काठमाडौं - जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको बढ्दो ग्राफले यसको पुष्टि गर्छ।
जटिल खालका संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरु आइसीयू र भेन्टिलेटरले भरिएका छन्। अझै पनि सहज रुपमा आइसीयू र भेन्टिलेटर पाउने अवस्था छैन।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर हाल २ हजार २ सय ५ जना संक्रमित आइसीयू र भेन्टिलेटरमा छन्। जसमध्ये १ हजार ७ सय २१ आइसीयू र ४ सय ८४ भेन्टिलेटरमा उपचाररत छन्। कुल आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितमध्ये ६८१ जना काठमाडौं उपत्यकाका संक्रमित छन्।
वैशाखको अन्तिमसम्म आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको संख्या दुई हजार तल थियो। तर जेठको दोस्रो सातादेखि यो संख्या बढ्दै दुई हजार माथि पुगेको छ। जेठ ६ गते यता आइसीयू र भेन्टिलेटरमा भर्ना हुने संक्रमितको ग्राफ दैनिक उकालो लाग्दैछ।
स्वास्थ्य मन्त्रालयको पछिल्लो १५ दिनको तथ्यांकबाट पनि प्रष्ट हुन सकिन्छ। पछिल्लो १५ दिनमा कसरी बढ्दै छ जटिल खालका
संक्रमितहरु भन्ने तथ्यांक यहाँ प्रस्तुत गरिएको छ
वैशाख २६ – ८३३ आइसीयू, २६७ भेन्टिलेटर – कुल ११००
वैशाख २७ – ९१० आइसीयू, २९५ भेन्टिलेटर – कुल १२०५
वैशाख २८ – १०८४ आइसीयू, २९० भेन्टिलेटर – कुल १३७४
वैशाख २९ – १२४१ आइसीयू, २८५ भेन्टिलेटर – कुल १५२६
वैशाख ३० – १३८१ आइसीयू, ३८० भेन्टिलेटर – कुल १७६१
वैशाख ३१ – १३३४ आइसीयू, ३७१ भेन्टिलेटर – कुल १७०५
जेठ १ – १३३१ आइसीयू, ३७० भेन्टिलेटर – कुल १७०१
जेठ २ – १३१३ आइसीयू, ३८० भेन्टिलेटर – कुल १६९३
जेठ ३ – १२५९ आइसीयू, ४०० भेन्टिलेटर – कुल १६५९
जेठ ४ – १५९० आइसीयू, ३९० भेन्टिलेटर – कुल १९८०
जेठ ५ – १६१८ आइसीयू, ३८१ भेन्टिलेटर – कुल १९९९
जेठ ६ – १७४८ आइसीयू, ४९२ भेन्टिलेटर – कुल २२४०
जेठ ७ – १७१६ आइसीयू, ५११ भेन्टिलेटर – कुल २२२७
जेठ ८ – १७३२ आइसीयू, ५२३ भेन्टिलेटर – कुल २२५५
जेठ ९ – १७२१ आइसीयू, ४८४ भेन्टिलेटर – कुल २२०५
किन बढ्दैछ जटिल खालका बिरामी ?
कोरोनाको दोस्रो लहर सुरु भएसँगै कोरोनाका जटिल खालका बिरामीहरु बढ्न थाले। यसका विज्ञहरु जटिल खालका बिरामीहरु बढ्नुको दुई वटा कारण बताउँछन्।
पहिलो, भाइरस एकदमै संक्रामक। दोस्रो, ढिला गरी अस्पताल पुग्नु।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन दोस्रो लहरमा देखिएको भाइरस निकै संक्रामक अनि घातक भन्न रुचाउँछन्।
उनी भन्छन्, ‘नेपालमा हाल देखिएको भाइरस निकै संक्रामक अझ घातक भएको संकेत गर्छ। हुन त अनुसन्धान बिना भन्न सकिदैन तर अवस्था हेर्दा यही संकेत गर्छ। त्यही माथि धेरैजसो बिरामी ढिला गरी अन्तिम अवस्था तिर मात्र अस्पताल पुग्छन्।’
हुन पनि अस्पतालहरुमा आइसीयू शय्या पाउन मुश्किल भएपछि अधिकांशजसो संक्रमित होम आइसोलेसनमै छन्। हाल देशभर १ लाख १५ हजार ५ सय ४७ संक्रिय संक्रमित छन्। जसमध्ये १ लाख ८ हजार १ सय ९८ जना त होम आइसोलेसनमै छन्। बाँकी ७ हजार ३ सय ४९ जना मात्र संस्थागत आइसोलेसनमा रहेको मन्त्रालयको तथ्यांक छ।
बिरामी जति ढिला अस्पताल पुग्छन्, उपचार प्रक्रिया पनि उती नै जटिल बन्दै जान्छ। होम आइसोलेसनमा बस्ने बिरामीहरुले आफुखुशी औषधि समेत खाने गरेको उनी बताउँछन्।
