काठमाडौं - ६५ वर्ष माथिका ज्येष्ठ नागरिक र दीर्घरोगीहरु कोरोना संक्रमणको उच्च जोखिममा पर्ने समूहमध्ये एक हुन्। कोरोनाको सुरुवाती दिनमा पनि यिनै समूह बढी संक्रमित हुन्थे र अहिले पनि हुने गर्छन्।
लक्षण देखिने, सिकिस्त भएर अस्पताल भर्ना हुनेहरुमा पनि ६५ वर्ष माथिका र दीर्घरोगीहरु नै बढी हुन्छन्। बालबालिका र युवा उमेर समूहका व्यक्तिहरु उनीहरुको तुलनामा कम जोखिममा पर्ने चिकित्सकहरुले बताउँदै आएका छन्। तर अहिलेको अवस्थामा युवा उमेरका व्यक्तिहरु पनि उच्च जोखिममा पर्न थालेका छन्।
यसको अर्थ युवा उमेरका व्यक्ति जोखिममा पर्दै नपर्ने भन्ने होइन। तर उनीहरुलाई कम जोखिम समूह अन्तर्गत राख्ने गरिन्थ्यो। अस्पतालमा भर्ना हुनेहरुको संख्या पनि युवा उमेरका व्यक्तिहरु कम हुने गर्थे। तर अहिले अस्पतालमा हुनेहरुमा युवा उमेरका व्यक्तिहरुको संख्या पनि विस्तारै बढ्दैछ।
काठमाडौं उपत्यकाको कोरोना उपचार हुने अस्पतालको आईसीयूमा भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दैछ। जसमा युवाहरुको संख्या पनि विस्तारै बढ्न थालेको अस्पतालबाट प्राप्त विभिन्न तथ्यांकले देखाउँछ।
काठमाडौं उपत्यकाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, नेपाल एपीएफ अस्पताल, त्रिवि शिक्षण अस्पताल र पाटन अस्पतालसँग हामीले यही विषयमा बुझ्ने प्रयास गरेका छौँ। यी अस्पतालहरुमा पछिल्लो २/३ सातादेखि भर्ना हुनेहरुमा युवाहरुको संख्या पनि विस्तारै बढ्न थालेको पाइएको छ।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक उकालो लाग्दैछ। त्यसमा पनि सिकिस्त भएर आईसीयूमा भर्ना हुनेको संख्या बढ्दो क्रममा छ।
शुक्रराज अस्पतालमा हाल १८ संक्रमित उपचाररत छन्। जसमध्ये ११ जना आइसियु र भेन्टिलेटरमा छन्।
सुरुवाती दिनमा अस्पताल भर्ना हुनेहरुमा वृद्धवृद्धाहरु बढी हुने गरेकोमा हाल शुक्रराज अस्तपालमा ३० देखि ५० उमेर समूहका व्यक्तिहरु भर्ना हुने गरेको डा अनुप बास्तोलाले बताए।
अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा बास्तोलाले हाल भर्ना हुनेहरुमा ५० उमेर समूहका व्यक्तिहरु बढी रहेको बताए। ३०, ३२, ४० उमेर समूहका व्यक्तिहरु पनि भर्ना हुने गरेको उनले बताए।
उनले भने, ‘यो अस्पतालमा सुरुवाती दिनमा जसरी अस्पताल भर्ना हुनेहरुमा वृद्धवृद्धाहरु बढी हुन्थे भने अहिलेका दिनहरुमा भर्ना हुनेमा युवाहरु छन्।’
युवा उमेर समूहका व्यक्तिहरु बढी भीडभाडमा जाने, सक्रिय हुने, जनस्वास्थ्यका मापदण्ड पालना नगर्ने भएका कारण उनीहरु बढी जोखिममा परेको उनले बताए।
अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २३ आइसियु सहित २८ शय्या छुट्याएको छ। सिकिस्त भएर आईसीयूमा भर्ना हुने क्रममा चैत दोस्रो सातादेखि बढ्न थालेको उनले बताए। मानिसहरुले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरेसँगै संक्रमितको संख्या र सिकिस्त हुने क्रम बढ्न थोलेको उनको अनुभव छ।
उनले भने, ‘शुक्रराज अस्पतालमा चैतको दोस्रो सातादेखि बिरामी बढ्न थालेको हो। मानिसहरुले मापदण्ड तोड्न थाले। कोरोना भेरियन्टका कारणले पनि संक्रमणको संख्या बढ्न थालेको हो।’
नेपाल एपिएफ अस्पताल
काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा भर्ना हुने संक्रमितहरुमा युवाहरु पनि छन्। यसअघि भर्ना हुनेमा युवाहरु नभएका भन्ने होइन। तर करिब दुई सातादेखि यो संख्या केही बढ्न थालेको हो की भन्ने अस्पतालको अनुमान छ।
अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपाल भन्छन्, अहिले अस्पताल भर्ना हुनेहरुमा युवाहरु पनि छन्। १८, २७ वर्षका व्यक्तिहरु पनि भर्ना भएर उपचाररत छन्।
अस्पताल भर्ना हुनेमा ४० देखि ५० वर्ष उमेर समूहका व्यक्ति बढी रहेको उनले बताए। १८ वर्ष मुनिका हाल तीन जना संक्रमित उपचाररत रहेको डा नेपालले बताए।
