाएर रोके। उनी रोकिए पनि।
त्यसपछि उनले भने, ‘म कुनै चोर हुँ र मलाई लठ्ठी देखाएर रोक्नु भएको हो? उनले यति भन्न नपाउँदै दुई जना प्रहरीले त्यही लठ्ठीले हान्न थाले। तीन/चार लठ्ठी हानीसकेपछि उनले आफू स्वास्थ्यकर्मी भएको र ड्युटी सकेर फर्किएको बताए। आफुले स्वास्थ्यकर्मी भन्ने बित्तिकै ती प्रहरीले झनै कुट्न थालेको राजवंशीले बताए।’
उनले भने, ‘मैले आइडी कार्ड देखाउँदै म कोभिड उपचारमा खट्ने स्वास्थ्यकर्मी हुँ। अस्पतालमा ड्युटी सकेर आएको हुँ भने। तर त्यसपछि झन् मलाई प्रहरीले पिट्न थाले। म बोल्न लाग्दा झनै कुटे। कुनै सोधखोज गरेनन्। सिधै पिटे।’
यता मोरङका एसपी सन्तोष खड्काले चेकिङ गर्ने क्रममा प्रहरी र अकोश राजवंशीबीच विवाद भएको बताएका छन्। हाल दुवै पक्षबीच छलफल भएको र आफ्नो तर्फबाट गल्ती भए समीक्षा गरेर सच्याउने उनले बताए।
उनले भने- 'हामी कोरोना महामारीका कारण जारी निषेधाज्ञा कार्यान्वयन गराउन फिल्डमा खटिरहेका छौँ। चेकिङ गर्नु हाम्रो ड्युटी नै हो। सोही क्रममा उहाँ पनि चेकिङमा पर्नु भएको हो। चेकिङ गर्न थालेपछि विवाद भएको हो। हाम्रो तर्फ गल्ती भए हामी समीक्षा गरेर करेक्सन गर्न तयार छौँ भनेका छौँ।'
प्रहरीबाट कुटिएका अशोक राजवंशीसँग हामीले कुराकानी गरेका छौँ। उनीसँग गरिएको कुराकानी यहाँ प्रस्तुत गरिएको छः
म कोशी अस्पतालबाट ड्युटी सकेर मंगलबार साढे ९ बजेतिर घर फर्कदै गरेको थिएँ। यहाँ अस्पताल नजिकै देवकोटा चोक छ। म बाइकमा थिएँ। देवकोटा चोकमा प्रहरीहरु थिए। म त्यहाँ नजिकै पुग्दा मलाई लठ्ठी देखाएर रोके। म कुनै चोर होइन।
मलाई हातले रोक्नु भएपनि म रोकिहाल्थे नी भनेर मैले भनें। यति भन्न नपाउँदा मलाई लठ्ठीले हान्न थाले। मलाई तीन चार लठ्ठी हानी सकेको थियो। मैले आइडी कार्ड देखाउँदै म कोभिड उपचारमा खट्ने स्वास्थ्यकर्मी हुँ। अस्पतालमा ड्युटी सकेर आएको हुँ भने। तर त्यसपछि झन् मलाई प्रहरीले पिट्न थाले। म बोल्न लाग्दा झनै कुटे। कुनै सोधखोज गरेनन्। सिधै पिटे।
त्यहाँ ५/६ जना जति प्रहरी थिए। एक जना प्रहरीले उहाँ कोभिड ड्युटीमा खटिएको स्वास्थ्यकर्मी हो नकुट्नुस भने। तर दुई जना प्रहरीले केही नसुनी मलाई कुट्यो। मैले १०/१२ लठ्ठी खाएँ। मेरो शरीरमा लठ्ठीको डामै डाम छ। त्यसपछि म घर पुगे।
मैले अस्पतालको प्रमुखलाई फोन गरे र घटना बारे जानकारी पनि गराएँ। बुधबार बिहान छलफल भयो। प्रहरी, मेयर लगायतसँग बिहान छलफल भएको छ। उहाँहरुले दोषि माथि कारबाही हुने मलाई आश्वासन दिनु भएको छ।
हामीलाई आउन जान पनि गाह्रो भयो। हामी ड्युटीमा रातदिन नभनी खट्नुपर्छ तर प्रहरीबाट कुटिनुपर्छ। हामीलाई सुरक्षा दिने प्रहरीबाटै हामी कुटिन्छौ भने हामी सुरक्षाका लागि को सँग कहाँ भन्नु जाने? हामी जनताबाट पनि कुटाइखान्छौ यता प्रहरीबाट पनि कुटिन्छौ यसरी कसरी काम गर्ने?