काठमाडौं - ‘निमोनिया विरुद्धको खोपले कोरोना भाइरसले गराउने निमोनियाबाट बचाउँछ?’
छातिरोग विशेषज्ञ डा निरज बमलाई अहिले धेरैजसोले सोधिरहने प्रश्न हो यो। बिरामीले प्रत्यक्ष रुपमा भेट्दा होस् या टेलिफोन सम्पर्कबाट उनलाई दैनिकजसो यो प्रश्न सोधिरहन्छन्।
बिरामीको यो प्रश्नमा डा बमको एउटै जवाफ हुन्छ, ‘निमोनिया विरुद्धको खोपले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन।’
निमोनिया विरुद्ध लगाउने खोप र कोरोना भाइरसले गराउने निमोनियाबीच कुनै सम्बन्ध नभएको उनी बताउँछन्। ब्याक्टेरियाले गराउने निमोनियाका लागि मात्र खोपले काम गर्ने उनले बताए।
उनी भन्छन्, ‘निमोनियाका लागि अहिले भनएिको जुन खोप छ त्यसले ब्याक्टेरियल निमोनियाका लागि काम गर्ने हो। कोरोनाले गराउने निमोनिया भनेको भाइरल निमोनिया हो। त्यसैले यो खोपसँग यसको कुनै सम्बन्ध छैन।’
ब्याक्टेरियाले गराउने र कोरोना भाइरसले गराउने निमोनिया फरक प्रकृतिको भएको उनले बताए।
उनले भने, ‘अहिले यो विषयमा धेरैको जिज्ञासा रहेछ। मलाई धेरैले यो प्रश्न गरिरहनुहुन्छ। कतिले त आफूखुशी खोप लगाएर पनि आएका हुन्छन्।’
सामान्यतया निमोनिया भनेको फोक्सोमा हुने कुनै पनि किसिमको संक्रमण हो। त्यो संक्रमण सधैँ एउटै कारणले हुँदैन। ब्याक्टेरियल, भाइरल र फंगसका कारणले फोक्सोमा संक्रमण भइ निमोनिया हुन सक्छ।
निमोनिया हुनुको कारण र प्रकृति फरक हुने भएकाले उपचार विधि र यसमा लगाइने खोप पनि फरक हुन्छन्। तर अहिले कोरोना संक्रमितको मृत्युको प्रमुख कारण भाइरसले गराउने निमोनिया बनेको छ।
कोरोना संक्रमणपछि हुने निमोनियाले नै अधिकांशको ज्यान लिने गरेको छ। यही निमोनियाबाट बच्न भन्दै हाल केही व्यक्तिहरुले बुझ्दै नबुझी निमोनिया विरुद्धको खोप लगाउन थालेका छन्। जुन विलकुलै गलत भएको चिकित्सक बताउँछन्।
हाल कोरोना संक्रमितमा हुने गरेको निमोनिया भनेको भाइरल निमोनिया हो। जुन कोरोना भाइरसले गराउँछ। तर निमोनिया विरुद्ध लगाइने खोप भनेको ब्याक्टेरियल निमोनियाबाट बच्न लगाइने हो। जसले कोरोनाले गराउने निमोनियाबाट बचाउँदैन।
निमोनिया विरुद्धको खोप स्ट्रेप्टोकोकस निमोनिया नामक ब्याक्टेरियाका लागि मात्र भएको वीर अस्पतालका छातिरोग विशेषज्ञ डा अशेष ढुंगाना बताउँछन्। यो खोपले कोरोनाले गराउने निमोनियाबाट नबचाउने उनले जानकारी दिए।
यो खोप पनि सबै व्यक्तिहरुलाई लगाउन मिल्दैन। यसका लक्षित जोखिम वर्गलाई मात्र निमोनिया विरुद्धको खोप दिइने गरेको उनले बताए।
