काठमाडौं - जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसीयू र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसीयू, भेन्टिलेटर पाउने अवस्था छैन।
बढ्दो कोरोना संक्रमण दरका कारण बिरामीहरु अस्पताल चहार्दा चहार्दै मृत्यवरण गर्न पुग्छन्। थप बिरामी भर्ना लिन नसक्ने विभिन्न अस्पतालहरुले बताइरहेका छन्। कोभिड बिरामीको चाप अस्पतालहरुमा थेगी नसक्नु छ।
हाल तिव्र गतिमा बढीरहेको संक्रमणलाई व्यवस्थित गर्न भौतिक पूर्वाधार र जनशक्ति पर्याप्त छैन। यो स्वयं सरकारले पनि स्वीकारेको कुरा हो।
आइसीयू र भेन्टिलेटर नपाएर बिरामीहरु छटपटाइरहेका बेला बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राडा सञ्जीव शर्मा विभिन्न उपायहरु बताउँछन्, जसबाट तत्काल आइसीयू चाहिने जटिल अवस्थालाई केही हदसम्म व्यवस्थापन गर्न सकिन्छ।
प्रतिष्ठान धरानका इन्टरनल मेडिसिन विभागका प्राडा शर्मा सरकारले यी विकल्पलाई व्यवस्थित गर्दै लागु गर्न सके आइसीयूको अभाव बिरामीले खेप्न नपर्ने बताउँछन्।
आइसीयूमा राख्नुपर्ने अवस्थाका बिरामीको उपचार आइसीयूमा नै हुन्छ। तर त्यसभन्दा अघि केही कुराहरुमा ध्यान दिने र सचेतना अपनाउने हो भने अहिले जसरी धेरैलाई आइसीयूमा नै पुग्न नपर्ने हुन सक्छ।
अक्सिजनको मात्रा नाप्ने र घोप्टो परेर सुत्ने
कोरोना लाग्ने बित्तिकै आइसीयू नचाहिने भन्दै डा शर्मा संक्रमणको दोस्रो साताबाट फोक्सोमा समस्या आई अक्सिजनको कमी सुरु हुने बताउँछन्। त्यो बेला बिरामीले तत्काल उपचार पाउन सके जटिल अवस्थालाई रोक्न सकिने उनले बताए।
विभिन्न उपायबाट संक्रमितको घरमै पनि उपचार हुन सक्छन्। त्यसका लागि संक्रमित व्यक्तिको घरमै समय समयमा पल्स अक्सिमिटरको सहायताले अक्सिजन मात्रा नापिरहनु पर्छ। शरीरमा अक्सिजनको मात्रा कम देखिए विशेषगरी दुई कुरामा जोड दिनुपर्छ।
एक, अक्सिजनको मात्रा ९२ या योभन्दा कम भए बिरामीलाई डेक्सामिथासोन औषधि दिनको खाना÷खाजापछि ६ एमजी दिनुपर्छ।
दोस्रो, अक्सिजनको व्यवस्था गर्न सकिन्छ भने घरमै अक्सिजन प्रयोग गर्ने। शरीरमा अक्सिजनको कमी भए घोप्टो परेर सुत्नुपर्छ। यी दुई उपचार घरमै बसेर पनि गर्न सकिने उनले बताए। यी दुई कुरालाई व्यवस्थापन गर्न सके जिल्ला स्तरीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्रमा पनि संक्रमितको उपचार गर्न सकिने उनले बताए।
उनका अनुसार स्थानीय तहमा स्थापना गरिने आइसोलेसन सेन्टरमा पनि यही तरिकाले संक्रमितको उपचार गर्न सकिन्छ।
उनी भन्छन्, ‘जिल्ला स्तरीय अस्पताल, प्राथमिक स्वास्थ्य केन्द्र र विभिन्न आइसोलेसन सेन्टरमा यी दुई कुराको व्यवस्थापन गर्न सकियो भने आइसीयू चाहिने बिरामीको संख्या घट्छ। हामीले सबैभन्दा धेरै जोड दिनुपर्ने यही नै कुरा हो जस्तो लाग्छ।’
टेली मेडिसिन सेवा प्रयोग गर्ने
टेली मेडिसिन अर्थात् टेली चिकित्सा पद्दति। विकसित मुलुकमा प्रचलित स्वास्थ्य सेवाको एक अवधारणा। तर यो पद्दति नेपालमा भने फस्टाउन सकेको छैन। अस्पताल तथा चिकित्सकको पहुँचबाट टाढा रहेका नागरिकलाई मोबाइल, क्यामरा जस्ता प्रविधिको माध्यमबाट दिइने स्वास्थ्य सेवा नै टेली चिकित्सा पद्धति हो।
दुर दराजमा रहेका नागरिकलाई टेली चिकित्सा पद्दति मार्फत स्वास्थयको पहुँचमा ल्याउन सकिन्छ। टेली चिकित्सा पद्धतिमा प्रविधिको माध्यमबाट दुर्गममा रहेका बिरामीसंग विशेषज्ञ चिकित्सकले प्रत्यक्ष रुपमा वार्ता गरी परामर्श गर्न सक्छन्।
