काठमाडौं - काठमाडौंका ८६ वर्षीय एक वृद्धलाई कोरोना संक्रमण भएको केही दिनपछि अस्पताल भर्ना गर्नुपर्यो। उनलाई उपचारका लागि टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लगियो। त्यो बेला आइसियु खाली थिएन। आइसियु खाली नभएपछि उनलाई कोभिड वार्डमै भर्ना गर्नुपर्यो।
उमेरले पनि वृद्ध भएकाले उनलाई विशेष हेरचाहको आवश्यकता थियो। त्यसैले चिकित्सकले उनलाई एक जना कुरुवा राख्न आग्रह गरे। चिकित्सकको भनाई थियो, 'बिरामीलाई जुनै बेला पनि गाह्रो हुन सक्छ र विशेष हेरचाहको आवश्यक पर्छ। कुरुवा भयो भने सहज हुन्छ।'
चिकित्सकको आग्रहपछि उनले एक जना आफन्तलाई कुरुवा राखे।
शुक्रराज अस्पतालमा मात्र होइन। सीमित जनशक्ति भएका कारण संक्रमित बिरामीको हेरचाहका लागि भन्दै अस्पतालमा अहिले कुरुवा राख्न थालिएको छ। कोरोना संक्रमितको उपचार हुने अधिकांश अस्पतालमा अहिले कुरुवा राख्न चिकित्सकले नै आग्रह गर्दै आएका छन्।
कोरोना संक्रमित सुतिरहेको शय्याको छेउमा अहिले कुरुवा पनि सँगै देख्न सकिन्छ। कतिपय अस्पतालमा चिकित्सकले नै कुरुवा ल्याउन आग्रह गरिरहेका छन् भने कतिपय अस्पतालमा आफन्त आफैँ कुरुवाका रुपमा बस्ने गर्छन्।
शुक्रराज अस्पतालका सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाका अनुसार कुरुवा राख्नुको मुख्य कारण बिरामीको हेरचाहको लागि नै हो। तर यदी ती व्यक्ति पनि संक्रमित छ भने मात्र।
उनले भने, ‘सबैभन्दा ठुलो कुरा भनेको बिरामीको हेरचाह नै हो। हाम्रो जस्तो जनशक्ति कम भएको ठाउँमा आफन्तले हेर्छु भन्यो भने हुन्छ। तर यदी कुरुवा पनि संक्रमित छ भने मात्र हो।’
कुनै बेला कोरोना नभएका व्यक्ति पनि संक्रमितको हेरचाहका लागि भन्दै कुरुवा बस्ने गरेको उनी बताउँछन्। यो क्रमलाई भने आफुहरुले निरुत्साहित गर्ने गरिएको उनले बताए। कोरोना नभएको व्यक्ति कुरुवा बस्दा झनै संक्रमण फैलने खतरा हुने उनले बताए।
‘कुनै बेला कोरोना नभएका व्यक्ति पनि आफन्त भन्दै कुरुवा बस्ने गर्छन्’ उनले भने, ‘तर हामी यसलाई प्रोत्साहन गर्दैनौ। किनभने कोरोना नभएका व्यक्ति भोलि संक्रमित हुन सक्छन्। यसले झनै संक्रमण फैलाउने खतरा हुन्छ।’
कुरुवा राख्ने विभिन्न अस्पतालहरुमध्ये त्रिवि शिक्षण अस्पताल पनि एक हो, जहाँ संक्रमितको हेरचाहका लागि भन्दै कुरुवा पनि सँगै बस्छन्। अस्पतालका कोभिड व्यवस्थापन समितिका सदस्य डा निरज बम संक्रमितको हेरचाहका लागि कुरुवा राख्नु बाध्यता भएको बताउँछन्।
उनी भन्छन्, ‘हामीसँग जनशक्ति एकदमै कम छन्। हामी तीन सय बेडसम्म जाने तयारीमा छौँ। यो अवस्थामा प्रत्येक बिरामीलाई बेडमा पुगेर खाना खुवाउन औषधि दिन नपुग्ने भएकाले एक जना कुरुवालाई सेवा दिन गरिदिन अनुरोध गरेका छौँ।’
