कैलाली- उपचारका लागि आउने भारतीय नागरिकलाई अनिवार्य रूपमा पिसिआर रिपोर्ट देखाएमात्र नेपाल प्रवेश गराइने भएको छ। जिल्ला प्रशासन कार्यालय कैलाली र कञ्चनपुरले कैलालीमा उपचारका लागि आउने भारतीयको अनिवार्य पिसिआर रिपोर्ट हेरेरमात्र प्रवेश गराउन सुरक्षा निकायहरुलाई निर्देशन दिएपछि नाकामा कडाइ गरिएको छ।
सोमबार दिउँसो ३ बजे भारतका विभिन्न स्थानबाट ५० बढी भारतीयहरू उपचारका लागि नाकाबाट प्रवेश गरिरहेका थिए। त्यहाँस्थित सुरक्षाकर्मीले पिसिआर रिपोर्ट मागेपछि उनीहरूले खोप कार्ड देखाएका थिए। खोप कार्डलाई आधार नमान्ने भन्दै उनीहरूलाई सुरक्षाकर्मीहरूले फर्काएका थिए।
विशेषत: भारतका विभिन्न स्थानबाट गेटा आँखा अस्पतालमा आँखा उपचार गराउन आउने गरेका छन्। कैलालीका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले भने- ‘गेटा आँखा अस्पतालमा धमाधम भारतीयहरू विनापरीक्षण आउँदा कोरोनाको जोखिम बढ्यो।’ उनले आइतबार मात्र गेटा आँखा अस्पतालमा आँखा परीक्षण गर्न आएका एक भारतीयमा कोरोना संक्रमण देखिएको बताए।
उनले भने- ‘७२ घण्टाभित्र पिसिआर चेकजाँच गरि रिपोर्ट देखाउने भारतीयलाई मात्र नाकाबाट प्रवेश गराइने छ।’ यस्तै, अन्तर जिल्ला संकट व्यवस्थापन केन्द्रले भारतबाट प्रवेश गर्ने नेपालीहरूलाई रोक नलगाउने तर, उनीहरूको एन्टीजेन परीक्षण गरेर मात्र प्रवेश गराउने निर्णय गरेको छ।
प्रमुख जिल्ला अधिकारी रिजालले भने- ‘भारतमा काम गरिरहेका सुदूरपश्चिमवासीलाई स्वदेश फर्कन कुनै रोक लगाइएको छैन। बरु, उनीहरू फर्केको स्थानका आधारमा सामान्य सोधपुछ र एन्टीजेन परीक्षण गरि प्रवेश गराइने छ।’ उनले एन्टीजेनमा कोरोना पुष्टि भएकालाई आइसोलेसनमा राख्ने र उनीहरूको पिसिआर परीक्षण गर्ने व्यवस्था गरिएको बताए।
उनले स्वदेशबाट भारत जाने सुदूरपश्चिमवासीलाई भने रोक लगाइएको बताए। उनले भने- ‘अत्यावश्यक कामबाहेक कुनै पनि नेपालीलाई नाकाबाट भारत जान दिइने छैन।’ उनका अनुसार बिरामीको उपचारबाहेक अन्य सामान किनमेल, भेटघाट, रोजगारी लगायतका लागि भारत प्रवेश गर्न दिइने छैन।