काठमाडौं- मष्तिष्कघात भएपछि कोमामा रहेका नेपाली कांग्रेसका नेता नवीन्द्रराज जोशीको मृत्यु भएको छ।थापाथलीस्थित नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार राति ८:२४ बजे मृत्यु भएको हो।
गत फागुन १४ गते बिहान बाँया हात र खुट्टा बाउँडिएपछि जोशीलाई वीर अस्पताल लगिएको थियो। अस्पताल आउँदासम्म बोलिरहेका उनी त्यसपछि भने बेहोस भएका थिए। वीरका डाक्टरले सिटी स्क्यान गर्दा टाउकोमा रगत जमेको देखिएपछि थापाथलीस्थित नर्भिक अस्पताललमा रिफर गरिदिएका थिए।
अस्पतालका वरिष्ठ न्यूरो सर्जन डा राजीव झाले उपचारका सबै प्रयास जारी राखिएको अवस्थामा जोशीको निधन भएको जानकारी दिए।
'मष्तिष्कघातपछि उहाँलाई नर्भिक इन्टरनेशनल हस्पिटलको आइसियूमा राखी उपचार गरिएको थियो । भेन्टिलेटरको सपोर्टमा उपचार जारी राखिएको थियो,' उनले भने, 'शुक्रबार बिहानदेखि उहाँको मुटुले समेत काम गर्न छाडेको थियो । उपचारका सबै प्रयास जारी राखिएकै अवस्थामा उहाँको निधन भएको हो।'
फागुन १४ गते मस्तिष्काघात भएपछि उपचारका लागि वीरबाट नर्भिकमा राती रिफर हुँदा जोशी कोमामा नै थिए।उनको उपचारको नेतृत्व गरेका न्युरो सर्जन राजीव झाले सोही दिन अपराह्न पत्रकार सम्मेलनमार्फत अवस्था गम्भीर रहेको जानकारी गराएका थिए। ‘राती साढे ३ बजे नर्भिकमा आइपुग्दा उहाँ कोमामा हुनुहुन्थ्यो,’ डा झाले भनेका थिए, ‘श्वास फर्ने गाह्रो भइरहेको थियो, वान्ता भएर वान्ता उहाँको फोक्सोमा पुगेको अवस्था थियो।’
डा झाका अनुसार नेता जोशीलाई नर्भिक अस्पतालमा श्वास फेर्न सहज होस् भनेर आकस्मिक उपचार प्रक्रिया अगाडि बढाइएको थियो। घाँटीबाट वान्ता भएको वस्तु निकालिएको थियो। नर्भिक अस्पतालमा आइपुग्दा नै नेता जोशीको आँखाको दुवै नानी फुलिएको पाइएको पनि उनले बताएका थिए। उनले नर्भिक अस्पतालमा पनि फेरि सिटिस्क्यान गरिएको र सो रिपोर्टमा टाउकोमा पानी जमेको पाइएको पनि बताएका थिए।
नेता जोशीले सुगर, प्रेसरको समस्या भएको र रगत पातलो हुने औषधि सेवन गरिरहेकाले शल्यक्रिया गर्दा रगतश्राव कन्ट्रोल नहुने भएकाले विशेष व्यवस्था गरेर सर्जरी गरिएको डा झाले बताएका थिए। उनले जोशी जस्ता बिरामीलाई बचाउन सक्ने सम्भावना ३० प्रतिशत मात्रै हुने जानकारी गराएका थिए।
उपचारको क्रममा एक समय जोशीको स्वास्थ्यमा क्रमिक सुधार हुनथालेको थियो। तर, त्यो निरन्तर रहन सकेन। बरु स्वास्थ्य अवस्था जटिल बन्दै गएको थियो। उनको उपचारका लागि सरकारले दश लाख दिने घोषणा गरेको थियो। तर, उनको परिवारले त्यसलाई अस्वीकार गरिदिएको थियो।
मृत्युशय्यामा पुगेको औषधि लिमिटेडलाई पुनर्जीवन दिने नेता
