काठमाडौं - सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्यो। जसमध्ये स्वास्थ्य क्षेत्रका लागि ७ दशमलव ४५ प्रतिशत अर्थात् १ खर्ब २२ अर्ब ७७ करोड रुपैयाँ छुट्याइएको छ। जुन स्वास्थ्यमा छुट्याइएको बजेट हालसम्मकै उच्च हो।
सरकारले स्वास्थ्य क्षेत्रका लागि छुट्याएको यो बजेट चालु आर्थिक वर्षको तुलनामा ३२ अर्बभन्दा बढी हो। कोरोनाकै बहानामा भएपनि सरकारले स्वास्थ्यलाई प्रमुख प्राथमिकतामा राखेको देखिन्छ।
कुल बजेटमा स्वास्थ्यले पाउने हिस्साप्रति हरेक वर्ष सरोकारवाला प्राय निराश नै हुने गर्थे। तर यसवर्ष भने स्वास्थ्यले पाएको बजेटप्रति उनीहरु केही उत्साहित देखिन्छन्। स्वास्थ्य क्षेत्रका विज्ञहरुले पनि यो पटक सार्वजनिक गरिएको बजेट प्रति खुलेरे प्रशसां गरेका छन्। यद्यपि कार्यान्वयनको पाटोमा भने उनीहरुको आशंका छ।
स्वास्थ्य क्षेत्रका विभिन्न निकायमध्ये औषधि पनि महत्वपूर्ण हिस्सा हो। औषधि उत्पादक होस् या औषधि व्यवसायी, औषधि आयातकर्ता उनीहरुको अपेक्षा सरकारले जारी गर्ने बजेटप्रति सधै धेरै नै हुने गर्छ।
विगतका वर्षहरुमा उनीहरुको भनाई हुन्थ्यो, बजेटमा हामीहरु धेरै आशावादी थियौं तर अपेक्षा अनुसार बजेट आएन।
यस पटक भने औषधि उत्पादक, औषधि व्यवसायी र औषधि आयातकर्ताहरु केही उत्साहित देखिन्छन्। तर कार्यान्वयनको पाटोमा भने उनीहरुको आशंका पहिलेजस्तै छ।
उनीहरु भन्छन्, ‘यो पटकको बजेट धेरै राम्रो आयो। औषधिको क्षेत्रमा पनि धेरै राम्रो देखिन्छ। तर कार्यान्वयन कसरी हुन्छ त्यसमा भर पर्छ।’
सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटका विषयमा नेपाल औषधि उत्पादक संघ, नेपाल औषधि व्यवसायी संघ र नेपाल औषधि आयातकर्ता संघका प्रतिनिधित्वसँग हामीले कुराकानी गरेका छौं। बजेटका विषयमा उनीहरुको धारणा यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छः
औषधि उद्योगलाई सरकारले प्राथमिकतामा राख्यो
विप्लव अधिकारी, महासचिव, नेपाल औषधि उत्पादक संघ
यो पटक स्वास्थ्य क्षेत्रका लागि राम्रो बजेट आएको छ। स्वास्थ्यमा बजेट आउँदै गर्दा औषधि सम्बन्धी पनि राम्रा कुराहरु केही थपिएका छन्। अघिल्लो वर्षहरुमा छुटेका कुराहरुलाई यो वर्ष सम्बोधन गरिएका छन्। औषधिका कच्चा पदार्थ, प्याकिङका कुराहरुमा एक प्रतिशत मात्र भन्सार लाग्ने कुरा गरिएको छ।
एउटा कुरा चाँही अझै पनि छुटेको छ। सेनिटाइजर बनाउन इथानोलमा अन्तशुल्क छुट गराउनुपर्ने माग गरेका थियौँ। त्यसमा चाँही छुट दिएको छैन। समग्र रुपमा हेर्दा औषधि उद्योगलाई पनि सरकारले प्राथमिकतामा राखेको छ।
पहिला हाम्रो औषधिका कच्चा पदार्थका सामानहरु बाहिरबाट आउने भएकाले भन्सारमा पाँच प्रतिशत र भ्याट पनि लाग्ने गरेको थियो। अहिले यो कुराहरुलाई सरकारले थप सहज गरिदिएको छ। एक प्रतिशत मात्र भन्सार लाग्ने कुरा बजेटमा छ।यो सकारात्मक छ। हामीले यी–यी कच्चा पदार्थ र प्याकिङ मटेरियल ल्याउँछौ भनेर बुझाएका थियौं। सोही अनुसार ती सबै कुराहरुमा छुट हुने व्यवस्था भएको छ। कोभिडको प्रसंगमा अरु धेरै कुराहरुमा छुट दिइएको छ। जे होस् समग्रमा हामीले पठाएका बुँदाहरु सरकारले समावेश गरिदिएको छ। यो पटक सरकारलाई हामीले धन्यवाद दिनैपर्छ।