उनले भने, ‘अहिले धेरैजना संक्रमित होम आइसोलेसनमै छन्। उनीहरु ठिक होला भन्दै घरमै बस्छन्। तर जति ढिलो भयो बिरामीलाई बचाउन पनि चिकित्सकलाई गाह्रो हुन्छ।’
हुन त करिब ८० प्रतिशत संक्रमितलाई सामान्य उपचारले पनि निको हुने उनले बताए। तर पनि होम आइसोलेसनमा बसिरहँदा निरन्तर चिकित्सकको निगरानी र परामर्शमा बस्नुपर्ने उनले बताए।
‘होम आइसोलेसनमा बस्ने सबै जना चिकित्सकको परामर्श र निगरानी हुँदैनन् सामाजिक सञ्जालमा देखेको सुनेको भरमा आफुखुशी औषधि खाँदा पनि समस्या हुन सक्छ।’ उनले भने।
आइसीयू र भेन्टिलेर चाहिने संक्रमितको संख्या अहिले नै नघट्ने उनको अनुमान छ। होम आइसोलेसनमा बसेका संक्रमितहरु निरन्तर रुपमा चिकित्सकको परामर्शमा रहनुपर्ने उनको सुझाव छ।
शरीरमा अक्सिजनको अभाव भए, श्वास प्रश्वासमा समस्या भए, छाति दुखे, ओठ निलो भए तत्काल अस्पताल जानुपर्ने उनी बताउँछन्।
‘यी सबै भनेको जटिल अवस्था तिर जाँदै छ भन्ने कुरा बिरामीले बुझ्नुपर्छ।’ उनले भने, ‘यस किसिमको लक्षण देखिएर तत्काल अस्पताल जाने हो भने हुन सक्ने क्षतिलाई रोक्न सक्छौ र धेरैजनाको ज्यान जोगाउन सक्छौ।’
त्रिवि शिक्षण अस्पतालको कोभिड वार्डमा खटिरहेका डा निरज बम पनि भाइरस निकै संक्रामक भएको र बिरामी ढिला गरी अस्पताल जाँदा जटिलता बढीरहेको बताउँछन्।
त्रिवि शिक्षण अस्पतालमा डिस्चार्ज हुने बिरामीको संख्या बढीरहेपनि आइसीयू र भेन्टिलेटर चाहिने बिरामीहरुको चाप भने घट्न सकेको छैन। आइसीयू र भेन्टिलेटर अझै पनि जटिल खालका बिरामीले भरिएका छन्।
उनले भने, ‘यहाँ भर्ना हुने कतिपय बिरामीहरुलाई पनि आइसीयू र भेन्टिलेटर दिन सकिरहेका छैनौँ। आइसीयू र भेन्टिलेटरको माग अहिले पनि उत्तिनै छ।’
संक्रमितको संख्या तथ्यांकमा केही कम देखिएपनि आइसीयू र भेन्टिलेटरको माग घट्न नसकेको उनी बताउँछन्। स्वास्थ्यमा केही समस्या देखिने बित्तिकै अस्पताल पुगे कोरोनाले निम्त्याउने जटिलताबाट बचाउन सकिने उनले बताए।
‘सकेसम्म घरमै बसेर चिकित्सकको परामर्शमा बस्ने। खानपानमा ध्यान दिने। श्वास फेर्न गाह्रो भए या कुनै अप्ठ्यारो हुने बित्तिकै अस्पताल जाने। यसो गरियो भने जटिलताबाट बचाउन सकिन्छ।’ उनले भने।
हाल अस्पतालमा भर्ना हुने बिरामी निकै गम्भीर खालको मात्र भएको उनले बताए। उनका अनुसार धेरैजसो बिरामी त होम आइसोलेसनमा बस्ने गरेको र गाह्रो भएपछि मात्र अस्पताल जाने गरेका छन्।
धेरैजसो संक्रमितहरुले आफुखुशी भटाभट एन्टीबायोटिक खान थालेका छन्। उनी भन्छन्, ‘बिरामीहरुमा अहिले कति बेला कुन अवस्थामा अस्पताल जोन भन्ने जनचेतनामा कमी भएको हो की जस्तो लाग्छ।’
डा बम र डा पुनका अनुसार यी समस्या देखिए तत्काल अस्पताल जानुपर्छ :
– ज्वरो ५/६ दिनसम्म घटेन
– शरीर अनि टाउको असह्य दुखेमा
– शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा तल गए अनिवार्य रुपमा अस्पताल जाने
– श्वासप्रश्वासमा समस्या भए
– छाति दुखे
– नाडीको गति बढे
– शरीरमा कुनै पनि किसिमको अप्ठ्यारो समस्या भए
डा बम भन्छन्, ‘कतिपय बिरामीहरुको ज्वरो छैन तर टाउको दुखेको छ। बान्ता भइरहेको र शरीर दुखेर मात्र आएकाहरुमा पनि निमोनिया भइसकेको हुन्छ।’
शरीरमा अक्सिजनको मात्रा ९२ भन्दा तल झरे अनिवार्य रुपमा तत्काल अस्पताल जानुपर्ने उनी बताउँछन्।