काठमाडौं– केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)मा एक महिनाभन्दा पहिले एउटा सूचना आयो–‘अस्पतालमा कार्यरत केही डाक्टरको शैक्षिक प्रमाणपत्र नक्कली छ।’
डाक्टरकै शैक्षिक प्रमाणपत्र नक्कली भएको सूचना पाएपछि अनुसन्धान गर्न सिआइबीले एसपी श्यामकुमार महतोको नेतृत्वमा एउटा टोली नै बनाएर अनुसन्धान सुरु गर्यो।
एमबिबिएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिमा इलिजिबिलिटी कमिटि हुन्छ। उक्त कमिटिले एमबिबिएस अध्ययनका लागि योग्छ छ÷छैन भनेर शैक्षिक प्रमाणपत्र हेर्ने काम गर्छ। राष्ट्रिय चिकित्सा शिक्षा ऐन, २०७५ लागु भएपछि यो वर्षदेखि भने चिकित्सा शिक्षा आयोगले यो काम गर्दै आएको छ।
सिआइबीले मेडिकल काउन्सिलसँग शंकास्पद डाक्टरहरुको शैक्षिक प्रमाणपत्र माग गर्यो। ‘काउन्सिलबाट लिइएका शैक्षिक प्रमाणलाई राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयसँग भएको रेकर्डसँग म्याच गराउँदा मेल खाएन’ सिआइबीका निर्देशक तथा डिआइजी सहकुल बहादुर थापाले भने, ‘त्यसपछि उनीहरुलाई पक्राउ गरिएको हो।’
एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली बनाएको आरोपमा सप्तरी विष्णुपुर–२ घर भई हाल मोरङ विराटनगर महानगरपालिका–५ सम्झनाचोक बस्ने २८ वर्षीय मोहमद सिद्दिक, सप्तरी मकरपुरा–९ घर भई हाल मोरङ बरगाछी बस्ने ३१ वर्षीय अखिलेश कुमार देव, महोत्तरी मनरा–५ घर भई हाल भक्तपुर मध्यपुर ठिमी नगरपालिका–२ आदर्श वस्ती बस्ने २७ वर्षीया पल्लवी सिंह, ललितपुर महानगरपालिका– २ सानेपाका २९ वर्षीय फराज हुसेन खाँ पक्राउ परेका छन् ।
यस्तै, महोत्तरी सरपल्लो–६ घर भई हाल जनकपुर उपमहानगरपालिका–७, जिरोमाइल बस्ने २९ वर्षीय सुभाष प्रसाद साह, धनुषा सवैला नगरपालिका–५ घर भई हाल ललितपुर महानगरापालिका–२ महालक्ष्मीस्थान बस्ने २८ वर्षीय मोहम्मद शाहिद राजा र मनाङ साविक चामे गाविस–५ का दिपेन्द्र गौतम पक्राउ परेका हुन्।
पक्राउ परेकाहरु सबैलाई जिल्ला अदालत काठमाडौंबाट लिखतसम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ।
पक्राउ पर्नेमध्ये २८ वर्षीय मोहमद सिद्दिक न्यूरो अस्पताल विराटनगर, २९ वर्षीय सुभाष प्रसाद साह जनकपुर चिल्ड्रेन अस्पताल, २८ वर्षीय मोहम्मद शाहिद राजा दीर्घायु गुरु अस्पताल चाबहिल, ३१ वर्षीय गौतम चौरझारी अस्पतालमा कार्यरत रहेको सिआइबीकी प्रवक्ता प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन्।
बंगलादेश जानकै लागि कीर्ते
पक्राउ परेका उनीहरुले बंगलादेशमा एमएमबिबिएस अध्ययन गर्नका लागि नै एलएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाइएको छ। पक्राउ परेका मध्ये ६ जनाले बंगलादेशबाटै एमएबिबिएस अध्ययन पुरा गरेका हुन् भने पल्लवी सिंह नेपालमै अध्ययनरत रहेको पाइएको छ।
‘नक्कली’ डाक्टरमाथि अनुसन्धान गरेका सिआइबीका एसपी श्यामकुमार महतोले जिपिए पुर्याउनका लागि शैक्षिक प्रमाणपत्र कीर्ते गरेको पाएको बताए।
बंगलादेशमा एमबिबिएस अध्ययनका लागि निश्चित जिपिए तोकिएको हुन्छ। एसएलसीको बंगलादेशमा शैक्षिक प्रमाणपत्रको अंक र प्लस टुको शैक्षिक प्रमाणपत्रको अंक जोडेर जिपिए निकालिन्छ। एसपी महतोका अनुसार यी दुबैको अंक जोडेर ७ जिपिए आयो भने निजी कलेजमा पढ्न योग्य हुन्छ। ८ आयो भने सरकारी क्याम्पसमा पढ्न योग्य हुन्छ।
हाल पक्राउ परेकाहरुको एसएलसीको वास्तविक प्रमाणपत्रका आधारमा दुबै जिपिए नपुग्ने भएपछि उनीहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र कीर्ते गरेको अनुसन्धानमा खुलेको छ।
