काठमाडौं - ‘कुनै पनि औषधिको उत्पादन, बिक्रि वितरण, डिस्पेन्सिङ्ग, सञ्चय वा निकासी–पैठारी गर्नका लागि त्यस्तो कामसित सम्बन्धित तोकिए बमोजिमको जनशक्ति तथा अन्य आवश्यक साधन पर्याप्त मात्रामा नजुटाई औषधिको उत्पादन, बिक्रि वितरण गर्न हुँदैन।’
औषधि ऐन २०३५ को परिच्छेद ७ को दफा २८ ले गरेको व्यवस्था हो यो।
औषधि ऐनले मात्र नभई औषधि बिक्रि वितरण संहिता २०७१, राष्ट्रिय स्वास्थ्य नीति २०७१ र अस्पताल फार्मेसी सेवा निर्देशिका २०७२ मा अस्पतालमा औषधिको अनुमान, खरिद र वितरण प्रक्रियामा दक्ष फर्मासिस्ट जनशक्तिको अनिवार्य व्यवस्था हुनुपर्ने उल्लेख छ।
अर्थात् कुनै पनि अस्पतालको फार्मेसी तथा फार्मेसी भण्डारण शाखामा दक्ष फर्मासिस्ट अनिवार्य रुपमा हुनुपर्छ।
कानूनी व्यवस्था अनुसार गैर फर्मासिस्टले अस्पतालको फार्मेसी तथा फार्मेसी भण्डारको जिम्मेवारी लिन पाइदैन। यदी त्यहाँ गैर फर्मासिस्टको उपस्थिति भए गैरकानूनी ठहरिन्छ।
तर भरतपुर अस्पतालको फार्मेसी भण्डारण शाखा तिनै नीति, संहिता र निर्देशिकाले तोकेको व्यवस्था विपरित वर्षौदेखि अहेवको जिम्मेवारीमा सञ्चालन हुँदै आएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २०७७ साल मंसिरमा भरतपुर अस्पतालको स्थायी दरबन्दीमा सबिन लामिछानेलाई फार्मेसी सुपरभाइजरको जिम्मेवारी तोकेर पोखराबाट चितवन पठाएको थियो।
अस्पतालको भौतिक एवं अन्य जिन्सी सामान लगायत औषधिको जिन्सी अभिलेख राख्ने, सामानको सुरक्षाको प्रबन्ध मिलाउने, आवश्यकता अनुसार अस्पताल सञ्चालनका लागि जिन्सी सामान उपलब्ध गराउने काम फार्मेसी सुपरभाइजरको क्षेत्रभित्र पर्दछ।
फार्मेसी सुपरभाइजरको जिम्मेवारी पाएका सबिन लामिछानेलाई फार्मेसी स्टोरको जिम्मेवारीबाट भने बञ्चित गराउँदै औषधि बिक्रि वितरणमा मात्र सीमित गरिएको छ। आफूलाई फार्मेसी प्रमुखको जिम्मेवारी दिएर औषधि बिक्रि वितरणमा मात्र केन्द्रित गरिएको उनी बताउँछन्।
उनले भने, ‘स्वास्थ्य मन्त्रालयले मलाई फार्मेसी सुपरभाइजरको जिम्मेवारी दिएर यहाँ पठाएको हो। फार्मेसी सुपरभाइजरको जिम्मेवारी फार्मेसी स्टोर, औषधिको बिक्रि वितरण भण्डार लगायत हुन्छ। तर मलाई यहाँ औषधि बिक्रि वितरणमा मात्र राखिएको छ।’
अध्ययन प्रतिवेदनलाई पनि बेवास्ता
भरतपुर अस्पतालमा हाल स्थायी, करार र विकास समितको करारमा गरी २१ जना फर्मासिस्ट कार्यरत छन्। अस्पतालमा लामिछानेको पदस्थापन भएको सात महिना भयो।
अस्पताल प्रशासनले नियमको उल्लंघन गर्दै आफू अनुकुल अयोग्य व्यक्तिलाई फार्मेसी स्टोरको जिम्मेवारी दिइएको त्यहाँका फर्मासिस्टहरुको आरोप छ। फार्मेसी स्टोरमा अनधिृत व्यक्ति भएकै कारण अस्पतालमा विभिन्न औषधिको अभाव हुने गरेको उनीहरु बताउँछन्।
भन्छन्, ‘फार्मेसी स्टोरमा ज्ञान नै नभएका व्यक्ति छन्। त्यसैले पनि यहाँ औषधिको अभाव लगायत समस्या छ। बिरामीहरुबाट धेरै गुनासो आउने गरेका छन्।’
यतिसम्म की उनीहरुले अस्पताल विकास समितिका सदस्य केशव देवकोटाको संयोजकत्वमा आठ सदस्यीय ‘वस्तु तथा सेवा खरिद प्रणाली, फार्मेसी व्यवस्थापन, भण्डार र आपूर्ति व्यवस्थापन प्रणाली सम्बन्धी अवलोकन तथा प्रतिवेदन तयारी उपसमिति’ गठन गरे।
