काठमाडौं– गैरकानुनी रुपमा आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेर चिकित्सा शिक्षा अध्ययन गरी डाक्टर भएका १२ नेपालीले उन्मिुक्ति पाएका छन्। डाक्टर बन्नकै लागि अवैध बाटो रोजेर अध्ययन गरेको प्रमाण फेला पार्दा समेत नेपाल मेडिकल काउन्सिलले उनीहरुलाई थप अनुसन्धानको बाटो रोकेर उन्मुक्ति दिएको हो।
नेपाली डाक्टर भनेर नेपाल मेडिकल काउन्सिलबाट दर्ता प्रमाणपत्र लिएका डाक्टरले नै अध्ययनका लागि भने आफूलाई भारतीय नागरिकका रुपमा प्रस्तुत गरेको प्रमाण फेला पर्दा कारबाही गर्नुको साटो उनीहरुलाई उन्मुक्ति दिएर काउन्सिल पन्छिएको छ।
नेपाली नागरिक हुँदाहुँदै भारतीय बनेर डाक्टर अध्ययन गर्ने र लाइसेन्स लिने बेलामा पुनः नेपाली नागरिकको प्रमाणपेश गर्ने डाक्टरमाथि एक दशकपछि अनुसन्धान सुरु गरिए पनि उनीहरुलाई काउन्सिलले उन्मुक्ति दिएको छ।
अवैध रुपमा डाक्टरी शिक्षा पढेका उनीहरुसहित उनीहरुलाई अवैध बाटोमा साथ दिने कलेज तथा विश्वविद्यालयमाथि पनि कारबाही गर्न पुग्ने प्रमाण फेला परेको थियो। काउन्सिलले सुरुमा अनुसन्धान अगाडि बढाउँदा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)लाई समेत प्रमाण उपलब्ध गराउने आश्वासन दिएको थियो। तर काउन्सिलले नै असहयोग गर्दा अवैध रुपमा पढेका १२ डाक्टरसहित कलेज र विश्वविद्यालयले समेत उन्मुक्ति पाएका छन्।
भारतीय नागरिक बनेको लगायतका अन्य अवैध बाटो अपनाएको प्रमाण फेला पारेपछि उनीहरुमाथि किर्ते कसुरमा कारबाही गर्नुपर्ने पाटोमा अनुसन्धान अगाडि बढाउन काउन्सिलले सहयोग गर्नुपर्ने थियो। तर काउन्सिलले त्यता तर्फ नलागी उनीहरु नेपाली नागरिक हुन् वा होइनन् भन्नेतर्फ अनुसन्धान गरेझैं गरेर मात्र उनीहरुलाई उन्मुक्ति दिइएको छ।
नागरिकताको विवरण नेपाली नै भएको अवस्थामा भए पनि उनीहरु कारबाहीको भागिदार बन्नुपर्ने हो। नेपाली नागरिक हुँदाहुँदै डाक्टर अध्ययन गर्ने बेलामा किन भारतीय नागरिक भएको भनेर परिचय पेश गरे? यसतर्फ भने काउन्सिलले कुनै अनुसन्धाननै नगरी फाइल बन्द गरेको छ।
अनुसन्धान गर्नुपर्ने पाटोलाई छलेर नेपाली नागरिक भए/नभएको तर्फ मात्र हेरेका कारण अवैध धन्दाले वैधता पाएको प्रहरीका एक उच्च अधिकारी बताउँछन्।
‘अध्ययनका समयमा गरिएको अवैध कामका विषयमा अनुसन्धान नै नगरी काउन्सिलले किन उन्मुक्ति दियो हामी पनि आश्चार्यमा छौं,’ ती प्रहरीले भने।
काउन्सिलका रजिष्ट्रार डाक्टर कृष्णप्रसाद अधिकारीले गृहमन्त्रालयले उनीहरु नेपाली नागरिक नै हुन् भनेर प्रमाणित गरेकाले कारबाही गर्ने अवस्था नरहेको बताए।
