काठमाडौं - आइतबार मात्र देशभर ३ सय ३ जना कोरोना संक्रमित भेटिए। जसमध्ये आधा संक्रमित काठमाडौं उपत्यकामा पुष्टि भएका संक्रमितहरु हुन्। गत २४ घण्टामा काठमाडौंमा १ सय २८, ललितपुरमा १५ र भक्तपुरमा ११ गरी १ सय ५४ जनामा संक्रमण पुष्टि भयो।
यो सँगै नेपालमा हाल कोरोना संक्रमितको संख्या २ लाख ८० हजार नाघेको छ। कुनै बेला एक सय तल झरेको संक्रमितको संख्या दैनिक उकालो लाग्दैछ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक नियाल्ने हो भने दैनिक ३ सयको हाराहारीमा संक्रमित भेटिन थालेका छन्। जसमध्ये आधाजति संख्या त काठमाडौं उपत्यकामै हुने गरेको छ। चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या २ सय माथि नाघेको देखिन्छ। चैत २६ बाट बढ्दै संक्रमितको संख्या ३ सय माथि पुगेको छ।
यसले पनि काठमाडौं उपत्यकामा पुनः कोरोनाको जोखिम र संक्रमितको संख्या बढ्दै गएको पुष्टि गर्छ। कोरोना संक्रमितको संख्या बढ्दै गएपछि काठमाडौं उपत्यकामा रहेका अस्पतालको शय्या पनि भरिँदै गएका छन्।
देशभर हाल ८९ जना संक्रमित आइसियु र १५ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा सबैभन्दा धेरै संक्रमित आइसियु र भेन्टिलेटरमा छन्। यहाँ मात्र ५२ जना आइसियु र १४ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।
प्रदेश १ मा १ जना आइसियुमा छन् भने कुनै पनि संक्रमित भेन्टिलेटरमा छैन। प्रदेश २ र गण्डकी प्रदेशमा कुनै पनि संक्रमित आइसियु र भेन्टिलेटरमा छैनन्। लुम्बिनीमा ३४ र कर्णालीमा १ जना संक्रमित आइसियुमा छन्। सुदूरपश्चिम प्रदेशमा १÷१ जना संक्रमित आइसियु र भेन्टिलेटरमा रहेको मन्त्रालयले जनाएको छ। यी सात वटै प्रदेशमा गरी १ हजार १ सय ५८ आइसियु शय्या र ४ सय ७६ भेन्टिलेटर छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्णप्रसाद पौडेल हाल आइसियुमा भर्ना हुने बिरामीको संख्या बढ्दै गएको बताउँछन्। विशेषगरी काठमाडौं उपत्यकाका अस्पतालहरुमा आइसियुमा भर्ना हुने दर बढ्दै गएको उनले बताए।
उनले भने, ‘अहिले कोरोना संक्रमितको संख्या बढ्दो छ। अनि सिकिस्त भएर आइसियुमा भर्ना हुने संक्रमितको संख्या पनि बढ्दो छ। विशेषगरी काठमाडौंका अस्पतालहरुमा यो क्रम बढी देखिन्छ।’
कोरोनाको फैलावट रोक्न विद्यालय, सार्वजनिक यातायात र सार्वजनिक क्षेत्रमा बढी ध्यान दिनुपर्ने उनले बताए। धेरै भीडभाड हुने यी क्षेत्रमा केही व्यवस्था गर्नुपर्ने भएकाले कोभिड १९ व्यवस्थापन केन्द्र सिसिएमसी को आगामी बैठकमा छलफल हुने उनले बताए।
काठमाडौं उपत्यकाको कुन अस्पतालमा कति संक्रमित आइसियुमा?
