काठमाडौं- नेपालमा कोरोना भाइरसको दोस्रो लहर तीव्र रुपमा फैलिरहेको छ। संक्रमणको दर हरेक दिन बढ्दै गर्दा भारतमा जस्तै नेपालमा पनि अक्सिजन नपाइने हो किन भन्ने चिन्ता थपिएको छ।
दोस्रो लहरको कोरोना संक्रमणको चपेटामा रहेको भारतमा अक्सिजन सपोर्ट नपाउँदा संक्रमितको ज्यान गइरहेको अवस्थामा नेपालमा समेत मेडिकल अक्सिजनको उपलब्धताको विषयलाई लिएर चिन्ता व्यक्त गर्न थालिएको हो।
भारतमा जस्तै नेपालमा समेत अक्सिजनको अभाव हुने पो हो कि? भन्ने आम मानिसको चासो र चिन्ता छ। कोरोना भाइरसको संक्रमण देखिएका बिरामीलाई श्वास फेर्न गाह्रो भएपछि अक्सिजनको सपोर्टमा राख्ने गरिन्छ। तर, अक्सिजनको उपलब्धको विषयबारे ठोस जानकारी नआउँदा आम नागरिकमा चिन्ता बढेको देखिन्छ।
अक्सिजनका विषयमा पर्याप्त जानकारी नहुँदा मानिसहरुले घरमा समेत अक्सिजन राख्न थालेका छन्। खाना पकाउने ग्यासका सिलिन्डर जगेडा राखेजस्तै घरमा अक्सिजन राख्नु गलत भएको चिकित्सकहरुले समेत बताउँदै आइरहेका छन्।
के अक्सिजन घरमा राखेर कोरोना उपचार हुन्छ? शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलालाई हामीले यही प्रश्न गरेका छौं।
डा बास्तोलाले घरमा अक्सिजन राखेर कोरोना उपचार नहुने जानकारी दिए।
उनी भन्छन्- घरमा अक्सिजन स्याचुरेसन हेर्ने अनि अक्सिजन लगाउनाले मात्र कोरोनाको उपचार हुँदैन।
यस्तो छ उनले दिएको जवाफ
घरमा अक्सिजन राखेर कोरोना उपचार हुँदैन। यसरी घरमा अक्सिजन जगेडा गरेर उपचार हुन्छ भनेर ढुक्क नहुनुहोला। यसले झनै खतरा ल्याउन सक्छ। घरमा अक्सिजन स्याचुरेसन हेर्ने अनि अक्सिजन लगाएपछि कोरोनाको उपचार हुन्छ भन्ने सोचेर ढुक्कसँग बस्नु गलत हो। कोरोना संक्रमण भई निमोनिया भएका संक्रमितको उपचार अक्सिजन लगाएर मात्र हुँदैन। संक्रमणले फोक्सोमा कति असर गरेको छ? निमोनिया भइसकेको कुरा घरमा बसेर थाहा पाउन सकिँदैन। निमोनिया भएको रहेछ भने त्यसको उपचार फरक हुन्छ। बाहिरबाट अक्सिजन दिँदा शरीरमा अक्सिजनको मात्रा मात्र मेन्टेन हुन्छ। तर फोक्सोले काम गर्न छोडेको, के कारणले निमोनिया भयो भनेर औषधि, इन्जेक्सन सहितको उपचार चाहिन्छ। घरमा अक्सिजन राखेर गम्भीर बिरामीको उपचार हुँदैन।
पछिल्लो समय संक्रमितको संख्या बढेसँगै धेरै व्यक्तिले घरमा अक्सिजन र अनावश्यक औषधि जगेडा राख्नुभएको छ त्यो एकदमै गलत हो। यसले संक्रमित थप गम्भीर बन्ने र ज्यानै जान सक्ने खतरा बढाएको छ।
अर्को बुझ्नुपर्ने कुरा के हो भने कुनै संक्रमितको अक्सिजन लेबल कम भइरहेको वा तलमाथि भइरहेको छ भने उसलाई आइसियु नै चाहिन्छ भन्ने होइन।
पछिल्लो समय आइसियु नभएको भन्ने हल्लाले धेरै संक्रमित घरमा बसेका छन्। अस्पतालमा सबै संक्रमितलाई आइसियुमा नै राख्नु पर्दैन। अक्सिजन भएका अन्य थुप्रै बेड खाली हुन्छन्। तर मानिसले आइसियु बेड मात्र खजिरहेका छन्। अक्सिजन बेड मात्र आवश्यक हुन सक्छ तर अस्पतालम आइसियु छ कि छैन भनेर सोध्ने अनि छैन भने घरै बस्दा धेरै बिरामीले उपचार नपाएको घटना मैले देखिसकेको छु। त्यसकारण आइसियु छैन भनेर घरमा बस्ने होइन। अस्पतालमा अक्सिजन भएका अन्य बेडमा उपचार हुनेछ।
यो कुरा धेरैले बुझेको छैन। हामीले पनि बुझाउन सकेका छैनौं। अक्सिजन लेबल कम हुने बित्तिकै आइसियु नै चाहिदैँन। गाह्रो भएमा अस्पताल आउनुस्, पहिल्यै आइसियु छ कि छैन भनेर नसोध्नुहोस।
तपाई संक्रमित भएर बसेको समयमा लक्षण बढ्न थाले वा थप समस्या हुन थाल्यो भने स्वास्थ्यकर्मीसम्म पुग्नुहोस्। अक्सिजन लेबल ९३ भन्दा कम हुन थालेको जस्तो लाग्यो, श्वासप्रश्वास बढयो भने स्वास्थ्यकर्मीको जानुपर्छ। एक्सरे गराउनुपर्छ। स्वास्थ्यकर्मीले दिएको औषधि मात्र सेवन गर्नुपर्छ। सुनेको भरमा र सामाजिक सञ्जालमा देखेको भरमा आफूखुसी औषधि नखानुहोला।