काठमाडौं - वैशाख २१ गते एकै दिन ७ हजार ६ सय ६० जना कोरोना संक्रमित भेटिए। त्यही दिन ५५ जना संक्रमितको मृत्यु पनि भयो। संक्रमित र मृतकको यो संख्या दोस्रो लहर सुरु भएपछिकै उच्च थियो।
त्यसको भोलिपल्टै वैशाख २२ गते संक्रमित र मृतकको संख्याले नयाँ रेकर्ड कायम ग¥यो। अर्थात् ७ हजारबाट संक्रमितको संख्या बढ्दै एकै दिन ८ हजार ६ सय ५९ थपिए। ५८ जनाको मृत्यु पनि भयो।
संक्रमित र मृतकको संख्या वैशाखको अन्त्यबाट विस्तारै बढ्दै गएको देखिन्छ। वैशाख २८ गते एकै दिन ९ हजार ४ सय ८३ जना संक्रमित भेटिए। २२५ जनाको मृत्यु भयो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अद्यावधिक गरेको तथ्यांकमध्ये यो नै हालसम्मको उच्च हो। तर केही दिन यता भने संक्रमितको संख्या विस्तारै घट्न थालेको छ।
चार दिन यता कोरोना संक्रमितको संख्या विस्तारै ओरालो लाग्दै गरेको मन्त्रालयको तथ्यांकले पुष्टि गर्छ। संक्रमितको संख्या मात्र नभई मृतकको संख्या पनि विस्तारै घट्दैछ। आठ हजारको वरिपरि घुमिरहेको संक्रमितको संख्या जेठ १२ गते यता ६ हजार आसपासमा छ। यो संख्या पनि विस्तारै घट्दै शनिबार ४ हजार ४ सय ८७ मा आइपुगेको छ।
गत २४ घण्टामा देशभर भेटिएका संक्रमितको तथ्यांक हो यो। उक्त अवधिमै ११६ जना संक्रमितको मृत्यु भएको छ।
पछिल्लो१५ दिन यता कोरोना संक्रमित र मृतकको संख्या यहाँ प्रस्तुत गरिएको छः
जेठ १ – ८१६७ संक्रमित, १८७ मृत्यु
जेठ २ – ७३६८ संक्रमित, १४५ मृत्यु
जेठ ३ – ९२४७ संक्रमित, २१४ मृत्यु
जेठ ४ – ८२०३ संक्रमित, १९६ मृत्यु
जेठ ५ – ८१७३ संक्रमित, २४६ मृत्यु
जेठ ६ – ८३०५ संक्रमित, १९० मृत्यु
जेठ ७ – ८६०७ संक्रमित, १७७ मृत्यु
जेठ ८ – ८९८० संक्रमित, १२९ मृत्यु
जेठ ९ – ७९१४ संक्रमित, १९३ मृत्यु
जेठ १० – ७४२५ संक्रमित, १८५ मृत्यु
जेठ ११ – ८६३६ संक्रमित, १६९ मृत्यु
जेठ १२ – ६७४१ संक्रमित, १४५ मृत्यु
जेठ १३ – ६९३९ संक्रमित, १०६ मृत्यु
जेठ १४ – ६९५१ संक्रमित, ९६ मृत्यु
जेठ १५ – ४४८७ संक्रमित, ११६ मृत्यु
विज्ञ भन्छन्- लकडाउनलाई व्यवस्थित नगरी खोलियो भने संक्रमण दर झनै बढ्छ
यो तस्विर शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालको इमरजेन्सी कक्षको हो। यो त्यही अस्पताल हो, जहाँ उपचार पाउन बिरामीहरु अस्पतालको आगनमै म्याट ओछ्याएर सुत्ने गर्थे। घण्टौसम्म शय्याको पखाईमा छट्पटाउँथे। हाल भने बिरामीको भीडले भरिभराउ हुने टेकु अस्पतालको शय्या यसरी खाली हुँदैछन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका हाल संक्रमितको चाप घट्दै गएको बताउँछन्।
भन्छन्, ‘पहिले जुन गतिमा सिकिस्त भएर संक्रमितहरु आउँथे। संक्रमितहरुको चाप जुन थियो। हाल त्यो चाप घटेर गएको छ।’