यही टेली मेडिसिनलाई कोरोना संक्रमितको उपचारका लागि प्रयोग गर्न सकिने डा शर्मा बताउँछन्। बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा यही पद्दतिबाट विभिन्न बिरामीलाई विशेषज्ञ चिकित्सकले सेवा दिने गरेको उनले बताए। सरकारले टेली मेडिसिनको प्रयोगलाई बढाउनुपर्नेमा उनी जोड दिन्छन्।
उनले भने, ‘अहिले विभिन्न सामाजिक सञ्जाल छ। त्यसको माध्यमबाट बिरामीहरुसँग परामर्श गर्ने, अवस्था बुझ्न सकिन्छ। सुझाव दिन सकिन्छ।’
उनका अनुसार हरेक नगरपालिकाले दुई वटा टोली बनाउन सक्छन्। एक, घरमै बिरामीलाई कसरी व्यवस्थापन गर्न सकिन्छ भन्ने बारेमा। दोस्रो, ती बिरामीहरुलाई टेली मेडिसिन मार्फत जोड्ने।
‘सरकारले अहिले विभिन्न सरकारी अस्पतालहरुमा टेली मेडिसिन सुरु गरेको छ। यसलाई प्रयोग गर्न सकिन्छ। आइसीयू बेड बढाएर मात्र हुँदैन। यी विभिन्न तरिकाबाट कोरोनालाई घेर्नु पर्छ।’ उनले भने।
जनशक्ति परिचालन
स्वास्थ्य प्रणाली भनेको भौतिक पूर्वाधार र शय्या मात्रै होइन, जनशक्ति सबैभन्दा महत्वपूर्ण पक्ष हो।
धेरै अस्पतालमा उपकरण र पूर्वाधार भएर पनि जनशक्तिको अभावमा सेवा प्रवाह हुन सकेको छैन। महामारीको यो समयमा भौतिक पूर्वाधार र जनशक्ति व्यवस्थापन सबैभन्दा ठूलो चुनौती हो।
सरकारले भौतिक पूर्वाधारसँगै जनशक्ति व्यवस्थापन र परिचालनमा ध्यान दिनुपर्ने डा शर्मा बताउँछन्।
उनले भने, ‘सबै बिरामी अस्पताल गएर कुनै पनि अस्पतालले बिरामी धान्न सक्दैनन्। आज जसरी शय्याको कुरा आइरहेको छ। भोलि अक्सिजनको अनि पछि स्वास्थ्यकर्मीको कुरा आउँछ।’
उनी थप्छन्, ‘अक्सिजनका लागि अक्सिजन प्लान्ट बनाइयो। शय्या पनि थपियो। तर स्वास्थ्यकर्मी रातारात बनाउन संभव हुँदैन।’
हाल नेपालमा रहेका चिकित्सक, नर्सिङ स्टाफ लगायत स्वास्थ्यकर्मीलाई उचित प्रोत्साहन गरे परिचालन गर्न सके अभाव हुँदैन। तर सरकारले त्यो हदसम्म प्रोत्साहन गर्न नसक्ने उनी बताउँछन्।
उनको शब्दमा भन्नु पर्दा आजको दिनमा दुई महिनाको करारमा पनि सरकारले सूचना निकाल्छन्। आइसीयू भेन्टिलेटर थपेर मात्र नभई त्यसलाई चलाउने जनशक्ति पनि हुनुपर्ने उनी बताउँछन्।
सचेत रहने अनि सेल्फ लकइन गर्ने
कोरोना संक्रमणको जोखिम बढ्नुमा हामी आफैँ पनि यसको भागिदार छौँ। मास्कको अनिवार्य प्रयोग, साबुन पानीले हात धुने, सामाजिक दूरी कायम गर्ने, भीडभाडमा नजान चिकित्सक तथा विज्ञहरुले सुझाव दिँदै आएका छन्। तर जनस्वास्थ्यका यी मापदण्ड पालना गर्ने कमै मात्र थिए।
‘हामी आफैँ जनस्वास्थ्यका कुरालाई पटक्कै ख्याल नगर्ने। मास्क पनि नलगाउने, भीडभाड गर्ने, यो अवस्थामा पनि भोजभतेर गर्ने अनि गाली मात्र गरेर पनि हुँदैन’ डा शर्माले भने।
उनी सुनाउँछन्, ‘एक जना जनस्वास्थ्यविदले भनेका थिए, सरकारले लकडाउन गरोस् नगरोस् आफ्नो ठाउँमा छ। तर हामी आफैँले सेल्फ लकइन गर्नुपर्छ।’
बिरामी र सेवाको व्यवस्थापन हुन नसक्दा नै आइसीयू र भेन्टिलेटरको अभाव भएको उनले बताए। उनका अनुसार बिरामी जटिल अवस्थामा जानुभन्दा अघि नै यी कुरामा ध्यान दिनुपर्छ।
‘हामी आइसीयू बढाउने तर्फ मात्र नभई बहुउपाय तर्फ पनि सोच्नुपर्छ’ उनले भने, ‘जनस्तरबाट नागरिकले आफ्नो कर्तव्य पुरा गर्नुपर्छ। हरेक तहमा उपचारको सुविधा हुुनुपर्छ।’