६५ वर्ष माथिका, दीर्घश्वास प्रश्वास सम्बन्धी रोग भएका, दीर्घ मुटुरोग, मधुमेह, डायलासिस गरिरहेका र क्यान्सरका बिरामीका लागि मात्र यो खोप लगाइने गरिएको उनले बताए। यी बिरामीहरुलाई ब्याक्टेरियल निमोनिया हुने जोखिम धेरै हुने भएकाले निमोनिया विरुद्धको खोप लगाइने हो।
उनले भने, ‘निमोनिया विरुद्धको खोप सबैलाई लगाउँदैनौ। जोखिममा रहेका लक्षित वर्गहरुलाई मात्र लगाउँछौ। तर यो खोप र कोरोनाले गराउने निमोनिया फरक कुरा हो।’
कोभिडमा देखिने निमोनिया कोरोना भाइरसले गराउने भएकाले यो खोपले कोरोनाले गराउने निमोनियाबाट बचाउन नसक्ने उनी बताउँछन्।
धेरैजसोले निमोनिया भन्ने बित्तिकै एउटै किसिमको भन्ने बुझाईले गर्दा पनि यस्तो भ्रम सिर्जना भएको उनले बताए। तर सबै निमोनियाहरु एउटै नहुने उनले बताए। निमोनियाको प्रकृति अनुसार यसको उपचार हुने उनले जानकारी दिए।
‘सबै निमोनिया एउटै हुँदैन’ उनले भने, ‘निमोनिया पनि ब्याक्टेरियल, भाइरल र फंगल निमोनिया हुन्छ। के कारणले निमोनिया भएको हो। त्यही अनुसार उपचार हुन्छ।’
कतिपय व्यक्तिहरुले कोभिड निमोनियामा धेरै एन्टीबायोटिक पनि खाने गरेका छन्। तर कोभिड निमोनियामा धेरै एन्टीबायोटिकको प्रयोग गलत भएको उनी बताउँछन्। एन्टीबायोटिक ब्याक्टेरियल निमोनियामा मात्र प्रभावकारी हुने उनले बताए।
अस्पतालसम्म पुग्दा कति बिरामीले त आफूखुशी खोप समेत लगाएर आउने गरेको उनले बताए। तर आफूखुशी निमोनियाको खोप लगाउन नहुने बताउँदै उनी भन्छन्, ‘आफैंले निर्णय गरेर यो खोप लगाउनु हुँदैन। यो खोप सबैलाई लगाउन मिल्दैन। जोखिम समूहका परेका व्यक्तिले स्वास्थ्यकर्मीको परामर्शमा मात्र लगाउनुपर्छ।’
कुनै पनि खोपको आफ्नै साइड इफेक्ट भएकाले सधै स्वास्थ्यकर्मीको सल्लाहमा मात्र खोप लगाउन उनको सुझाव छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन पनि निमोनिया विरुद्धको खोप र कोरोनाले गराउने निमोनियाबीच कुनै सम्बन्ध नभएको स्पष्ट पार्छन्।
उनले भने, ‘निमोनिया भएकाहरुमा सेकेण्डरी संक्रमण अर्थात् ब्याक्टेरियल संक्रमण भयो भने मात्र यसले कभरअप गर्छ भन्ने हो। यो खोपले सिधै कोरोना भाइरस विरुद्धमा काम गर्ने होइन। तर पछि हुन सक्ने ब्याक्टेरियल संक्रमण विरुद्ध काम गर्छ भन्ने अवस्था हो।’
कोभिडका बिरामीमा पछि ब्याक्टेरियल निमोनिया पनि देखिने गरेको विभिन्न अनुसन्धानले देखाएको उनी बताउँछन्। तर यो खोप लगाउँदैमा कोरोनाले गराउने निमोनियाबाट बच्न सकिने भ्रममा नपर्न उनको आग्रह छ।
‘कोरोनाले गराउने निमोनियालाई यो खोपले बचाउँदैन। तर ब्याक्टेरियाले गराउने निमोनियाबाट मात्र बचाउने हो। यो विषयमा स्पष्ट हुनुपर्छ’ उनले भने।