धनगढी- धनगढी उपमहानगरपालिका वडा नम्बर २ का एक महिलामा डेढ साताअघि रुघाखोकी र ज्वरोको समस्या देखिएपछि स्वाब परीक्षणका लागि धनगढीस्थित सेती प्रादेशिक प्रयोगशाला गइन्। स्वाब दिएको केही दिनपछि उनमा कोरोना संक्रमण पुष्टि भयो। श्रीमतीलाई कोरोना संक्रमण पुष्टि भएपछि उनका श्रीमानले पनि आफ्नो स्वाब परीक्षण गरे। उनमा पनि कोरोना संक्रमण पुष्टि भयो। अहिले दुवै श्रीमान–श्रीमती होम आइसोलेसनमा छन्।
धनगढी उपमहानगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय पुरुषमा करिब तीन साताअघि कोरोना संक्रमणका मिल्दाजुल्दा लक्षण देखिएपछि उनले सेती अस्पतालको प्रयोगशालामा परीक्षणका लागि स्वाब दिए। उनको रिपोर्ट आउन तीन दिन लाग्यो। रिपोर्ट नआउँदासम्म उनी घरमा छुट्टै आइसोलेसनमा बसेनन्। घरपरिवारमै घुलमिल भइरहे। उनले स्वाब दिएको तीन दिनपछि रिपोर्ट आयो। उनमा कोरोना संक्रमण पुष्टि भयो।
ती व्यक्तिमा कोरोना पोजेटिभ भएको रिपोर्ट आएको दुई दिनपछि उनकी श्रीमतीमा पनि कोरोनाका लक्षण देखिन थाल्यो। उनकी श्रीमतिले पनि स्वाब दिइन्। उनमा पनि कोरोना संक्रमण पुष्टि भयो।
‘अहिले श्रीमतिको दोस्रो पटक स्वाब परिक्षण भयो। उनको रिपोर्ट नेगेटिभ आइसकेको छ। मलाई पनि त्यस्तो कुनै लक्षणहरू छैनन। तर, मेरो दोस्रो स्वाब परिक्षणमा पनि रिपोर्ट ‘पोजेटिभ’ आएको छ। म अहिले अलग्गै बसेको छु’ ती पुरुषले भने।
कोरोनाको दोस्रो भेरिएन्ट फैलिएसंगै पछिल्लो एक महिनादेखि धनगढीसहित कैलालीका अन्य स्थान र समग्र सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमण दर ह्वात्तै बढेको छ। भरखरै नेपालमा तेस्रो भेरिएन्ट (भारतीय भेरिएन्ट) कोरोना भाइरस भेटिएको संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार पुष्टि गरिसकेको छ। कोरोनाको तेस्रो भेरिएन्ट अझ घातक र सबै उमेर समुहका लागि उत्तिकै संक्रामक र जोखिमपूर्ण रहेको विज्ञहरूले बताइसकेका छन्।
कोरोना संक्रमण दर बढेको बढ्यै भए पनि संक्रमणको “चेन ब्रेक” गर्नेतर्फ सरकारका तर्फबाट अहिलेसम्म प्रभावकारी प्रयास भएको देखिँदैन। संक्रमितहरूलाई होम आइसोलेसनमा बस्न सरकारले यसअघि नै “अनुरोध” गरिसकेको छ, तर होम आइसोलेसन पनि प्रभावकारी हुनसकेका छैनन्।
कुनै एक जनामा कोरोना संक्रमण पुष्टि हुँदा परिवारका अन्य सदस्यहरूमा पनि संक्रमण फैलिने गरेको तथ्यांकहरूले देखाइरहेका छन्। स्वास्थ्यकर्मीहरू कोरोनाका लक्षण देखिएमा परीक्षणका लागि स्वाब दिने र रिपोर्ट नआएसम्म घरपरिवारभित्रै घुलमिल हुने गरेका कारणले पनि परिवारका अन्य सदस्यहरू पनि संक्रमित हुने समस्या बढेको बताउँछन्।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्यकर्मी कृष्ण बोहरा स्वाबको रिपोर्ट नआउन्जेल शंकास्पद संक्रमित परिवार र समुदायमा घुलमिल हुने गरेको पाइएको बताउँछन्। उनी भन्छन्– पिसिआर रिपोर्ट ढिलो गरि आउनु पनि कोरोना संक्रमण बढ्नुको अर्को कारण हो। यसको पीडा संक्रमितलाई मात्रै अनुभव हुन्छ। किनकी रिपोर्ट पोजिटिभ आएपछि मात्र सामाजिक दुरी कायम गर्ने मानसिकता देखिन्छ।
धनगढी उपमहानगरपालिकाभित्र साढे पाँच हजार बढीमा कोरोना संक्रमण पुष्टि भएकोमा अहिले दुई हजार पाँच सय ६० सक्रिय संक्रमित रहेका छन्। उपमहानगरपालिकामा अहिलेसम्म कोरोना संक्रमणबाट ६५ जनाको मृत्यु भइसकेको छ।
धनगढी उपमहानगरपालिकामा वडा नम्बर ५, १, २, ३ र ४ मा सबैभन्दा बढी कोरोना संक्रमित रहेको उपमहानगरपालिकाको तथ्यांकमा उल्लेख छ। उपमहानगरपालिकाको तथ्यांक अनुसार सबैभन्दा बढी वडा नम्बर ५ मा छ सय ६४ जना कोरोना संक्रमित रहेका छन्।