केन्द्रीयस्तरका अस्पतालहरुमा वस्तु तथा सेवा खरिद प्रणाली, फार्मेसी व्यवस्थापन एवं सञ्चालन, भण्डार र आपूर्तिको व्यवस्थापन कसरी भइरहेको छ भनेर समेत अध्ययन गर्न उपसमिति बनाइएको लामिछानेले बताए।
ती उपसमितिले वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, शहीद गंगालाल राष्ट्रिय ह्रदय केन्द्र र बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा अध्ययन गर्यो। यी अस्पतालहरुमा पनि औषधिको भण्डार, बिक्रि वितरण एवं व्यवस्थापनको काम फर्मासिस्टले नै गरेको र जिम्मेवारी पनि फार्मासिस्टलाई दिनुपर्ने निष्कर्ष निकाल्यो।
अस्पताल विकास समिति, चिकित्सक तथा कर्मचारीहरुले मिलेर तयार पारेको अध्ययन प्रतिवदेनले दिएका नौ वटा निष्कर्ष तथा सुझावहरुमध्ये औषधिको भण्डारण, बिक्रि वितरण एवं व्यवस्थापनमा फर्मासिस्टको भूमिकालाई बढी जिम्मेवारी र प्रभावकारी बनाउने पनि एक थियो।
उक्त प्रतिवेदन अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा जगन्नाथ तिवारीलाई २०७७ फागुन १३ गते बुझाइएको थियो। प्रतिवेदन तयार पार्दा र बुझ्दा अस्पतालको मेसु डा तिवारी नै थिए। समितिले तयार पारेको प्रतिवेदन बुझेको पनि तीन महिना पुग्न लाग्यो। तर प्रतिवेदनले निकालेको निष्कर्ष र सुझाव हालसम्म पनि कार्यान्वयन गरिएको छैन।
अनि भयो आन्दोलनको सुरुवात
अस्पतालका विकास समिति र कर्मचारी नै सहभागी भएर तयार पारेको प्रतिवदेनलाई समेत बेवास्ता गरिएको कर्मचारीहरु बताउँछन्। आफुहरुले पटक पटक ती निष्कर्ष र सुझाव कार्यान्वयन गर्न आग्रह गरेपनि अस्पताल प्रशासनले बेवास्ता गर्दै आएको लामिछाने बताउँछन्।
उनले भने, ‘अस्पतालको विकास समिति र कर्मचारीहरु मिलेर गरेको अध्ययन प्रतिवेदनले दिएका सुझाव र निष्कर्ष समेत कार्यान्वयन गरिएको छैन। यही प्रतिवेदनले दिएका निष्कर्ष लागू गर्न हामीले पटक पटक ध्यानाकर्षण गर्दै आएका छौ।’
अस्पतालको फार्मेसी स्टोरमा फर्मासिस्ट नै हुनुपर्ने माग गर्दै उनीहरुले पटक पटक ध्यानाकर्षण गराए। अस्पतालाई आग्रह गरे। तर सुनुवाई भएन। पटक पटक आग्रह र ध्यानाकर्षणबाट पनि कुनै समाधान ननिस्कीएपछि आफूहरु आन्दोलनमा उत्रन बाध्य भएको आन्दोलनका संयोजक एवं अस्पतालका क्लिनिकल फर्मासिस्ट डा शैलेस बसेलले बताए।
उनले भने, ‘हामीले पटक पटक अस्पताल प्रशासनको ध्यानाकर्षण गरायौँ। तर कुनै सुनुवाई भएन। आश्वासन मात्र दिने गरेका छन्। त्यसैले हामी शान्तिपूर्ण आन्दोलनमा जान बाध्य भयौ।’
उनीहरुले अस्पतालको सेवामा कुनै अवरोध भने गरेका छैनन्। विरोध स्वरुप हातमा कालो पट्टी लगाएर सेवा दिइरहेको एक साता पुगेको छ। ६ बुँदे माग सहित उनीहरु जेठ २ गतेदेखि शान्तिपूर्ण आन्दोलनमा छन्।
६ बुँदे माग
१. जहाँ औषधि त्यहाँ फर्मासिस्ट भन्ने विश्वव्यापी नाराको अक्षरस कार्यान्वयन गर्नुपर्ने
२. फार्मेसी व्यवस्थापनका लागि प्र.मे.सु समक्ष पेश गरिएको भ्रमण अध्ययन प्रतिवेदन तत्काल लागु गर्नुपर्ने
३. अस्पताल फार्मेसी स्टोरको जिम्मेवार पदमा नन फर्मासिस्ट चाँहिदैन।
४. स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको फार्मेसी जनशक्तिको कार्यविवरण अनुसारको जिम्मेवारी तत्कालै दिइनुपर्ने
५. राइट म्यान इन राइट प्लेस को अवधारणा अनुसार विज्ञाताको कदर गर्नुपर्ने