डा अधिकारीका अनुसार उनीहरुले डाक्टर अध्ययन गर्न कलेजमा पेश गरेका कागजातमा भारतीय उल्लेख भएको र लाइसेन्स लिँदा नेपाली भएको उल्लेख भएपछि उनीहरुको नागरिकताको आधिकारिकता के हो भन्दै काउन्सिलले गत चैत ८ गते गृह मन्त्रालयलाई पत्राचार गरेको थियो। गृह मन्त्रालयले एक महिनापछि वैशाख ८ गते उनीहरुले काउन्सिलमा पेश गरेको नागरिकताको अभिलेख र प्रशासनमा रेर्कड भएको अभिलेख मेल खाएको भन्दै काउन्सिललाई पत्र पठाएको थियो। गृहको उक्त पत्रपछि भने भारतीय बनेर अध्ययन गरेका १२ डाक्टरलाई कारबाहीको बाटो समाप्त भएको काउन्सिलका रजिष्ट्रार डा अधिकारीको भनाई छ।
उनीहरुले डाक्टरको लाइसेन्स लिने बेला नेपाली नागरिक नै भनेर पेश गरेको कागजात सक्कल ठहरिए पनि डाक्टर अध्ययन गर्ने बेलामा भारतीय नागरिक भएको पहिचान हुने परिचय पत्र पेश गर्दा कसरी उन्मुक्ति दिइयो? यो प्रश्नबारे रजिष्ट्रार डा अधिकारी भन्छन्, ‘इन्टिच्युट अफ मेडिसिन अन्र्तगत एमबी केडियामा अध्ययनरत विद्यार्थीहरु भारतीय नागरिकको रुपमा भर्ना भएको भन्ने विषयमा छानबिन हुँदा यसमा के हुने हो? उनीहरु कुन देशका नागरिक ठहर्छन् भनेर गृहलाई पत्राचार गरियो। गृहबाट नेपाली नागरिक भएको अभिलेख देखियो भनेपछि उनीहरुमाथि कारबाही हुने अवस्था आएन।’
रजिष्ट्रार डा अधिकारीले अध्ययन गर्ने बेला भारतीय बनेको भनेर गृहलाई पत्राचार गरेको दाबी गरे पनि काउन्सिल स्वयंले निकालेको सूचनाले यो विषयमा केही बोलेको छैन। काउन्सिलको सूचनाले उनीहरुको नागरिकताका विषयमा मात्रै बोलेको छ।
यसरी बनेका थिए १२ नेपाली भारतीय
सन् २०१७ भन्दा अघि नेपालका मेडिकल कलेजमा एमबिबिएस र बिडिएसलगायत अध्ययन गर्न विदेशी विद्यार्थीले प्रवेश परीक्षा दिनुपर्ने व्यवस्था थिएन। यसको फाइदा उठाउदै पैसा तिर्न सक्ने तर प्रवेश परीक्षा पास गर्न नसक्ने नेपाली विद्यार्थीलाई विदेशी बनाएर बिना प्रवेश परीक्षा एमबिबिएस तथा बिडिएसमा मेडिकल कलेजले भर्ना गर्ने विकृती थियो।
डाक्टर पढ्नका लागि विदेशी विद्यार्थीले ठूलो रकम कलेजलाई तिर्नुपर्ने भएपछि नेपालका मेडिकल कलेजले ‘सेटिङ’मा फर्जी काजगात बनाएर नेपाली विद्यार्थीलाई विदेशी बनाउँदै भर्ना गर्दै रकम असुल्ने विकृति थियो।
मेडिकल कलेजहरुमा एक शैक्षिक सत्रमा नेपाली र विदेशी विद्यार्थीका लागि भनेर निश्चित कोटा छुट्याउने र विदेशी विद्यार्थी भर्ना नभएको समयमा ती कोटामा नेपाली विद्यार्थीले नै अध्ययन गर्न पाउथे। तर, मेडिकल कलेजहरुले नेपाली विद्यार्थीलाई भारतीय बनाएर बिना प्रवेश परीक्षा भर्ना गर्दा जेहन्दार नेपाली विद्यार्थीसमेत डाक्टर पढ्नबाट बञ्चित हुँने अवस्था थियो।
यही व्यवस्थाको दुरुपयोग गर्दै २०६४ सालदेखि भारतीय नागरिक बनेर बिना प्रवेश परीक्षा नेपालमा अध्ययन पूरा गरेकाहरुले नेपाली भएको प्रमाणपत्र पेश गर्दै लाइसेन्स समेत लिएर काम गर्दै आएका छन्।
