काठमाडौं - काठमाडौं उपत्यका लगायत देशका विभिन्न भागमा वायु प्रदूषण बढीरहेको छ। वायु प्रदूषण अझै केही दिन कायमै रहने मौसमविदहरुले बताएका छन्।
चिकित्सकहरुका अनुसार बढ्दो वायु प्रदूषणले स्वास्थ्यमा प्रतिकुल असर गर्दछ। काठमाडौंमा बढीरहेको वायु प्रदूषणले स्वास्थ्यमा तत्कालीन तथा दीर्घकालीन स्वास्थ्य असरहरु निम्त्याउने उनीहरुले बताए।
त्रिवि शिक्षण अस्पतालका छातिरोग विशेषज्ञ डा सन्तकुमार दास वायु प्रदूषणले विशेषगरी श्वासप्रश्वास प्रणालीमा असर गर्ने बताउँछन्। वायु प्रदूषण र यसका कणहरु श्वासनली मार्फत व्यक्तिको शरीरमा प्रवेश गर्दछ। यसले श्वासप्रश्वास प्रणाली सहित शरीरका विभिन्न अंगमा असर गर्ने उनले बताए।
डा दासका अनुसार वायु प्रदूषणले एलर्जी गराउने, नाक चिलाउने, पानी बग्ने, हाछ्यु आउने, घाँटी घसघस हुने, सुख्खा खोकी लाग्ने लगाउने समस्या निम्त्याउँछ। छाति रोगका बिरामीहरु र पहिलेदेखि नै श्वासप्रश्वास सम्बन्धी समस्या भएकाहरुको समस्या थप बढाउने उनले बताए।
उनले भने, ‘पहिले नै श्वासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरुमा वायु प्रदूषणले श्वास फेर्नमा बाधा पुर्याउँछ अनि समस्या थप जटिल बनाउन सक्छ।’
विशेषगरी यसले असर गर्ने भनेको दमका बिरामीलाई हो। ब्रोन्केल आज्मा (दम) भएपनि स्वास्थ्य अवस्था ठिक रहेका बिरामीमा श्वासप्रश्वास नियन्त्रण बाहिर हुन सक्छ। दम खोकीका बिरामीलाई पनि वायु प्रदूषणले गाह्रो बनाउन सक्छ।
वायु प्रदूषणका कणहरु फोक्सो भित्र छिरेपछि दम बढाउने मात्र नभई निमोनिया पनि गराउने जोखिम बढाउने उनले बताए। उनका अनुसार विशेषगरी भाइरल निमोनिया बनाउने जोखिम बढी हुन्छ।
‘यो फोक्सोभित्र प्रवेश गर्यो भने यसले फोक्सोलाई सुरक्षा गर्ने प्रणालीलाई कमजोर बनाईदिन्छ। यसले गर्दा विभिन्न संक्रमण हुने र विशेषगरी भाइरल निमोनिया हुन सक्छ,’ उनले भने, ‘त्यहाँबाट पनि यो रगतमा गयो भने यसले मस्तिष्क, मुटु, मिर्गौला लगायत शरीरका अन्य भागमा पनि असर गर्छ।’
त्रिवि शिक्षण अस्पतालमा हाल वायु प्रदूषणकै कारणले बिरामी बढेको भन्ने यकिन तथ्यांक नभएको उनी बताउँछन्। यद्यपि यो समयमा श्वास फेर्न गाह्रो हुने, खोकी लाग्ने, दमका बिरामी गाह्रो भएर बिरामीहरु आउने गरेको उनले बताए।
‘जाडोबाट गर्मीमा गइरहेका छौ। यो समयमा यस किसिमका बिरामीहरु आउने नै गर्छन्। यसमा वायु प्रदूषणले पनि बढाएको हुन सक्छ। तर वायु प्रदूषणकै कारण बढेको भनेर अहिले यकिन भन्न सकिदैन’ उनले भने।
मास्क लगाउने, अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन डा दासको सुझाव छ। विशेषगरी वायु प्रदूषण बिहानको समयमा बढी हुने भएकाले हाल मर्निङ वाकका लागि बाहिर ननिस्कन उनी आग्रह गर्छन्।
‘बढी वायु प्रदूषण देखिने भनेको बिहान करिब ५/६ देखि ९ बजेसम्म हो। त्यो समयमा अत्यावश्यक काम छैन भने बाहिर ननिस्कै राम्रो हुन्छ। त्यसैले मर्निङ वाकका लागि बाहिर निस्कने काम अहिले रोक्नुपर्छ’ उनले भने।
वीर अस्पतालका छातिरोग विशेषज्ञ डा अशेष ढुंगानाले लामो समयसम्म वायु प्रदूषणमा बस्दा यसले तत्कालीन र दीर्घकालीन स्वास्थ्य समस्या निम्त्याउने बताउँछन्। श्वासप्रश्वास सम्बन्धी समस्यासँगै आँखा, छाला सम्बन्धी समस्या र विभिन्न एलर्जी बढाउने उनले बताए। उनका अनुसार यस किसिमको वायु प्रदूषणले दीर्घकालीन रुपमा फोक्सो, मुटु सम्बन्धी समस्याको जोखिम बढाउँछ।
उनी भन्छन्, ‘हामीले फेर्ने हावा र वायु प्रदूषण सिधै हाम्रो फोक्सोमा पुग्छ। त्यसमा भएका धूलोका कर्णहरु फोक्सोमा जम्मा हुन्छ। त्यसले लामो समयपछि असर पुर्याउँछ।’
गम्भीर खालका दमहरु गराउने, फोक्सोमा दाग हुने र विभिन्न क्यान्सरको जोखिम समेत बढाउने उनले बताए। वृद्धवृद्धा, दीर्घ रोगीहरु, गर्भवती र बालबालिकाहरु बढी जोखिममा पर्छन्।
वायु प्रदूषणका कारण तत्कालीन र दीर्घकालीन हुने भएकाले अहिले नै बिरामीको चाप बढ्यो भन्न नमिल्ने उनी बताउँछन्। तर यो तीन र चार दिनको असरले केही साता वा महिनामा बिरामीको संख्या बढ्न सक्ने उनी सुनाउँछन्।
उनले भने, ‘वायु प्रदूषणको असर दुई किसिमको हुन्छ। एउटा सामान्य र अर्को जटिल खालको। सामान्य रुघाखोकी लाग्ने लगायत समस्या भएपनि मानिसहरु हाल घरमै बस्छन्। तर यो तीन चार दिनको अवस्था हेर्दा केही साता वा महिनामा बिरामीको संख्या बढ्न सक्ने हामी अनुमान गर्न सक्छौं।’
काठमाडौंमा देखिएको यो वायु प्रदूषणले स्वस्थ मानिसलाई समेत असर गर्न सक्ने भएको उनले बताए। अत्यावश्यक काम बाहेरक भीडभाड या बाहिर ननिस्कन उनको सुझाव छ। विशेषगरी दम, मुटु, मिर्गौला लगायत दीर्घ रोगीहरु, वृद्धवृद्धा सचेत रहनुपर्नेमा उनको जोड छ।