६. औषधि एवं फार्मेसी सञ्चालन सम्बन्धी बनेका सरकारको ऐन÷नीति÷नियम÷कार्यविधि बमोजिम अस्पतालको फार्मेसी सञ्चालन गर्नुपर्ने
आन्दोलनको संयोजन गरिरहेका सातौँ तह अधिकृत करार (मन्त्रालय) बसेलको हाल औषधि व्यवस्था विभागमा सरुवा गरिएको छ। भरतपुर अस्पतालमा दुई वर्षको करार अवधि भएपनि ६ महिनामै सरुवा भएको उनी बताउँछन्। आन्दोलनलाई कमजोर बनाउन गलत मनसायले पूर्व जानकारी बिना नै कर्मचारीको प्रभावमा सरुवा गरिएको उनको भनाई छ।
‘म यो अस्पतालमा आएको ६ महिना मात्र भएको छ। मेरो २ वर्षको अवधि हो। तर कर्मचारीहरुको मिलेमतोमा मलाई सरुवा गरियो। तर म जहाँ भएपनि आफ्नो पेशाको हकहितका लागि लडिरहन्छु।’ उनले भने।
अस्पताल भन्छ- १०/१२ वर्षदेखि नन फर्मासिस्टले हेरेकै हो
अस्पतालका मेसु डा जगन्नाथ तिवारी आन्दोलित फर्मासिस्टहरुको माग प्रति सकारात्मक रहेको बताउँछन्। आफूहरु उनीहरुको माग सम्बोधन गर्ने प्रक्रियामै रहेको उनले बताए।
उनी भन्छन्, ‘उहाँहरुले भनेको माग जायज छ। अस्पतालले सम्बोधन गर्ने क्रममै थियो। हामी कोभिडसँग लडिरहेको अवस्था भएकाले केही समय लागेको हो। केही समय धैय गर्नुस् भनेर भन्दा भन्दै पनि उहाँहरु आन्दोलनमा जानुभयो।’
अस्पतालको फार्मेसी स्टोर वर्षौदेखि नन फर्मासिस्टले हेर्ने गरेकाले कुनै फरक नपर्ने मेसु तिवारीको संकेत थियो। पहिले कर्मचारी दरबन्दीमा नहुँदा नन फर्मासिस्ट राख्नुपरेको उनी बताउँछन्।
‘१०/१२ वर्षदेखि अरुले चलाइरहेकै हो। अहिले मात्र आएर तुरुन्तै यो परिवर्तन हुनुपर्छ भन्ने उहाँहरुको माग हो। तर फार्मेसी स्टोर अरु मेडिकल पर्सनले हेरिरहेको अवस्था हो’ उनले भने, ‘अरु जिल्लाहरुमा पनि लामो समयदेखि नन फर्मासिस्टले पनि हेरिरहेकै छ। पहिले कर्मचारी नभएको र अहिले भएकाले हामीहरुले पाउनुपर्छ भन्ने माग हो।
उनीहरुको माग विस्तारै पुरा हुने उनी आश्वासन दिन्छन्। कोरोना महामारीको नियन्त्रण तथा उपचारमा केन्द्रित हुनु परेकाले केही समय ढिलाई भइरहेको मेसु तिवारीको भनाई छ।
अस्पताललाई पत्राचार गर्दै नेपाल फार्मेसी परिषद
देशभरका फर्मासिस्टको अभिभावकको रुपमा रहेको नेपाल फार्मेसी परिषदले भरतपुर अस्पताललाई पत्राचार गर्ने तयारी गरेको छ।
अस्पताल फार्मेसी सञ्चालन गर्दा अस्पताल फार्मेसी निर्देशिकाको पालना भए/नभएको, अस्पतालको धारणा र हालको सञ्चालन विधि सम्बन्धी सबै जानकारी गराउन परिषदले अस्पताललाई पत्राचार गर्दैछ। अस्पताललाई आइतबारसम्म पत्राचार गरिने परिषदका रजिष्ट्रार संजीव कुमार पाण्डेयले बताए।
उनले भने, ‘अस्पताल फार्मेसी भनेको परिषदको कार्यक्षेत्र भित्र पर्ने विद्या हो। नेपाल फार्मेसी ऐन २०५७ अनुसार पनि त्यहाँ सञ्चालित फार्मेसी व्यवस्थित, वैज्ञानिक र कानूनी रुपमा सञ्चालित हुनुपर्छ। हाल त्यहाँ अस्पताल फार्मेसी के कसरी सञ्चालन भइरहेको छ भनेर हामीले पत्राचार गर्दैछौ।’
अस्पताल फार्मेसीहरु व्यवस्थित, वैज्ञानिक र कानूनी ढंगले मात्र सञ्चालन गर्न पाउने रजिष्ट्रार पाण्डेयले बताए। भरतपुर अस्पतालमा प्रचलित कानून, अस्पताल फार्मेसी निर्देशिका २०७२, जनशक्ति सम्बन्धी व्यवस्था र अस्पताल फार्मेसी के कसरी सञ्चालन भइरहेको छ भन्ने बारे विस्तृत जानकारी माग्ने तयारी गरेको छ।