काठमाडौं - देशका विभिन्न अस्पतालहरु कोरोना संक्रमितले भरिएका छन्। तर केही अस्पतालहरुले कोरोना संक्रमित भन्ने बित्तिकै गेटबाटै फर्काउने गरेका छन्। सामान्य अवस्था भएका कोरोना संक्रमितले अन्य उपचार पाउन सहज छैन। यो अहिले धेरै बिरामीको साझा समस्या बनेको छ।
यस्तो समस्या झेल्ने बिरामीहरुको भीड कम छैन। त्यही भीडमध्येका एक हुन्, जोरपाटीका सुरज भट्टराई। सामान्य पेट दुखाईको उपचारका लागि पनि उनले धेरै दौडधुप गर्नुपर्यो।
उनमा कोरोना भाइरसको संक्रमण पोजिटिभ देखिएको थियो। तर उनको अवस्था सामान्य थियो। उनको मुख्य समस्या भनेको पेटको दुखाई नै थियो। पेट दुखाईको उपचारका लागि उनी काठमाडौंको सिनामंगलस्थित केएमसी अस्पताल पुगेका थिए।
अस्पतालमा चिकित्सकले पहिला पिसिआर परीक्षण गरे। रिपोर्ट एक घण्टामै आयो। रिपोर्टले उनलाई कोरोना संक्रमण भएको पुष्टि गर्यो। त्यसपछि उनलाई अस्पतालले उपचार गर्न मानेन र घर फर्काए। केएमसीले भर्ना लिन नमानेपछि उनी जोरपाटीस्थित एनएमसी अस्पताल पुगे। तर त्यहाँ पनि उनले सहजै उपचार पाउन सकेनन्।
त्यहाँ उपचार पाउन उनले भागेका समस्या र अवस्था हामीसँग साटेका छन्। उनको अनुभव उनकै शब्दमा:
म सुरज भट्टराई, जोरपाटीमा बस्छु।
वैशाख २० गते दिउँसोदेखि मेरो पेट दुखिरहेको थियो। तर म अस्पताल गइन्। पेटको दुखाई सहन नसकेपछि म रातको करिब ९ बजे सिनामंगलस्थित केएमसी अस्पताल गएँ।
त्यहाँ मलाई इमरजेन्सीमा राखियो। डाक्टरहरुले पहिला मेरो पिसिआर परीक्षण गरे। रिपोर्ट एक घण्टामै आयो। रिपोर्टमा कोरोना पोजिटिभ लेखिएको थियो। कोरोना पोजिटिभ आउने बित्तिकै डाक्टरहरुले ‘तपाईंको अक्सिजन लेभल सबै ठिक छ, होम आइसोलेसनमै बस्नुस्, हामी तपाईंलाई भर्ना लिन सक्दैनौं’ भनेर पठाए।
मैले उपचार गर्न आग्रह गरेपनि त्यहाँ मेरो उपचार भएन। म घर फर्किएँ। मेरो पेटको दुखाई झन् झन् बढ्दै गयो। त्यो रात मैले कसरी कटाए त्यो मलाई मात्र थाहा छ। म बिहान हुने पखाईमै थिएँ।
त्यसपछि बिहान आठ बजे म उपचारका लागि नेपाल मेडिकल कलेज जोरपाटीमा गएँ। म कोरोना पोजिटिभ भएपनि मेरो पेट दुख्ने समस्या थियो। मलाई पानी खाँदा पनि पेट दुखिरहेको थियो। तर मलाई अस्पतालमा उपचार गर्न मानेनन्। म बाहिर नै बसिरहेँ। पटक पटक आग्रह गर्दापनि उपचार गर्न नमानेपछि मैले एक जना साथी मार्फत वडाध्यक्षलाई फोन गर्न लगाएँ। तीन घण्टापछि एक जना डाक्टर आउनुभयो र मलाई अस्पताल भित्र लगियो। तर भित्र गएर पनि मेरो उपचार भने भएन। गरेनन्।
मैले मेरो उपचार गर्न निकै आग्रह गरिरहेँ। झगडा पनि गरेँ। पेटको दुखाईं असह्य थियो। म बाध्य थिएँ। तर उनीहरुले ‘बेड खाली छैन, भर्ना लिन सक्दैनौं’ भनिरहे। त्यही बेला ती डाक्टरलाई बेडको लागि भन्दै फोन आएको थियो। उसले फोनमै बेड मिलाउने बताए। यो सुनेपछि मेरो श्रीमती पनि ती डाक्टरसँग झगडा गर्न थालिन्। सोर्सको भरमा बेड मिल्ने रहेछ, तर मेरो बिरामी बिहान आठ बजेदेखि यहीँ बस्दा पनि बेड नदिने भनेर श्रीमतीले झगडा गरिन्। त्यसपछि ती डाक्टरले कुनै बिरामी डिस्चार्ज भएपछि भर्ना लिने बताए।
कुर्दा कुर्दै दुई बज्यो। त्यसपछि बल्ल म भर्ना भएँ। मलाई बाहिर बेड खाली छैन भनेर घण्टौं कुराइएको थियो। तर म भित्र जाँदा ६ वटा बेड खाली रहेछ। म अचम्मित भएँ, बेड खाली हुँदा हुँदै मलाई किन बेड छैन भनेर घण्टौं कुराइयो?
मलाई अक्सिजनको आवश्यकता परेन। नरमल बेडमै बसेको थिएँ। डाक्टरहरुले एन्टीबायोटिक औषधि मात्र चलाएको थिए। त्यहाँ डाक्टरहरु हेर्न आउँदैनथ्यो। नर्सहरु मात्र हेर्न आउँथे। औषधि पनि समयमै दिएनन्।
म मात्रै होइन। त्यहाँ आउने धेरैजसो बिरामीलाई यस्तो व्यवहार गरेको पाएँ। भित्र अक्सिजन र बेड खाली हुँदा हुँदै पनि उनीहरुले खाली छैन भन्दै बिरामी कुराउने गर्थे।
६ दिनपछि म सोमबार डिस्चार्ज भएँ। यो ६ दिनमा मैले ७५ हजार शुल्क तिरेँ। अस्पतालमा यस्तो अवस्था छ। म मात्र होइन। सबै बिरामीहरुको अवस्था यही छ। उपचार नपाएर छटपटी रहेका थिए। अस्पतालहरुले कोरोना हुँदैमा अन्य रोगको उपचार नगर्ने हो भने अवस्था के हुन्छ?