काठमाडौं - ‘कोरोना भाइरसको पछिल्लो संक्रमणको विशेषता हेर्दा नेपालमा पनि नयाँ प्रजातिको संक्रमण भुसको आगो जस्तै सल्किँदै गएको मान्न सकिन्छ।’
सरुवा रोग विशेषज्ञ डा अनुप बास्तोलाले सामाजिक सञ्जालमा लेखेको कुरा हो यो। उनले उल्लेख गरेका यी विषयलाई सामान्य रुपमा लिन सकिदैन। उनले भनेझै कोरोना भाइरसको नयाँ प्रजाति (यूके भेरियन्ट) बढी संक्रामक रहेको भन्ने आधार प्रशस्त छन्।
नेपालमा दैनिक उकालो लाग्दै गरेको कोरोना संक्रमितको तथ्यांक यसलाई पुष्टि गर्न काफी छ। चैत २० गतेदेखि हालसम्मको तथ्यांक हेर्ने हो भने २ हजार २ सय ६४ जना संक्रमित भेटिएका छन्। चैत २३ गतेदेखि कोरोना संक्रमितको संख्या २ सय माथि नाघेको देखिन्छ। चैत २६ गतेबाट यो संख्या बढ्दै संक्रमितको संख्या ३ सय माथि पुगेको छ।
संक्रमितको संख्या दैनिक उकालो लागिरहँदा पिसिआर परीक्षणको दायरा भने बढ्न सकेको छैन। हाल पनि ३/४ हजारको हाराहारीमा मात्र पिसिआर परीक्षण हुने गरेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकले देखाउँछ।
कुन दिन कति पिसिआर परीक्षण र कति संक्रमित भेटिए?
चैत २० – ३५६५ पिसिआर, १७९ संक्रमित
चैत २१ – २७२७ पिसिआर, १२८ संक्रमित
चैत २२ – ३४५६ पिसिआर, १७६ संक्रमित
चैत २३ – ४५३६ पिसिआर, २६६ संक्रमित
चैत २४ – ४२४३ पिसिआर, २६० संक्रमित
चैत २५ – ४१०० पिसिआर, २९८ संक्रमित
चैत २६ – ४००६ पिसिआर, ३३२ संक्रमित
चैत २७ – ४०७१ पिसिआर, २८८ संक्रमित
चैत २८ – ३५३२ पिसिआर, ३३७ संक्रमित
‘सरकारले निगरानी र तयारी दुवै बढाउनुपर्छ’
नेपालमा कोरोनाको दोस्रो लहर सुरु भइसकेको विज्ञहरु बताउँछन्। शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा हाल सिकिस्त संक्रमितको संख्या बढ्दै गएको डा बास्तोलाले बताए। सिकिस्त बिरामीको चाप यही गतिमा बढे केही साताभित्र मृत्युदर बढ्ने उनको अनुमान छ।
डा बास्तोला भन्छन्, ‘टेकु अस्पतालमा सिकिस्त बिरामीहरुको संख्या बढ्दो छ। यही गतिमा चाप बढ्ने हो भने मृत्युदर पनि बढ्न सक्छ।’
सुरक्षा मापदण्डको पालनामा कुनै पनि किसिमको हेलचक्र्याई गर्न नहुने उनले बताए। सरकारले अझै व्यवस्थित र योजनावद्ध तयारी गर्नुपर्नेमा उनको जोड छ।
अर्का सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन दैनिक बढ्दै गएको संक्रमितको संख्यालाई सामान्य रुपमा लिन नसकिने बताउँछन्। बाहिर देखिएभन्दा पनि समुदायभित्र अझ बढी संक्रमण फैलिएको हुन सक्ने उनको अनुमान छ। छिमेकी मुलुक भारतमा बढ्दो संक्रमितको संख्या र खुला सिमा नाकाले नेपाल झनै जोखिममा पर्ने गरेको उनी बताउँछन्।