यी हुन् १२ डाक्टर
यसरी डाक्टर बनेका १२ जनाले अहिले उन्मुक्ति पाएका छन्। नेपाली नागरिक भारतीय बनेर प्रमाणपत्र पेश गर्दा पनि उन्मुक्ति पाउने मध्येकी एक हुन् डा प्रेक्षा साह।
धनुषाको जनकपुरधाम नगरपालिका–४ कीसाह नेपाली नागरिक भए पनि भारतीय बनेर एमबी केडियामा भर्ना भएकी थिइन्। अध्ययन पूरा गरेपछि भने उनले आफू नेपाली नागरिक भएको भन्दै नेपाली नागरिकको परिचयपत्र पेस गरेर लाइसेन्स लिइन्।
उनले भारत सरकारबाट जारी आवासीय प्रमाणपत्र पेस गरेर भारतीय बनी डाक्टर अध्ययन गरेकी थिइन्। डाक्टर अध्ययन गर्ने बेला पेस भएको कागजातमा प्रेक्षाको ठेगाना मोतिहारी, भारत उल्लेख छ। उनले मेकिडल काउन्सिलबाट लाइसेन्स लिने बेला पेस गरेको कागजातमा भने धनुषा जनकपुरधाम नगरपालिका–४ उल्लेख छ।
पर्साको वीरगञ्ज उपमहानगरपालिका–१३ का शशिकान्त चौधरीले पनि यसैगरी प्रवेश परीक्षा छल्न भारत राजस्थानको फत्तेपुरकी वनारसी देवीको धर्मपुत्र बनेर कागजात पेश गरेका थिए।
उनीहरुकै तरिका अपनाएर महोत्तरीको साविक लोहारपट्टी गाविस–३ का डा रोशनकुमार साह (मेडिकल काउन्सिल दर्ता नम्बर १३२३४), बाराको साविक तेलकुवा गाविस–८ की डा प्रतिमाकुमारी यादव (मेडिकल काउन्सिल दर्ता नम्बर १४८७५), पर्साको साविक अलौ गाविस–१ का डा धनंजयकुमार माली (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९४), उदयपुरको त्रियुगा नगरपालिका–१ का डा रजनिश खड्का (मेडिकल काउन्सिल दर्ता नम्बर १५३९६)डाक्टर भएका थिए।
विनिता सिंह, सिताराम सिंह कुशवाहा, कविता सिंह, दीपककुमार शर्मा, अजयकुमार अस्थानाले पनि भारतीय बनेर बिडिएस अध्ययन गरेका व्यक्ति हुन्।
एमबिबिएस र बिडिएस कार्यक्रमको मापदण्ड २०१७ लागू भएपछि भने विदेशी विद्यार्थीले पनि प्रवेश परीक्षा दिनुपर्ने भएपछि यो विकृति हटेको छ।
फाइल नै नपाई अनुसन्धान ‘क्लोज’
भर्खरै मात्र एसएलसीको शैक्षिक प्रमाणपत्र सच्याएर डाक्टर बनेकाहरुमाथि पक्राउ गरेर अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले यस विषयमा पनि चासो राख्दै काउन्सिलसँग फाइल मागेको थियो। काउन्सिल र सिआइबीको समन्वयमै अनुसन्धान हुने मौखिक जानकारी पाएको सिआइबी फाइल कुर्दाकुर्दै काउन्सिलले भने अनुसन्धानै क्लोज गरिसकेको छ।
सिआइबी स्रोतका अनुसार यी १२ डाक्टरको फाइल पठाउन पटक पटक आग्रह गर्दा काउन्सिलले फाइल पठाएन। अहिले गृहले नेपाली नागरिक हुन् भने दिएको पत्रकै आधारमा अनुसन्धान नै नगरी यी १२ डाक्टरको फाइल क्लोज भएको छ। यता सिआइबीले भने उनीहरुलाई कीर्ते कसुरमा मुद्दा चलाउन सकिने भन्दै सोही अनुसार अनुसन्धान अघि बढाउने तयारी गरेको थियो।