काठमाडौं - पोखरास्थित संक्रामक तथा सरुवा रोग अस्पतालले हालसम्म ४८२ जना कोरोना संक्रमितलाई निको बनाएर घर पठाउन सफल भएको छ। हालसम्म भर्ना भएका ५७४ मध्ये ४८२ डिस्चार्ज र ७ जना संक्रमितको अस्पतालमै मृत्यु समेत भयो।
हाल अस्पतालमा उपचाररत ५० जना संक्रमितलाई निको बनाउन यो अस्पताल र यहाँका स्वास्थ्यकर्मी दिनरात खटिरहेका छन्। तर यो त्यति सहज भने छैन। सीमित स्रोत साधनका बावजुद पनि यो अस्पताल निरन्तर संक्रमितको उपचारमा खटिरहेको छ।
कोरोना संक्रमणको दर बढ्दै गएपछि गत साउनमा गण्डकी प्रदेश सरकारले संक्रामक तथा सरुवा रोग अस्पताल सञ्चालनमा ल्यायो।
पोखरा महानगरपालिका ३० स्थित लेखनाथ सामुदायिक लायन्स अस्पतालको स्वामित्व लिँदै गण्डकी सरकारले संक्रामक तथा सरुवा रोग अस्पतालको रुपमा स्थापना गरेको हो। सात वटै प्रदेशमा ५० शय्याको सरुवा रोग अस्पताल स्थापना गर्ने संघीय सरकारको घोषणा अनुरुप नै यो अस्पतालको स्थापना भयो।
त्यसपछि यो अस्पतालमा कोरोना संक्रमितको उपचार हुँदै आएको छ। अन्य अस्पताल जस्तै यहाँ पनि छुट्याइएका शय्या बिरामीले भरिएका छन्। नयाँ बिरामी आए भर्ना गर्न सकिने अवस्था छैन।
अस्पतालका कार्यकारी निर्देशक डा विकास गौचनका अनुसार कोरोना संक्रमितको उपचारका लागि सात आइसीयू सहित ५० शय्याको व्यवस्था गरेको छ। त्यो पनि हाल सबै बिरामीले भरिएका छन्।
उनी भन्छन्, ‘हामीले कोरोना संक्रमितका लागि ५० बेड छुट्याएको छौँ। तर अहिले सबै बेड बिरामीले भरिएका छन्। बिरामीको चाप अनुसार यो पर्याप्त छैन।’
सीमित क्षमता भएका कारण दैनिकजसो १० देखि १५ जना बिरामीलाई फर्काउनुपर्ने बाध्यता रहेको उनी बताउँछन्।
शय्याकै लागि दैनिक २५ वटा बढी फोन आउने गरेको बताउँदै उनी भन्छन्, ‘कति बिरामीहरुलाई हामीले नचाहँदा नचाहँदै पनि फर्काउनु परेको छ। शय्याकै लागि मलाई दिनमा कयौँ पटक फोन आउँछ। तर के गर्नु खाली छैन भन्नुपर्छ।’
सुरुवाती दिनमा यो अस्पतालमा लक्षण नभएका तथा सामान्य लक्षण भएका बिरामीको मात्र उपचार गरिन्थ्यो। तर संक्रमितको संख्या बढ्दै गएपछि जटिल खालका बिरामीको पनि उपचार सुरु गरियो।
बिरामीलाई समयमै उपचार सेवा दिनु सबैभन्दा ठूलो चुनौतीको रुपमा रहेको डा गौचन बताउँछन्।
उनी भन्छन्, ‘सही बिरामीलाई सही समयमा सही उपचार दिनु सबैभन्दा ठुलो चुनौती हो। किनभने सही समयमा उपचार नपाउँदा नै बिरामीहरुको मृत्यु भइरहेको छ।’
अधिकांशजसो बिरामी अवस्था जटिल भएपछि मात्र अस्पताल आउने गरेको उनी बताउँछन्। संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमै बस्ने गरेको र श्वासप्रश्वासमा समस्या भएपछि मात्र अस्पताल आउने गरेको उनले बताए।
उनका अनुसार हाल मृत्युदर बढ्नुमा प्रमुख दुई कारणहरु छन्। एक, बिरामी ढिलो अस्पताल पुग्नु र दोस्रो, समयमै शय्या नपाउनु।
उनले भने, ‘बिरामीहरु ढिलो अस्पताल पुग्छन्। अक्सिजन र औषधि पाउन पनि ढिलो भइसकेको हुन्छ। त्यही माथि बिरामीहरुले उपयुक्त हेरचाह पनि पाएका हुँदैनन्। अस्पताल ढिलो गएपछि शय्या पाउँदैन। यसले गर्दा पनि कोरोनाका बिरामीको बढी मृत्यु भइरहेको छ।’