उनले भने, ‘अहिले सिकिस्त भएर अस्पताल भर्ना हुनेहरुमा युवाहरुको संख्या पनि छ। पहिलाको भन्दा हो। पहिला पनि युवाहरु भर्ना नभएका होइनन। तर अहिले अलि बढी हुन थालेको जस्तो देखिन्छ।’
यस अस्पतालमा हाल एक जना भेन्टिलेटर, १० आइसियु सहित ४० जना संक्रमित उपचाररत छन्।
त्रिवि शिक्षण अस्पताल
महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा भर्ना हुने संक्रमितहरुको उमेर २० देखि ६० वर्षको छन्। जसमध्ये २० देखि ४० वर्ष उमेर समूहका व्यक्तिहरुको संख्या बढी छ। यहाँ हाल २३ जना संक्रमित उपचाररत छन्। जसमध्ये तीन जना संक्रमित आइसियुमा छन्।
त्रिवि शिक्षण अस्पतालका कोभिड १९ व्यवस्थापन समितिका संयोजक डा सन्तकुमार दास हाल देखिएको नयाँ कोरोना भाइरसले युवाहरुलाई सिकिस्त बनाउने गरेको बताउँछन्। उनका अनुसार युवाहरु पहिले संक्रमित नभएका होइनन्। तर सिकिस्त भएर अस्पताल भर्ना हुने संख्या निकै कम थियो।
उनी भन्छन्, ‘युवाहरुमा पहिले पनि संक्रमण नभएको त होइन। फरक के थियो भने पहिले संक्रमण भएका युवाहरु भर्ना गर्नुपर्ने कम थियो। अहिले भने भर्ना गर्नुपर्ने देखियो अनि गम्भीरता पनि देखिएको छ।’
कोरोनाको नयाँ भेरियन्टका कारण अहिले संक्रमितहरु बढी सिकिस्त हुने गरेको उनको अनुमान छ।
कोरोनाको उपचारका लागि त्रिवि शिक्षण अस्पताले हाल १२ आईसीयू सहित ६० शय्याको व्यवस्था गरेको छ। संक्रमितको संख्या अनुसार अस्पतालको शय्या क्षमता बढाउँदै लैजाने डा दासले बताए।
पाटन अस्पताल
विभिन्न अस्पतालमा युवाहरु सिकिस्त भई भर्ना हुने क्रम विस्तारै बढीरहँदा पाटन अस्पतालमा भने अवस्था फरक छ। अस्पताल भर्ना हुनेमा युवाहरुको संख्या धेरै नरहेको निर्देशक डा रवि शाक्यले बताए।
उनका अनुसार अस्पताल भर्ना हुनेमा ३० वर्ष माथि र आईसीयूमा भर्ना हुनेमा ७० वर्ष माथि उमेर समूहका व्यक्तिहरु छन्।
पाटन अस्पतालमा हाल १६ जना आईसीयूमा सहित ७९ जना संक्रमित उपचाररत छन्। यो अस्पतालमा पनि भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २१ आईसीयू सहित ९० शय्याको व्यवस्था गरेको छ।
बच्चा र युवाहरुलाई जोगाउनु नै चुनौती छ : विज्ञ
पछिल्लो समय व्यापक रुपमा फैलिरहेको कोरोनाको नयाँ रुप अर्थात् यूके भेरियन्टबाट १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका व्यक्ति बढी जोखिममा रहेको विज्ञहरुले बताएका छन्।
यूके भेरियन्ट पहिलेकोभन्दा बढी आक्रामक र सहजै संक्रमण गर्न सक्ने खालको भएको भाइरोलोजिष्ट डा लुना भट्ट बताउँछिन्। बालबालिकामा रोग प्रतिरोधात्मक क्षमता कमजोर हुने भएकाले उनीहरु कोरोनाको बढी जोखिममा रहेको उनले बताइन्।
अहिले देखिएको नयाँ भेरियन्ट भाइरसमा सर्न सक्ने क्षमता पहिलेभन्दा धेरै रहेको बताउँदै डा लुना भन्छिन्, ‘नयाँ भेरियन्ट भाइरस सजिलै सर्न सक्ने र रोग प्रतिरोधात्मक क्षमतालाई छल्न सक्ने खालको देखिन्छ।’
बालबालिकाहरुमा रोग प्रतिरोधात्मक क्षमता कम हुने र युवाहरु बढी सक्रिय हुने भएकाले पनि उनीहरु बढी जोखिममा रहेको उनी बताउँछिन्। अहिले देखिएको सबैभन्दा जोखिम क्षेत्र विद्यालय भएकाले सरकारले यस वर्ष ध्यान दिनुपर्नेमा उनको जोड छ।
१८ वर्ष मुनिका बालबालिकाले खोप लगाउन नमिल्ने भएकाले पनि उनीहरु स्वयं जोखिममा पर्ने र रोग सार्न सक्ने संभावना सधै हुने उनले बताइन्। कोरोना संक्रमणको दर यसरी नै बढ्दै गए लकडाउनको स्थिति आउन नसिकएला भन्न नसकिने उनले बताइन्। लकडाउनको स्थिति आउन नदिन व्यक्ति स्वयं र सरकारले विशेषज्ञ ध्यान दिन उनको सुझाव छ।
यूके भेरियन्ट नेपालमा भित्रिसकेकाले १८ वर्ष मुनिका बालबालिका र ४० वर्ष मुनिका युवाहरुले विशेष सावधानी अपनाउनुपर्ने उनले बताइन्।
उनले भनिन्, ‘वृद्धवृद्धा, दीर्घरोगीहरु त पहिलेदेखि नै जोखिममा छन्। तर बच्चा र युवाहरुलाई कसरी जोगाउने भन्ने नै ठुलो चुनौती भयो।’