बजेटमा गरिएका व्यवस्था अहिले आवश्यक छ
पवन आचार्य, महासचिव, नेपाल औषधि आयातकर्ता संघ
नेपालमा पहिलो पटक स्वास्थ्य क्षेत्रलाई सरकारले ठुलो महत्व दिएको देखिन्छ। खोप खरिद गर्ने प्रक्रियामा सरकार संवेदनशील देखिएको छ। यदी बजेट कार्यान्वयन भएको खण्डमा मात्र।
औषधि आयातकर्ताहरुको हकमा यदी बजेट कार्यान्वयन भयो भने मात्र कोभिडको बिरामीका लागि प्रयोग हुने औषधिको भन्सारमा छुट दिने भनेर अर्थमन्त्री बोल्नु भएको छ। यो बजेट साउन १ गतेदेखि कार्यान्वयन हुन्छ। तर कोभिडको संक्रमण अहिले सबैभन्दा धेरै देखिएको छ। बढी औषधि यो समयमा चाहिएको छ। साउनपछि कोरोना महामारी कम भएर जाने विभिन्न विज्ञहरुले विश्लेषण गरेका छन्।
यो भन्सारमा दिने छुट अहिलेको आवश्यकता हो। अहिलेको अवस्थामा भन्सारमा छुट भए आयातकर्तालाई सहज हुन्छ भने बिरामीलाई पनि औषधिमा सहुलियत हुन्छ। अहिले तत्काल लागु भएमात्र आयातकर्ता र बिरामीलाई सहज हुने हो। गत वर्ष औषधि व्यवस्था विभागलाई एफडीए बनाउने भनिएको थियो। तर अहिलेसम्म त्यो एफडीए बनाउने प्रक्रिया कहाँसम्म सरकारले काम गर्यो भन्ने जवाफदेहीता छैन।
बजेट ल्याएर पनि कार्यान्वयन नहुने जस्तो हाम्रो देशमा राम्रो बजेट आयो भनेर पनि खुशी हुन मिल्दैन। यो पटक बजेट राम्रो आएको छ तर कार्यान्वयनको पाटो भने हेर्न बाँकी छ।
बजेटले गरेका व्यवस्था र ल्याएका कार्यक्रमहरु साउन १ गतेदेखि नभई अहिले तत्काल लागु गर्नुपर्ने जस्ता खालका छन्। किनभने कोरोनाको बिरामी अहिले धेरै छन् र औषधिको पनि अहिले नै बढी आवश्यकता छ। स्वास्थ्यमा परेका यी बजेटहरु कार्यान्वयन भए औषधिको क्षेत्रमा धेरै राम्रो हुने देखिन्छ।
व्यवसायी र बिरामीका लागि सहज बनाइदियो
मृगेन्द्रमेहर श्रेष्ठ, अध्यक्ष, औषधि व्यवसायी संघ
स्वास्थ्य क्षेत्रमा परेको बजेट स्वागत योग्य छ। कोभिडका औषधिहरुमा सरकारले भन्सार छुट गरेको छ। यो ठुलो कुरा हो। अन्य सर्जिकल सामानहरु, अक्सिजनको सामान ल्याउँदा भन्सार छुट गरेको छ। सरकारले आगामी आर्थिक वर्षमा गरेका व्यवस्थाहरुलाई नेपाल औषधि व्यवसायी संघले स्वागत गर्छ।
विगतका वर्षहरुमा सरकारले औषधि व्यवसायका विषयहरुलाई जति प्राथमिकता दिनुपथ्र्यो त्यति नदिएको हामीले गुनासो गर्दै पनि आएका थियौ। यो पटक भने सरकारले यी विषयहरुलाई प्राथमिकतामा राखेको छ।
समय सापेक्ष रुपमा बजेट आएको छ। कोभिड महामारीको यो समयमा कोभिडका औषधिहरुलाई भन्सारमा छुट बिरामीलाई सहुलियत हुने भयो। अक्सिजन तथा सर्जिकल सामानहरुमा गरेको भन्सार छुटले हामी व्यवसायी र बिरामी दुवैलाई सहज बनाइदिएको छ।
यो पनि :
स्वास्थ्य क्षेत्रको बजेटमा विज्ञ भन्छन्ः अघिल्ला वर्षको तुलनामा राम्रो, कार्यान्वयनमा शंका!
यस्ता छन् बजेटमा स्वास्थ्यका ३३ विषय [पूर्णपाठ सहित]