कोरोना संक्रमितको उपचारका लागि यहाँ चिकित्सक, नर्सिङ स्टाफ सहित ४० जना कर्मचारी छन्। तर यी कर्मचारीहरु बिरामीको चाप अनुसार पर्याप्त नभएको उनी बताउँछन्। दक्ष जनशक्तिको अभावका कारण नै धेरै बिरामीलाई सेवा दिन नसकिएको उनले बताए।
बिरामीको चाप अनुसार अस्पतालको शय्या र जनशक्ति बढाउन आवश्यक रहेको उनले बताए। हालको अवस्थामा कम्तीमा पनि एक सय शय्या सञ्चालन गर्न पाए धेरै बिरामीहरुले सेवा लिन उनी बताउँछन्। हाल अस्पतालमा जनशक्तिको व्यवस्थापन र शय्या विस्तारका लागि पहल गरिरहेको उनले बताए।
सीमित जनशक्ति भएको भन्दै यस अस्पतालले थप ४७ जना कर्मचारी थप्ने तयारी गरेको छ। अस्पतालले अस्थायी दरबन्दीमा ३० जना नर्सिङ स्टाफ, प्रयोगशाला, फार्मेसी, हेल्थ असिस्टेण्ट गरी ४७ जना कर्मचारी थप्न लागेको उनले बताए।
कर्मचारीसँगै आफुहरुले थप ५० शय्या थप्ने योजना रहेको उनले बताए। सरकारी प्रक्रियाबाट जाँदा लामो समय लाग्ने भएकाले हाल तयारी मात्र भएको उनी सुनाउँछन्।
उनले भने, ‘यो ५० शय्या फास्ट ट्रयाकबाट थप्न मन थियो। किनकी ऐन र सरकारी प्रक्रियाबाट जाँदा लामो समय लाग्छ। तर बिरामीहरुलाई आवश्यकता अहिले छ। फास्ट ट्रयाकमा काम गर्न हामीलाई सार्वजनिक खरिद ऐनले बाधिदिएको छ।’
आफूहरुले फास्ट ट्रयाकबाट शय्या थप्न नसक्ने भएकाले कुनै दाताले प्रिफ्याब अस्पताल बनाइ दिन उनी दाताहरुलाई आग्रह गर्छन्। जग्गा आफुहरुसँग भएकाले दाताको खोजीमा रहेको उनी बताउँछन्।
नेपालको पुरानो स्वास्थ्य प्रणाली र संरचनाका कारण पनि हाल कोरोना नियन्त्रणमा समस्या भइरहेको उनको अनुभव छ।
‘जसोतसो चल्छ। एउटा अस्पताल बनाउ, एक दुई जना डाक्टर अनि स्टाफ नर्स पठाइदिम। त्यसपछि जसोतसो चल्छ नी भन्ने सोचका कारण नै महामारी नियन्त्रणमा समस्या हुने गरेको छ’ उनले भने।
अस्पतालहरुमा आइसीयू, भेन्टिलेटरको व्यवस्था गरेर मात्र नभई सोही अनुसार दक्ष जनशक्तिको पनि आवश्यकता पर्ने उनी बताउँछन्। सरकारले दक्ष जनशक्ति उत्पादनमा जोड दिनुपर्ने उनले बताए।
उनका अनुसार नेपालको स्वास्थ्य प्रणालीलाई बलियो बनाउन गहन अध्ययनको खाँचो छ। उनले भने, ‘आइसीयू र भेन्टिलेटरको व्यवस्था गरेर मात्र हुँदैन। त्यसलाई चलाउन सक्ने दक्ष जनशक्ति चाहिन्छ। सेवाको गुणस्तर कस्तो हुनुपर्छ लगायत विषयमा यहाँ अध्ययन नै भएन। यही संरचना र प्रणालीको नतिजा नै हामीले भोगिरहेका छौँ।’
कोरोना महामारीबाट पाठ सिक्दै सरकार स्वास्थ्य प्रणालीलाई बलियो बनाउन लाग्नुपर्ने सुझाव दिन्छन् डा गौचन। अस्पतालको सेवालाई चुस्त र गुणस्तरीय बनाउनुपर्ने उनले बताए।
उनी भन्छन्, ‘हामीले महामारीबाट सिक्नुपर्छ। हाम्रो क्षमता के हो? क्षमता विस्तारमा हामी कहाँ कहाँ चुक्यौं? दक्ष जनशक्तिलाई काम गर्ने वातावरण कत्तिको बनाएका छौं? स्वास्थ्यलाई आम पहुँचमा ल्याउन अझै पनि आवश्यक छ।’