बागबजारमा बन्यो कीर्ते
जनकपुरका अरुण चौधरी काठमाडौं बागबजारमा ज्योतिदिप इन्टरनेश्नल कन्सल्टेन्सी सञ्चालन गरेर बसेका व्यक्ति हुन्। उनी पनि अहिले सिआइबीको नियन्त्रणमा छन्। ७ जना डाक्टर पक्राउ परेपछि उनी पक्राउ परेका हुन्।
पक्राउ परेका डाक्टरहरुले नक्कली सर्टिफिकेट उनै चौधरीले बनाइदिएको भनेर बयान दिएपछि उनलाई पक्राउ गरिएको सिआइबीका प्रवक्ता एसपी गंगा पन्तले बताइन्।
हाल पक्राउ परेका सबै जनाको नक्कली शैक्षिक प्रमाणपत्र उनै चौधरीले बनाएका थिए। निश्चित रकम लिएर उनले नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको पाइएको छ।
धुईंधुईं खोजिएका डाक्टर नै प्रहरी हिरासतमा भेटिए
नक्कली शैक्षिक प्रमाणपत्रधारी डाक्टरको सूचीमा थिए जनकपुरका सुभाषप्रसाद साह। जनकपुरको चिल्ड्रेन अस्पतालमा कार्यरत साहलाई पक्राउ गर्न सिआइबीको टोलीले काठमाडौंदेखि जनकपुरसम्म पुग्यो। उनी अस्पतालमा भेटिएनन्।
प्रहरीले खोजी गरेको भन्ने सूचना लिक भएर फरार भएको हुनसक्ने आशंका प्रहरीले गर्यो। धुईंधुईं खोजी गर्दा पनि नभेटिएका साह भने प्रहरी हिरासतमै रहेको जानकारी प्रहरीले पायो।
एक युवतीसँग लिभिङ टुगेदरमा रहेका साहले विवाह गर्न नमानेपछि ती महिलाले प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यसपछि उनलाई धनुषा प्रहरीले पक्राउ गरेको थियो। प्रहरी हिरासतमा रहेका साहलाई धनुषाबाटै प्रहरीले काठमाडौं ल्याएर सोमबार सार्वजनिक गर्यो।
अंकदेखि जन्म मिति र नाम समेत सच्याएर नक्कली सर्टिफिकेट बन्यो
पक्राउ परेकाहरुले एसएलसीको शैक्षिक प्रमाणपत्र सच्याएका छन्। उनीहरुले अंकदेखि, जन्ममिति र नाम समेत सच्याएको पाइएको डिआइजी थापा बताउँछन्। जिपिए पुगेका तर एमबिबिएस अध्ययनका लागि तोकिएका निश्चित विषयमा तोकिएभन्दा कम अंक आएकाले त्यसलाई बढाएको पाइएको छ।
उदाहरण दिँदै डिआइजी थापाले भने, ‘जस्तो नेपालीमा ८६ आएको छ तर विज्ञानमा ४६ अंक आएको छ भने जिपिए पुगे पनि उ एमबिबिएस अध्ययनका लागि योग्य हुँदैन। त्यसपछि नेपालीको ८६ लाई ४६ अंक बनाएर विज्ञानको ४६ लाई ८६ बनाएको पाइएको छ । कुल अंक भने थपघट भएको छैन।’
जिपिए नै नपुगेकाहरुले अर्कैको नाममा रहेको सर्टिफिकेटलाई नक्कली बनाएको समेत पाइएको छ। जिपिए पुग्नको नाममा रहेको सर्टिफिकेटको नाम र सिम्बोल नम्बर परिर्वतन गरेर आफ्नो नाम र सिम्बोल नम्बर राखी कीर्ते गरिएको अनुसन्धानबाट खुलेको छ।
कीर्ते ठहरिए लाइसेन्स खारेज हुन्छ : काउन्सिल
पक्राउ परेका मध्ये ४ जनाले अहिले पनि नेपाल मेडिकल काउन्सिल (एनएमसी)बाट लाइेन्स नै लिएर डाक्टरी पेशा गरिरहेका छन्। उनीहरुलाई सिआइबीले लिखत सम्बन्धी कसुरको आरोपमा म्याद लिएर अनुसन्धान सुरु गरेको छ।
योसँगै काउन्सिलले पनि उनीहरुमाथि छानबिन गर्ने बताएको छ। उनीहरुको शैक्षिक प्रमाणपत्र नक्कली हुन् होइनन् भन्नेबारे अनुसन्धान हुने काउन्सिलका रजिष्ट्रार डा कृष्ण अधिकारीले बताए।
सिआइबीको अनुसन्धान र एनएमसीको अनुसन्धानबाट नक्कली सर्टिफिकेट भनेर लगाइएको आरोपलाई अदालले सदर गर्दै आरोपितहरुलाई दोषी ठहर गरेमा उनीहरुको लाइसेन्स खारेज गरिने रजिष्ट्रार डा अधिकारी बताउँछन्।
तर यसअघि पनि सिआइबीले अपरेशन क्वाक नाम दिएर शैक्षिक प्रमाणपत्र नक्कली भएको आरोपमा दुई दर्जन भन्दा बढी डाक्टरलाई पक्राउ गरेको थियो। तर मुद्दा स्थापित हुन् नसक्दा सबैले केही समय हिरास बसेर उन्मुक्ति पाएका थिए।