डा बमका अनुसार अस्पतालमा भएका जनशक्तिले सबै बिरामीलाई सेवा दिन सक्ने अवस्था छैन। सीमित र कम जनशक्तिका कारण नै बिरामीको हेरचाहका लागि एक जना कुरुवा ल्याउन भन्ने गरिएको उनले बताए।
उनले भने, ‘सुरक्षाका सम्पूर्ण मापदण्ड पालना गरेर कुरुवालाई सेवा गरिदिन अनुरोध गरेका छौँ। उहाँहरुले खाना ल्याइदिने खुवाउने गर्नुहुन्छ।’
दुई/तीन जना स्वास्थ्यकर्मीले पनि ३० जना जति बिरामीलाई हेर्नुपर्ने बाध्यता रहेको उनले बताए। कम जनशक्तिमा धेरै सेवा दिने प्रयास गरिएको उनले बताए।
धेरै कोरोना संक्रमितको उपचार हुने अस्पतालमध्ये एक हो, बलम्बुस्थित नेपाल एपीएफ अस्पताल। यहाँ पनि संक्रमितको हेरचाहका लागि कुरुवा राख्न आग्रह गर्ने गरिएको छ। यद्यपि सबै बिरामीका लागि कुरुवा आवश्यक नभएको अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपाल बताउँछन्।
‘सबै बिरामीको कुरुवा हुँदैन।’ उनले भने, ‘घरमा आमालाई कोरोना पोजिटिभ भयो र छोरी पनि कन्ट्याक छ भने उसले आमाको सेवा गर्छु भनेर कुरुवा बस्न पाइयो।’
डा नेपाल यसलाई यसरी बुझाउँछन्, ‘दुई जनामध्ये एक जनामा लक्षण छ र अर्कोमा छैन भने लक्षण भएको व्यक्तिले बेड पाउँछन् र नभएकाले कुरुवाको रुपमा पनि बस्ने गर्छन्।’
आइसियुमा भने कुरुवाको आवश्यकता पर्दैन। आइसियु भए राम्रो तर अस्पतालले आइसियु उपलब्ध गराउन नसकेको बेला कोभिड वार्डमा उपचार गरिरहेका संक्रमितका लागि मात्र कुरुवा चाहिने गरेको उनले बताए।
खाना खुवाउनुपर्ने, हिडडुल गराउनुपर्ने बिरामीको हकमा भने आफुहरुले कुरुवा ल्याउन आग्रह गर्ने गरिएको उनले बताए। एउटै बिरामीलाई धेरै जनशक्ति खटाउन सकिने अवस्था नरहेको उनी बताउँछन्।
उनले भने, ‘कुनै बिरामीलाई कुर्नुपर्ने हुनसक्छ, खाना पनि खुवाउनुपर्छ, हिडडुल गराउनु पर्ने हुन्छ। यस्तो बिरामीको हकमा हामीले कुरुवा ल्याउन आग्रह गर्छौ। किनभने एउटै बिरामीका लागि धेरै जनशक्ति खटाउन पनि गाह्रो हुन्छ।’
बिरामीको कुरुवा बसिरहँदा उनीहरुमा पनि कोरोना संक्रमणको जोखिम भने रहन्छ। सुरक्षाका केही मापदण्ड पालना गरेपनि संक्रमणको जोखिम भने रहने डा नेपाल स्वीकार्छन्।
‘सुरक्षाका निम्ति उहाँहरुले मास्क, फेस सिल्ड, पञ्जा प्रयोग त गर्नुहुन्छ। तर खतरा त केही न केही हुन्छ।’ उनले भने।
कोरोना संक्रमणको जोखिम नहोस् भन्नका लागि आफुहरुले बिरामीबाट अलि टाढा रहन आग्रह गर्ने गरेको र सुरक्षाका केही सामग्री समेत उपलब्ध गराएको उनले बताए।
उनका अनुसार अस्पतालमा कुरुवाका लागि आउने ३० प्रतिशत व्यक्ति संक्रमित नै हुन्छन्। कुल संक्रमितमध्ये १० प्रतिशत व्यक्तिको मात्र कुरुवा हुने गरेको उनले बताए।