काठमाडौं- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल सधै झैँ बिरामीको भीडभाडले भरिभराउ थियो। त्यही भीडमा दुई आमा छोरी भेटिइन्, जसको अनुहारमा निकै हतास अनि डर देखिन्थ्यो। उनीहरु निरन्तर फोन डायल गर्न मै व्यस्त थिए। कहिले आमा त कहिले छोरी दुवैले लगातार फोन डायल गरिरहन्थे।
अस्पतालको आकस्मिक कक्ष अगाडी उभिएको घण्टौ भएको थियो। उनीहरु कहिले बस्थे, कहिले उभिन्थे त कहिले यतायता गरिरहन्थे। समय जति बित्दै थियो, उनीहरुको छटपटाहट पनि उति बढ्दै थियो।
आमा छोरीको त्यो छटपटाहट देखेपछि हामीले प्रश्न गर्यौँ, ‘तपाईहरुलाई के समस्या भयो भएको हो?’
निकै वेदनाका साथ आमाले भनिन्, ‘सरकारीमा बेड छैन भन्छन्। निजीमा लाने पैसा छैन। के गरौँ, कहाँ कसलाई भनौँ?’
चार दिन अघि उनको ५० वर्षीय श्रीमानलाई कोरोना पोजेटिभ भयो। तर हिजोसम्म उनको अवस्था जटिल बनिसकेको थिएन। हाल एक्कासी शरीरमा अक्जिसनको मात्रा कम भएपछि उनीहरु बिहान शुक्रराज अस्पताल पुगे। बिरामीको अवस्था देखेपछि चिकित्सकले तत्काल भेन्टिलेटर चाहिने बताए। तर शुक्रराज अस्पतालमा भेन्टिलेटर खाली थिएन।
उनीहरुले जसरी पनि भेन्टिलेटर मिलाउन चिकित्सकलाई आग्रह गरिरहे। तर बढ्दो बिरामीको चापका कारण भेन्टिलेटर पाउन कहाँ सहज थियो र?
त्यसपछि बुवालाई आकस्मिक कक्षमै राखेर दुवै जना भेन्टिलेटर सहितको आइसियुको खोजीमा लागे। निरन्तर फोन डायल गरिरहे तर सबैबाट एउटै जवाफ आउँथ्यो, ‘यहाँ भेन्टिलेटर खाली छैन।’
‘सबै अस्पतालमा फोन गरिसके कतै पनि भेन्टिलेटर खाली छ भन्दैनन्। कोही चिनेको पनि छैन’ उनले मलिन स्वर भनिन्।
उनी थप्छिन्, ‘यहाँको डाक्टरले भेन्टिलेटर खाली छैन, कि अर्को अस्पतालमा लैजानुस् कि केही भए अस्पताल जिम्मेवार हुने छैन भनेर साइन गर्नु भन्नुहुन्छ।’
भेन्टिलेटरको पखाईमा रहेका उनीहरुले झण्डै आठ घण्टापछि सोमबार साँझ सात बजेतिर आइसियु पाएका छन्। हामीले बिरामीले आइसियु पाएरनपाएको बारे चिकित्सकसँग थप बुझ्ने प्रयास गरेका थियौँ। अस्पतालका एक चिकित्सकले उनीहरुले आइसियु पाएको जानकारी दिए।
दैनिक बढ्दै आइसियु र भेन्टिलेटरमा भर्ना हुनेको संख्या
शुक्रराज अस्पतालमा देखिएको यो दृश्यले नेपालको स्वास्थ्य संस्थाको अवस्थालाई प्रतिनिधित्व गर्छ। अर्थात् अस्पतालमा आइसियु र भेन्टिलेटर पाउन कत्तिको मुश्किल छ, त्यो जटिल अवस्थालाई यसले छर्लङ्ग पार्छ। यति मात्र होइन जटिल खालका कोरोना संक्रमितको अवस्था कुन गतिमा बढीरहेको छ, भन्ने यो गतिलो उहादरण हो।
जटिल खालका कोरोना संक्रमितको संख्या दैनिक बढीरहँदा देशका विभिन्न अस्पतालहरुमा आइसियु र भेन्टिलेटर भरिएका छन्। बिरामीले सहजै रुपमा आइसियु र भेन्टिलेटर पाउने अवस्था छैन, निकै मुश्किल छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक अनुसार देशभर हाल २६८ आइसियु र ७८ गरी ३४६ जना कोरोना संक्रमित अस्पतालको आइसियु र भेन्टिलेटरमा छन्। जसमध्ये १३७ जना संक्रमित त काठमाडौंकै आइसियु र भेन्टिलेटरमा छन्।
आइसियु र भेन्टिलेटरमा रहने संक्रमितको ग्राफ दैनिक उकालो लाग्दैछ। पछिल्लो पाँच दिनको मन्त्रालयको तथ्यांकले पनि यसको पुष्टि गर्छः
वैशाख ९ – १८० आइसियु र ४७ भेन्टिलेटरमा – २२७ जना
वैशाख १० – १७३ आइसियु र ५७ भेन्टिलेटरमा – २३० जना
वैशाख ११ – २१३ आइसियु र ६९ भेन्टिलेटरमा – २८२ जना
वैशाख १२ – २५२ आइसियु र ६५ भेन्टिलेटरमा – ३१७ जना
वैशाख १३ – २६८ आइसियु र ७८ भेन्टिलेटरमा – ३४६ जना
एपिएफ अस्पतालमा ४० जना संक्रमित पर्खाइमा
‘डा साब अस्पतालमा आइसियु र भेन्टिलेटर खाली छ?’