त्यस्तै, वडा नम्बर १ मा तीन सय ६०, वडा नम्बर २ मा तीन सय ३८, वडा नम्बर ३ मा तीन सय २० र वडा नम्बर ४ मा तीन सय १० जना सक्रिय संक्रमित रहेका छन्। धनगढी उपमहानगरपालिकाभित्र अहिलेसम्म कोरोना संक्रमणबाट सबैभन्दा बढी मृत्यु वडा नम्बर २ मा भएको छ। उपमहानगरपालिकाले उपलब्ध गराएको तथ्यांक अनुसार वडा नम्बर २ मा हालसम्म कोरोना संक्रमणबाट १३ जनाको मृत्यु भइसकेको छ।
धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव लक्ष्मीराज उपाध्याय भन्छन्– उपमहानगरपालिकाभित्र पढेलेखेका, सरकारी कर्मचारी तथा आफूलाई बुद्धिजीवी भन्न रुचाउनेहरूमा नै बढि संक्रमण देखिएको छ। कोरोना संक्रमण पुष्टि भएका व्यक्तिहरू ‘होम आइसोलेसन’ मा रहेको, तर आफूलाई एकान्तबासमा राख्नु भन्दा पनि विभिन्न बहानामा खुलेआम घुम्ने गरेको पाइन्छ।
‘संक्रमित श्रीमतीको दोस्रो स्वाब परिक्षणका लागि श्रीमानले मोटरसाइकलमा प्रयोगशालामा ल्याउने गरेको पनि भेटिएको छ। संक्रमण पुष्टि भएका व्यक्तिहरू मर्निङ वाकका नाममा सडकमा घुमफिर गरिरहेको पाइन्छ’ उपमहानगरपालिकाका स्वास्थ्य शाखाका अहेव उपाध्यायले भने– उनीहरूलाई कसरी सचेत गराउने? भन्ने जल्दोबल्दो सवाल छ। यस्तै अवस्था रहिरह्यो भने कोरोना संक्रमणको ‘चेन ब्रेक’ गर्न निकै कठिनाई हुन्छ।
अहेव उपाध्यायले कोरोना संक्रमण पुष्टि भएकाहरूलाई होम आइसोलेसनबाट बाहिर सुरक्षित आइसोलेसनमा राख्नेतर्फ तत्काल प्रबन्ध गर्नुपर्ने बताए।
धनगढी उपमहानगरपालिकाले होम आइसोलेसनमा रहेका संक्रमितहरूसंग फोन सम्पर्क गर्दै घरभित्र छुट्टै बस्न तथा परिवार र समाजलाई सुरक्षित राख्न योगदान पुर्याउन आग्रह गर्दै आएको छ।
संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार प्रेस विज्ञप्ती जारी गर्दै “कोरोना संक्रमितहरू सार्वजनिक स्थानमा खुलेआम हिँडीरहेको पाइएको” प्रति चिन्ता व्यक्त गरेको छ। विज्ञप्तीमा स्वास्थ्य मन्त्रालयले भनेको छ– सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरसहित देशभरका २० भन्दा बढी जिल्लामा कोरोना संक्रमितहरू खुलेआम हिँडीरहेको पाइएको छ। यसरी संक्रमितहरू खुलेआम हिँड्दा संक्रमणको दर कम गर्न चुनौती थपिएको छ।
धनगढी उपमहागनरपालिकाको स्वास्थ्य शाखाका अनुसार कोरोनाको दोस्रो लहर शुरु भएयता धनगढीमा स्वाब परिक्षण गराउनेको कुल संख्यामा ५० प्रतिशतमा कोरोना संक्रमण पुष्टि भइरहेकोमा एक सातायता यो दर झन् बढेको छ। उपमहानगरपालिकामा एक सातायता स्वाब परिक्षण गराएकामध्ये ७५ प्रतिशतमा संक्रमण पुष्टि भइरहेको छ। अहेव उपाध्यायले भने– एक हप्ता यता जति पनि स्वाब दिन आइरहेका छन्, तिनिहरूमध्ये दुई तिहाई बढिमा संक्रमण पुष्टि भइरहेको छ।
धनगढी उपमहानगरपालिकामा दैनिक सरदर डेढ सयको हाराहारीमा कोरोना संक्रमित थपिदै गएका छन्। धनगढी उपमहानगरपालिकामा कोरोना संक्रमण पुष्टि भएका अधिकाँस व्यक्तिहरू होम आइसोलेसनमै बसेका छन्। ती संक्रमितहरूलाई घरभित्रै बस्न, स्वस्थकर खाना खान, योग गर्न लगायतका सुझाव उपमहानगरपालिकाभित्रका स्वास्थ्यकर्मीहरूले आग्रह र सुझाव दिइरहेका छन्। तर, संक्रमितहरू कसरी घरभित्र बसिरहेका छन्? भन्ने कुनै प्रभावकारी अनुगमन भइरहेको छैन।
धनगढी उपमहानगरपालिकाका प्रवक्ता तथा वडा नम्बर १ का वडाध्यक्ष सन्तोष मुडभरीले पनि केही संक्रमितहरू खुला रुपमा सडकमा घुम्ने गरेको पाइएको बताए। ‘अहिले धेरै मानिस सचेत भइसकेका छन्। तर, केही संक्रमितहरू खुला घुमिरहेको भन्ने सुनिएको छ। संक्रमित आफै सचेत हुनुपर्छ’ उनले भने– हामीले सबैको घर–घरमा निगरानी राख्न सक्दैनौ। को कति खेर घरबाट बाहिर निस्कन्छ, त्यो पनि थाहा हुँदैन। परिवार र समुदायलाई सुरक्षित राख्ने हो भने संक्रमित आफैले सर्तकता अपनाउनुको विकल्प छैन।