देशभर दैनिक पुष्टि हुने गरेका कोरोना संक्रमितको आधाजति संख्या काठमाडौं उपत्यकामै हुने गरेको छ। काठमाडौं उपत्यकामा हाल ३८ जना आइसियु र ११ जना संक्रमित भेन्टिलेटरमा उपचाररत रहेको मन्त्रालयको तथ्यांक छ। काठमाडौं उपत्यकास्थित कोरोना उपचार हुने आठ वटा अस्पतालको तथ्यांक हो यो। यी आठ वटै अस्पतालहरुको तथ्यांक अनुसार हाल ९४ जना संक्रमित आइसोलेसनमा छन्।
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल
कोरोना संक्रमितको संख्या बढ्दै गएपछि शुक्रराज अस्पताललाई सरकारले गत वर्ष कोरोना विशेष अस्पताल बनाएको थियो। तर कोरोना संक्रमितको संख्या घट्न थालेपछि यो अस्पतालमा कोभिड र नन कोभिड दुवै बिरामीको उपचार हुने गरेको छ।
हाल शुक्रराज अस्पतालको आइसियुमा भर्ना हुने संक्रमितको संख्या बढ्दो क्रममा छ। अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २३ आइसियु सहित २८ शय्या छुट्याएको छ। तर अहिले नै १८ जना संक्रमित आइसियु र ४ जना भेन्टिलेटरमा उपचाररत रहेको अस्पतालका प्रवक्ता एवं सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले जानकारी दिए। आइसियुमा रहेका १८ मध्ये १४ जनामा निमोनिया भएको उनले बताए।
शुक्रराज अस्पतालमा आइसियुमा भर्ना हुने संक्रमितको संख्या बढ्दो क्रममा छ। पौष महिलनामा २७, माघमा २८, फागुनमा २९ र चैतको हालसम्म ३९ जना संक्रमित आइसियुमा भर्ना भइसकेको अस्पतालको तथ्यांक छ।
सिकिस्त भएर आइसियुमा भर्ना हुने क्रममा चैत दोस्रो सातादेखि बढ्न थालेको उनले बताए। मानिसहरुले जनस्वास्थ्यका मापदण्ड उल्लंघन गरेसँगै संक्रमितको संख्या र सिकिस्त हुने क्रम बढ्न थोलेको उनको अनुभव छ।
उनले भने, ‘शुक्रराज अस्पतालमा चैतको दोस्रो सातादेखि बिरामी बढ्न थालेको हो। मानिसहरुले मापदण्ड तोड्न थाले। कोरोना भेरियन्टका कारणले पनि संक्रमणको संख्या बढ्न थालेको हो।’
सिकिस्त बिरामीको चाप यही गतिमा बढे केही साताभित्र मृत्युदर बढ्न सक्ने उनको अनुमान छ। अहिले पत्ता लागेको संक्रमितमध्ये सिकिस्त संक्रमितको संख्या धेरै रहेको उनले बताए।
नेपाल एपिएफ अस्पताल
काठमाडौंको बलम्बुस्थित नेपाल एपिएफ अस्पतालमा हाल भर्ना हुने संक्रमितको संख्या बढ्दो छ। १० दिनअघि एपीएफ अस्पतालमा भर्ना हुने संक्रमितको संख्या दुई जना मात्र थियो। हाल यो संख्या बढेर २६ पुगेको छ। अस्पतालका प्रहरी उपरीक्षक डा प्रवीन नेपालका अनुसार एपीएफ अस्पतालमा हाल२६ जना संक्रमित उपचाररत छन्। जसमध्ये १० जना आइसियु र १६ जना कोरोना वार्डमा उपचाररत रहेको डा नेपालले बताए।
उनी भन्छन्, ‘१० दिन अघि यहाँ दुई जना संक्रमित मात्र थिए। अब चाँही वार्ड र आइसियु खाली हुन्छ जस्तो लागेको थियो। तर अहिले संक्रमितको संख्या बढ्दै गयो।’
अस्पताल भर्ना हुन आउनेमा श्वास फेर्न गाह्रा हुने र ज्वरो निको नभएर आउने संक्रमित छन्। कोरोना संक्रमितको उपचारका लागि अस्पतालले २० आइसियु सहित १ सय ४० शय्या छुट्याएको छ।