उनले भने, ‘विश्वमा अहिले देखिएको नयाँ भेरियन्ट यदी नेपालमा पनि भित्रिएको हो भने संक्रमितको संख्या झनै बढेर जान सक्छ।’
कोरोना नियन्त्रणका लागि सरकारले गत वर्ष गरेको तयारीले अबको संक्रमण नियन्त्रण गर्न चुनौतीपूर्ण हुने उनको भनाई छ। कोरोना नियन्त्रणका लागि सरकार र नागरिक दुवैको तर्फबाट बलियो तयारी गर्नुपर्नेमा उनी जोड दिन्छन्।
‘हामीले कोरोना नियन्त्रणका लागि गत वर्ष जति मेहनत गरेका थियौँ। यो वर्ष पर्याप्त छैन। नागरिक र सरकार दुवैले तयारी बढाउनुपर्छ’ उनले भने।
कोरोना भाइरसले नयाँ नयाँ रुप परिवर्तन गर्दै गएकाले हामी बढी सतर्क रहनुपर्ने उनी बताउँछन्। सरकार आक्रामक तरिकाले अघि बढ्नुपर्ने उनको सुझाव छ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा बाबुराम मरासिनी बढ्दो संक्रमितको संख्याले ठूलो प्रकोपको संकेत गरेको बताउँछन्।
उनी भन्छन्, ‘सिकिस्त हुने बिरामीको संख्या पनि बढेको छ। संक्रमित हुनेको संख्या पनि बढेको बढेको छ। यसले ठुलो विपतको संकेत गर्छ।’
संक्रमितको संख्या दैनिक बढीरहँदा पिसिआर परीक्षणको दायरा बढाउन नसकेको भन्दै डा मरासिनी सरकारको आलोचना गर्छन्। सरकारले अहिलेको अवस्थामा निगरानीको काम सुरु गरेर तिव्र गतिमा बढाउनुपर्ने उनले बताए। ज्वरो, खोकी लागेको तथा कोरोनाको संभावित बिरामीको निगरानी बढाउन आवश्यक रहेको उनले बताए।
‘स्वास्थ प्रणालीको मुख्य काम कर्तव्य भनेको नै निगरानी हो। किनभने कुनै पनि रोगको बिरामी सुरुमै पत्ता लगाउन सकेनौ भने ठुलो नोक्सानी गर्छ। तर सुरुमै पत्ता लगाउन सक्यौ भने यसले अन्यलाई रोग लाग्नबाट बचाउँछ।’ उनले भने।
निगरानी बढाउनुका साथै सिमा नाकामा पनि कडाईका साथ लागु गर्नुपर्ने उनले बताए। हवाई मार्गबाट आउने व्यक्तिहरुमा गरेको कडाई सिमा नाकाबाट आउने व्यक्तिहरुमा सोही नियम लागु गर्नुपर्ने उनको भनाई छ।
कोरोना संक्रमणको जोखिम बढेसँगै नेपालमा लकडाउनको विषयमा हाल चर्चामा छ। प्रधानमन्त्री केपी शर्मा ओलीले हालै मात्र सतर्कता नअपनाए जनजीवन ठप्प पार्नुपर्ने स्थिति समेत आउन सक्ने अभिव्यक्ति दिएका छन्।
भाइरोलोजिस्ट डा लुना भट्ट लकडाउनको स्थिति आउन नदिन सबैले सतर्कता अपनाउन निकै आवश्यक भएको बताउँछिन्। सबैले सावधानी अपनाएर सचेत भए मात्र लकडाउन गर्नुपर्ने स्थिति आउनबाट रोक्न सकिने उनको भनाई छ।
उनी भन्छिन्, ‘सबैले लकडाउन नगरोस् मात्र भन्छन्। तर लकडाउनको अवस्था आउन नदिन अहिलेदेखि नै सबैले सावधानी अपनाउनुपर्छ। जनस्वास्थ्यका मापदण्ड कडाईका साथ लागु गर्नुपर्छ।’