डा बास्तोलाका अनुसार लकडाउनले चेन ब्रेक भएका कारण कोरोना एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्न कम भयो।
‘लकडाउनभन्दा पहिले जति पनि व्यक्ति संक्रमित भएका थिए, उनीहरुको असर २/३ हप्तासम्म प¥यो। त्यसपछि घरघरमा संक्रमण सरिरहेको थियो।’ उनले भने, ‘त्यो पनि अहिले कम भयो।’
पहिले जसरी अहिले सिकिस्त भएर आउने क्रम घटेको उनले बताए। कोरोना संक्रमण अब घट्ने क्रममा रहेको उनी बताउँछन्। यद्यपि लकडाउन खुकुलो भए संक्रमण दर बढेर जाने उनले बताए।
उनले भने, ‘पहिले पनि लकडाउन खाेलेपछि संक्रमणको दर बढेको हो। संक्रमण दर शून्यमा झरिसकेको अवस्था छैन। घट्ने क्रममा मात्र हो। त्यसैले लकडाउन व्यवस्थित गर्न सकिएन भने त संक्रमण फेरी बढ्छ।’
यता त्रिवि शिक्षण अस्पतालमा पनि संक्रमितको संख्या घट्न थालेको छ। यहाँ एक साताअघि दैनिक ६० देखि ७० जना कोरोना संक्रमित भर्ना हुने गर्थे। हाल यो संख्या घट्दै १५ देखि २० मा झरेको छ।
अस्पतालका करिब एक सातादेखि संक्रमितको संख्या विस्तारै घट्दै गएको कोभिड १९ संक्रमितको उपचारमा खटिएका डा निरज बम बताउँछन्।
उनी भन्छन्, ‘पहिले भर्ना हुने कोरोना संक्रमितको संख्या एकदमै बढेको थियो। तर अहिले अलिकति घटेकी हो की जस्तो लाग्छ। करिब एक साताअघि दैनिक ६०÷७० जना आउँथे। तर अहिले १५÷२० जना जति आउँछन्।’
डा बमका अनुसार संक्रमितको दर विस्तारै घट्नुमा केही कारणहरु छन्। एक, लकडाउनको प्रभाव। दोस्रो, जनचेतना फैलियो, तेस्रो, जनस्वास्थ्यका मापदण्ड पालना पाए र चौथौँ, शय्या पनि केही विस्तार भए।
संक्रमणको दर मात्र नभई मृत्युदर पनि विस्तारै घट्न थालेको उनी बताउँछन्। यद्यपि ढुक्क हुने अवस्था भने नभएको उनले बताए।
उनले भने, ‘संक्रमणको दर घट्यो भन्ने बित्तिकै नियमित काममा, भीडभाडमा जाने, सतर्कता नअपनाउने, जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भन्ने बुझ्नु हुँदैन।’
लकडाउन यसरी नै प्रभावकारी रुपमा कार्यान्वयन हुने र जनस्वास्थ्यका मापदण्ड पूर्ण पालना हुने हो भने कोरोना नियन्त्रण हुँदै जाने उनले बताए। उनका अनुसार लकडाउन तत्काल खोल्न हुँदैन। देशभर नै लकडाउन खुकुलो भए नियन्त्रण हुन लागेको संक्रमण दर पनि झनै बढेर जाने जोखिम हुने उनले बताए।
सरकारले लकडाउन एकैपटक भन्दा पनि चरणवद्ध रुपमा खुकुलो बताउँदै उनले भने, ‘चरणवद्ध रुपमा लकडाउन बनाएपनि जनस्वास्थ्यका मापदण्ड कडाईका साथ पालना गर्नैपर्छ। तब मात्र लकडाउन चरणवद्ध रुपमा खुकुलो बनाउन सकिन्छ।’
सानो लापरबाहीले पनि कोरोनाको तेस्रो लहर आउने संभावना हुने उनी सुनाउँछन्। उनी भन्छन्, ‘जनस्वास्थ्यका मापदण्ड पालना गर्नैपर्छ। नत्र भने हामीले कोरोना कम गर्न सक्दैनौ। तेस्रो लहर आउने संभावना हुन्छ।’