नेता जोशीले झण्डै मृत्युशैय्यामा पुगेको नेपाल औषधि लिमिटेडलाई पुनर्जीवन दिन महत्वपूर्ण भूमिका खेलेका छन्। उनको अगुवाईमा ७ वर्षदेखि बन्द भएको लिमिटेडले पुनर्जीवन पाएको हो। २०६६ सालदेखि बन्द भएको लिमिटेडलाई जोशीले उद्योगमन्त्री भएको समयमा पुन:सञ्चालनमा ल्याएका थिए।
२०७३ साउनमा गठित पुष्पकमल दाहाल 'प्रचण्ड' नेतृत्वको सरकारमा जोशी उद्योगमन्त्री भएका थिए। भदौ १० मा मन्त्री पदको सपथ लिएका उनले बन्द रहेका सरकारी उद्योग खुलाउने कामलाई प्राथमिकता दिएका थिए। मृत्युशय्यामा रहेको नेपाल औषधि लिमिटेडले उत्पादन सुरु गरेपछि उनको विशेष चर्चा पनि भयो। अहिले लिमटेडले सिटामोलदेखि स्यानिटाइजरसम्म उत्पादन गरिरहेको छ। काम गरेरै लोकप्रिय हुने मन्त्रीहरुको सूचीमा जोशी परे।
०६६ सालदेखि बन्द भएको लिमिटेडले ०७४ वैशाख २४ गते आइतबारदेखि पुन:उत्पादन सुरु गरेको हो। मन्त्री रहेका जोशीले नै लिमिटेडमा पुगेर औषधिको औपचारिक उत्पादन सुरु गराएका थिए। उक्त दिन उद्योगले जीवनजल र सिटामोल उत्पादन गरेको थियो।
२०२९ सालमा स्थापना भएको औषधि लिमिटेडबाट विगतमा एक सय २० प्रकारका औषधि उत्पादन हुन्थे। तर, विश्व स्वास्थ्य संगठनको जिएमपी मापदण्ड पूरा नभएका कारण ०६६ सालदेखि औषधिको उत्पादन बन्द थियो। जोशीले उद्योगलाई पुन सञ्चालनमा ल्याउन आवश्यक सहयोग गरेपछि लिमिटेडले उक्त मापदण्ड पूरा गरी उत्पादन अगाडि बढाएको हो।
जीवनजल उत्पादनको उद्घाटन कार्यक्रममा मन्त्री जोसीले लिमिटेडबाट जीवनजल, सिटामोलसहित एक सय २० प्रकारकै औषधि उत्पादन हुने जानकारी दिएका थिए। यसका लागि सरकारले सहयोग गर्ने पनि बताएका थिए। सोही अनुसार उत्पादन अगाडि बढाउन उनले लिमिटेडलाई निर्देशन समेत दिएका थिए।
‘लिमिटेडबाट उत्पादन हुने हरेक औषधि गुणस्तरीय हुनेछ,’ मन्त्री जोशीले उक्त समयमा भनेका थिए, ‘यी औषधि गुणस्तर हुनुका साथै सस्तो पनि हुनेछन्।’ उनले लिमिटेडबाट उत्पादित औषधि स्वास्थ्य मन्त्रालयको निःशुल्क कार्यक्रम अन्तर्गत खरिद गरी देशभरमा पुर्याउने तयारी भएको पनि जानकारी दिएका थिए।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य जोशी २०२० पुस २४ गते काठमाडौंमा जन्मिएका थिए। उनले विज्ञान संकायमा स्नातक र वाणिज्य संकायमा स्नातकोत्तर गरेका थिए। उनकी एक छोरी छिन्।
जोशी २०३५ सालमा राजनीतिमा प्रवेश गरेका थिए। २०४९ सालमा काठमाडौं महानगरपालिकाको उपमेयर भएका उनले राजनीति गर्ने क्रममा एक वर्ष जेल जीवन पनि बिताएका थिए। जोशी जनतासँग अन्त्यन्तै सम्पर्कमा रहने र निकट सम्बन्धमा रहने नेताको रुपमा चिनिन्थे।