डा प्रवीन नेपाललाई दिनभरी सोधिरहने प्रश्न हो यो। काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालका प्रहरी उपरीक्षक डा नेपाल अहिले कोरोना संक्रमितको उपचार व्यवस्थापनमा जुटिरहेका छन्। यो क्रममा उनलाई आइसियु र भेन्टिलेटर खाली भए/नभएको बुझ्न दिनमा कयौँ पटक फोन आइरहन्छ।
यस अस्पतालमा हाल १३८ जना संक्रमित उपचाररत छन्। जसमध्ये १९ आइसियु र ८ जना भेन्टिलेटरमा छन्। अस्पतालले संक्रमितको उपचारका लागि २० आइसियु र ८ भेन्टिलेटर छुट्याएको छ। तर यी सबै शय्या अहिले भरिभराउँ छन्।
नयाँ आउने बिरामीले आइसियु र भेन्टिलेटर पाउँदैनन्। अझै पनि ४० जना संक्रमित आइसियु र भेन्टिलेटरको पखाईमा रहेको डा नेपाल बताउँछन्।
उनी भन्छन्, ‘भेन्टिलेटर र आइसियु सबै भरिसके। बेड खाली भए नभएको बुझ्न फोन आइरहन्छ। तर यहाँ खाली नै छैन। अझै पनि ४० जना संक्रमित बेडको पखाईमा छन्।’
जटिल खालका संक्रमितको संख्या बढ्दै गएपछि शय्याको व्यवस्थापन गर्न निकै चुनौती भएको उनी बताउँछन्।
चाप थेग्न नसकेपछि कोभिड वार्ड विस्तार गर्दै वीर अस्पताल
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि वीर अस्पतालले कोभिड वार्ड विस्तार गर्दैछ। हाल छुट्याइएको शय्याले बिरामीको चाप थेग्न सकेन। त्यसछि वार्ड विस्तारका लागि वीर अस्पताल जुट्न बाध्य भयो।
१८ शय्याको कोभिड वार्ड मंगलबारसम्म विस्तार गरिने अस्पतालका कोभिड फोकल पसर्न डा अच्युतराज कार्कीले बताए। उनका अनुसार बिरामीको चाप दैनिक बढ्न थालेपछि व्यवस्थापन गर्न समस्या अस्पताललाई हम्मे हम्मे भएको छ।
डा कार्की भन्छन्, ‘बिरामीले बेड भरिएपछि हामीले छुट्टै कोभिड वार्ड विस्तार गर्ने निर्णय गर्यौ। मंगलबारसम्म उक्त वार्ड विस्तार हुन्छ।’
वीर अस्पतालले जटिल खालका बिरामीका लागि १० आइसियु र पाँच भेन्टिलेटरको व्यवस्था गरेको छ। तर आइसियु र भेन्टिलेटर भरिभराउँ छन्। हाल आठ जना आइसियु र तीन जना भेन्टिलेटरमा छन्। आइसियु र भेन्टिलेटर सहित वीर अस्पतालमा हाल कुल ४१ जना संक्रमित उपचाररत छन्।
अस्पतालले कोरोना संक्रमित र शंकास्पद बिरामीका लागि आइसियु, भेन्टिलेटर र आइसोलेसन गरी कुल ७६ शय्याको व्यवस्था गरेको छ।
पाटन अस्पतालमा पनि भरिदै आइसियु र भेन्टिलेटर
अन्य अस्पतालमा झैँ पाटन अस्पतालमा पनि कोरोना संक्रमित दैनिक बढ्दैछ। अस्पतालले संक्रमितको उपचारका लागि २५ शय्याको आइसियु र १७ वटा भेन्टिलेटर छुट्याएको छ। तर अहिले नै १६ जना संक्रमित आइसियुमा छन्। १२ जनालाई भेन्टिलेटर चाहिएको छ।
आइसियु र भेन्टिलेटर सहित १३८ जना संक्रमित उपचाररत रहेको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए। हाल कोरोनाका लागि अस्पतालले २१० शय्याको व्यवस्था गरेको छ। पाटन अस्पतालमा पनि जटिल खालका संक्रमितको संख्या दैनिक बढीरहेको निर्देशक शाक्य बताउँछन्।
प्रदेश अनुसार आइसियु र भेन्टिलेटरको संख्या
प्रदेश १ – ११० आइसियु, ४० भेन्टिलेटर
प्रदेश २ – ५६ आइसियु, १९ भेन्टिलेटर
बागमती प्रदेश – ५८९ आइसियु, २६५ भेन्टिलेटर
गण्डकी प्रदेश – २४१ आइसियु, ६७ भेन्टिलेटर
लुम्बिनी प्रदेश – ११४ आइसियु, ६१ भेन्टिलेटर
कर्णाली प्रदेश – ३४ आइसियु, १२ भेन्टिलेटर
सुदूरपश्चिम प्रदेश – २७ आइसियु, १९ भेन्टिलेटर
जम्मा – ११७१ आइसियु, ४८३ भेन्टिलेटर
प्रदेश अनुसार आइसियु र भेन्टिलेटरमा रहेका संक्रमितको संख्या
प्रदेश १ – २४ आइसियु, १ भेन्टिलेटरमा
प्रदेश २ – ९ जना आइसियुमा
बागमती प्रदेश – ११९ आइसियु, ४९ जना भेन्टिलेटरमा
गण्डकी प्रदेश – ५ जना आइसियु, १ जना भेन्टिलेटरमा,
लुम्बिनी प्रदेश – ७५ जना आइसियु र २३ जना भेन्टिलेटरमा
कर्णाली प्रदेश – १६ जना आइसियुमा
सुदूरपश्चिम प्रदेश – २० जना आइसियु, ४ जना भेन्टिलेटरमा