बिरामीको चाप बढ्दै गए आवश्यकता अनुसार शय्या क्षमता बढाउँदै लैजाने डा नेपालले बताए। हालसम्म एपीएफ अस्पतालमा २ हजार ४ सय ३ जना संक्रमित भर्ना भइसकेका छन्। जसमध्ये ६६ जनाको मृत्यु भएको अस्पतालले जनाएको छ।
पाटन अस्पताल
पाटन अस्पतालमा पनि भर्ना हुने कोरोना संक्रमितको संख्या दैनिक बढ्दो छ। अस्पतालले कोरोना संक्रमितको उपचारका लागि २१ आइसियु सहित ९० शय्याको व्यवस्था गरेको छ। तर पाटन अस्पतालको आइसियु अहिले नै भरिभराउँ छ। २१ आइसियु सबैमा संक्रमित भर्ना भएको अस्पतालका निर्देशक डा रवि शाक्यले बताए।
पछिल्लो एक हप्ताबाट बिरामीको संख्या बढ्न थालेको उनले बताए। दिउँसोसम्मको तथ्यांक अनुसार पाटन अस्पतालमा २१ जना आइसियुमा सहित ८० जना उपचाररत छन्।
निर्देशक रवि शाक्य भन्छन्, ‘अहिले अस्पतालमा भर्ना हुने संक्रमितको संख्या बढेको छ। एक हप्ता अघिसम्म धेरैमा १५ जना मात्र भर्ना हुन्थे। तर अहिले केही दिन यता बढ्दै गएर ८० सम्म पुगेको छ।’
भर्ना हुने संक्रमित मात्र नभएर पाटन अस्पतालमा पिसिआर परीक्षण गर्नेको संख्या पनि बढेको छ। पहिले दैनिक ५० जनाले मात्र पिसिआर परीक्षण गराउँथे भने अहिले एक सय जना जतिले परीक्षण गराउँछन्।
पहिले ५० जनाले गराएको पिसिआरमा ५ जना जति मात्र कोरोना पोजेटिभ आउँथे भने अहिले एक सय जनामा ३० प्रतिशतको पोजेटिभ आउने गरेको शाक्य बताउँछन्। श्वासप्रश्वासमा समस्या आएर, ज्वरो आएका र अक्सिजनको कमी भएर अस्पताल भर्ना हुने गरेको उनले बताए।
कोरोना महामारी बढेको बेला पाटन अस्पतालले कोरोना उपचारका लागि २ सय ६० शय्या छुट्याएको थियो। तर बीचमा बिरामीको संख्यामा कमी आएपछि शय्याको संख्या पनि घटाएको थियो। तर आवश्यकता अनुसार कोरोना उपचारका लागि शय्या क्षमता बढाउँदै लैजाने निर्देशक शाक्यले बताए।
उनले भने, ‘हामीले अहिले कोरोना उपचारका लागि मात्र भनेर ९० शय्या छुट्याएका छौँ। तर यही क्रममा बिरामीको संख्या बढ्दै गए आवश्यकता अनुसार शय्या पनि थप गर्दै जानेछौ।’
वीर अस्पताल
वीर अस्पतालमा हाल ५ जना कोरोना संक्रमित उपचाररत छन्। जसमध्ये २ जना संक्रमित आइसियुमा रहेको अस्पतालका कोभिड फोकल पर्सन डा अच्युत कार्कीले बताए।
वीर अस्पतालमा पनि कोरोना संक्रमितको संख्या बढ्दै गएको उनले बताए। यहाँ पनि पछिल्लो एक हप्तामा संक्रमितको संख्या बढ्दै गएको उनले बताए।
उनले भने, ‘पछिल्लो एक हप्तामा एक जना, दुई जना गरी संक्रमित थपिदै गएको छ। विस्तारै गरी भर्ना हुने संक्रमितको संख्या बढ्दो छ।’
कोरोना उपचारका लागि १० आइसियु सहित ४० शय्या छुट्याएको छ। तर आवश्यकता अनुसार शय्या थप गर्दै जाने डा कार्कीले बताए।
यो सहित नेपाल प्रहरी अस्पतालमा १ जना आइसियु, त्रिवि शिक्षण अस्पतालमा २ आइसियु र १ भेन्टिलेटर, ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा ६ आइसियु र ह्याम्स अस्पतालमा ९ जना आइसियु र १ जना भेन्टिलेटरमा रहेको मन्त्रालयको तथ्यांक छ।